बलेफी–६, माङ्खा, सिन्धुपाल्चोकका कला अनुरागी साहित्य लेखन सँगसँगै पत्रकारिता पनि गर्दै आइरहेका छन् । अङ्ग्रेजी साहित्य र राजनीतिशास्त्रमा स्नातक, पत्रकारितामा स्नातकोत्तर गरेका अनुरागी नेपाली पत्रकारिता र साहित्य दुवैमा स्थापित नाम हो । रेडियो नेपाल, तराई टेलिभिजन, समाचार दैनिक, नयाँ पत्रिका दैनिक, शैक्षिक म्यागजिन नुवागी, रातोपाटी डटकम, अन्नपूर्ण पोस्टको म्यागजिन अन्नपूर्ण टुडे र कान्तिपुर साप्ताहिकमा विभिन्न सम्पादकीय भूमिकामा सफलतापुर्वक भुमिका निर्वाह गरिसकेका अनुरागी कविता लेखनमा पनि त्यतिकै ससक्त छन् । कवितालाई निसर्त आफ्नो पहिलो प्रेम मान्ने अनुरागी साहित्यका अन्य विधामा पनि बराबर रुचि राख्दछन् । प्रस्तुत छ साताको तीन कविता

एउटा योद्धाको डायरी

यसरी डुबेथें प्रेममा
कि
जीवनभन्दा धेरै प्यारो लाग्थ्यो ऊ ।

उसलाई ताकेको गोली
थापेर छातीमा
मुस्कुराएकै हुँ धेरैपटक
संयोग, गोलीले छेड्यो छाति मात्रै
सकेन छेड्न मुटु
र, आज पनि उस्तै प्रेम
धड्किरहेछ यसभित्र ।

आज–
यही मुटुमा पसेको छ
सियोजस्तो उदासी
र, चसचस् घोचिरहन्छ निर्मम,
वेवास्ताको चुर्‍याइँदो रापले
सुकिरहेको छ दिनदिनै
मायाको पोखरी ।

हरेक बिहान–
मेरोजस्तै उदास मुहार लिएर
झुल्कन्छ घाम
खिपेर रातभरी
निराशाका काला अक्षर
ओर्लिन्छ अखबार सडकमा
र, छोडिहिड्छ
सपनाको लाश पल्टिरहेको
उराठ बगरजस्तो समय ।

आज–
जो उसको छाला काढेर
पसलमा झुण्ड्याउने
मौकाको खोजीमा छ
त्यसैको छातीमा
ऊ निर्धक्क लुकाइरहेछ टाउको ।

सोचीबसेको छु आजकाल–
किन सँधै उ फुत्किन्छ
मेरो अँगालोबाट
र, पुग्छ बगरेकै अँगालोमा ?

सातो

तिमी चढेको विमानजस्तै
फुत्त उड्यो मेरो मुटु
र, गयो सातो तिमीसँगै ।

त्यही दिनदेखि
एउटै दृश्य आइरहन्छ आँखामा
तिमी बिस्तारै छुटाउँछौ अँगालो
समाउँछौ चपक्क हात
अनि, छाड्छौ बिस्तारै
र, बढ्छौ
मैले जुनीभर नदेखेको अनकन्टारतिर ।

आत्तिरहन्छ मन
बगिरहन्छ आँसु
अत्यास लागिरहन्छ
तर्सिरहन्छु तरंग तरंग ।

डाक्टरको औषधी
वैद्यको बुटी
धामीको मन्त्र
झाँक्रीको तन्त्र
छोएन केहीले पनि
सकेनन् बिसेक पार्न
यो मनचिन्ते रोग ।

तिमीले लिएपछि निरोगिताको प्रमाणपत्र
रोग जति जम्मै मलाई पो सरेछ !

समाचारको बुई चढेर-
आइपुग्छ अरबको उखरमाउलो
र, पोल्छ भतभती
आइपुग्छ सुनामी
र, भत्काउँछ सपनाको घर
आइपुग्छ एक्लोपना
र, चरक्क चर्काउँछ छाती

जब काटी गयौ तिमीले सिमाना
तब सिमाहीन बनेछन् दुःख पनि ।

सातो गएपछि तिमीसँग
तापै तापले
जवानीमै बूढी देखिन थालेकी छु म
कहिले आउँछौ सातो फर्काउन ?

मृत्युसाक्षी

एकैपटक मरेको होइन ऊ
पटक–पटक, धेरैपटकमा
बल्ल मरिसकेको हो
तर, मरिसकेपछि पहिलो पटक
थाहा पाउने व्यक्ति मै हुँ ।

पहिलोपटक मरेको थियो
उसको हृदय
जहाँ म बेरिएकी थिएँ कुनैबेला ।

उसको हृदयको चिसो लास
आफ्नै हृदयको चिहानमा दफनाएर
निस्किएकी थिएँ म
त्यतिबेला अचिनारूका फूलमालाले
भरिएको थियो उसको घाँटी ।

हृदयसँगै विस्तारै मर्यो
उसको मस्तिष्क
मैले पनि थाहा पाइनँ
लामो समयसम्म
थाहा पाउँदा फैलिसकेको थियो दुर्गन्ध
त्यति बेलै हो मैले थाहा पाएको
मष्तिस्कबाट निस्केको दुर्गन्ध
निकै लामो–लामो समयसम्म
निकै लामो–लामो दूरीसम्म
फैलिँदोरहेछ
सार्वजनिक चिहानमा गाडिसकेपछि
मस्तिष्कको लास
सोच्दै–सोच्दै लामो समयसम्म हिडिरहें
‘मस्तिष्क मर्नु खतरनाक रहेछ’
त्यतिबेला ऊ
आफ्नै परिवार भेला गरेर
भोज खाइरहेको थियो ।

यसरी नै मर्दै गएको थियो ऊ
र, बल्ल मरिसकेको हो केहीबेर अघि ।

अघिसम्म भीडले घेरिएको थियो ऊ
थिए त्यसमा उसलाई प्रेम गर्नेहरु
रोइरहेका थिए अलाल्लिएर
र, थिए घृणा गर्नेहरु पनि
थिएनन् तिनका पनि आँखा ओभानो ।

तर भीडबाट टाढा
मजस्तै नरूने झन् धेरै थिए
कति थेत्तरो बनाई दिएछ यो हृदय
उसको मृत्युमा पनि रून सकेनौं ।

यसरी अवसान भयो
मेरो प्रिय नायकको बिस्तारै–बिस्तारै ।

तपाईको प्रतिक्रिया