-सुमन लिङदेन
कथा/कथान्तर :
पुर्वी नेपाल पान्थरको आङसाराङ गाउँ। लिम्बू समुदायको सभ्यता एवं भव्यताको ठाउँ। पारी कता कता नेपथ्यमा देखाईन्छ गाउँ, एकदम मधुर मधुर। गाउँको बेंसीखेतबाट हुँदो हो, मंगलसीङ उर्फ बिजय बराल बडेमानको परालको भारी लिएर घर जाँदैछ।
उकालो छ बाटो। बाटैमा पर्छ नाम्साङ (दयाहाङ राई) को घर। घरमा भएको एउटा भैंसी पनि बेच्न लागेको देखेर अचम्म मान्छ मंगलसीङ ।
हुँदाखाँदाको भैंसी नि बेच्न लागेको देखेर नाम्साङलाई प्रश्न गर्छ। … नाम्साङले जवाफ दिन्छ।
नाम्साङ_
– खै हौ मंगलसीङ ! मेरो घरमा त खै के को अभास लाग्यो हौ, न भैँसी ब्याउँछ न मान्छे।
मंगलसीङ_
– लु दाजु, यस्तो बेलामा हारगुहार गर्न नमिल्ने! आफै बल गर है।
नाम्साङ_
– थेट ज्याँ……। (सिनेमाको प्रसङ्ग यहीँबाट अघि बढ्छ…)
लिपपोत गरिरहेकी हाङमा (मिरुना मगर) ले रिस एवं क्रोधले नाम्साङलाई हेर्छ। नाम्साङले चुरको पोका हाङमालाई सोध्छ। हाङमाको रिस तब पो आगो झैँ बल्छ…।
हाङमा_
नोकर हुँ म तेरो…? दासी देखिस्…? भनाभन चल्छ। आरोप एवं प्रत्यारोपले उग्र रुप लिन्छ। भनाभनमा नाम्साङ गल्छ, भौतिक आक्रमणमा उत्रन खोज्छ।…… सहन नसक्ने बचनले गर्दा हाङमाले ‘युपारुङ/ युप्पालुङ’ ले नाम्साङलाई दाग्छिन् र आफू माईती लाग्छिन्।
कथा यहाँबाट सुरु हुन्छ। कथा एवं कथान्तरले दर्शकलाई बाँध्छ नै। कथा मौलिक छ, अथवा ०५०-०५२ दशकको कुनै सुदुर परिवेशको याक्थुङ लिम्बू समुदाय र आन्तर्य जीवनलाई सिनेमाले बोल्न खोजेको छ। उसो त उ बेलासम्म त्यस ठाउँमा अन्तरसमुदायको मिश्रित रुप गाउँमा नभएको भने होईन। त्यो अडकल काट्न सकिन्छ, पात्रहरुले बोल्ने भाषाको रुपले अथवा मंगलसीङको उपस्थितिले। तथापि कथावस्तु एक समुदाय आन्तर्य बगेको छ।
लिम्बू समुदायमा विद्यमान साँस्कृतिक सौन्दर्यका अनेकन पक्षहरु, जीवनका अभिन्न कर्मकाण्डका आयामहरु, जीवन र जगतलाई बाँध्ने सामाजिक रीतितिथिहरु, प्रथाजनित कानुन, प्रेम, विवाह एवं समग्रमा विद्यमान ती समुदायले जगतलाई हेर्ने दृष्टिकोण नै ‘जारी’ को आँखीझ्याल भन्न सकिएला।
कथा – कथान्तरले कहिले हसाउँछ। कहिले भावुक बनाउँछ। कहिले सोच्न बाध्य बनाउँछ। क्लाईमेक्समा ती दम्पती हाङमा र नाम्साङ आ-आफ्नो अहमबाट कसरी हार्छन्? उनिहरु बीचको क्रोध, रिस र बाहिरी दुनियाको प्रभावले सम्बन्धको बीचमा खडा भएको पर्खाललाई कसरी प्रेमले तोड्छन् ? उनिहरुले आफूलाई कसरी जित्छन् ? सम्बन्धको धागो त तानको जाली झैँ फिजिएको होला, त्यसलाई एकएक गरि कसरी तुन्छन् ? जीवनको त्यो तानको धागोसरिको जालोलाई मिलाउन, तुन्न निर्देशकले मेहनत गरेको देखिन्छ। …… यो सबैसबै हेर्नलाई भने सिनेमा हलसम्म पुग्नुपर्ने हुन्छ।
