पछिल्लो समयमा नेपाली साहित्यको केन्द्रमा पर्यावरणीय चेत सहितको लेखनको बारेमा चर्चापरिचर्चा बढ्दोछ । वातावरण सरंक्षण तर्फ जनस्तरबाटै सचेत रहनु अबको दिनमा सबैको साझा दायित्व हो । पर्यावरण माथि लेखिएको डा. हिम लाल श्रेष्ठका कविता । प्रस्तुत छ – साताको तीन कविता ।
आरोहण
तिम्रो उचाईको उडान
म बुझ्छु साथी
भुइँ हेर्दा जे बुझिन्छ
उडेर आकाश माथि
भलै सानो होस्
त्यो तिम्रो चित्त
अहंकारको डोली चढेर
सोच्दछ त्यो मन बिचित्र
घस्रेर हिड्छन्
सारा मुसा समान
जगतमा छिचिमिराहरु
म उडीरहेछु बेगवान
बेलगाम निहारिकाहरु
आरोहणको ज्वरो अर्कै हुँदो रहेछ साथी
सबै तल कतै बिलाएका – म नील गगनमाथि !
कति चढ्छौ हिमालका टाकुरा
जहाँ चढेपनि
ओर्लेर आखिर गर्नै पर्छ हिउँका कुरा !
आरोहणको तिम्रो त्यो हुटहुटी
उचाईको तिम्रो त्यो रौनक
अनि तिम्रो त्यो उच्च आसनको आशक्ति
सबका सब बुझ्छु म
अब बुझ्ने पालो तिम्रो साथी
उचाई नाप्ने दौडमा
प्रतिस्पर्धाको चकाचौंधमा
कति सरल यात्रीको बाटो अबरोध गर्यौ होला
विश्व रेकर्डका लागि तिमीले कति ओहोरदोहोर गर्यौ होला
त्यो ओहोर दोहोरले शुद्ध आबहवाको दोहोलो गर्यो होला!
अब तिमीले बुझ्नु छ –
उचाई आरोहणका उबडखाबड भन्दा
समथर हिंडाई सुरम्य हुन्छ
चढेर फेरि झर्नु भन्दा सिधा रेखाको हिडाई बोधगम्य हुन्छ
तापमान
आजकल रीस छ
प्रतिस्पर्धा छ
घोचपेच छ
आगजनी छ
आजकल बस तापमान बढेको छ
भयावह छ
हाहाकार छ
चोटै चोट छ
बिग्रह छ
बिद्रोह छ
मन बुझाउनका लागि भन्न सजिलो छ
आजकल तापमान बढेको छ
बेथिति छ
इमान गायब छ
मानव मुल्यको अभाव छ
परचक्रीको प्रभाव छ
आफ्नोपनको अभाव छ
चित्त बुझाऊँ साथी हो
आजकल तापमान बढेको छ
खडेरी छ
डढेलो छ
उकुसमुकुस छ
तथापि सुतुरमुर्ग सुतिरहेछ
आजकल तापमान बढेको छ
हिजोको जस्तो रापताप छैन
त्यो रौनक छैन
सानमान छैन
खुम्चिएको छ आफै आफै मरीच
हो बेखामान
आजकल तापमान बढेको छ
मन डढेलो
तिमीले नझोसे, त्यो आगो
मेरो मन सल्लेरीको वन झैँ
हराभरा हुन्थ्यो !
तिमीले नखोसे, मेरो गाँस
मेरो पेट पनि तिम्रो झैँ
अटेस मटेस हुन्थ्यो !
तिमीले नचोरे, मेरो खुशी
मेरो मन पनि कोयलीको आवाज झैँ
कुहु कुहु गर्थ्यो !
तिमीले नरोजे, स्वार्थको खेती
मेरो मन आकाशमा उड्ने चंगा झैँ
फुरुङ्ग हुन्थ्यो !
ओ मान्छे ! तिमि जस्तै
जगतमा अनगिन्ति प्राणी छन् |