जस कुमार राइ
रामेशको स्वर र यूवाहरुको सृजना ।
सगरमाथा साँझ-२
२००४
हल बाहीर
हङकङको त्यो जाडो महिनाको एक साँझ युन लङ थिएटर निक्कै न्यानो थियो । सन् २००४ को नोभेम्बर २१ तारीख , आईतबार युन लङ थिएटर बाहीरी खाली एरियामा पत्रकार यात्रा थुलुङ, मोजेश राई र डम्बरकृष्ण श्रेष्ठले खिचेका उत्कृष्ट तस्वीरहरुको भब्य प्रदर्शनी भै रहेको थियो । यी नेपाली समसामयिक राजनीति,भूगोल र समाज देखाउने तस्वीरसंगै नेपाली वीर योद्धा गोर्खालीहरुको वीरता झल्काउने बेलायतसंगको दुईसय बर्षको ईतिहास र ईतिहासमा जोडीएर आएको भूतपुर्व र्गोर्खाली सैनिकहरुले १० बर्षदेखि गर्दै आएको समानताको आन्दोलनको झल्काउने तस्विरहरु थिए । त्यही प्रदर्शनीमा हङकङ मै कार्यरत संचारकर्मीहरु मातृदिप राई र प्रकाश राईका तस्वीरहरु पनि सुन्दर ढंगले प्रदर्शन भएका थिए । अझ पानीरंगमा रंगीएका कलाकार प्रमिला राईका पेन्टीङहरुले पनि आगन्तुक दर्शकहरुलाई स्वागत गरि रहेका थिए ।
हल भित्र
हल भित्र भने प्रसिद्ध भुर्गभशास्त्री टोनी हगनको सन् १९५० देखि नेपाल भ्रमणको डकुमेन्ट्री सात बर्ष सम्म खिचीएको नेपालको विभिन्न ठाँउको यात्राको “उहिलेको नेपाल” स्वाद चाखी सकेका थिए । त्यसैगरी मोहन मैनालीको “जोगीमाराका ज्यूँदाहरु” को हेराई पछि जोगीमारामा बाँचेकाहरुको कथाले दर्शकको आँखामा आँसु रसाई सकेको थियो । त्यसै गरि विजयपुर मिडीया ग्रुपले तयार पारेको “नरेशलालको पुर्नजीवन” जसलाई निर्देशक प्रणय लिम्बुले निर्देशन गरेका थिए, धरानमा संघर्ष गरिरहेका एचआईभी संक्रमीत युवा नरेशलालको जीवनमा आएको उतारचढावको बारेमा दर्शकले बुझी सकेका थिए । त्यसै गरि इमर्जिङ टिभी मिडीयाको बारेमा मोजेश राईको छायाँकनको छाटो डकुमेन्ट्रीले पनि दर्शकको मन जिती सकेको थियो ।
अब पालो थियो जनगायक रामेश श्रेष्ठको एकल गायन प्रस्तुतिको पालो । जनगायक रामेशलाई साथ दिन हङकङकै वाद्यवादकहरुको यौटा साँगितीक टोली पनि साथै थियो । कार्यक्रमको नेपाल संयोजक म भने किसन दाईको पछि पछि कुदि रहेको थिएँ । खासै तामझाम नभए पनि सबै वाद्यवादनको एक एक वटा बस्ने कुर्शी या टेबल माईक तयार थियो । जनगायक रामेश दाईले बजाउने हार्माेनीयम राख्ने टेबल र आफु बस्ने चकटी थिएन । यत्रो हलको स्टेज पछाडी केही न केही भेटीएला भनेर म किसन दाई पछि पछि कुदि रहेको थिएँ । स्टेज पछाडी थीएटरका चाईनीज स्टोर किपर भेटीए , उसले केही थान कार्पेट थन्काउन लाँदै थिए । त्यो मध्ये सबै भन्दा सानो कार्पेट दिन किसन दाईले अनुरोध गरे । चाईनिज स्टोर किपरको जवाफ थियो, “हुँदैन” । कार्यक्रम समयमा सुरु भएर समयमै नसकिए त्यो हलमा विजुलीको स्वीच अफ गरिदीने भएकोले अलि ढिला भै रहेको थियो । “किन हुँदैन ?” किसन दाईको मसिनो स्वर एक्कासी कठोर भयो । “हामीलाई केही क्षणको