मानिसको जन्म हरेक अस्तित्वसँग गाँसिएको हुन्छ । तर मृत्यु अस्तित्वहीन अकाट्य दर्शन । मृत्युको भय साँच्चिकै भयानक हुन्छ । हरेक क्षण, हरेक पल मृत्युबोधले मानिसलाई तर्साइरहन्छ । मृत्युको मुखमा पुगिसक्दा पनि जीउनुका जीजिविषा जीवनमा झन् तीब्र हुन्छ । डा.कृष्णहरि बरालको शब्द नै काफि छन्, मृत्युको लयमा बग्न ।

मर्न कसैलाई रहर हुँदैन
तर नमरेको प्रहर हुँदैन
भागेर जाऊँ कुन ठाउँ जाऊँ
मान्छे नमर्ने सहर हुँदैन ।

मृत्युको शास्वत दर्शनका यी शब्द भावले कसको मन छुँदैन ? जीवन ज्ञान विज्ञानको पाठशाला हो । तर जीवनको अर्थ बुझ्न र रहस्यको पाठ पढेर सक्न नपाई जीवनकोे पाठशाला छाडेर जान्छन् वैज्ञानिक चिन्तक र तपस्वीहरू पनि । यस्ता युग पुरुषको जीवन गाथा इतिहासमा पढेका छौं र पढ्दै पनि छौं । यो चराचर जगतमा मृत्यु अकाट्य सत्य र अरू भ्रान्ति हो जस्तो लाग्छ । जन्मँदा नै मृत्युको छायाँ टेकेर आएको जीवन मृत्युसँग जति बेलै डोरिइरहेको हुन्छ । मृत्युको स्वगतमा सधैँ तत्पर रहने पंचतत्वको शरीर ढल्नासाथ मृत्युको सन्देश दिँदै शंख बज्छ । जीवन मरण विधिको विधानमा चल्ने नियतिलाई कस्ले रोक्न सकेको छ र ? चिकित्सा विज्ञानले शल्यक्रिया गरेर जन्मनुको समय केही न केही त कमाल गरेको छ । मृत्युको समय पनि यदाकदा अक्सिजनको माध्यमले निश्चित समयसम्म श्वासको गति लिन सक्ने अनेक घटनाहरू सुनिन्छ र देखिन्छ पनि । तर प्रकृतिलाई स्विकारेर सोच्नु हो भने जीवन र मरण प्रकृतिको नियमित प्रक्रिया हो । जुन समयको गर्भमा नै लुकेर आकस्मिक हुन्छ ।
उफ ! कहिलेकाहीँ यो भीडमा पनि एक्लो एक्लो अनुभूतले थकित हुन्छु । मौनतामा पनि अनेक आवाजले तरङ्गित भइरहन्छु । यो जीवन बाँच्नुको जिजीविषा हो की मृत्युको लय हो । । मृत्युमा बिचलित माया र वेदनाले भरिएको गहिरो खाडल मुटुमा छातिमा हुन्छ । मृत्युबाट उम्केर भाग्ने ठाउँ हुनु, उम्कने समय हुनु हो त यो संसारको लय कस्तो हुन्थ्यो होला । यो परिवर्तनशील जीवनको अन्त कहाँ र कुन अवस्थामा हुन्छ त्यो नियति पनि रहस्यमय छ । फलानाको राती सुतेकै ठाउँमा दुख नपाई प्राण गयो भन्ने कहिलेकाहीँ सुन्नमा आउँछ, कोही दुर्घटनामा, कोही हत्याको सिकारमा, कोही आत्महत्याको कारण र कोही बिरामी भएर मृत्युवरण गर्छन् । जीवनमा कसैलाई पनि थाहा हुन्न मेरो मृत्यु के कारणले हुन्छ भन्ने । हरेक प्राणीको गतिशीलता, जुन एउटा जानु र अर्को आउनुको क्षण भंगुरता जीवन र मृत्युलाई कसैले कक्टेल पाटी झैँ ठान्ने पनि सुनेकै छौं । जिन्दगीको स्टेरिङ कुन मोडमा