कथाको प्राबिधिक पक्ष एकतिर होला, यहाँ लिम्बू समुदायमा प्रचलित विद्यमान केहि सामाजिक एवं सांस्कृतिक पक्षहरुको कुरा गरौँ, जसलाई सिनेमाले बोल्न खोजेको छ। केन्द्रियतामा, कुनै सुदुर गाउँको दुई सुब्बा परिवार बीचको कुटुम्ब साईनोलाई राखिएको देखिन्छ। प्रथमत; कथामा प्रयुक्त ‘सुब्बा’ पद थियो। सुब्बा अथवा सुभाङ्गी प्रथा राजनैतिक विषयसंग जोडिन्छ । पछिल्लो समय सुभाङ्गीप्रथा, सामन्त प्रथा जस्तै भएको केही हदसम्म साँचो हो। तर प्रथमत सुभाङ्गीहरु सरकारको कर संकलक मात्र थिएनन्। उनिहरु क्षमता अनुसार बंशको प्रमुख, समुदायका नेता र किपट भुमिको संरक्षक समेत थिए।
लिम्बुहरुसंग उनिहरुको आफ्नै प्रशासनिक र न्यायिक संरचना थियो, जसको नेतृत्व सुब्बाहरुले गर्थे त्यसलाई अमाल भनिन्थ्यो। सन् १९५१ मा अमालको अन्त्यको घोषणा सरकारले गर्यो। भुमि सुधार ऐन २०२० र त्यसको संसोधित ऐन २०२१ ले पुर्ण रुपमा किपट उन्मुलन गर्यो। त्यसपछि भने सुब्बा – सुभाङ्गी प्रथा क्रमशः हटेको देखिन्छ। चलचित्रमा प्रयुक्त “सुब्बा” ले त्यहि जनाउँछ।
थिबोङ (दस लिम्बु सत्र थुम्) याक्थुङ लिम्बू समुदायलाई चिन्न र बुझ्न ती समुदायले गर्ने साप्पोक चोमेन(भुडीपुजा) देखि लिएर साम्दाखुङ(आत्मालाई मुक्ति दिनु) सम्मको यात्रालाई बुझे पुग्ला। जीवनको त्यहि यात्राभित्र छन् लिम्बू मौलिक संस्कृतिका अभिन्न अवयबहरु। चलचित्र “जारी”मा बिशेषत पुर्व नेपालमा बसोवास गर्ने लिम्बुहरुको जनसँस्कृतिको उठान गरिएको छ। अन्य विभिन्न जातिहरुको आ-आफ्नो चिनारी भएजस्तै जातिगत रुपले लिम्बु जातिहरुको आफ्नै बिशेषता छ। मुख्य रुपमा यो जातिलाई बुझ्न उनिहरुको साप्पोक चोमेन(कोखपुजा) हुँदै साम्दाखु (सांसारिक लोकबाट पितृ भएको ठाउँसम्म पुर्याईने अनुष्ठान कार्य) सम्मको यात्रा तथा कर्मकाण्डलाई नियाल्नुपर्ने हुन्छ।
१) बैबाहिक पक्ष
फरक फरक समुदाय आन्तर्य विवाहको प्रारुप र तरिका पनि फरक फरक होला, जो सामुदायिक र जातिय मूल्यमान्यतामा निहित हुन्छ। प्रायस: आ-आफ्ना चलन र रित अनुसार बिबाह गरिन्छ। यो सामाजिक एवं साँस्कृतिक मुल्यमान्यतामा निहित हुने कुरा हो। लिम्बू जातिमा प्रायस: मागी विवाह (तेन्धाम् मे:ख्खिम्) हुन्छ। तरुण युवायुवतीहरुको आपसी राजीखुशीमा विवाह हुन्छ, जसलाई याक्थुङ भाषामा “हाङगाम फात्चा” भनेर भनिन्छ। पछिल्लो समय राजीखुशी बिबाह अर्थात “हाङगाम फात्चा” अनुसार गरिने विवाहको प्रकार बढ्दो छ। बिबाहको अन्य प्रचलन पनि ब्याप्त नभएको होईन लिम्बू समाजमा।