लागि हो ।” भनेर किसन दाईले अनुरोध गर्दा “यो चाईनिजहरुको लागि मात्रै हो” भनेर ती चाईनिजले जवाफ फर्काए । त्यसपछि किसन दाईको धराने एक्सन नै सुरु भै गयो । चाईनिजलाई भनि हाल्यो दाइले – “हामीले यो हलमा पैसा तिरेर कार्यक्रम गर्दा पनि हामीले त्यो सुविधा चाईनिजहरुको लागि मात्रै हो भनेर भन्ने । यो भेदभाव हो । भेदभाव (डीस्क्रीमीनेशन) गैरकानुनी हो । मानव अधिकारको विरुद्ध हो । यसको कम्प्लेन तिम्रो नाममा गर्छु ।” भनेर ठुलै स्वरमा बोलेपछी । चाईनीज लत्रक्कै गल्यो । चाईनिजले सम्झाँउदै भने “तीमीहरुले मागेको लिस्टमा कार्पेट छैन । त्यही भएर हो ।” यौटा चलाउने भए । चलाए हुन्छ । ल लैजाउ ।” यति छिटो कुरा मिल्यो कि कार्यक्रम ठिक टाईममा शुरुवात भयो । “चाईनिजहरु हामीलाई अलि पत्याँउदैन क्या । अलि नकराई हुँदै हुँदैन ।” म तीर हेरेर स्वादिलो चीम्सो आँखा बन्दै हुने पारमा फीस्स हाँसे । म पनि हाँसे, हामीले लामो स्वास फेरयौं । अनि मात्रै सूरुवात भयो, “एभरेष्ट साँझ-२ रामेश श्रेष्ठको स्वरमा जनताको गीतहरु ।”
यो कार्यक्रमको हङकङको आयोजक एभरेष्ट मिडीया थियो । संयोजक लक्ष्मी राई (लारा) र देव राज राई थिए । कार्यक्रम भव्य रुपमा सफल भयो । हामी सबै सहभागी उत्साहीत थियौं । त्यो कार्यक्रमको खाका धरान देशीलाईनको देवान किँरातीको सानो एसटीडी र आइयसटीडी खोटाङ कम्युनिकेशन बुथको सम्मेलनले पारित गरेको थियो । त्यो भेटमा पत्रकार हामी डम्बरकृष्ण श्रेष्ठ, मोजेश राई , यात्रा थुलुङ थियौं । यो योजना किसन दाईलाई खुब मन परेको थियो । किसन दाईको त्यो मेहनतले नै संभव बनेको थियो ,पत्रकारहरुको हङकङ यात्रा ।
हामी, एभरेष्ट पत्रिकाको सम्पादक प्रकाशक तथा कार्यक्रमको आयोजक किसन दाईको आथित्यमा एक हप्ता रह्यौं । दाईको दिनचर्या नजिकबाट नियाल्यौं। त्यो ब्यस्त शहरमा कसरी नेपाली पत्रकारिताको भार थामीरहेका थिए भनेर हेरयौं। समाचारको खेती सजिलो भने थिएन ।
हाम्रो भेट पातलो थियो , तर सम्झनाहरु बाक्लो । सन् २००१ को सुरुवातमा एभरेष्ट दैनिकका कार्यलय नेपाल स्थीत काठमाण्डुको मैतिदेवी मै पत्रकार आनन्द राईको डेरासंगैको विल्डीङमा थियो । पत्रकार राजकुमार दिक्पाल, मोजेश राइ,जनकऋशी राईको अस्थायी मुकाम पनि त्यही विल्डीङ । त्यही स्टेशनबाट एभरेष्ट दैनिकको काम हुन्थ्यो । आँउदा जाँदा किसन राईको बात नहोस यस्तो हुनै सक्तैनथ्यो । हामी पाँच जनाको त्यो २००४ को हङकङ भ्रमणले सम्बन्धलाई अरु गज्जबको यौटै परिवारमा बदल्यो । त्यो बेला एभरेष्ट दैनिकबाट साप्ताहीक भैसकेको थियो ।