गएर टुङ्गिन्छ अन्जान र भ्रमित हामी । यो समयको जटिल संजोगलाई कसै कसैले सृष्टिको अर्काे सुन्दर चित्र पनि मान्छन् । जन्मने बित्तिकैको नवजात शिशु हुर्कँदै गरेको सुन्दर बालक, युवावस्थाको भरभराउँदो यौेवन, बृद्धावस्था असक्त जो सुकैलाई जस्तो अवस्थामा पनि मृत्युले छाड्दैन । बाँचुन्जेल अजम्मरी हुँ भन्ने भ्रममा यो तेरो यो मेरो भनेर हरेक मान्छे थाहै नपाई मृत्युको लयमा बगिरहेछन् । ज्ञानी, ध्यानी, योगीहरूले जन्मँदाको अवसर जस्तै मृत्युलाई पनि अवसर मानेर स्वागत गर्छन् या भनौं मृत्युलाई एक खालको माया गर्छन् । हरेक प्राणीको जीवन जन्मबाट सुरू भएर अनेकौँ आरोह अबरोह पार गर्दै एकाएक एकदिन मृत्युमा समाप्त हुने । यो सिलसिला सृष्टिको सुरुवात देखि नै भएकाले अन्त र अनन्तको फेर कहाँ छ कसैलाई थाह छ त ? अहं, कहिले र कहाँबाट भयो र अन्त कहाँ र कसरी हुन्छ थाह छैन् कसैलाई । यो सृष्टिको आदिमकालदेखि अनन्तकालसम्म चलिरहने निरन्तरताको गति हो ।
मृत्युलाई सच्याउन सकिँदैन शिर्षककमा रमण घिमिरेले लेखेको निबन्धमा मृत्यु दर्शन कति हो कति । यसले मलाई सोच मग्न पारको छ । हो नि मृत्युलाई कसरी सच्याउनु ? मरेपछि त सकीगयो नि । कस्तो यथार्थ दर्शन बोकेको शिर्षक । शिर्षक नै एउटा पुर्ण निबन्ध भएकोले मैले यसबारे अरु कुरा गरिन । मृत्युलाई न कसैले छेक्न सक्छ न रोक्न न कसैले टार्न सक्छ । कुन रुपमा आउँछ कसैलाई थाहा हुन्न अनि जे जति बेला हुनु छ त्यो भएरै छोड्छ । म त्यसै–त्यसै हराइरहेछु जीवनको यो क्षणभंगुरता मृत्युको दुखाई हरे सोच्नै नसक्ने । कुनै दिन थाहै नपाई हाम्रा सारा अनुभूतिहरु हामीसँगै मृत्यु निख्रन्छ्न । जीवनका सुन्दर कलेवर चुडेर मृत्युले क्षणभरमा डस्छ । हाम्रा सारा सपनाको बली दिँदै मृत्युले जीवनको लयलाई अविछिन्न बनाउँछ । यो क्रम यो श्रृङ्खलाको निरन्तरता नै मृत्युको अस्तित्व हो सायद । यसबाट कोही कहीँ भाग्न नै नसकिने अद्वितीय नियम हो सृष्टि को । हाम्रो दृश्यबाट विमुख भएर नराम्रोतिर अभिमुख हुनु अनि । तर मृत्यु निश्चित नियमितता जे जस्तो छ त्यस्तै छाडेर जानु पर्ने सम्पूर्णताको सार । आमाले जीवन बगाए झै हिमालले नदी बगाउँछ बाटो बनाउँदै । अन्ततः हिमाल बगेर कहिले सुक्दैन तर जीवन चलायमान चलिरहन्छ र सुक्छ मृत्यु बनेर निश्चित समयको घेराभित्र । जीवनको एक छेउ नपुग्दै जीवनका सारा उपलब्धिहरू बिर्सिएर दुख सम्झँदै हराउँछन् ।