चर्चा गरौँ लिम्बू समाजमा प्रचलित मागी बिबाहबारे । प्राज्ञ बैरागी काँईलाद्वारा लिम्बू समाजमा बिबाह प्रचलन बारे हज्सन पाण्डुलिपिको भोल्युम ७४, ८४, ८५ धेरैपटक उल्था भईसकेको छ। जहाँ, लिम्बू समाजमा प्रचलनमा रहेका बैबाहिक पक्षबारे लेखिएको छ।
साधारण रुपमा सुनौली रुपौली भनिने उक्त रितलाई चारकलम भनिन्छ। जुन रित (पैसा वा सुन, दुबै) मगनिमा केटापक्षबाट लिईन्छ। यसलाई लिम्बू भाषामा “कुम्माथङना” भनिन्छ।
पछिल्लो समय लिम्बू समाजमा सुनौली-रुपौली लाई छोरीचेलीको रित खाएको भन्ने आरोप लागेको साँचो हो। तर, हरेक रितको आफ्नै साँस्कृतिक, सामाजिक तथा आर्थिक मुल्य पनि होला। तुम्याहाङ कहन्छन् , प्राचीन रुपमा छोरी बिहेदान दिदा लिईने यस्ता दस्तुरलाई लिम्बू जातिभित्र विवाहित महिलाको सुरक्षा कोषको रुपमा लिईन्थ्यो, एक आपसमा गरिखान मन्जुर नभएको खण्डमा। श्रीमानले सौता हालेमा अथवा श्रीमानको अकालमा मृत्यु भएमा सुनौली-रुपौली वापतको सुन चाँदी, नगद वा वस्तुले उसलाई बाँकी जीवन धान्न ठुलो सहारा दिन्छ भन्ने मान्यताअनुरूप यो प्रचलन रहिआएको भन्छन् आजका तुम्याहाङ जानिफकारहरु । तर, पछिल्लो समय कतिपय ठाउँमा बिबाहको बढ्दो खर्च र अन्य ठाउँमै त्यसको प्रयोग भएकोले सुनौली रुपौलीलाई छोरीचेलीको सोतरित खायो भनिएको साँचो हो। ऐले सुनौली-रुपौलीको प्रचलन (लिने/नलिने) बिबाह गर्ने युवायुवतीको परिवारमा निर्भर गर्दछ। आजसम्म यो रितलाई सांकेतिक तथा मुल्यमान्यताको रुपले कहिँकतै बचाउँदै आएका छन्। फरक यति हो, सुनौली रुपौली वापतको मूल्य पहिले बढी हुन्थ्यो, अहिले अर्थको रुपमा थोरै राखे पनि हुन्छ।
२) युप्पारुङ
– बिशेषत: युप्पारुङले लिम्बू समुदायमा महिला स्वतन्त्रताको परम्परा झल्काउँछ। लिम्बू जातिको प्रथाजनीत कानुन अथवा परम्परा ‘थिबोङ् याक्थुङ थिम’ ले पनि यहि कहँदो हो। सिनेमाको एक दृश्यमा आरोप एवं प्रत्यारोपका कारण रिसले उग्रता लिएपछि असह्य भई हाङमाले त्यहि युप्पारुङले आफ्नो श्रीमानलाई हान्छिन्। अथवा बैबाहिक सम्बन्ध टुङ्गिएको जनाउँछिन्। यसो भन्नुको अर्थ तिमिले मेरो मान मर्यादा र आत्मसम्मानमा धावा बोल्यौ, बाँकी जीवन संगै रहन सक्दैनौ भनेको हो।
खासमा युप्पारुङको महत्व के छ?
