कवि असीम सागर नेपाली साहित्यको कविता लेखनमा पृथक लेखनीका कारण स्थापित  कविमध्ये पर्छन् ।  स्थायी ठेगाना – सन्धिखर्क न. पा. ४, अर्घाखाँची हाल – लगनखेल , ललितपुर बसोबास गर्ने यी कवि आफ्नो लेखनीकै कारण नेपाली साहित्यमा कम राम्रो  लेख्ने कवि मध्ये पर्छन् । कविता गीत र गजल लेखनमा ससक्त मानिने उहाँ दर्जनौं संघसंस्थाहरुबाट सम्मानित हुनुहुन्छ।  प्रस्तुत छ साताको तीन कविता ।

हामी फगत पाहुना

हरियो सुइटर लगाएको पहाड
घामले टल्किएको सेतो पछ्यौरी झरना
कलिलो घाम ओडेर मुस्कुराईरहने हिमाल
कोरस गाउँदै घामलाई हत्केलामा राखेर नाच्ने पातहरु
दुवै किनारका चोर औंला समातेर ताते-ताते गर्ने नदी
नदीको संगीतमा गाउँदै उड्ने चराचुरुङ्गी
आहा ! कति सुन्दर छ सृष्टि

कसैले सोंचेको छ ?
आकाश खस्यो भने के हुन्छ ? 
घामले नलाग्नु हो भने के हुन्छ ?
हावा रोकियो भने के हुन्छ ?
मुहान सुक्यो भने के हुन्छ ?
जमिन रहेन भने के हुन्छ ?
कसको हो यो सृष्टि ?

मान्छे
जसको आयु
समुन्द्रको एक थोपा बराबर छैन
उसले के घमण्ड गर्नु आफ्नो आयुको?

नङले कोट्याउँदा पनि माटोले चुपचाप सह्यो
र खन्न खोस्रन थाल्यौं हामीले जमिन
बोरिङको सुई लगाएर
तान्न थाल्यौं पृथ्वीको नशा नशाबाट पानीको रगत
निकाल्न थाल्यौं कोइला फलाम र युरेनियम
गर्यौं अंशबण्डा आआफ्नो नाममा जमिन
कोर्यौ सिमाना
झिक्यौं लिङ्ग, जाती र धर्मको नाममा अनेक बखेडा
र लड्यौं एक आपसमा हामीहरू
दुश्मन ठानेर निकाल्यौं भाईको आँखा
पराई सम्झेर थुत्यौं दाईको जिब्रो
खसाल्यौं बम सुन्दर युवती जस्ती पृथ्वीको चुल्ठोमा
बनायौं मुस्कान फुल्ने ओंठलाई मरुभूमि

यस पृथ्वीको हामी फगत पाहुना
पृथ्वी छउन्जेल त बाँचौंला

त्यसपछि………?

गाउँको मानचित्र

आफ्नै पाखो बारीमा हलो जोतेर
म स्वाभिमानले बाँच्न खोजें
तिनीहरूले मलाई होंच्याएर हली भने

पहाडका उकाली ओरालीहरुमा भारी बोकेर
म ईमानले बाँच्न खोजें
तिनीहरूले मलाई हेपेर ढाँक्रे भने

यसरी
ब्राण्डेड जुत्ताले कुल्चिएर
चुँडिएको म थोत्रो पुरानो चप्पल सहर छिरें
सहर छिरेपछि लाग्यो –
गाउँमा त बरु धुलो बनेर एकछिन भएपनि
किसानको लुगामा टाँसिन पाउँथे
तर सहरमा त
कसैको जुत्ताको सोलमा टाँसिन पनि
जुत्ताकै टेकाई सहनु पर्दोरहेछ

बाजले चिललाई लखेट्नु
चिलले पंक्षीलाई खेद्नु
पंक्षीले ससाना किराफट्याङ्ग्रा खानु
सायद प्रकृतिकै नियम रहेछ सम्झें
र सडक किनारमा नाङ्लो पसल खोलें
तिनीहरूले मलाई नाङ्ले भन्दै लखेट्न थाले
ठेलागाडामा सब्जी बेचें
तिनीहरुले मेरो ठेला पल्टाईदिए
र मलाई पाखे भन्दै विस्थापित गराए

अब म कुन देशको शरणमा जाउँ ?
कुन देशको शरणमा जाउँ अब म ?

यसरी
गाउँमा तिर्खा बाँड्दै हिँड्ने खोला
एकदिन नदीमा हाम फाल्यो
र बग्दै-बग्दै समुन्द्र पुगेर बेपत्ता भयो

अचेल मेरो गाउँ
तिनै बेपत्ता खोलाको पर्खाइमा
टुहुरो बालक झैं झोंक्राएर बसेको छ ।

टेको

चारैतिर लगाएर टेको
बडो मुश्किलले उभिएको छ घर

यति धेरै चर्किएका छन् कि घरका भित्ताहरु
जहाँबाट छिरेको चिसो बतासले
रातभर खोकिरहन्छ
अस्ताउन लागेको बूढो घाम
सिलिङमा चढेर जब माउसुलीले धुलो खसाल्छ
भुईंचालो भुईंचालो भन्दै रुन्छन् कराउँछन्
चम्किन लागेका चिचिलाा ताराहरु
त्यही घरको बरण्डामा ओर्लिएर
आधा हाँसिरहेछ जून

यो घरलाई भत्किनबाट जोगाउन
काँध थाप्नु पर्ने दायित्व
तिम्रो पनि हो, मेरो पनि हो
साल्दाई !
केवल मेरो भन्दैमा घर आफ्नो हुँदैन

कुनै पनि बेला भाँचिन सक्छ टेको
टेको भाँचियो भने
घर ढल्ने खतरा मात्र होइन
ढल्छ नै

म त्यो प्रतिक्षामा छु
बिना टेको उभिन सक्ने
आत्म निर्भर घर कहिले बन्ला
साँच्चै सपनाको घर कहिले बन्ला

लाग्छ
टेको पनि यही प्रतिक्षामा छ
कहिले यो घर ढल्छ र
आँगन मेरो हुन्छ ।

तपाईको प्रतिक्रिया