बर्तमान समयमा लेखीरहेकी अनुज पुस्ताकी कवि मनिषा आचार्य पान्थर फेदेनकी स्रष्टा हुन् । मानवीकी संकायमा स्नातकोत्तर ऊनी राजनिती र साहित्य दुवै क्षेत्रमा सक्रिय छिन् । उनले यस अघि छोरी उपन्यास प्रकाशनमा ल्याइसकेका छीन् । कविता, कथा, उपन्यास र विभिन्न विधाहरुमा निरन्तर कलम चलाइरहेकी आचार्यको लेखन असमानता र अन्यायको बिरोधमा उभिएका हुन्छन् । ऊनी आफ्नो समकालिन माझ राम्रो संभावना बोकेकी लेखक हुन्। प्रस्तुत छ साताको तीन कविता ।

देविमाया

थाप्लोले भारी थाम्ने भएदेखि नै
घाँसको भारी बोकेको हो उसले
त्यहि भारीमा खाँदिएर बसेको छ
उसको सम्पूर्ण अस्तित्वको सत्व ।

साहारा मरुभूमि जस्तै खुइलिएको तालुभित्र
एउटा ब्ल्याक एन्ड ह्वाइट सपना छ उसको
एउटा सुन्दर याक्सा बनाउने
चौपायाहरुको स्याहार सुसार गर्ने
आफ्ना छोराछोरीहरुलाई पाठशाला पठाउने
खेतबारीमा पसिनाको बीउ रोपेर
आकाङ्क्षाका फलहरु लहलह फलाउने
आफ्नै रहरहरुले निर्माण गरेको
समृद्धिको चित्र छ उसको मस्तिष्कमा ।

संघर्षका कठिन दिनहरु बिताएकी छिन् उनले
कहिले मानेको पात ओढेर
तालखर्कहरुमा गाईबस्तु चराउँछिन्
कहिले बर्षा झरिमा रुझ्दै
तारेभीरहरुमा घाँस काट्छिन्
आँखामा फूलेका आँशुका फूलहरुलाई
औँलाहरुलाई पर्साइ पठाउँछिन्
आफ्ना अरण्य रोदनहरुलाई दबाएर
पहरामा फूलेका जङ्गली फूलहरु हेर्दे
आफू पनि मुस्कुराउँछिन् ।

दुःखले खाएका उनका पाइतालाहरु
धाँजा फाटेका जमीनहरु जस्तै
पटपट्टि फूटेका छन्
उसका हत्केलाको चौघेरामा
असिनाको दानाझैं ठेउलाहरु उठेका छन्
उसको ढाँडको खोल्साभरी भरी
उर्लिरहन्छ पसिनाको नुनिलो नदी ।

उनको भ्रमण घरदेखि जंगलसम्म हो
उनको यात्रा गोठ, खेत, खलिहान र पानी पँधेरासम्म हो

पुष माघको ठिहिरयाउने जाडोमा पनि
उसको खुट्टाले चप्पल देखेको छैन
चाडपर्व र उत्सवहरुमा पनि
उसको जिब्रोले चौरासी व्यञ्जन चाखेको छैन
बास उनी त
आफ्नै झोपडिमा पाकेको
खोलेफाँडो खाएर छाक टार्छिन्
बोराको धागाले सिएको
चिथरा लुगाहरु लगाएर
जिन्दगी कटाउँछिन् ।

जिन्दगीका उकाली ओरालीहरुमा
उनी कहिल्यै पनि थाकिनन्
बरु जुधिरहिन् भोक र तिर्खाहरुसँग
बरु लडिरहिन् अभाव र समस्याहरुसँग

आफ्ना चाहनाहरुलाई तिलाञ्जली दिंदै
जीवनभरी दश नङग्राहरु खियाएर
मृत्युलाई पनि हत्केलाहरुमा खेलाउँदै
मेरो उज्यालो भष्यिको कामना गर्ने
मेरी आमा देविमायालाई
मेरो मुुटुभरीको माया
मेरो छाँतिभरीको सलाम ।