लिम्बू समुदायमा बिबाह संस्कृतिको मेक्काम् (लगन) बिधिसंग यसले अर्थ राख्दछ। प्रायःजसो मेक्काम् बिधि साँझमा गरिन्छ। नालिसाङ् (बेहुला) र सिसामे (बेहुली) लाई आसन गराईसकेपछि नाम्सारी, लासारी राखि धुपबत्ती फूल अछेताले उनीहरूलाई पवित्रीकरण गरिन्छ। बाँकी जीवन संगै बिताउने हुनाले बेहुलीको प्राचीन उत्पतीथलो ‘माङगेनायक’ बेहुलाको माङगेनायकमा मिलाउने मुन्धुम सुरु गरिन्छ।
यो मुन्धुम पश्चात् फेदाङमाले चाँदीको सिक्कालाई चकमकले हिर्काउँदै मुन्धुम फलाक्न सुरु गर्छ – ‘आजबाट यो माङगेनायकको/ठाउँको फलना नाम गरेको सिसागेन मेन्छिन् (तरुण युवती) र यो माङगेनायकको यो नाम गरेको नालिङगेन फूङवा (तरुण युवक) बिबाह बन्धनमा बाँधिएको जुन, घाम र आकासले देख्यो। देवी, देवताले देख्यो। हावा पानीले देख्यो। पृथ्वीमा भएका सारा पशु, प्राणी र किराफट्याङ्ग्राले देख्यो। … हामी सबैले देख्यौँ। यो बिबाहको साक्षी हामी छौँ है।’ भनि फलाक्छ। यो एक किसिमले मौखिक मुचुल्का नै हो। त्यसपछि मिलेर जीवन गरिखान बेहुला बेहुलीलाई कसम ख्वाईन्छ। बेहुला बेहुलीको श्रीवृद्वी , सौभाग्य र उत्तोरोत्तर प्रगतिको कामनार्थ सफल दाम्पत्य जीवनको लागि फेदाङमाले तागेरानिङ्वाभुमाङ, युमामाङ, थेवामाङसंग बल, शक्तिको लागि प्रार्थना गरिदिन्छ। … त्यो मुन्धुम अनुष्ठानमा प्रयोग गरिएको सिक्का नै युप्पारुङ हो। उक्त युप्पारुङ बेहुलीलाई देखाउँदै फेदाङमाले त्यसको अर्थ बेहुलीलाई पुनः सम्झाउँछ;
‘यदि, तिमी सत्य र साँचोमा गल्ती नगरी बसेको खण्डमा पनि तिम्रो श्रीमानले तिमिलाई हेला गर्यो भने, कुटपिट गर्यो भने, सहनै नसक्ने बचनले पिरोल्यो भने र तिम्रो आत्मासम्मानमा गहिरो चोट दियो भने यहि सिक्काले हानेर छोडेर जानू, यो घाम जुनको कसम तिमीलाई बात लाग्ने छैन तर सत्यमा डगमग गरि बिबाहको मान मर्यादा उलंघन गरेको खण्डमा भने तागेरानिङ्वाभूमाङ र यो युप्पारुङले पीर दिनेछ।’
यति फलाकिसकेपछि फेदाङमाले उक्त सिक्का बेहुलालाई दिन्छ र बेहुलाले उक्त सिक्कालाई बेहुलीको बर्कोमा बाँधिदिन्छ। सिनेमामा प्रयुक्त उक्त सिक्का नै युप्पारुङ हो। युप्पारुङ” ले लिम्बू समुदायमा विशेष भुमिका खेलेको हुन्छ। “युप्पारुङ” लिम्बू सामाजिक जीवनमा बिहेको प्रसङ्ग संग जोडीने रित हो। यसले सम्बन्ध विच्छेदको अधिकार सम्म बोकेको हुन्छ। तुत्तु तुम्याहाङ कहन्छन्; बिबाहको रित बसेपछि यो प्रचलन रहेको हो। प्रारम्भमा लिम्बू समुदायमा सिन्दुर हालिदिने चलन थिएन, बिबाह साक्षी युप्पारुङ नै थियो।
