समाजशास्त्रमा एमए कवि गीता रेग्मी नेपाली साहित्यको कविता , नियात्रा , कथा लेखनमा स्थापित नाम हो । रेग्मीका पश्चिमाहरूकाे देशमा ,पत्थरै पत्थर ,प्रशान्तको तीरैतीर लगायत आधा दर्जन भन्दा धेरै साहित्यीक कृति प्रकाशन छन् । बेलायत , फ्रान्स , बेल्जियम , नेदरल्यान्ड , जर्मन, भारत , बर्मा , थाईल्याण्ड , मलेसिया , अष्ट्रेलिया , स्विजरल्याण्ड र ईटाली लगायतका देशहरुमा भ्रमण गरिसकेकी लेखक रेग्मीका लेखनमा मानवीय संवेदनशीलतालाई जीवन्तरुपमा प्रस्तुत गरिएको हुन्छ। प्रस्तुत छ साताको तीन कविता ।
सम्बन्ध र रङ्ग
सयन कक्षकी उर्वर्सी
सखारै कामवाली बन्छे
मुस्कुराउदै भान्सामा पस्छे
ममताको आँचलले निथ्रुक्कै भिजाएर सिन्चित गर्छे
उसमा आमाको रङ्ग कसरी पोतियो ?
साथी बन्छे
सल्लाहकार बन्छे
झोक चल्दा
चुपचाप हुन्छे
र,
मुर्ति जस्तै देखिन्छे
उसलाई मुर्ति बनाउने को हो ?
उसमा शालिनताको रङ्ग भर्ने को हो ?
यी सम्बन्धमा रङ्ग कसले फेर्छ होला ?
यति धेरै रङ्गको मिश्रण कसले गर्छ होला ?
मेरो साविति बयान
श्रीमान –
अदालत समक्ष बयान दिन उपस्थित भएकी छु
मलाई कारवाही गरियोस
म- भोग्न तयार छु सजाय
मलाई थुन्नुस
कुट्नुस
मार्नुस
गोली ठोकेर
सुलीमा चढाएर
या,
नुनचुक छरेर म सहन तयार छु ।
श्रीमान-
किनकी मैले कुकर्म गरेको छु
कैयौं पटक आफ्नै गला घोट्ने प्रयास गरेको छु
निन्द्रामा देखीने सपनाका के कुरा
रहरहरुको हत्या त कति हो कति गरेको छु
यति मात्र कहाँ हो र…….
यतिका भलाद्मीहरुका अगाडी उभिने दुष्साहस गरेको छु ।
यसैले ,
श्रीमान कारवाही गरिपाउँ भनेर
अदालत समक्ष साविती बयान दिन उपस्थित भएको छु
सानोमा आज्ञाकारी भएँ
डोली चढेपछि कहिले भित्ताको फ्रेम जस्तै शालीन भएँ
कहिले रोबट जस्तै बनेँ
कहिले ममतामयी बनेँ कहिले उर्वशी बनेँ
लक्ष्मी बनेँ सरस्वती बनेँ
कुल बधु बनेँ तर म म बन्नै सकिन
खाली मात्र एक कठपुतली बनेँ
र त श्रीमान-
सपनाहरूले तर्साई रहेछन
रहरहरूले झस्काई रहेछन
जब जब उभिने प्रयास गर्छु
ओठबाट निस्कन्छन् शब्दहरू
म आफु मान्छे जस्तो भएर
तब पोथी बासेको हल्ला गर्छन्
यसैले-
ती मेरा अधुरा सपनाको कसम
अपुरा रहरहरूको कसम
श्रीमान तीनको हत्याको प्रायश्चित गर्नका लागी म अदालत समक्ष उपस्थित भएको छु ।
कहाँ जाउ छोरा ?
मैले नै तिमीलाई भनेँ
समयको गतिलाई समात भनेर
तिमी समय समात्न वायुपंखी घोडामा चढेर हुरुरु उड्यौ
परेलीबाट
सरर बलेनी झार्दै मैले बिदा गरेथेँ
आमा म तिमीलाई पनि
सरर पारेर लगी हाल्छु नि
किन चाहियो यो माडवारी र बुलाकी
मैले डलर बोराका बोरा टिप्न थालेपछि
किन चाहियो भन त यस्तो जाबो
बाँजो खेत
बेचिदेउ भन्यौ मैले बेचेँ
हावा भन्दा छिटो कुदेको समय
छेपारोले झै रङ्ग फेर्ने मान्छेको नियत
बुझ्न नसक्नु मेरै दोष हो
मलाई सरर उडाएर लैजाने दिन गन्दै गर्दा
पल्लो घरे भुन्टेले घोत्ले छोरो पाईसक्यो
नाती खेलाउने रहर
खै कता पो बिलायो
तिमीलाई त फुर्सद सम्म छैन
मलाई फोनबाट हेलो भन्ने
तिम्रा खुशीका लागि
सुहाउने पहिरन किन्न
पसलका डमीले लगाएको जस्तै लुगा छानेको थिएँ
तर भनेर मेरा लागि
साडी किनिदेउ भन्न सक्दिन
आफ्ना सबै रहरहरु मारेर
तिम्रालागि मन पर्ने खानेकुरा बनाएका ती दिनहरु
म अहिले सम्झन्छु
तिमीले पनि तिम्रा रहरहरु
मार्नु पर्छ भन्न कहाँ सक्छु
बाबु बाठो भौँ है बाठो
मैले नै सिकाएँ
नत्र त तिम्री स्वास्नी पनि पोइल जान्छे
अवोधै सही तिमीले भनेका थियौ
म
उसका सबै कुरा मानिदिन्छु आमा
अनि ऊ कसरी पोइल जान्छे भनेर
तिमीले अहिले त्यसै गर्यौ भनेर म
कसरी चित्त दुखाउन सक्छु र ?
तिमी कालाहरुको देशबाट
गोराको देशमा पुगेपछि
म पक्की घरबाट छाप्रोमा
पदोन्नति भएकी छु
थाहा छैन छोरा यो छाप्रो पनि
मेरै आँगनको डिलभरी मान्छे बसेर
कति खेर लिलाम बढाबढ हुने हो
सन्तान मोहमा दुरदर्शिता हराउनु
भीडमा हातेब्याग हराउनु
हतारमा चस्मा बिर्सनु उस्तै उस्तै रैछ
रित्तो कोखको क्षतीपुर्ती माग्दै
गंगामाया अनसन बसिरहेकी छन्
युद्धबिनै , हिंसाबिनै पनि त कोख रित्तै हुदोरहेछ
वर्षौदेखि रित्तिएको कोखको
क्षतीपुर्ति माग्न कहाँ जाँउ छोरा
बाजो खेत , कानका माडबारी नाकको बुलाकीको त
कुनै प्रवाह नै भएन
बुढेसकालको सहारा खोज्न म कहाँ जाउ छोरा ?