एक्लो प्रधान सम्पादक, प्रबन्ध सम्पादक, रिर्पोटर , टाईपीस्ट, प्रुफ रिडर, छापा खाना संञ्चालक डाईरेक्टर, कम्पोजीटर, छापा मजदुर, पत्रिका फोल्डर, अनि हकर सम्म आफै थिए । अझ भनौ विज्ञापन संकलन गर्नु , पैसा उठाउनु , ग्राहक बनाउनु अनि बाँकी रहेको पसलको पत्रिका फिर्ता ल्याउनु सबै आफै गर्ने भएकोले पनि यसमा ऊनी स्वाभीमानी र खुशी थिए । हामीलाई उनले काम गर्ने अफीस, छापाखाना अफीस सबै सबै देखाए पछि पनि उनि भित्रको नेपाली स्वाभीमान देखियो, घमण्ड कहिले देखिएन । नेपाली पत्रकारीतामा बगाएको पसिनामा ऊनी गौरव गर्थे । त्यो हप्ता उत्कृष्ट हप्ता भएर जीवनभर रही नै रह्यो ।
एभरेष्टको दुई दशक
त्यो “रामेशको स्वर र यूवाहरुको सृजना । सगरमाथा साँझ २” कार्यक्रम भएको १८ वर्षको उतार चढावमा पत्रकार साथी डम्बरकृष्ण श्रेष्ठ, सपरिवार हङकङमा स्थायी बसोबास सुरुवात गरिसके । स्थापना काल देखि नै नेपालमा बसेर सहयोग गर्ने डम्बरकृष्ण हङकङमा एभरेष्टको कार्यकारी सम्पादक भए । एक बर्ष अघिको कोरोना कालको मध्यमा “एभरेष्टको दुई दशक भयो । यसपाली यही विषयबस्तुमा केही लेख्नु” भन्ने डम्बरकृष्ण श्रेष्ठको फेसबुक म्यासेन्जरको सालिन अनुरोध बार बार हङकङबाट आएको हो । यसबारे केही तस्विरहरु केही सम्झनाहरु मनमा गढेर बसेका थिए, लेख्नलाई । तर के गर्ने ? परदेशीको अनेकन बहानामा बेफुर्सदिलो बनिदिनु आफैमा यौटा मानक हो । लेख्न बसे तर शुरुवात गर्ने कसरी यही द्विविधा रही रह्यो एभरेष्टको २० बर्षको बारेमा लेख्न ।
केही दिन पछि किसनदाई आफैले पनि फरमान जारि गरे म्यासेन्जरको झ्यालबाट “लेख है, एभरेष्टसंगको सम्झना २० वर्ष पुग्यो । ” फेरी लेख्नै सकिएन । आफैले आफैलाई के के बहाना बनाँउदै, बसें । मेरो बहानाहरुसंग आएका अलमललाई पनि पराजित गर्न सकिन । मैले आफैलाई किन रोके ? थाहा छैन । २०२१ अक्टोबर २४,को त्यो कालो रात पछि झनै चकमन्नता छायो । नेपाली समाजको यौटा गौरबीलो व्यक्तित्व सदाका लागि दुर्घटनामा निभ्यो । किसन दाईको देहावसानको एक बर्ष पछि मात्रै किसन दाईको हँसीलो मुहार सम्झदै केही अतित लेख्न बसी रहेछु । किसन दाईलाई चिनेको २८ बर्ष पछि, उनको मृत्यूको एक वर्ष पछि पनि ताजै छन ।
पूर्वकथा
महेन्द्रर बहुमुखी क्याम्पस धरानको २०५१ सालको विधार्थीहरुको भिंडहरुमा म पनि थिए । त्यही समयमा अखिलका नामुद विधार्थी नेता नवराज लुईटेल, भिम राई, मुरारी सुवेदी, विजय लिम्बु ,चण्डीराज राई, पदम अधिकारी, नारायण राई, जयकुमार राईसंगै किसन राई पनि हाम्रा नेता थिए । पत्रकारीतामा रुची भएको मेरो यात्रा, किसन दाईले धरान -६ स्थित देशीलाईन माछा भौडीमा खोलीएको पुस्तक पसलमा बेला बेलामा भेटीनु विधार्थी राजनितीसंगै अध्ययन अनि ब्यापारमा पनि दाईको सक्रियता लोभ लाग्दो थियो । केही समयपछि ज्ञानोदय बोर्डीङ स्कुलको स्थापनामा पनि किसन दाईको समाजसेवा र ब्यापारको सुन्दर दोभान नै थियो । त्यसपछि भने हाम्रो भेट खोटाङ देउसी परिवार, हिमायती देउसी परिवारको वार्षिक देउसी कार्यक्रममा पातलो भेट बाहेक सम्झना छैन । धरान तीरको पातलो भेट अलि अलि कताकता म्याराथुन जस्तो स्थीर छैन ।
