ठाडाखानी ६ रघुगंगा म्याग्दीका कवि जीत बुढाथोकी छन्त्याल राम्रो सम्भावना बोकेका हुनुहुन्छ । हाल रिडिङ बेलायतमा बसोबास गर्ने यी कविका कविताहरु मानवताका बिषयमा केन्द्रीत रहन्छ । उनी विश्व नेपाली साहित्य महासंघ पश्चिम शाखाको सहसचिवको रुपमा कार्यरत छ्न र नेपाल मुक्तक प्रतिष्ठान बेलायतमा संलग्न रहेका छन् । कविता र मुक्तक विधामा कलम चलाउदै आउनु भएका उहाँ बेलायतका एक उदियमान सर्जक हुनुहुन्छ। प्रस्तुत छ साताको तीन कविता ।
उदास जिन्दगी
मौन बस्छु अनि सोच्छु
अहो! यथार्थ जिन्दगी यो कस्तो ?
निलो आकाश जस्तै
निर्मल फराकिलो मेरो हृदय
उकुसमुकुस बनेको छ
अन्यौलता छाएको छ
बाध्यताका तुफानी हावाहुरीले
हलचल मच्चाएको छ अन्तरङ्गहरूमा।
अनि-
कठाङ्ग्रिदो आशाहरू
डुबिरहेछ निराशाको गहिराईमा
उदाशिनताको कुहिरो,तुवाँलो,हुस्सुसँगै
द्विविधाको हावामा उडेको धुलो धुँवाले
पर्दा लगाएको छ मेरो दृष्टिमा
अनि अर्थहीन तनावले जालो लगाएको छ मस्तिष्कमा।
व्याकुलताले मुटु गर्जन्छ मेघसरी
वर्षासरी अशान्तीको बर्सेर झरी
मूल फुट्छ पानीको झरनाको जोडी बनेर
झर्छ आँसुको बलेनी डढेलो लागेको परेलीबाट ।
म-
विवश ,लाचार छु मौनतामै बाँचिरहेछु
रहरहका पालुवाहरू जन्मन्छन्
फक्रिनुपूर्व ओइलेर झर्छन्
चेतनाको खडेरीले भनौं या वेदनाको खहरेले
खुशीहरूका अभावले भनौं या दुःखहरूका प्रभावले
अन्यौलमा पर्छु अनि सोँच्छु
यथार्थमा जिन्दगी यो कस्तो ?
अनेकौं बाध्यता र उल्झनहरुले
अनि, आरोप मिथ्या आरोपको बचनहरूले
खडेरी लागेको छ खुशीहरूमा
कोमल आत्मा तड्पिन्छ
तनदेखि मन बेखबर बन्छ
धागो चुँडेर उडेको चङ्गा जस्तै
मन उडेर टाढा-टाढा क्षितिज पारी पुग्छ।
देख्छु महसुश गर्न सक्छु
तर-
चल्नै नसकिने गरी ऐँठेन लाग्छ
कुनै बोझले थिचे जस्तो
कसैले घाँटी मिचे जस्तो
अहो !
यथार्थ जिन्दगी यो कस्तो ?
कर्कलाको पातमा अल्झेको पानीको थोपा जस्तो
मनको बगैंचामा आत्मग्लानीको डढेलो लागे जस्तो
सोंचे जस्तो न भने जस्तो सपना जस्तो न विपना जस्तो
आभास विहीन उदास छ यो
अहो ! यथार्थ जिन्दगी यो कस्तो ?
