रमेश के.सी.

उन्नाईसौं शताब्दी युरोपको थियो । बिसौं शताब्दी अमेरिकाको थियो अब एक्काईसौं शताब्दी एसियाको हुदैछ । सिङ्गापुरका कुटनीतिक एवं एसियाली मामलाका जानकार किशोर महाबुबानी यही उदाँउदो एसियाको उथल पुथल र राष्ट्रहरु बीचको गठबन्धनलाई विभिन्न शिर्षकका निबन्धहरु सहितको पुस्तक “दि एसियन ट्येन्टी फर्स्ट सेन्च्युरी” मा चर्चा गर्दछन । विश्वको सबैभन्दा धेरै जनसंख्या बस्ने महादेशको रुपमा रहेको एसियाले विश्वमा आर्थिक हैसियत पनि राख्छ । यही सेरोफेरोमा उनले विशेष गरेर चीनको उदयलाई केन्द्रमा राखेका छन । एसिया प्रशान्त क्षेत्रमा अमेरिकाको सैन्य उपस्थितीले अहिले सम्म शक्ति सन्तुलन त्यस क्षेत्रमा कायम राखेको छ । चीन एसिया प्रशान्त क्षेत्रबाट अमेरिकालाई उछिनेर ताइवानलाई एकिकरण गर्न चाहन्छ । दक्षिणी चीन समुद्रमा जलमार्गको सुरक्षा साथै पुर्वी  चीन समुद्रमा रहेको टापू विवादमा आफ्नो बर्चस्व कायम राख्न चाहन्छ ।


चीनको उदयका कारण विशेष गरेर एसियामा नयाँ विश्व व्यवस्थाको खाका कोरिदै छ । त्यस्तै अन्तराष्ट्रिय मामलाविद  पराग खन्नाले भविष्य एसियालीको हुने ठोकुवा गरेर “द फ्यूचर इज एसियन’ पुस्तक नै लेखेका छन् । एसियामा मात्र होइन विश्वको प्राय राजनीतिको नक्सा चीन अमेरिका बीचको बढदो द्वन्दले निर्धारण गर्ने भविष्यवाणी उनले गरेका छ्न। २००८ को आर्थिक मन्दीलाई राम्रोसंग समायोजन गरेर चीनले नयाँ विश्व व्यवस्थाको संकेत दिएको तर्क उनले गरेका छ्न।

किशोर मुहाबुबानी

चीनले कोभीड १९ को चुस्त व्यवस्थापन गरयो । यसले पश्चिमेली भन्दा आफु सक्षम रहेको सन्देश दियो । माहबुबानीको दावी छ कि ४ हजार वर्ष पुरानो चीनीया सभ्यतालाई २ सय वर्षको अमेरिकी इतिहासले हैकम चलाउन मिल्दैन । चीनलाई उनी सभ्यतागत राष्ट्र मान्दछन । उनका अनुसार चीनको कन्फुसीयाली ताओ सभ्यताले एसियाली मूलको प्रतिनिधित्व गर्ने दाबी छ ।

एसियामा उन्नाईसौं शताब्दीबाट शुरु भएको सुधार र विकास विसौं शताब्दी सम्म आईपुग्दा एशियाली मुलबाट सिङ्गापुर, हङकङ, ताईवान र मलेसीया जन्मी सकेका थिए । जसले जापानको विकास  र आर्थिक प्रगतिको अनुकरण गरेका थिए । यीनै राष्ट्रहरुको अनुकरण गरेर चीनले सन् १९७८ मा आर्थिक उदार र सुधारको कार्यक्रम लागु गरयो । विगत ४० वर्षमा ६० करोड मानिसलाई गरिबीबाट मुक्त गरयो चीनले। यीनै अदभूत विकास र सामर्थ्यबाट पश्चिमाहरु विशेष गरेर अमेरिका झस्कीएकोछ । किन भने चीनका वरिष्ठ नेता देङको विरालो कालोे वा सेतो जस्तो भए पनि मुसा पक्रन सफल भएको छ । त्यसमाथि अझ दक्षिण पुर्वी एसियाको संगठन आसीयान, यूरोपीयन युनियन भन्दा दोस्रो सफल क्षेत्रीयतावादी संगठन छ । चीन आज एक्लै यो संगठनसंग काम गर्दछ ।