सुनौली – रुपौली अथवा सोतरित
– विद्यमान अनेकन समुदायको बिबाह प्रसङ्गमा सोतरीत लिनेदिने प्रचलन देखिन्छ। लिम्बू समुदायमा पनि सोतरितको चलन देखिन्छ नै। छोरीचेलीलाई बिबाह पश्चात् दिईने गरगहनाजन्य बस्तुहरुलाई सामान्यतया दाइजो भनिन्छ भने सोतरित केटा पक्षले केटीपक्षलाई बुझाउनु पर्ने रीत हो। मध्यताका समयमा यो प्रचलन एक सामाजिक विकृतिको रुपमा आएको कुरालाई नकार्न भने सकिन्न। प्रारम्भमा सोतरित/सुनौली – रुपौलीको रुपमा चौपायदौपायको प्रचलन थियो। आजको दिनमा सुनौली रुपौलीको स्वरुप फेरिएको देखिन्छ।
गाउँका जानिफकार तुम्याहाङ कहन्छन्; ‘बिबाह प्रसङ्गमा यो प्रचलन एक प्रकारको जीवन बिमा जस्तै नै थियो। कथम कदाचित्, आफ्नो श्रीमानबाट अपहेलित भएको अवस्थामा उक्त यस्तो सुन चाँदी तथा नगद बस्तुले उसको बाँकि जीवन संचालनमा सघाउ पुर्याउँछ भन्ने मान्यता नै यसको सार हो। पछि यसले अन्य रुपलियो।
ख्याली
बिशेषगरी याक्थुङ लिम्बू तरुण युवायुवती धाननाच नाच्नुअघि साईनो (काईसोधोक) लाग्छ कि लाग्दैन भनेर साईनो केलाउन लयात्मक रुपमा गाईने दोहोरो लय नै ख्याली हो। भनिन्छ लिम्बुहरु रुँदासमेत लयमा रुन्छन्। यसलाई हाम्लावामा देख्न सकिन्छ। त्यसो त ख्याली, ख्याल ठट्टाको रुपमा पनि प्रयोग हुन्छ। … अलावा यसको प्रयोग लिम्बू साँस्कृतिक मन्थनमा अनेकन रुपबाट गरिन्छ। प्रस्तुत सिनेमा जारीमा ख्यालीको प्रसङ्ग आएको देखिन्छ। ख्याली तरुण युवायुवतीको सर्तबन्धन पनि हो। सिनेमामा गाईएको ख्यालीलाई यहाँ जोड्न उपयुक्त होला…।
‘ए, सुन फुल्यो तोरी – कठैबरी !
धान छरी बीउ ए -ध्रुब ज्यु ए
फूलबुट्टे रुमाल -लिनुहोस् है
रिसानी माफ -दिनुहोस् है
फलामको छेस्को – ओदानी
यो दुखी ज्यानको – सोधनी
दाम्लो है बाट्ने – तसोरी
सृष्टि भो माया – कसोरी
ए, ढुङ्गा है टिपी हान्नुहोस् है
लौ यसको जवाफ भन्नुहोस् है।
ख्यालीको जवाफ ख्यालीबाटै भन्नुपर्ने हुन्छ।
जवाफमा यसो भनिएको छ।
ए, लेकैको चरी – कठै बरी
हातैमा बीऊ ए – ताराज्यू ए
मनमनै कुरा – गुन्नुहोस् है
हजुरको जवाफ – सुन्नुहोस् है
नदीमा ठूलो अरूण
अरूणैमाथि चौतारी
किराती मिड्सो – नीलकण्ठ
चौतारीमाथि श्रीखण्ड
पानी है पर्ने छाँगालाई
श्रीखण्ड ज्यानको हाँगालाई
आगोलाई फुकी – बल्दाखेरी
आँधी र बेहेरी चल्दाखेरीबाँसैमा चरी – नाचेछ
एककुसे हाँगा भाँचेछ
अम्मलै मीठो – कानीमा
भाँचेको हाँगा – पानीमा
खेताला पर्म सघाउँदै
भाँचेको हाँगा बगाउँदै
