लेखक निमेष निखिल चालीसको दशकमा उदाएका नेपाली साहित्य लेखनका एक शक्तीशाली लेखक हुन् । प्रकाशित कृतिहरुमा हालसम्म उनका मनहरूको परिसर कवितासङ्ग्रह– २०६५०, उमेरको नदी लामा कविताहरू– २०७० शोकगीतको पोस्टमार्टम कविता सङ्ग्रह– २०७१० प्रकाशित छन् । दर्जनौ साहित्यीक संस्थाको महत्वपुर्ण पदमा रहेर साहित्यसेवामा कार्यरत निमेष निखिल आफ्ना समकालिनहरुमाँझ लोकप्रीय कवि हुन् प्रस्तुत छ साताको तीन कविता ।

कविताका नाममा

एकतर्फी मन पराइएकी
पूर्वप्रेमिकाको अनुहारको धमिलो चित्र
उमेरमा गरिएका केही हरफ बदमासी
हाँसेका रोएका केही पलहरूको झल्याकझुलुक
आफ्नो असमर्थता र छिमेकीहरूको ईर्ष्या
यस्तैयस्तै केही मात्र लेखिएछ आजसम्म–
कविताका नाममा ।

लेखेको भए– बाका दुई हत्केला ठेलामा कोरिएको जीवनको तस्बिर
वा आमाका रसिला आँखामा देखिने
आफ्नै अनुहारको प्रतिबिम्ब
अरबतिर जीवन सिला खोज्ने कोलम्बस दाजुको कथा
अथवा ढिकीजाँतोमा पीडाका शास्त्रीय राग अलाप्ने
नवविवाहित भाउजूका वेदना
बरु हुन्थ्यो कि कविता जस्तै केही ?

लेखेकै भए– ठुलाघरेको छोरो एक्कासि गाउँबाट अन्तर्ध्यान हुनाको कारण
र छिमेकी दिदीले घाँटीमा डोरी बाँधेर
जीवनकै पिङ खेल्नु बीचको गूढ सम्बन्ध
अथवा
आक्कलझुकल सुनिने
ठुली फुपूको बैँसका कहालीलाग्दा कथाव्यथा,
फूल र सपनाप्रतिको उनको तीव्र वितृष्णा
र अझैसम्म उनको बिहे नहुनुको भित्री रहस्य
सायद, कविता जस्तै देखिन्थ्यो होला त्यो पनि ।

कविताका नाममा– लेखेर मान्छे भन्दा टाढाका सुदूर तिलस्मी भ्रामक सन्दर्भ
ब्युँझिएको छु आज कथित कवि हुनुको भ्रमबाट
बडेमानका शब्दहरूको मान्छे नै छेक्ने पर्खाल हैन रहेछ कविता
तिम्रो कोटको खल्तीमा स्युरेको गुलाफ,
वा तिम्रो टल्कने सुनको महँगो दाँत होइन रहेछ कविता
न भाले मयूरको रङ्गीबिरङ्गी प्वाँखै रहेछ कविता

लेखेछु कविता कुनै दिन भने,
अब लेख्नेछु–
एउटा अधिनायकले तिमीतिर उठाएको चोर औँलाको विरोध,
खेतमा खडेरी चुहेर पेटमा धाँजा फाटेको दुखेसो,
नदी बौलाएर गाउँ पस्दाको चित्कार गीत
र पहिरो हाँस्दा जीवन धुरुधुरु रोएको चूडान्त वेदना ।

सकेँ भने कवितामा आविष्कार गर्नेछु–
एउटा त्यस्तो चमत्कारी ऐना–
जहाँ फूल फुलेका मान्छे अनुहार मात्र देखिनेछन् ।

शोकगीतको पोस्टमार्टम

धपाउनु छ किरणहरूले हिर्काएर
कोठाभरि बाँकी रहेको अँध्यारो ।

भोक चिहाइरहेछ निर्लज्ज जुठेल्नाबाट
रोग ङिच्याइरहेछ दाँत आँखैअघि
लखेट्नु छ सबैसबैलाई जीवनका छेउछाउबाट ।

यो उन्मुक्त हाँसो
कसैको कुटिलता सापटी मागेर टाँसेको हैन अनुहारमा हामीले
झारेरै छोड्छौँ–
डाँडामाथि मात्र लुकामारी खेली हिँड्ने घाम एक दिन
जाबो बादल कतिन्जेल छेकेर उभिरहन सक्छ उज्यालो ?
हामी अनुहारहरूमा कलिलो सूर्योदय पर्खिरहेछौँ ।

लेखुँला नि कविता त !
बस्, उक्सिउन मादल पेटहरू
अलिकति हाँसो पोखियोस् सुनसान मझेरीतिर
जताबाट आएको हो उतै फर्कियोस् चेतनामा लाग्ने रुघाखोकी
कविता त लेखुँला नि फेरि पनि !