पुस्तकको कभर

अमेरिका अहिले प्रजातन्त्र भन्दा अल्पतन्त्र उन्मुख भएको उनको विश्लेषण छ । विश्वव्यापी रुपमा उदार प्रजातन्त्रको क्षय भएको छ । अमेरिकामा १ प्रतिशतको सत्ता र शक्ति माथिको पकडले ९९ प्रतिशतका भाग्य निर्धारण गर्दछ । अमेरिकाले मानव अधिकारका विषयमा आफुलाई एउटा र अर्कोलाई बेग्लै नीति अपनाउने गरेका आरोप लगाएका छन् । दोस्रो विश्व  युद्धपछि एसियामा दक्षिण कोरिया, जापान र ताइवान प्रायद्विपमा सेना तैनाथ गरेर आफ्नो हैकम जमाएको अमेरिकालाई नयाँ परिस्थितीसंग समायोजन हुन गाह्रो परेको छ । हुन त उसंग जापान, अष्ट्रेलिया, दक्षिण कोरीया जस्ता सहयात्रीहरु छ्न भने फिलीपीन्स र थाईल्याण्ड जस्ता रणनीतिक साझेदारी भएका मुलुकहरु पनि छन । चीनको उदयलाई रोक्न क्वाड र अकुस जस्ता गठबन्धनहरु बनीसकेका छ । तर हेक्का राख्नु जरुरी छ कि भारतको महत्वाकांक्षा र स्वार्थलाई नजरअन्दाज गरेर एक्लै चीनले एसियामा हैकम जमाउन सक्दैन । यसै कारण चीन अमेरिका बीचको द्वन्दका कारण युद्ध हुने वा नहुने आकलनमा रणनीतिकारहरु लागेका छन् ।

भारतको पनि उदय हुने र पछि चीन भन्दा सफल हुन सक्ने संकेत उनले गरेका छन । भारतको उदयलाई चीन विरोधी गठबन्धनमा लाने अमेरिकीको चाहनालाई सन्तुलनमा राख्न भारतले चीनसँगको वार्ता र प्रतिस्पर्धामा भारतले धुर्त पुर्वक कदम चाल्नुपर्नेमा उनी जोड दिन्छन । पश्चिमले भने आफुलाई बर्चश्वशाली बनाउन नयाँ रणनीति बनाउनु पर्ने सुझाव दिन्छन । आतंकवाद विरुद्धको युद्ध, इराक युद्ध र अफगानिस्तानको युद्धमा ट्रिलियन डलर र महत्वपूर्ण समय खेर फालेर अमेरिकाले चीनलाई उदाउने मौका दिएको पनि उनले चर्चा गरेका छन ।

चीनका राष्ट्रपति घरेलु रुपमा दमनकारी र बाहिर आक्रमक “उल्फ वारीयर’ नितीमा लागेका छन । देङको सामर्थ्य लुकाउने निति र उचित समयको प्रतीक्षा गर्ने  मन्त्रलाई सीले त्यागेको सन्देश दिएका छन् । चीनको उदयलाई रोक्न अमेरिकी राष्ट्रपति जो वाइडेनले धेरै श्रोत र समय खर्च गरेका छन् । ट्रम्प प्रशासनको व्यापार युद्धले चीनलाई नै बलियो बनाएको छ ।

चीन पश्चिमीहरुको विश्व व्यवस्था भित्रै रहेर उदाएको राष्ट्र हो । अब उ आफ्नो नेतृत्वमा बेल्ट एण्ड रोड अभियान, एसियन इन्फ्रास्ट्राक्चर र संघाइ अपरेशन अर्गानाइजेशन जस्ता बहुपक्षीय संगठन मार्फत विश्व व्यवस्थाको दावी गर्न उन्मुख छ । चीनीयाहरुको उदय दोस्रो विश्वयुद्धमा जर्मन र जापानीहरुको जस्तो ध्वंसात्मक नहुने दावी चीनिया नेताहरुको छ । त्यसलाई उनीहरुले शान्तिपुर्ण उदय मानेका छन् । चीन अमेरीका सम्बन्ध विश्वकै सबै भन्दा महत्वपूर्ण दुइ पक्षीय सम्बन्ध हो । चीनिया नेताहरु चीनलाई आधुनिक बनाउन चाहन्छन तर यूरोपेली र अमेरिकीहरुले चाहे जस्तो होइन । पुस्तकमा यही साँस्कृतिक, आर्थिक, सैन्य शक्तिले महत्वपूर्ण हुदै गएको एसियाको वर्तमान र भविष्य देखाउने प्रयत्न गरिएको छ ।

किताब : दि एसियन ट्येन्टी फर्स्ट सेन्च्युरी

लेखक : किशोर माहबुबानी

प्रकाशक : स्प्रीङगर

तपाईको प्रतिक्रिया