अनाम नाट्य जमातको पहिलो अन्तर्राष्ट्रिय साँस्कृतिक कार्यक्रम सन् १९९८ सेप्टेम्बर सातमा सम्पन्न भयो । त्यो कायक्रममा पनि किसन दाई उनको सहज मुस्कानको साथ युुनलङ हलमा आई पुग्नु भएको थियो । हलको बारेमा जानकारी कार्यक्रमलाई सहजीकरण गर्नु भएको थियो । उक्त कार्यक्रम धेरै बर्ष कोरीयामा बसेर आउनु भएका प्रमोद सुब्बाको पहलमा भएको थियो । त्यही बेला हङकङमा बसोबास गर्ने कलाकारहरुलाई हङकङमा यौटा रेष्टुरेण्टमा सम्मान तथा डिनर कार्यक्रममा धरान हङकङ मञ्चको विजारोपण भयो । अनाम नाट्य जमातलाई हङकङमा दोश्रो पटक घण्टाघर निर्माणको खातिर साँस्कृतिक कार्यक्रममा बोलाउन पहल किसन राई दाईले नै गरेका थिए ।
छिन्ताङ
छिन्ताङ हत्याकाण्ड सम्बन्धी डकुमेन्ट्री बनाउन २००८ देखि सुरुवात गरे बनाउन साथीहरु नेपालबाट जनकऋशी राई, शिद्दराज राई, किशोर थुलुङ र मोजेश राईले तन, मन र बचनले सहयोग गरे । हङकङबाट साथीहरु भुवन लिङदेन र सुदेश्ना राईले सुटीङको लागि पैसा दिएर सहयोग गरे । डकुमेन्ट्री बनेर प्रर्दशन हुन चार बर्ष समय लाग्यो । यही बीचमा एक दिन किसन दाईले भने “लु तिम्रो डकुमेन्ट्री हङकङमा प्रर्दशन गरुङ त।” मैले अपेक्षा नगरेको सुन्दर अनुरोध थियो त्यो । मलाई अरु के चाहीयो । गज्जबको अवसर थियो । “छिन्ताङ डज नट विलिभ्स ईन टियर” ५२ मिनेटको डकुमेन्ट्री हङकङमा प्रर्दशन हुने भयो । १८ अगष्ट २०१२ हेनरी जी ल्योङ कम्युनिटी सेन्टर याउ मा तेइको हलमा । आयोजक थिए किसन दाई । नेपालबाट छाँयाकार मोजेश राई र म सहभागी भएका थियौं । कार्यक्रम संञ्चालक पनि म आफै थिएँ । हामीले केही कुरा राख्यौं । प्रदर्शनी भव्य भयो । छिन्ताङको बारेमा बारम्बार चर्चा भए पनि त्यँहाका भुक्तभोगीहरुको आवाज बुलन्द हुन पाएका थिएन । केही गीतहरुमा बेदना मुखरित भए पनि नेपालको सिस्टमले उनिहरुको बलिदानलाई कहिल्यै महत्व दिएन । तर पनि छिन्ताङ रुदैन भनिएको डकुमेन्ट्रीको आवाज थियो । ईन्डीजीनीयस फील्म फेस्टीभल २०१२ काठमाण्डुको सफल प्रदर्शनी पछि हङकङमा भएको दोश्रो प्रर्दशनीमा दर्शकहरुको उत्साहजनक सहभागिता पछि किसन दाईले भने, “हङकङमा बौद्धिक दर्शकहरुको कमी रहेन रहेछ । खुशी छु ।” किसन दाईलाई शंका थियो हङकङमा यस प्रकारको विषयमा मानिस भेला होलान् ,नहोलान । हङकङको त्यो प्रदशर्नीको बलले “छिन्ताङ डज नट विलिभ्स इन टियर्स” को प्रर्दशनी बेलायतको ११ ठाँउमा एक महिना लगाएर प्रर्दशनी भयो । साथै क्यानडाको टोरोन्टोमा नेपाली डकुमेन्ट्रीको माझमा विशेष प्रर्दशनी भयो ।
धरान