चरीले धान – खाँदाखेरी
बगाउँदै हाँगा – लाँदाखेरी
श्रीजङ्गा ज्यानलाई फाँसीमा
जालहारी केटा – कोशीमा
माछालाई शिकार गर्दाखेरी
जाल हान्दै केटा जाँदाखेरी
घुमाउरो पानी – भेटेछ
बगाको हाँगा – देखेछ
श्रीखण्ड हाँगा – टिपेछ
ताछेर राम्रो खिपेछ
सो हाँगा बेच्न लगेछ
जाँदै ऊ फेदेन पुगेछ
गाइनेले श्रीखण्ड – चिनेछ
खुशीमा भई – किनेछ
ए, खुशी भई गाइने – रमायो
सारङ्गी बाजा बनायो
ए, नौनीमा घीउ ए – तारा ज्यु ए
ए लेखितम लेखी – तिहाँदेखि
राजा र रानी त एकाङ्गी
गाइनेले रेट्यो -सारङ्गी
धुन सुन्दा मन जलेछ
दुवैलाई विरह – चलेछ
सारङ्गी मोहनी -लागेछ
मनभित्र माया – जागेछ
ए, अक्षरै लेखी – तिहाँदेखि
शितलै राम्रो छायाँको
मान्छेमा हुने – मायाको
……………
दाम्लो है बाट्ने – तसोरी
सृष्टि भो माया – यसोरी ।
[खोलाको गीत/उपेन्द्र सुब्बा]
यसपछि नै पालाममा हाङमा हार्छ । अर्को युवकसंग उसको बिबाह हुन्छ।
लिम्बू राष्ट्र अथवा समुदायमा निहित भाकामा गयात्मक र लयात्मक बिरहको ब्यक्तता हो हाक्पारे। हाक्पारेको आफ्नै लय छ, सौन्दर्य छ। उनीहरू जीवन हाक्पारेको नजिक भै हिडेको ठान्छन्।
शिर्षक – जारी
जारी प्रचलन लिम्बू समुदायमा नभएको नकार्न कसिन्न। श्रीमान -श्रीमती बीच मनमुटाव भो। उनीहरू एकआपसमा संगै रहेर गरिखान सकेनन् भने त्यस्तो अवस्थामा श्रीमतीको पहिलाको श्रीमानलाई तिर्नुपर्ने रकमलाई नै सामान्यतया जारी भनिन्छ। जारी उठाउँदा माईती पक्षकहाँ गईन्छ किनभने जारी बुझिलिने साक्षी माइतीहरु नै हुन्छन्।
प्रदर्शनीको क्रममा रहेको चलचित्र ‘जारी’ मा कलाकारहरुको भुमिका अब्बल देखिन्छ। केन्द्रीय भुमिकामा चिनिएका कलाकारहरु छन्। बाँकी कलाकारहरूको भुमिका एवं अभिनयमा दर्शकहरु जीवन्तता भेट्छन्। नेपाली रंगमञ्चमा आफूलाई अब्बल रंगकर्मीको रुपमा प्रमाणीत गरिसकेका कलाकार बरध्वोज उर्फ अनिल शुब्बाको सिनेमा पर्दापण बडो लोभलाग्दो देखिन्छ।
चलचित्रको कथा अब्बल हुँदाहुँदै पनि कहिकतै कथान्तर, पटकथाको प्रसङ्ग बढी भएजस्तो र कहिँकतै कम भएजस्तो आभास नहुने भने हैन। कवि तथा लेखक, निर्देशक उपेन्द्र सुब्बाले आफ्नो कविता कृति ‘खोलाको गीत’ कथाकृति ‘लाटो पहाड’ को कविता र कथाको प्रसङ्गलाई पनि ‘जारी’ मा उतारेका छन्। सिनेमाका कुनैकुनै पात्रहरु उनकै कथाबाट टपक्क टिपिए झैँ लाग्छ।
जे होस, यति चै खुलेर भन्न सकिन्छ, याक्थुङ लिम्बू समुदायको जीवन प्रसङ्ग, साँस्कृतिक सम्पदाजन्य कुराहरुलाई चिह्याउने आँखिझ्यालको प्रयास हो ‘जारी’।
