दार्जिलिङ/कालिम्पोङमा जन्मेका कवि विशाल नाल्बो भारतीय नेपाली लेखकहरु माझ एक सशक्त कवि हुन् । उनका कविताहरुले रैथाने अभिव्यक्ति दिनुको साथै आदिवासी सौन्दर्यलाई जीवन्तरुपमा उजागर गरेको हुन्छ । पेशाले साहित्यिक पत्रकारिता गर्दै आएका छन् । प्रस्तुत छ साताको तीन कविता ।
उ त लिम्बुको छोरा
उठाएर घरको मुरूमसित्लाङ्
मनाएर सिमेभूमेंलाई
च्याब्रुङ्को लयमा गाएर हाक्पारे
राखेर तुम्याहाङ् सामुन्ने येब्बो
उसले खडा गरेको हो सारा दुनियाँ अघि माङ्गेना।
उ त ढुङ्गामुढालाई पुज्ने जाति
उ त सृष्टिको भक्त
उ त प्रकृतिको सन्तान
उ त लिम्बुको छोरा।
सृष्टिको उत्पतिसँगै
भएको हो उसको जन्म
गिट्ठा भ्यागुर खाँदै खाँदै खाँदै कल्पना गरेको हो
उसले आजको युग
धरतीमा हज्जारौं दर्शनको किताब आइपुग्नु भन्दा अघि नैं
आइपुगेको हो उसको मुन्धुम।
उ त केराको पात माथि
अछेता छर्केर देवता मनाउने जाति
उ त सृष्टिको मालिक
उ त प्रकृतिको रगत
उ त लिम्बुको छोरा।
खोलानालाको आवाज टिपेर
जोडेको हो उसले पहिलो वाक्य
गरेको हो उसले बोल्ने भाषाको निर्माण
र फक्ताङलुङ् माथि बसेर उसैले थालनी गरेको हो
मानव सभ्यताको याम्भक्।
शब्दकोष आइपुग्नु भन्दा
अघि नै आइपुगेको हो उसको बोली।
उ त धरतीलाई इश्वर मान्ने जाति
उ त भूँइको मुटु
उ त खोलानालाको अङ्ग
उ त लिम्बुको छोरा !
लिम्बुनी सोल्टिनी र याद
जब पुग्छु गगुण फेदको पानी धारा
तिम्रो सम्झना मेरो बाटो छेक्न आइ पुग्छ।
ए लिम्बुनी सोल्टिनी
तिमीलाई याद छ छैन ?
हरेक बिहान म घाँसको भारी
बोकेर घर फर्किन्दै गर्दा
तिमी भरिरहेकी हुन्थ्यौं ताँमाको गाक्रीमा पानी
तिमीलाई देख्दै पिच्छे
बनाउथे थकानको बहाना
अनि उहि बिसाउथे घाँसको भारी
र,
प्यास लागेको बहाना बनाएर
तिमीलाई माँगी खान्थे
पटक पटक पटक गगुणको पातमा पानी।
तिमीले बिर्सी पठायौ वा सम्झि रहेकी छौ?
तिम्रो हातको पानी खाँदा खाँदै
चोरेको न हुँ तिम्रो मन पनि…….
मनले अनगन्ती अनगन्ती सम्झिरहन्छ
सोमबारे हाट भरेर फर्कि आउँदा
तिमीले सुटुक्कै दिएको फूलबुट्टे रूमाल
लिम्बुनी खोला नजिक माङ्हुफ बुझाउन जाँदा
तुम्याहाङ्को नजरदेखि लुकेर बसेको बाँसघारी
र,
डाँडा माथिको माङ्हिममा
गएर युमा साक्षी गरेको बाचा बन्देश।
ए लिम्बुनी सोल्टिनी!
मलाई त लागि पो बस्छ हौं
तिम्रो पनि दुख्दो हो
मेरो जस्तै मुटुको कुना काप्चा।
जीवनको त्यो कुँइनेटोमा
अचानक आँधीबेहरी चलिआएको साँझ
भत्की झरेको हो हाम्रो सेप्माङ्को पहाड
अनि बनाएको हो हाम्रो मुटुलाई फोक्टा फोक्टी
र,
खोसी लगेको हो मबाट तिमीलाई टाढा कतै।
जब पुग्छु गगुणको फेदको पानी धारा
र,
पुग्छु लिम्बुनी खोला नजिकको बाँसघारी
किन हो तिम्रो सम्झनाले बिरक्त बनाएर जान्छ मन।
ए लिम्बुनी सोल्टिनी-
फर्कि आयौ भने कुनै दिन
म- उहि बाँसघारी उहि गगुण फेदको पानी धारामा
उसोरी नै घाँसको भारी बिसाएर पर्खि रहेको हुने छु तिमीलाई ।
याक्थुङ खाम
याक्थुङ्बा तन्देरीहरूले उठाएको हो यो खेतको आली
उनीहरूले नै जोडी राखेको हो यो बारीको देवल
भष्मे फारेर बसाएको हो उनीहरूले नै बस्ती
र –
बनाएको हो मान्छे बस्ने गाउँ।
उनीहरू नै हुन् यो जमिनको हकदार
उतिबेला अहिलेको जस्तो
शोषक सरकार थिएन
शालीन मान्छेहरू मात्र थिए।
थाक्थुङ्मा तरूनीहरूले
उति बेला नै छरी राखेको हो मकैको बीउ
उनीहरूले नै छुट्याइ दिइ राखेको हो
झार जंगल र सागपात
र-
चिनाइ राखेको हो मान्छेले खाने अन्नबाली।
उनीहरू नै हुन् खेतीपातीको सृष्टिकर्ता
उति बेला अहिलेको जस्तो
थिएन अन्नबालीको अनिकाल
मान्छेहरूले गर्नु पर्दैन थियो
महङगाइको धुरीबाट आत्माहत्या।
उनीहरू आफैं थिए किसान
याक्थुङ्बा तन्देरीहरूले
बिराउदै गर्दा बारी
अथवा याक्थुङ्मा तरूनीहरूले
छर्दै गर्दा मकैंको बीउ
भूइँ मात्र भूइँ थियो
थिएन अहिलेको जस्तो देश
अथवा थिएन अहिलेको जस्तो कुरूप नाउँ गरेको भारत।
बस् थियो त भूइँ मात्र।
यति बेला मेरै चेप्चुहरूको
पसिनाले कमाएको भूइँ माथि टेकेर
सोधि रहेछ यो देश-
मेरो किप्पट
मेरो पर्जापट्टा
मेरो नागरिकता
मेरो जात
र-
मलाई अघोषित अनागरिकको सूचीमा पारिसकेको छ
के अब म चुपचाप सहेर बसूँ ??