नेपाली कला,साहित्य , भाषा, संस्कृति र विविधतामा हाम्रो विश्वास थियो । त्यही बेला अब हामी मिलेर अरु केही गर्नु पर्छ भन्ने कुरा हुन्थ्यो । त्यसपछि हामी निरन्तर कुराकानी गरि नै रहन्थ्यौ । धरान आउने बेलामा “भेटु है” भने पछि छोटो तर कामको कुरा हुन्थ्यो । २०१४ जनवरीमा नेपाल आईपुग्नु भयो । हङकङबाट बेलायत स्थानान्तर भएकी लेखक तथा समाजसेविका लक्ष्मी लारा पनि धरान संयोगबस आईपुगेकी थिइन । हामीले डायस्पोरामा बसेर नेपाली भाषा,संस्कार, संस्कृतिलाई माया गर्ने दुवैलाई राखेर संञ्चारकर्मीहरुसंग अन्तरक्रिया किन नगर्ने भनेर जनकऋशी राई, राजेश विद्रोही मिलेर विजयपुर एफएमको कार्यलयमा कार्यक्रम आयोजना गरयौं । सोह्र बर्ष हङकङ बसेर, अहिले बेलायत बस्तै आउनु भएकी लक्ष्मी लारा र हङकङमा १५ बर्ष बसेर संघर्ष गरिरहेका दुवैको अनुभब र संघर्ष सुन्न पाँउदा धराने संचारकर्मी उत्साहीत भएका थिए । किसन दाई तत्कालीन नेपाल पत्रकार महासंघ हङकङ शाखाका अध्यक्ष तथा हङकङमा नेपाली भाषाका सरकारी रेडियोमा कार्यक्रम उत्पादक अनि संचालक पनि थिए । लक्ष्मी राई लारा मेन्टल हेल्थकी स्नातक उनि अन्तर्राष्ट्रिय साहित्य समाज, बेलायतकी महासचिव थिईन । उनको कथा कृति “पात्रहरुसंग” प्रकाशित थिए । कार्यक्रम सकिएपछि सहजरुपमा किसन दाईले चीया पीँउदै भने – “निरन्तर हिडीयो तर आज केही आफैलाई नियाल्ने मौका मिल्यो ।”
त्यो हप्ता हामी पुरै साथै रह्यौं । धरान गोधुली फुटबलको भब्य वडा स्तरीयत भिडन्त हुँदै थियो । त्यहाँ पनि पत्रकार र बोर्डिङ स्कुलको शिक्षकहरुसंग भएको मैत्रीपुर्ण खेलमा सहभागी हुनुका साथै गोर्खा भूतपुर्व सैनिक संघ गेशोले सरकारी सहयोग विना नै तयार हुँदै गरेको माछामारा स्थीत गोर्खा मेमोरियल पार्कमा पनि घुमघाम कार्यक्रम थियो । त्यही बेला किसन दाईले १५ हजार पार्कलाई सहयोग समेत गरेका थिए ।
ईलाम देखि अमेरिका
“सेक्रीफाइस नेभर डाईज” मेरो दोश्रो डकुमेन्ट्री २०१३ बाट सुरुवात गरिसकेको थिएँ । सायद किसन दाई मेरो अन्तर्राष्ट्रिय अभिभावक थिए । डकुमेन्ट्री बनाँउदै जाँदा पैसाको अभाव भयो । मैले दाई अलिकती पैसा चाहीने भयो । तत्काल दाईले पचास हजारको चेक काटेर मेरो हातमा थमाईदिनु भयो । अनि उनले भने “ हङकङमा डकुमेन्ट्री प्रदशर्नी पछि हिसाब मिलाँउला ।” मैले डकुमेन्ट्रीको प्रर्दशनीको निम्तो र एडभान्स पैसा डकुमेन्ट्री बनाई नसक्तै पाएँ । सहज र सरल हुनु भनेको किसन दाई हुनु हो भनेर मनभरी घर गरि रह्यो । ईलामको रत्नकुमार वान्तावा, बम बान्तावा र नीमा शेर्पा मारिएको डकुमेन्ट्री २०१५ को अन्तिम तीर तयार भयो । नाम रह्यो “सेक्रफाईस नेभर डाईज” , यसले नेपालमा प्रर्दशनी हुनु अगावै “ग्लोबल फिल्म फेस्टीभल २०१५ सनफ्रान्सीस्को” अमेरिकामा छानीएर प्रदर्शनी हुने मौका पायो । म आफै सहभागि हुन पाउनु अर्को जीवनको सुन्दर पाटो थियो । मैले दाईलाई फोन गरेर भने “किसन दाई तपाईलाई धन्यबाद ।” किसन दाईले