रोल्पामा बसेर कविता लेखीरहेका कवि चन्द्र जिएम पुर्व अध्यक्ष प्रलेस राेल्पा, मधुरमा युवा क्लव पुर्व उपाध्यक्ष,आदिवासी जनजाति महासंघ राेल्पा, पुर्व सचिव नेपाल मगर संघ राेल्पा र अथार मगरात मगर प्रतिष्ठानसँग आवद्व छन् । कवितामा मानवीय संवेदना र प्रेमलाई सजीव रुपमा राख्न सफल उनका कविताहरु परिपक्व छन् । प्रस्तुत छ साताको तीन कविता ।
मेरो ठेगाना
तिमी कहाँ छौ भनेर नसोध्नु मेरो ठेगाना
म –
तिमीले बिर्सीएको ठेगानामा छु ।
मैले तिमीलाई मेरो ठेगाना भनिरहनु पर्दैन
तिमीले मलाई मेरो ठेगाना सोधीरहनु पनि पर्दैन
मेरो ठेगाना–तिमीले कहिल्यै नदेखेको ठेगाना होइन
मेरो ठेगाना –तिमी कहिले नगएको ठेगाना पनि होइन
बस यो सम्झ की
म तिमीले बिर्सिएको ठेगानामा छु ।
कहिलेकाही धुमिल याद आउन सक्छ मेरो
र सोध्न मन लाग्न सक्छ मेरो ठेगाना
तर पनि नसोध्नु मेरो ठेगाना
केवल-
तिमी जुन आँशुबाट बग्दै बग्दै गएका थियौ
त्यही बग्दै बग्दै गएको आँशुको लहर समाउनु
र नविराईकन जताबाट बगेको छ आँशु
त्यतै जानु
जहाँ भेटिन्छ आँशुको मुहान
त्यही टक्क रोकिनु
म ठीक त्यही हुनेछु ।
तिम्रो जन्मदिनमा
केक काटि रहँदा
काटिन सक्छ तिम्रो औंला
र बग्न सक्छ केही थोपा रगत
त्यस बेला सोध्न मन लाग्न सक्छ –मेरो ठेगाना
तर नसोध्नु मेरो ठेगाना
केवल जुन रगतमा बग्दै बग्दै गएर पुगेका छौ त्यहाँ
त्यही रगतको लहर समाउनु
र नविराईकन
जहाँबाट बगेको छ त्यो रगत त्यतैतिर फर्कनु
जहाँ भेटिन्छ रगतको मुहान
त्यही टक्क रोकिनु
म ठीक त्यहीँ हुने छु ।
कहिलेकाही त्यो महलको
सिँगमरमरमा चिप्लिएर
लड्न सक्छौ तिमि केही सिँढी तल
त्यती बेला याद आउन सक्छ –सोध्न मेरो ठेगाना
तर नसोध्नु
जुन काँध चढेर तिमी
त्यो अग्लो महल भएका छौ
त्यही काँधको खुटकिलामा आफ्नो पाइतला राख्नु
र खुट्किलै खुटकिलै ओरालो झर्नु
जुन काँध जमिनमा गाडिएर आँधा मात्र देखिएको छ
ठिक त्यहीं रोक्नु आफ्नो पाइतला
म ठीक त्यही हुने छु।
कहिलेकाही लोडसेडिङ हुँदा
एसी नचल्न सक्छ तिम्रो महलमा
त्यही बेला बग्न सक्छ तिम्रो निधारबाट पसिना
त्यसबेला सकस हुनसक्छ तिमीलाई
श्रमको पसिना र आरामको पसिनाको फरक छुट्याउन
त्यति बेला याद आउन सक्छ तिमीलाई –मेरो ठेगाना सोध्न
तर नसोध्नु
बरु जुन विश्वासको पसिना मुछेको माटोमा
तिम्रो ऐस र आरामको फूल फूलेको छ