आभास

एउटा निर्वस्त्र मुलुकको
रङगविहिन ग्रेटर नक्साभित्र
म कसरी इन्द्रेणी कलरले चम्किन सक्छु
म कसरी बनकुसुम भएर मुस्कुराउन सक्छु

उज्यालो भूइँमा खसि नसक्दै
अखबारका हेडलाइनहरुमा उफ्रिदै आइपुग्छ
सुदूर गाउँका अपसकुनहरु ।

उता गाउँमा
किसानले तरकारीको भाउ नपाएर
सडकमा टमाटरको बिस्कुन लगाएको
कतै बन्दाकोपीले कुनै बजार नपाएर
बारीमा उत्खनन् नै नगरिएको
कतै दूधले उचित मूल्य नपाएर
सडक किनार मै फालियो
कतै भोकले छट्पटाएर मानिसहरु
सडक बिचमै मृत्युवरण गरेको
कतै नानीहरु तुइनमा झन्डिएर स्कुल जाँदा–जाँदै
तुइनबाट खसेर बेपत्ता भएको
कतै अबिरल बर्षाझरीले पहाडमा गाउँ पूरै बगाएको खबर आउँछ
कतै मधेशका अधिकाँस ठाउँहरुमा डुबान भएरको खबर आउँछ

यता
सिंहदरबारमा बाँदरहरुले
सदन अवरुद्ध गरेको समाचार आउँछ
गलगिद्ध हुने गरी हसुरे
बमिट गरेको घिनलाग्दो दुर्गन्ध आउँछ ।

मलाई शान्तीको आभास हुँदैन
मलाई अमन चयनको आभास हुँदैन
त्यसै–त्यसै आगो भएर सल्किन मनलाग्छ ।

असत्य

एकदिन
कामरेडहरु आएर लालसलाम भन्दै
माओ, लेलिन र एङगेल्सका पुस्तकहरु थमाएर गए
अर्को दिन एवम प्रकारले आएर
एउटा बन्दुक र गोलिगठ्ठाहरु थमाएर गए
फेरी अर्को दिन आएर
मलाई युद्ध मैदानमा लिएर गए ।

युद्धमा मलाई सैन्य विज्ञान पढाइयो, घोकाइयो
ढाँडमा टेकेर टाउकोमा हान्ने रणकौशल सिकाइयो
दुश्मनलाई एम्बुस थाप्ने अपहरण गर्ने तरिका सिकाइयो
समतामूलक समाजको महाभारत पढाइयो
राष्ट्रिय मुक्तिको दृढसंकल्प गराइयो
र कहिले नहार्ने कसम पनि खुवाइयो ।
तब मलाई लाग्यो
यहाँ जात व्यवस्थाको उन्मुलन हुनेछ
बर्ग व्यवस्थाको अन्त्य हुनेछ
लैङ्गिक विभेद हटेर जानेछ
सामन्त मालिकहरुको अपदस्थ हुनेछ
रातोपछि देश हरियोमा परिणत हुनेछ
उन्मुक्तिको श्वास फेर्न पाइनेछ
मजदुरहरुको हातमा देश हुनेछ

तर समय वित्दै गयो
युद्धविराम भयो
हतियार थन्काइयो
अयोग्य लडाकू भएर
निरीह गाउँ फर्किएँ ।

आज
पूर्व स्मृति मेरो मस्तिष्कभरी नाचिरहेको छ
जनतासँग गरिएका कबोलहरु दिमागमा ताजा भएर बसेको छ
गाउँमा हेर्छु सामन्तहरुको दबदबा उस्तै छ
शहरमा जान्छु नवसामन्तहरुको रवाफ उस्तै छ

आज लाग्दैछ कि
हजार माइलको यात्रा गरेर पनि
फेरी उहिँ ठाउँमा पो आइपुगिएछ ।
आफ्ना पूर्व संकल्पहरु असत्य सावित भएको छ ।

तपाईको प्रतिक्रिया