हास्दै भनेका थिए “हङकङमा प्रीमीयर गरुँ भनेको त अमेरिकामा गर्ने भयौ । बधाई छ तिम्लाई ,अमेरिकाबाट फर्केपछि यहाँ भब्य आयोजना गरुँला । के अब अमेरिका गएर नेपाल फर्कन्छौ त ?” गम्भीर प्रश्न पनि थियो किसन दाईको । मैले हाँसेर भनेको थिएँ- “नेपालमा बसेर धेरै काम गर्नुछ दाई । यो चै सर्ट कमर्शीयल ब्रेक मात्रै हो ।” मुसुक्क हाँसेर ”लु तिम्ले भने जस्तै होस ।” नभन्दै त्यस्तै भयो । अमेरिका आएकोे झण्डै एक बर्षपछि मात्रै नेपाल फर्कने समय मिल्यो ।
हिमायतिको माया
यस बीचमा हामी निरन्तर कुराकानी गरि नै रहेका थियौं । अब रत्नकुमार वान्तावा `सेक्रीफाईस नेभर डाईज´ हङकङमा प्रदर्शनी गर्ने । यसै बीचमा संगसंगै हिमायतीको डकुमेन्ट्रीको जीम्मा पनि मैले पाएँ । हङकङ हिमायती पनि स्थापीत भै सकेको थियो । यसका संयोजक थिए किसन दाई । किसन दाईले भने- “हिमायती पार्टीको पक्षपाती भएर अब लागेन भने मात्रै हामी सहयोग गर्छौं ।” हिमायती जनसाँस्कृतिक समुह कुनै राजनीतीक दलको झोला बोकेर नहिड्ने स्वतन्त्र रुपमा जनजागृतीका लागी काम गर्दै जाने निर्णयपछि मात्रै “हिमायती अ म्यूजीकल जर्नी” डकुमेन्ट्री निर्माणमा हङकङ हिमायती कम्मर कसेर लाग्यो ।
सेक्रीफाईस नेभर डाईज, हङकङ
ईलामका रत्नकुमार वान्तावा सम्बन्धी डकुमेन्ट्री “सेक्रीफाईस नेभर डाईज” हङकङमा २०१७, मार्च १२ तारीखका दिन प्रदर्शनी हुने तय भयो । यो भन्दा अघि नेपालको सातै प्रदेशको ११ ठाँउमा प्रर्दशन भएर राम्रो प्रतिक्रिया पाएको यो डकुमेन्ट्रीे पर्दशनीको लागि हामी दुवै उत्साही र बहुप्रतिक्षीत पनि थियौं । नेपालबाट मेरि श्रीमति यसोदा पनि टिममा सामेल भएर जाने भईन । त्यही साल हामी अमेरिका सपरिवार यौटा अवसरको लागि आउनु थियो । धेरै काजगपत्र अनि अफीसियल कामहरु गर्नु थियो । सबै १५ दिनलाई थाती राखेर हामी उड्यौ हङकङ । सदा झैं सालिन मुस्कानका साथ किसन दाई नै लिन आईपुग्नु भयो एयरपोर्टमा । त्यो बेला झण्डै दुई हप्ताको बसाईमा हामी श्रीमान श्रीमतीलाई जोर्डन कै माया थुलुङ दिदीको घरमा बस्ने र खाने बन्दोवस्त मिलाईएको थियो ।
हङकङको ब्यस्तता र भीडमा थियौं हामी पहिलो पल्ट श्रीमान श्रीमती , आफन्तहरुको न्यानो आत्मीयता र सम्मानले मनै आल्हादीत बनेको थियो,फुरुङ्ग बनेको थियो । अझ भनौं हामी जोईपोईको यो पहिलो अन्तर्राष्ट्रिय यात्रा पनि थियो । किसन दाईको कारण अझ सहज र सुन्दर बनि रहेको थियो ।
हेनरी जी ल्योङ याउ मा तेइ कम्यूनिटी सेन्टरमा विहान ११ बजे आईतबार विहानको शोमा मानिस आँउदैन कि भन्ने डर किसन दाईलाई थियो । मलाई पनि उस्तै डर थियो । शोमा सबै सीटको टिकट सोल्ड आउट भएको थियो । ११ बज्न आधा घण्टा अगावै सबै दर्शक भेला भैसकेका थिए । तर हलमा यौटा समस्या आयो । सानो सामान्य औपचारीक कार्यक्रम गरेर शोको सुरुवात गर्ने । तर प्रोजेक्टर चले पो । अझ साउण्ड कता हरायो । त्यही बेला त्यहाँका कर्मचारी १२ बजेको अर्को कार्यक्रमको लागी हामीलाई छिटो गर्न ताकेता गरी रहेका थिए ।