अन्त्यमा…
चलचित्र “जारी” एक घटनाप्रधान कथ्य चलचित्र हो। चलचित्र जारी, लिम्बू समुदायलाई सूक्ष्म कोणबाट चिह्याउने आँखिझ्याल बनाउने प्रयास गरिएको छ। प्रारम्भमा चलेका कतिपय रितहरु ऐले आएर समस्याको रुपमा देखापरेका छन्। पछिल्लो समय रितलाई रितकै अर्थको रुपमा नराखि खर्चको रुपमा प्रयोग गर्नु यसको समस्या हो। चलचित्रमा देखाईएको यो पनि एक पक्ष हो ।
चलचित्रमा `सुब्बा’ को प्रसङ्ग छ नै। भुमिसुधार ऐनपछि सुब्बा सुभाङगी, आगे सुब्बा… हरु स्वत खारेज हुँदै गयो। पछिल्लो समय कतिपय थुममा सुभाङ्गी प्रथा सामन्त प्रथा जस्तै भएको केही हदसम्म साँचो हो। तर प्रथमत: सुभाङ्गी, आगे सुब्बाहरु सरकारको कर संकलक मात्र नभई क्षमता अनुसार बंशको प्रमुख, समुदायको नेता र किपट भुमिको संरक्षकको रुपमा थिए। राज्यको नीति तथा केहिरुपमा आफ्नै अहमले सुब्बा सुभाङ्गीहरुले धेरैथोक गुमाए।
प्रायस: हाम्रो सिनेमाको रिफरेन्स दक्षिण भारत बन्न पुगेको देखिन्छ। पछिल्लो समय साँच्चै हेर्नलायक चलचित्र कमै मात्रमा बनेको साँचो हो। यसमा धेरै कुराको प्रभाब होला। चलचित्रको अर्थराजनीति गहिरो देखिन्छ। त्यसमध्ये चलचित्रमा व्यवसायिकता खोजिनु एक हो। यसले गर्दा चलचित्रमा मौलिकपन खोज्नेहरु पनि कतै हराएका हुन् कि भन्ने लाग्छ। यदाकदा ‘जारी’ मा त्यसको प्रभाब देखिन्छ नै। उसो त निर्देशक आफैमा सम्बन्धित समुदायको हुनाले कथाबस्तुमा न्याय गरेको पाइन्छ ।
संगीत संयोजन, अन्य प्राबिधिक कुराहरु ईतरमा झनै सुधार भएको भए सिनेमाको कथाले अझै न्याय पाउँथ्यो कि? याक्थुङ लिम्बू समुदायमा महिलाको उपस्थितिबारे माथी नै चर्चा गरिसकिएको छ। यसो हुँदा प्रस्तुत सिनेमामा हाङमाको उपस्थिति केही कमजोरी देखिन्छ नै। ऐलेको लागि सिनेमा जगत कुनै पनि कुरालाई प्रस्फुटन गराउने गतिलो माध्यम बनेको साँचो हो तथापि लिम्बू समुदाय आन्तर्य साँस्कृतिक सौन्दर्यलाई केही हदसम्म साँचो अर्थमा न्याय नदिनुमा लेखक तथा निर्देशकले जोखिम मोलेको देखिन्छ।
केही दृश्यहरु जवरजस्त लाग्छन्, जो सिनेमामा देखाईरहन आवश्यक नहुन्थ्यो कि ? बजारमा सिनेमा गईसकेपछि यसले कस्तो प्रभाब पार्छ ? यो चिन्तनप्रति, याक्थुङ लिम्बुजन्य हरेक सँस्कृतिप्रेमी मानिसहरु सजक हुने भए नै । खैर, यसलाई एउटा घटना र कथाको रुपबाट हेरौँ। अन्यथा, बजारमा आईरहेका चलचित्रहरुमा ‘जारी’ को उपस्थिति अब्बल देखिन्छ।
चलचित्र : जारी
लेखन/निर्देशन : उपेन्द्र सुब्बा।