टंक बहादुर आले मगर त्रियुगा नगरपालिका हिमाली टोलमा स्थाई बसोबास गर्ने कवि हुनुहुन्छ । उहाँको कविताहरुले सामाजिक र राजनितिक बेथितिको बिषयमा उजागर गरेका हुन्छन् । समानता र स्थायीत्व उहाँका कविताहरुले बोकेको प्रमुख एजेन्डा हुन् । प्रस्तुत छ साताको तीन कविता

देश हरायो

मेरो देशलाई
घर भित्रै म भित्रै भेटिन ।

मोबाइल हेरेँ
लैवटप खोलेँ
फ्रिज वासिङ मसीन
हटपोट खोलेँ
भर्खरै बनाको
घर छामेँ
जुत्ताको लेस बाधेँ
कोट पेन्ट टक्टक्याएँ
टीभी खोलेँ
गुजुमुजु घरहरू हेरेँ
छिमेकीलाई चिहाएँ
अहँ देशलाई देखिनँ ।

अचम्म!
देशमै बसेको नयनबाट
ठूलाठूला होर्डिङ्बोर्डबाट
चिल्लो बाटोमा बिजुलीले गुड्ने बसबाट
चामल, दाल, लसुन, प्याज
आलु, धनियाबाट कसरी हरायो देश ?
हेर्छु
श्रीमतीको अनुहारबाट
कुर्ता लेहङ्गा
जिन्सपेन्ट भेस्टबाट
बोल्दा बोल्दै जिब्रोबाट हराइरहेछ देश ।

आमालाई सोधेँ
देश हराएको हो आमा ?

आमाले भन्नूभयो
यता देश हराको छैन
पेरुङ्गोमा चेपिएको सिन्की
नाक, कान, हापा पटुकी डोको काम्रो
जुइनो, नाम्लोको सुपारे गाँठो
जता छाम्यो त्यतै भेट्छु देश ।
सायद
तिमी आफ्नै पनबाट हरायौ
अनि तिम्रो चेतनाबाट हरायो देश ।

म अर्कै खाले नेता हुँ

झुट्टो बोल्दिनँ

साचो बोलेको थाहा छैन

गर्दिनँ कहिल्यै भन्दिनँ

गर्नै आटे

अर्को म जस्तोले गर्नै दिदैन

अरे म, म हुँ

म अर्कै खाले नेता हुँ ।

म यथास्थिति होइन

दही चिउरे पनि होइन

यता मात्रै होइन

उता मात्रै पनि होइन

केन्द्रबिन्दुमा होइन

साच्चै भन्छु

कुर्सी जता त्यता हुँ

म अर्कै खाले नेता हुँ ।

अचम्मको छु

आफ्ना छैनन्, भए पनि हुँदै होइनन्

पराय छैनन्

सिद्धान्त छ, छैन पनि

देश बनाउनु छ

भ्रष्टचारीलाई समाउनु छ

अक्षरशः संविधानलाई कार्यन्वयन गर्नु छ

त्यसैले

प्रमुख मुद्दा कुर्सी हुन्छ

जसरी जम्नु छ

विश्वास अविश्वास हुन्छ

पक्ष विपक्ष हुँ

म अर्कै खाले नेता हुँ ।

कुरा सुशासनको होस्

मुटु भित्र देश र जनता होस्

आश्वासन बाँडेर तुर्दैन

परिस्थिति फेर्ने मन्त्र छन्

झोला बोकेर पछ्याइरहनु

माथि पुगेर तान्ने यन्त्र छन्

ढाँट्छु, ढाँटिनु हुन्छ

गल्ती मेरो होइन

ढाँटेर खानु र मर्नु एउटै भन्छु

विश्वास गर्नु हुन्छ ,त्यसैले नेतागिरी चल्छ

घर चल्छ पार्टी चल्छ

खै कस्तो हुँ

म अर्कै खाले नेता हुँ ।

मसँग मिलोस् त्योसँग जुधोस् भन्नेहरू छन्

आस्था, बिचार , वंश नमिलोस्

कुरो मिलोस् ,

कति चौलानी उमाल्नु

बाक्लो दालको बेग्लै मजा छ ।

विरोधी धेरै छन्

देखेर थुक निल्ने कति छन्

पख् भन्छन् गर्दैनन् केही

विरोधी पनि जाती छन्

सोच्छु

खुट्टो तान्ने नआउन्

कुरो काट्ने जिब्रो नफट्फटाउन्

विकल्प किन चाहियो

चलाई राखेकाछौँ, अझै चलाउछौँ

क र ख को बीचमा अ चाहिएन ।

श्रीमती र पार्टीको प्रिय,

अरुको फटाहा हुँ

म अर्कैखाले नेता हुँ ।

निरुत्तर

करेसाबारीको डील
आमाको
सयौं थोपाको संस्कृति
बुबाको दरिलो सपना
नफुल्ने आरु
मैले उकेरा लाउन बिर्सेको सपनाको ड्याङ ।

आज
आफैँ जग भएर उभिन पर्दा
समधान खोज्दै छु ।

सानो
मैले देखेको संसार
टेकेको धर्तीले
मागेको केही छैन ।
मैले रोपेको बिरुवा
दिनौं दिएको माया
आफ्नै कथा
ऊ फुल्नु थाले पछि
मसँग मागिरहेछ
एकतान मुस्कान
बोकेर दौडन सक्ने अश्व
ठेस नलाग्ने बाटो
बटुवाहरूले तिर्खा मेट्न धारो ।

दिने ल्याकत छैन
यद्यपी-
अनुनय गरिरहेछु गह्रुंगो भारी

किन म उत्तर खोजीरहेछु ?

तपाईको प्रतिक्रिया