पोखरामा बसेर कविता लेखीरहेकी कवि रीता अधिकारी ऋतु कविता आख्यान, समालोचना क्षेत्रमा स्थापित नाम हो । सेल्फ पोट्रेट कविता संग्रह २०७९ मा प्रकाशित भएपछि उहाँको उपस्थीति नेपाली कविता लेखनको क्षेत्रमा अझ शसक्त भएको हो । हाल पोखरेली युवा सांस्कृतिक परिवार, नेपाली लेखक संघ,कास्की उपाध्यक्षको रुपमा सकृय अधिकारीको कविताले महिलामाथि हुने अन्याय अत्याचारको बिरोधमा स्पष्ट बोलेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता ।

धुवाँबाराही

यो समाज-
तिनका हत्यारा र मतियारहरूलाई
कसरी जोगाइरहन्छ भन्ने पनि देखेकी छु
यही देख्दै, सुन्दै
छोरीकै बाटो भएर
छोरीकी आमा भएकी म
जब जब सुन्छु यस्ता खबर एकपछि अर्को
भाउन्न हुन्छु म
दाँत किट्यो गिँजाबाट आफ्नै रगत बग्छ
लौन कोही छ ?

मेरो देश ब्यूँझन
कति चेलीबेटी सकिनु पर्ने हो ?
अकालमा कति हो मारिनु पर्ने ?
बलत्कारपछि हत्याको आँकडा कति पुग्यो भने
बलत्कारीलाई फाँसी हुन्छ मेरो देशमा ?

दाइजो नल्याएर कति हो जल्नु पर्ने ?

इङ्गेजमेन्ट हुन्छ
बिहे हुँदैन
यातना- प्रताडना सहन नसकी
दिन दहाडै छोरी जल्छे राजधानी शहरमा
ओ, सिँहदरबार
कति धूवाँ सुँघेर बस्छस् ?
त्यो धुवाँबाराही हो कि धुम्बाराही हो ?
कता पर्छ सिंहदरबारदेखि ?

प्रीय छोरी !
तिमी किन यति कमजोर
जलाउनु पर्नेलाई पो जलाउनु पर्ने
धत् , किन जल्यौ होला आफै
आगो गलत प्रयोग भयो नानु आमाहरूलाई माफ गर ।

सागर होइन स्वास्नीमान्छे

सागर हो स्वास्नीमान्छे
आमाहरू धरती हुन्

यस्तै सुन्दै हुर्किएँ म सुनिरहेछु

सागर हो स्वास्नीमान्छे
आमाहरू धरती हुन्

पुराणका कर्ता-धर्ताहरूको अगुवाइमा
बिहानै जब –

बालिकाको आरती उतारिन्छ

सुनिन्छन् कुरूप हेडलाइनहरू
बालिकाको सामूहिक बलात्कार
स्कुले विद्यार्थीहरू बलात्कृत
बलात्कारपछि हत्या
अभियुक्त फरार
अभियुक्त धरौटीमा रिहा

उफ् !
दाँत चिलाएर खप्नै सक्दिन म
म आगो ओकलूं कि तरवार ?
म खुर्पा निलूं कि खुँडा ?

जति बदलिए पनि शासन-सत्ता
जति बदले पनि कानून
छोरीहरू माथि गिद्द खनिने खबर आउन छोडेन

ओ देवी, दुर्गा, चण्डी, चामुण्डा
ओ रिपुमर्दिनी, काली, महाकालीहरू
के तिमीहरू पनि मायावी नायिका मात्रै हौ ?
यो कलि यति बिघ्न पापाचार उद्दत छ
र पनि,
तिमीहरू मौन छौ ?