एघार बजेर पाँच मिनट जाँदा पनि प्रोजेक्टर नचलेपछि किसन दाईले त्यहाँका कर्मचारीलाई खाँटी राई झ्वाँकमा भने- “मेरो कारणले प्रोग्राम ढिला भएको हैन तेरो प्रोजेक्टर र साउण्ड सीस्टमले धोका दिएको हो । मेरो प्रोगाम नसकी यो हल म छोडदीन जेसुकै गर।”
हामीसंग भने कतिखेर बन्छ भनेर पर्खीनु सिवाय अरु केही उपाय थिएन । हलमा मानिसको भिंड थियो । हामी समय भन्दा १५ मिनेट ढिला भैसकेका थियौं । २० मिनेट नजाँदै साउण्ड र प्रोजेक्टर एक साथ बन्यो । कहाँ कसरी गडबडी भएको थियो । थाहा थिएन । सामान्य औपचारीक कार्यक्रम नगरी हामीले ‘सेक्रिफाइस नेभर डाईज’ डकुमेन्ट्रिको पर्दशर्नी सुरुवात गरयौं । सबै सीट खचाखच भरिएको देखेपछि मतिर संकेत गर्दै किसन दाईले भने- “अब उभेरै हेरिन्छ ।”
हिमायती साँझ र हिमायती अ म्यूजिकल जर्नी डकुमेन्ट्रीको हुर्मत
सेक्रिफाईस नेभर डाईजपछि हामी दुबैले “हिमायती अ म्यूजिकल जर्नी” डकुमेन्ट्री बनाउने साथै हिमायतीको ग्राण्ड लाईभ म्यूजिक सहितको हिमायती साँझ कन्सर्ट गर्ने पनि छलफल भयो । यौटा सफलताले अर्को नयाँ विहानीको जन्म दिन्छ भनेको पनि यही नै रहेछ । त्यही हप्ता हामीले एनएचडीडी स्टुडीयोमा हिमायती हङकङका कलाकारहरुको अन्तर्वार्ता खिच्यौं ।
हिमायतीको बारेमा डकुमेन्ट्री बनाउन सजिलो थिएन । हिमायतीको कथा छुट्टै भन्नेछु । हिमायतीको डकुमेन्ट्री निर्माण कथा निर्मम छ यसको कथा छुट्टै बन्छ । तर जसरी तसरी बनेर तयार भयो । यौटा दुखको अन्त्य भयो । अनि सन् २०१७ सालको अन्त्यतीर म ढुक्कसंग सपरिवार कर्मभूमी अमेरिका लागें । अन्तिम आउने दिन पनि हिमायतीको डकुमेन्ट्रीको सम्पादन कक्षमा नै सम्पादक राजन खडकासंग थिएँ ।
लगभग दुई बर्ष पछि अप्रील २१, २०१९ मा हिमायतीको लाईभ कन्सर्ट हिमायती साँझ हङकङमा हुने भयो । साथै त्यसैमा हिमायतीको डकुमेन्ट्री “हिमायती अ म्युजीकल जर्नी” प्रर्दशनी पनि हुने भयो । किसन दाईले फोन गर्नु भयो । “लु तिमी पनि अमेरीकाबाट आउ, गज्जब ऐतिहासीक हुनेछ ।” पारीवारिक जिम्मेबारी र परदेशको अभावहरुसंग लडन सिक्दै थिएँ । मैले आउन नसक्ने जनाएँ । हिमायतीको त्यो साँझ पहिलो ऐतिहासिक अन्तराष्ट्रिय साँझ थियो । आयोजक हङकङ हिमायतीका संयोजक किसन दाईको “लु आउ” भन्ने ठाडो उर्दी थियो । तर म जान सकिन ।