प्राणी जगतमा सबै जीवजन्तु लगायत वनस्पति समेतको सिर्जना हुनु अनि अन्त भएर माटोमा मिल्नु बाहेक अर्को ध्रुव –सत्य केही छैन । मृत्युको शास्वत्वता विचरण गर्नु प्रेमको सुन्दर कसी नाप्नु हो सायद । हरेक पल मृत्युबाट बाँच्ने अनुरागमा हामी किन किन रूमल्लिरहेछौं । जीउनुको जीजीविषाको अर्थ खोज्दै जाने हो भने जति बाँचे पनि अपुरो र अधुरोको लाग्ने रैछ । एकपटक मरेर बाँच्न सके जीवनको अर्थ कस्तो हुन्थ्यो ? अर्थलाई एकातिर राखौँ तर यस्ता भ्रमित विचारहरुले पनि आन्दोलित पारिरहन्छ मलाई त बारम्बार । मानिससँग जोडिएको चौरासी जुनीको उक्ति कत्तिको सार्थक छ ? यो कसले देख्यो र भोग्यो ? मृत्युको अनुभव कोसँग छ ? मृत्युको अनुभव गरेर अनुभूति बाँड्न सके पो यस जगतमा एक पटक मरेर फेरी अर्को जन्म लिइन्छ भन्ने विश्वास गर्नु हुन्थ्यो । यस्तो विश्वास र अन्धविश्वासको दोसाँधमा कसले मानिसलाई तरङ्गित बनायोे भन्दिनु कृपया । सत्य र अर्धसत्यको धरमरमा छ मानिसको जूनी । मृत्यु भन्नु खरानी भई निख्रनु हो माटोमा, आगोमा सल्कीनु अथवा कुनै न कुनै प्राणीहरुको जीवन रक्षाका लागि शरीरका अङ्गप्रत्याङ्ग लुछाउँदै निख्रनु हो । एउटा अस्तित्व छाडेर धरतीमा फेरी अर्को अस्तित्वको दीपशिखा जलाउँदै आइरहेछन् । तर तिनै मृत्यु वरण गर्नेहरू आउनु पनि पो के हो ।
आयो टप्प टिप्यो लग्यो मिती पुग्यो टारेर टर्दैन त्यो
इन्द्रै विन्ती गरुन् झुकेर पाउमा त्यो बिन्ती मान्दैन त्यो ।

काल महिमा पाँच दशक हुन लाग्यो ९, १० कक्षामा नेपाली विषयमा पढेको पाठको यी लाइनको सार्थकता के हो भन्ने निकै पछि बुझेँ । कुनै कुनै पढेका बिषय अर्थले फरक पारे पनि अझैसम्म कण्ठ छन् । त्यस बेला अर्थ नबुझे पनि कण्ठ पारेको यसको भावमा कति गहिरोसँग मृत्युवोध लुकेकोे छ । समय परिस्थितिको नियति बनेर जीवनको पदचापसँगै मृत्युको धुन पनि फरक पर्ने रैछ । कहिलेकाहीँ त मानिसलाई मृत्युले पनि गिज्याउने रैछ । समयको पदचापसँगै आफुलाई हिडाउने सन्दर्भका अनेक अनुभवका प्रसंगहरू मसँग असरल्ल छन् । महाभूकम्प जानुअघिको एउटा प्रसंग प्रस्तुत गर्न मन लाग्यो । त्यस बेला खै किन हो समय उभारेर पशुपतिको आर्यघाट पारि पट्टि बसेर समयले साथ दिउन्जेल लास जलेको हेरेर घर फर्केका अनुभव बिर्सिनसक्नु छ । जीवनवोधभित्र मृत्युवोधका छायाँ सलबलाएको अनुभूत गर्नुमा पनि बेग्लै तृप्ति हुनेरैछ । छ, सात पटकको त्यो बसाईमा मैले के बुझे के बुझिन ठ्याक्कै भन्न सक्दिन तर मनमा उत्पन्न भएका औडाहाले किन–किन मलाई त्यहाँ जाने तिर्सना हरेक दिन भैरहन्थ्यो । जीवनका अनेकन् गतिसँगै हार जीतमा संसार अडिएको मृत्युवोधमा खोज्ने भएर हो कि त सायद !

