काठमाडौं : लामो समयपछि प्रसिद्ध गायक उदित नारायण झा र दिपा झाको स्वरमा नेपाली गीतको रेकर्डिङ सम्पन्न भएको छ । संगीतकार लक्ष्मण पोखरेलको संगीत रहेको ‘थाहा छैन आज भोलि खै के के हुन थाल्यो’ बोलको गीत रेकर्ड भएको हो ।

चर्चित कवि तथा गीतकार सरला श्रेष्ठको शब्द रचना रहेको गीतको रेकर्डिङ मुम्बै स्थित कृण्ण अडियो स्टुडियोमा साउन १९ गते रेकर्ड भएको संगीतकार पोखरेलले बताएका छन् । माया प्रेमको भाव समेटिएको गीतलाई मनोज चौलागाईंले संगीत संयोजना गरेका छन् भने अमिर शैखले गीतलाई रेकर्ड गरेका थिए ।

किशोर थापाको मिक्सिङ मास्टरिङ रहने गीतको छिट्टै म्युजिक भिडियो निर्माण गरिने गीतकार सरला श्रेष्ठले जानकारी गराइन् । लामो समयको अन्तरालपछि नेपाली गीतमा उदित र दिपाको सदाबहार जोडिलाई नेपाली दर्शक स्रोतामाझ ल्याउन पाएकोमा खुसी लागेको संगीतकार पोखरेल बताउँछन् ।

गीतकार सरला श्रेष्ठसँग मिलन नेवारले गाएको ‘अधिकार बाँडिदेउ’ बोलको गीतमा सहकार्य गरेका पोखरेल यो गीतबाट निकै आशावादी रहेका छन् । नब्बेको दशकको मेलोडीलाई नयाँ शैलीमा प्रस्तुत गरेको संगीतकार पोखरेल बताउँछन् । यो गीतबाट गायक उदित नारायण र गायिका दिपा पनि एकदमै उत्साहित रहेको र नेपाली दर्शक स्रोताहरुले मनपराउनेमा आशाावादी रहेको संगीतकार पोखरेलले बताए ।

अहिलेका चर्चित र व्यस्त संगीतकारको रुपमा काम गरिरहेकका संगीतकार पोखरेल र गीतकार सरला श्रेष्ठको यो सांगीतिक सहकार्य नेपाली संगीतमा अर्को कोसेढुंगा बन्नेमा गीतकार श्रेष्ठ पनि आशावादी रहेकी छन् । नेपाली गीत संगीतको उत्थानमा निरन्तर लागिपरेकी गीतकार श्रेष्ठ र संगीतकार पोखरेलको सहकार्यमा केही नयाँ गीतहरु आउने तयारीमा रहेको छ ।

तपाईको प्रतिक्रिया