२०१९ को अप्रील २१ को दिन उताको साँझ यताको विहान हङकङका दर्शकहरुले फेसबुक लाईभ गरि रहेका थिए । डकुमेन्ट्रीको लाईभ पनि हेरें तर मैले बनाएर बुझाएको डकुमेन्ट्रीलाई काटकुट पारेर कसैलाई भ्वाईस ओभर गर्न लगाएरर कुनै टेलिभीजनको न्यूज बुलेटिन जस्तो देखाईएको थियो । मैले लाईभ हेर्न बन्द गरें । अनि केही नसोची मैले हिमायतीको डकुमेन्ट्री जो एक घण्टा २२ मिनेटको थियो यूट्युब मा अपलोड गरें । अनि किसन दाईलाई मात्रै ट्याग गरिदिएँ। भोली पल्ट किसन दाईले फोनमा भने – “मैले तिम्रो यूट्युबमा डकुमेन्ट्री हेरें, त्यो सरल र यथार्थ रहेछ । यता अस्ती देखाको चैं झुरै थियो । मैले हिमायतीका सबै सदस्यहरुलाई राखेर कुरो गरें । जसकुमार माथी अन्याय गरयौं । म पनि यसको लागी दुःखी छु ।” मैले पनि किसन दाईलाई ब्याबसायीक धर्म र कर्मको लागी यौटा मानकको रुपमा मान्दै आएको हो । यो मानकको पनि शिर झुक्ने गरी हिमायतीको केही साथीहरुले देखाएको दोहोरो चरित्रले हिमायतीको छवीलाई निहुराईदिएको त्यो पल म पनि बेस्मारी आत्तीएको थिएँ ।
किसन दाईले “हिमायतीको यो साँगीतिक कार्यक्रम ब्यवसायीक रुपमा सफल हुन सकेन । अझ यो डकुमेन्ट्रीको सम्भावना छ । यो सम्भावनालाई बनाई राख्न हङकङ हिमायती लागी रहन्छ । यो फेरी हङकङ र नेपालमा भब्य शो गर्नुपर्छ । तिम्ले अहीले चै यो डकुमेन्ट्री यूट्यूबबाट चैं डिलीट गरिदेउ ।” अनुरोध गुर्न भयो । मेरो उद्देश्य हिमायतीको चौतर्फी खुशी हो ।” हिमायतीको डकुमेन्ट्री मैले यूट्यूबबाट हटाएँ । अनि लामो स्वास लिएँ । हिमायतिको त्यो डकुमेन्ट्री ईतिहास हो, इतिहास मेटाउने अधिकार कसैलाई छैन । त्यो हिमायतीको ईतिहास फेरि एक पटक धित मरुन्जेल किसन दाईसंग हेर्ने रहर पनि अब रहर मात्रै भयो ।
हामी यस्तै थियौं । जस्तै परिस्थितिमा पनि मिल्न सक्ने । एक अर्काको मनपेट बुझेको हंसी ठट्टा मजाक सबै बुझ्ने चल्ने दाई हामी। २०१२ मा हुनु पर्छ । मोजेश र म छिन्ताङ डज नट विलिभ्स ईन टियर्सको प्रर्दशनीको निम्ती गएको थियौं । नेपालबाट कोही आदिवासी नेता आउनु भएको थियो, एक दिन अघि नै जाने हुनु भो । र त्यो उहाँलाई लिएको होटेल रुम खाली हुने भो। पैसा तिरी सकीएको थियो । मोजेश र मलाई चावी दिदै भन्नु भो “ल केटा हो आज चै यो होटेलमा बसेर पैसा असुल गर त” जोर्डन कै नजिकको होटल थियो । हामी गयौं । कोठा आलिशान थियो । गज्जबले मिलाईएको किङ बेड, बेड ल्याम्प, एट्याच ट्वाईलेट बाथरुम, तातो चिसो पानी थियो, बातानुकुलित एसी, भित्तामा ठुलो टिभी थियो । अनेकन च्यानलको रिमोट हाम्रो हातमा थियो । हामी दुवैले होटेलको हरेक सुविधाको फाइदा उठायौं । “भोली ११ बजे चावी फर्कायौ भने तीस डर पनि पाउँछौ है” हिड्दै गर्दा किसन दाईले भनेका थिए । हामी विहान ११ बजे चाबी बुझाएर गोजीमा तीस डलर बोकेर फर्कदै थियौं । आफन्तकोमा बाहेक हङकङको हाम्रो पहिलो राजशी बसाई थियो त्यो । यस्ता किस्साहरु थुप्रै छन । कथा बन्दै जानेछन । किसन दाई सरल कथाहरुमा बाँचीरहने यौटा गज्जबको पात्र हुन ।
अलविदा किसन दाई ।
१३ सेप्टेम्बर, २०२२
वुडसाईड,क्वीन्स न्यूयोर्क
अमेरिका