त्यही पसिनाको नदीमा झ्वाम्म हाम फाल्नु
र कहाँबाट बगेको छ पसिना
त्यहि दिशा तिर पौड्दै पौड्दै फर्कनु
र जहाँ भेटिन्छ –पसिनाको मुहान
त्यही टक्क रोकिनु
म ठीक त्यही हुने छु ।
मलाई थाहा छ
तिमी यी सब गर्दैनौ
र विर्सिसकेका छौ –मेरो ठेगाना सोध्न
बरु कहिलेकाही
कुनै अज्ञात भिडहरु भित्र
जसको अघि तिमी उभिरहेका छौ
र तिम्रो बकबासपूर्ण भाषणमा
ताली बजाइरहेको भिड भित्र
खोज्न सक्छौ–मेरो ठेगाना
प्रत्येक पटकको आवधिक निर्वाचनको
कुनै निर्वाचन बुथमा
रहर र करको स्वस्तिक छाप लगाइरहेको लहरहरुमा
खोज्न सक्छौ –मेरो ठेगाना
महाराजाको सवारी झैं
तिम्रो सवारीमा
फूलमाला लिएर उभिरहेको लामबद्द
मान्छेहरुको भिडहरुमा
तिमी खोज्न सक्छौ –मेरो ठेगाना
तर ति सब ठेगानाहरुमा
हुने छैन–मेरो ठेगाना
एक दिन जरुर निस्कने छ–पसिनाको जुलुस
त्यही हुने छ–मेरो ठेगाना
एकदिन जरुर निस्कनेछ–रगतको विद्रोह
त्यही हुने छ –मेरो ठेगाना
एकदिन जरुर निस्कने छ–आशुको शक्ति
त्यही हुने छ –मेरो ठेगाना ।
म जंगली मान्छे
म जंगली मान्छे
कुनै अनकन्टार जंगलमा फुले झैं
हजारौ बर्ष देखि फुल्दै र झर्दै गएको
म जंगली मान्छे
म जंगली मान्छे
यो भूगोलको ओठबाट खसेको
कोमल पहिलो शब्द
त्यही शब्दलाइ निमोठिएर
बोल्दै बोल्दै गएर तिमी
कति खेर बन्यौ आधुनिक मान्छे
म जंगली मान्छे
यो माटोमा टेकेको
सुनौलो पहिलो पाइतला
त्यही पाइतलालाइ किच्दै किच्दै गएर
तिमी कतिखेर बन्यौ केवल एउटा अलकत्रे मान्छे
म जंगली मान्छे
यो धर्तीमा बसेको
घरको पहिलो नलिहाड खम्बा
त्यही खम्बालाइ भाँचेर
तिमि कतिखेर बन्यौ केवल एउटा कंक्रिटहरुको मान्छे
म जंगली मान्छे
म हिजो देखि आज सम्मको जंगली मान्छे
यो नदीमा बगिरहेको लय मेरो पहिलो आवाज
पहराबाट खसिरहेको पानी मेरो पहिलो पसिना
आकाशबाट खसिरहेको थोपा मेरो पहिलो आँशु
पहराहरुमा टाँसिएको भित्ता मेरो पहिलो निधार
मेरो न्यायपूर्ण जंगल विरुद्ध
जब तिमीले बनायौ अन्यायपूर्ण आधुनिक जंगल
मेरो आदिम जंगलमा हजारौ वर्ष बाँचेको मान्छे
मर्दै मर्दै गएको छ
कहिले नहराएको मान्छेको अस्तित्व
हराउदै हराउदै गएको छ
कोही तिम्रो आधुनिक जंगलको
अलकत्रे रत्कपार्कमा हराएको छ
कोही तिम्रो कंक्रिटको जंगलमा अस्तित्व खोज्दा खोज्दै
आफ्नै अस्तित्व हराउदै विलाएको छ
हरेक समय आफैलाइ पेलेर
बालुवाको जंगलमा आँशु र पसिना एकसाथ चुहाउँदै