यो पापकालीन समय
आमाहरू सुरक्षित छैनन् सन्तानहरुबाट
छोरीहरू सुरक्षित छैनन् बाबुहरुबाट
असुरक्षामा छन् हजुरआमाहरू
झन् डेन्जर जोनमा छन्
झन् खतरामा छन् नानीहरु
असुरक्षाको शृंखला भ्रुण देखिनै सुरु छ

आज,
छोरीको भ्रुण हत्या गर्ने
बाबुहरू
भोलि, खै कहाँ खोज्लान बुहारीहरू
यो अहंम प्रश्न
आमाहरूलाई पनि हो

सुन्दै अपत्यारिला र अप्रिय खबर
आइरहन्छन् बारम्बार
म पुरै नबुझ्ने भएकी छु
राखी हो कि अभिनय ?
भाइटिका हो कि नाटक?
यो पारिवारिक बिघटनको युग
यो विद्रुप सम्मोहनको उल्टो यात्रा
न बाटो सुरक्षित छ, न गन्तव्य
न घर सुरक्षित छ, न स्कुल

आतङ्कित छ समय
त्रासपूर्ण छ बतास
अपराधीहरू सुरक्षित छन्
न्याय बन्दी छ
सरकार छ कि छैन
अहँ, थाहा छैन् !
चोरलाई चौतारो र साधुलाई शूली भएको छ

खबरदार
मुठ्ठीमा घडी कैद गर्दैमा
समय कैद गर्न सकिन्न

मेरी प्रिय छोरी,
यस्तो बेला
सत्य, आस्था र विश्वासको
अविचलित हिमाल बनेर
आफ्नो रक्षा कवच आफैं बन्नू
त्यो वादल, त्यो आकाश , यो हावा
कसैको विश्वास छैन आजभोलि
तिमीले सोचे झैँ
निर्धक्क सुस्ताउन सकिने घर
खै कहाँ छ ?
हर यात्रामा त्रास र जोखिम मोलेर
गन्तव्य पुग्नु छ छोरी
र पनि, वर्षौंदेखि
यो पुरुष सत्ता
सुनाइरहेछ उही भ्रम-पुराण दुनियाँलाई
सागर हो स्वास्नीमान्छे
आमाहरू धरती हुन्

अहँ, खबरदार !
जहाँ, जहिलेसुकै जे पनि बग्दै-बग्दै पुग्ने
सागर होइन स्वास्नीमान्छे
तिमीहरूले चाहे झैँ
सती, सावित्री मात्रै पनि होइन नारीहरु
अहँ,
सागर होइन स्वास्नीमान्छे
धरती पनि होइनन् आमाहरु ।

माइली कसौँडी

अधरमा कलेठी, ललाटमा नदी
बुलाँकीमा एकतमास बर्खेझरी
यही हो मेरी सासूमाँको छायाँ-छवि !

तिम्रै मुस्कानमा लठ्ठिएर
एकतमास तिमी सुनिबस्थ्यौँ
आज त्यही याद उग्राएर
जिन्दगीका पाना पल्टाउँदै छु ।

याद छ मलाई
त्यो कठिन समय
तिम्रो पीडाको खाङ्ग्रे
तिमीले भोगेको खरखाईँ
दुःख, कष्ट, छटपटी
र, तिम्रो पीडाको पहाड
सबका सब याद छ ।

पराइ घरको रिवाजमा
थपिएर यौटी अल्लारे केटी
तिमीले जे भन्थ्यौ, त्यही गर्थी
अहिले सम्झिरहेछु
टमक्क पटुकी कसेर
एक दर्जन बालबच्चाको पेट भर्न
कसले सिकायो तिमीलाई ?

जो थपिँदा नि
माइली कसौँडी
उही र उस्तै
पन्यु र कसौँडीको आवाजसँगै
भरिएको तिम्रो पेट
सन्तान अघाएसी आफै अघाउँथ्यो है ।

जति रितिन्थ्यो कसौँडी
उति मुस्कुराउँथ्यौ
को छुट्यो को दोहोरियो ?
पत्तै हुन्थेन !
सोचिरहेछु, माइली कसौँडी र तिम्रो पेट
न कहिल्यै रित्तियो, न कहिल्यै भरियो ।

तपाईको प्रतिक्रिया