म अहिले ढुङ्गा बनेको छु
सधैँ मैले नै पुज्नुपर्ने
उनीहरुको भावना मैले नै बुझ्नुपर्ने
उसलाई सम्झेर मैले नै उसको मन्दिर पुग्नुपर्ने
अनि मेरो शिरले उसको पाउ ढोग्नुपर्ने
ती देउताहरू पुज्न छोडेँ मैले।
पुजेसम्म हाँसो देखाउछ
पुज्नै छोडे गुनासो सुनाउछ
आवश्यकतामा बेपर्बाह गर्छ
अनावश्यकतामा वास्ता गर्छ
ती देउताहरू पुज्न छोडेँ मैले।
मैले गरेको गुण भूलेर ईर्ष्या गर्छ
बरु,अरूको खुलेर प्रशंशा गर्छ
जम्काभेटमा मुख लुकाउछ बाटो मोड्न खोज्छ
विकल्पमा मसँग फेरि नाता जोड्न खोज्छ
यस्तै अवसरवादी चरित्रका
ती देउताहरू पुज्न छोडेँ मैले।
म अहिले ढुङ्गा बनेको छु
बुझेर पनि अबुझ बनेको छु
देखेर पनि अन्धो बनेको छु
सुनेर पनि बहिरो बनेको छु
जानेर पनि अन्जान बनेको छु
हो, म अहिले ढुङ्गा बनेको छु।
तिनै देउताहरूको व्यवहार र संगतले
बोलीचाली र वचनले
मलाई ढुङ्गा बन्न बाध्य बनायो
तिनै एकोहोरो मैले पुज्नुपर्ने देउताहरूले।
अब-
देउताहरू छन् भन्ने आभास मैले नपाए
म छु भन्ने आभासपनि देउताहरूलाई नहोस्
हो, त्यसैले ती देउताहरू पुज्न छोडेँ मैले।
अब त-
म आफैले सिकेको छु
मपनि पत्थरको देवता बनेको छु
आऊ मलाई पूजा गर
फूल ,प्रसाद चढाऊ ,अबिरले रङ्गाऊ
अथवा-
पशुवलीको रगतले रङ्गाऊ
अनि माग वर मसँग
तर वरदानको अपेक्षा गर्दै नगर
किनकी, म अहिले ढुङ्गा बनेको छु।
जिन्दगी
जन्मदेखि मृत्युसम्म
पछि कहिल्यै नफर्किने गरि
अबिरल गतिमा अघि बढिरहने
नरोकी नदी जस्तै निरन्तर बगिरहने यात्रा जिन्दगीको।
शरिर,
बेठेगान अनभिज्ञतामा
निष्कर्षहीन गन्तब्यमा
मन र मस्तिष्कमा
अनगिन्ती आशा बोकेर
अनवरत प्रयत्नशील
कर्तव्यमा लीन भई
केही अंश हावा भरिएको शरिर लिएर
हावामै यात्रा गरिरहेको यौटा यात्री।
जसको जिन्दगी
आफ्नै गतिमा चलिरहेछ
हरेक सेकेण्ड मिनेट घण्टा दिन हप्ता महिना वर्ष हुँदै
बितिरहेछ समय उमेरको गणनामा।
कहिले शरिर थाक्छ,गल्छ सुत्छ निदाउछ
कहिले मस्तिष्क खल्बलिन्छ,विचलित बन्छ
कहिले मन दुख्छ रुन्छ, कहिले खुशी हुन्छ हाँस्छ
कहिले आशा जगाउछ कहिले निराशा बनाउछ
तर-
जीवनलाई न पर्वाह नै छ
शरिर थाक्नू वा गल्नूको
मन दुख्नू वा खुशी हुनूको
मस्तिष्कले सोंच्नु सम्झनू वा बिर्सनुको
आशा जगाउनू वा निराशा हुनुको
दिन हुनु वा रात हुनुको
घाम लाग्नू वा वर्षात हुनुको
शरिर सुत्नु वा ब्युझनुको।
जिन्दगी-
चलिरहेछ अघि बढिरहेछ
न तीव्र गतिमा
न मन्द गतिमा
एकनास बिस्तारै बिस्तारै
अन्तिम गन्तब्य मृत्युको नजिक पुग्दैछ।