धेरै गाइयो दुखका सुस्केराहरू भाका हालेर
गीत गाएको अभिनयमा
हामीले त शोकगीत पो गुनगुनाएका रहेछौँ आजसम्म
आफ्नै छातीका वेदना निचोरेर

अब गर्नु छ– यी सबै शोकगीतको पोस्टमार्टम
र निकाल्नु छ पीडाका कीटाणु जिन्दगीका चेपहरूबाट
खोज्नु छ नयाँ समयका लागि नयाँनयाँ भाकाहरू
गीत त फेरि पनि हामीले गाउनै छ ।

ऊ हराएको सूचना

समयका श्यामश्वेत पानामा
कोरेर समयकै अथक कथागाथा
मान्छेका उज्याला अनुहार खोज्न
धेरै भौँतारिएको हो ऊ एकताका
त्यै छेकोमा कसोकसो
समयले उसलाई ‘कवि’को पगरी गुथाइदिएकै हो
मलाई राम्रै थाहा छ ।

समयको त्यो उज्यालो चहकमा
कविको गह्रौँ उपाधि पाउँदा
कसैले थाहा नपाउने गरी
एउटा दर्विलो गौरवको ससानो थुम्को पनि
सगरमाथा जस्तै भएर उभिएकै हो
उसको छातीमा ।

ज्यानमा तागत र पाखुरामा उत्साह भएका बेला
पाइलामा गन्तव्य र मनमा उमङ्ग भएका बेला
उसले पनि साँचेकै हो–
बेथितिका काला चट्टाहरूमा भीम–मुड्की बजारेर
सङ्गतिका आँकुरा उमार्ने सपना आँखाभरिभरि ।

हातैले उचालेर समस्याको सिङ्गो आकाश
विश्वासले फर्काएर नदीको वेग
आस्थाले उभ्याएर परिश्रमको पर्वत
उसले खोजेकै हो यो धरती सिँगार्न
सुन्दर सपनाहरूको खेती गर्न
मान्छे मनहरूहरू आशा रोप्न ।

देख्नेहरूलाई राम्रै थाहा छ–
विसङ्गतिको प्रतिपक्षमा ऊ कसरी उभियो ?
कसरी भत्कायो निराशा र कुण्ठाका पर्खाल ?
मान्छेका चेतनाहरूबाट
कसरी जुध्यो बेथितिका बतासहरूसँग ?
अडिग चट्टान भएर
इतिहास पल्टाए सहजै थाहा भैहाल्छ ।

हत्केलामा बग्ने पसिनाको रङ्गहीन नदी
र, त्यसैका किनारमा जीवनका त्यान्द्रा बटुल्ने ऊ
समयका विपरीत पाङ्ग्रामा पनि
हरदम जिन्दगीका रहरहरूलाई पारि तार्ने ऊ
कर्मण्येवाधिकारस्ते ।।। राग अलाप्दै
निष्काम कर्मयोगको गीत गाउने ऊ
बेलगाम समयलाई झुक्याएर भए पनि
कर्तव्यको बहिखाता दुरुस्त राख्ने ऊ
र, कविताभरि कोरेर मान्छेका महागाथा
मान्छेकै गीत गाइहिँड्ने ऊ
आज एकाएक हराएको छ ।

भेट्नुहुने महानुभावहरूले
उसलाई नजिकको कुनै प्रहरी कार्यालयमा नबुझाइ दिनुहोला
वा, कुनै नम्बरमा फोन गरेर जानकारी पनि नदिनुहोला
प्रबल सम्भावना यो छ–
उसमाथि ‘आतङ्ककारी’ बात लाग्न सक्छ
र उसले बोक्नुपर्ने हुनसक्छ–
फेरि एउटा अर्को बौलाहाको उपाधि ।

तपाईको प्रतिक्रिया