आफैबाट आफैलाइ हराएको छ ।
म जंगली मान्छे
म हिजो देखि आज सम्मको जंगली मान्छे
आँखा नहुनेहरुको पहिलो दृष्टि
आवाज नहुनेहरुका लागी पहिलो आवाज
पाइतला नहुनेहरुको पहिलो बाटो
माटो नहुनेहरुका लागी पहिलो भूगोल
विद्रोही नदीहरुमा बग्दै गएको पहिलो रगत ।
जब मेरो समानतापूर्ण जंगल विरुद्ध
तिमिले बनायौ असमानता र विभेदको आधुनिक जंगल
भए म
तिम्रो महा क्रुर जंगल विरुद्धको बागी जंगली मान्छे
म जंगली मान्छे
तिमिले घोषणा गरिरहेको जंगली मान्छे
तिमिले भनिरहेको जंगली मान्छे
तिम्रा आँखाहरुका लागी म जंगली मान्छे
तिम्रो आधुनिक जंगली विरुद्धको जंगली मान्छे ।
तिमीलाइ थाहा हुनुपर्छ
जंगली मान्छे बौलायो भने शहर पनि जंगल बन्छ ।
यात्राको लय
जसरी पनि आइपुग्नु थियो यहाँसम्म
म आइ पुगें ।
कहिले
आँधीको हात समाउदै समाउदै आए
कहिले बाँढीको पाइतलाहरु पछ्याउदै पछ्यादै आएँ
औसतमा एउटा अल्छि समयलाइ निकै पर छोडेर
यहाँ सम्म आइपुगेँ
कहिले रगतको धारले पहरालाइ कोपरेर
पाइतलाहरु अड्याउदै अड्याउदै हिँडे
कहिले आँशुको झिरले पहाड खोपेर सुरूङ मार्ग हिँडे
कहिले छातीलाइ आगोले पोलेर बाटो बनाएँ
र आगोलाइ नै टेक्दै टेक्दै हिँडे
हिड्नु थियो जसरी पनि हिँडे
यहाँ सम्म आइपुग्नु थियो
जसरी पनि आइपुगें।
कहिले आफैलाइ जलाउदै जलाउदै हिँडे
कहिले आफैलाइ चपाउदै चपाउदै हिँडे
कहिले आफैलाइ रित्याउँदै रित्याउदै हिँडे
कहिले आफैलाइ सुकाउदै सुकाउदै हिँडे
कहिले आफैलाइ सिध्याउदै सिध्याउदै हिँडे
अन्तमा जति बाँकी छु
त्यति नै यहाँ सम्म आइपुगेंँ ।
जसरी पनि यहाँ सम्म आइपुग्नु थियो
म आइ पुगेँ ।
जसरी यहाँ सम्म आइपुगेँ
त्यसरी नै पुग्नु छ कतै
जसरी पनि पुग्नु छ उसै गरी त्यहाँ ।
हिडिरहेका समयका काँटाहरु
कुनै उकालोको चौतारीमा विश्राम गर्दैनन
बग्दै बग्दै गएका नदीका गतिहरु
भूगोलको कुनै कुइनेटाहरुमा आराम गर्दैनन
पसिना मथेर उम्रेका विचारका पाइतलाहरु
इतिहासको कुनै मोडमा कैद भएर सुत्दैनन
एक दिन पुग्नु छ कतै
जसरी पनि पुग्नु छ त्यहाँ ।
हिड्दा हिड्दै
तिमीबाट तिमी छुट्न सक्छौ
हिड्दै हिड्दै म बाट म छुट्न सक्छु
या हिड्दा हिड्दै
म बाट तिमी छुट्न सक्छौ
तिमीबाट म छुट्न सक्छु
तिमीबाट तिमी कति बाँकी रहन्छौ
म बाट म कति बाँकी रहन्छु
जति बाँकी हुन्छ
एक दिन अबश्य पुग्नु छ त्यहाँ
जसरी पनि पुग्नु छ त्यहाँ ।