मानिसलाई चेतनापुञ्ज बनाएर कसरी सृष्टिमा सिर्जना गरे सृष्टिकर्ताले ? कहिलेकाहीँ चेतना हुँदाहुँर्दै पनि मानिस प्रायः पशुभन्दा गए गुज्रिएको प्राणी हुन्छ । मानिस जन्मदाको पहिलो प्रहर रुनुबाट सुरु भएर मृत्युको नजिक पुग्दा पनि रुनुमै सकिन्छ कस्तो नियति हो ? हाँसीहाँसी मर्न कोही सक्दैन । मानिस आफ्नो प्रियजनबाट छुट्ने पीडामा होस् या आफ्नो अस्तित्वको चरम उत्कर्ष खोतलेर होस् । अहँ ! पटक्कै हाँस्न सक्दैन । मृत्युको नजिक पुगेर पनि जीवन बाँच्ने चाहना झन गर्ल्याम्म हामफालेर आउँछ उसको चेतनामा । कति मोह जीवनको मानिसलाई । तर मर्नुदेखि डराएर जति भागे पनि लुक्ने ठाउँ कहाँ छ र ? डा. कृष्णहरि बरालका शब्द माथि उल्लेख भैसकेका छन् । मृत्यु सम्झदा मात्र मेरा पनि हातखुट्टा फत्य्राक्क फुत्रुक्क भएर गल्छन् । जीवन खोज्न थाल्छु खोज्दाखोज्दै मृत्युपछि आफ्ना प्रियजनबाट छुट्टिएर निख्रने वेदनाले उत्पात विक्षिप्त हुन्छु । छुटिसकेका प्रियजनहरू जसले पहिले मृत्यु भोगिसके उनीहरूलाई भेट्ने आशाको लोभ पनि कहाँ कता टाँसिएको त हुँदोरहेछ ।
कसरी नभनौँ आस्थाका प्रतीक वेद, पुराण र धर्मशास्त्रको छाप हामीमा परेको छ । अन्धविश्वासको जालोमा गुजुल्टिएर निरासाको घुँड्को पनि पिउँदैछु । कल्पनाको उडानमा अन्दाज गरेर भरेका शब्द चित्रहरू कुनै दन्त्यकथा भित्रका उपकथा जस्तो लाग्ने । परलोकको भरोसा गर्नु पनि नसकिँदो रहेछ, चेतनाको गोधूलीमा हिँड्न खोज्नेहरूले । मृत्युलोकमा पुगेको सपना देखियो भने त जीवनमा अनौठो आद्रताले भरिन्छ । जसमा स्पष्ट वेदनाका भेलले सिरानी भिजेको हुन्छ । ब्यूँझदा थाहा हुन्छ म मरेको छैन, तर मन विक्षिप्त भइनै रहने । त्यसबेला पनि मृत्युवोधको पीडाले असैह्य भएर प्रियजनको सामिप्यता खोज्छ यो मनले । जीवनका विगत र आगतले एकैचोटी दुखाउछ । अस्तित्वको क्षितिजमा पुराएर अन्योलतामा चर्याउँछ । रात नै अप्रिय लाग्छ, सपना झिझो लाग्छ । जिन्दगी नै निस्सासिने गरी वैरागिन्छ । सबका सब कर्महरूको पछाडि अर्थ हराउँदै जान्छ । विस्तारै विस्तारै अँध्यारो भावनाका आन्दोलित तरङ्गहरु कालो रातसँगै बडारिदै जान्छ निकैपछि सपनाका कहालीलाग्दा क्षणहरुबाट हलुङ्गो अनुभूत हुन्छ । यस्तो मैले अनुभव गरेका सपनाका कति सन्दर्भहरु छन् भनी साध्य छैन । उल्लेख गर्न थाल्दा यो कसरि टुङ्ग्याउने म नै अनमस्कमा परौंला नि त । त्यसैले यसमा यति नै राख्ने अनुमतिका लागि पाठक महोदयसँग अनुरोध गर्छु । जीवनका हरेक प्रयास सार्थक रूपले निष्कर्षमा पुग्नै सक्दैन । यो त आफ्नै उमेर जस्तै अनवरत भागिरहेको हुन्छ, साँच्चै बुझ्नै गाह्रो जीवन र मृत्युकै अनेक तानाबानामा अल्झँदै मृत्यु शय्यामा छटपटिँदै हामी पनि जानेछौँ एकदिन र धुवाँ हुनेछौं हरे ! अनि जब मृत्यु हुन्छ तब मानिसको पहिचान एक लास हुन्छ । लासलाई बोक्नु होस्, लास उठाउनुहोस् लासलाई यहाँ राख्नु होस् आदि शब्दले बोलाइन्छ । त्यो लास भएको मान्छेलाई नामले बोलाउँदैनन्, जुनसँग सम्पुर्ण जीवन बिताइएको हुन्छ ।

तपाईको प्रतिक्रिया