नेपाली कलाको क्षेत्रमा घिमिरे युवराज पचासको दशकपछि उदाएका एक शक्तीशाली कलाकार हुन् । नाटक निर्देशक तथा कलाकारको रुपमा उनले निर्वाह गरेको भुमिका पछिल्लो पुस्ताको निम्ति एक रहरलाग्दो र भरोसा योग्य नाम हो जसको कारण कलाकारितामा आउन चाहने युवापुस्ताहरु उत्साहीत र प्रोत्साहित हुने गर्छन्। हाल उनी शिल्पी थिएटरका कला निर्देशक हुन् ।
उनको एउटा नाटकको किताब र अर्को नाट्य समालोचनाबारे किताब प्रकाशित छन् । घिमीरे कथा, कविता र निबन्ध लेखनमा पनि उत्तिकै शक्तीशाली छन् । प्रस्तुत छ साताको तीन कविता ।
नाथुराम गोड्सेको अनुहार
हिजो राज्यलक्ष्मी
जङ्गबहादुर
महेन्द्र
वा ज्ञानेद्र सत्तामा हुँदा जसरी फिल्टर गरेर सुन्थे जनताको कुरा
त्यो भन्दा नालायक छ आजको सत्ता ।
चेतनाहीन, प्राज्ञिकताहीन, मानवताहीन
यो मुलुकको सत्ता जिब्रो लटरपटर पार्छ र आफैँले बोलेको कुरा पनि बिर्सन्छ ।
यो मुलुकको सत्ता र प्रतिपक्षको भ्रष्टाचारी अनुहार त ठ्याक्कै उस्तै छ
फोटोकपी
नत्र किन मिल्थ्यो मत यिनीहरुको गोबिन्द केसीलाई मार्ने योजनामा ?
मिलेर खाने बानी परेको छ
एउटा बोल्दै बोल्दैन
अर्को बढी बोल्छ, एउटा मिल्दैमिल्दैन
अर्को दोचारे छ
तर भेट्दा राज्यसत्ताको ढुकुटीको पैसाले फेरिदिएको नक्कली दाँत देखाएर ङिच्च
नक्कली मुस्कानमै एकअर्काको चरित्रको प्रसंशा गर्छन् लाज पचाएर
नत्र किन चोसो मिलाउँथे यिनीहरु
जनतालाई लुट्ने योजनामा ।
वरिपरि छन् : कुरौटे र विबेकहीन आसेपासेहरु
चुरोटको फिल्टर जस्तो आम मान्छेका दुःख र यथार्थ दैनिकी
फिल्टर गरेर सुनाउँछन् आफ्ना भ्रष्ट देउताहरुलाई ।
बनाउँदैछन् यो देशलाई क्यान्सरग्रस्त ।
उनीहरुले भुले सायद फिल्टरले क्यान्सर रोक्दैन, बरु झन् सङ्क्रमित बनाउँछ देशलाई ।
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सभासद, सचिव, निर्देशक वा बडाहाकिमहरु
र तिनका आसेपासे, ढोकेहरु
सबका सब लागिपरेका छन् मिलेर खान ।
तिनका अनुहार ठ्याक्कै उस्तै देखिन्छ अचेल
अचेल झल्झल्ती देखिरहेछु, उनीहरुको खुट्टामा उभिएर एक हुल नाथुराम गोड्सेहरु
एउटा महापुरुषको अनसन स्थलतिर लम्किरहेका छन् ।
र सुरेन्द्र पाण्डेहरुले लेख्ने किताबको नाम हुनेछ किन गरियो डाक्टर केसीको हत्या
यस किताबको बिमोचन गर्ने छन् देउवा, ओली र पुकदाहरुले
र थपिनेछ नेपाली ईतिहासमा अर्को कलंक ।
आगो र स्वर्ग
बल्नको लागि पनि निक्कैबेर कुर्नु पर्ने छ मेरो लासले
आर्यघाटको किनारामा लमतन्न बाँसमाथि
र कोही आफन्तले झन्झट बेहोर्ने छ
मेरो अनुहारबाट झिँगा धपाउन ।
र, आफ्नो बल्ने पालोमा
आगो, आगो, आगो !!
हे प्रकृति आगो !!
आगोले मलाई बाल्ने छ
मेरो अत्रिप्त आत्मालाई ।
र, किनारामा उभ्भिएर
लोन्द्रा खोलाको गिट्टी बगरमा
वा आर्यघाटको चिसो ओसिलो किनारामा
शायद चरम जाडो याम हुनेछ, नदी पनि जमेको ।
मेरा मलामीहरुले ठिही ठिही गर्दै वा चुरोटको धुवाँ उडाउदै भन्नेछन्
हे भगवान स्वर्गमा बास होस उसको
आगो, आगो, आगो !!
ठस् ठस् गर्दै बल्ने छ चिसो दाउरा मेरो भोगी शरीरमाथि र मुनि
धुवाँ र गन्धको वाक्वाकीलाई पचाउँदै फेरि भन्ने छन् मेरा आफन्तहरु
अकालमै मर्यो, स्वर्ग बास होस् यसको
मेरा अनगिन्ती अबैध सम्बन्धहरु
धोका पाएका प्रेमिकाहरु
आदिम राजाका भन्दा धेरै श्रीमतीहरु
मैले नतिरेको ॠण
मैले गरेको खरदारी भ्रष्टाचार
शंका र हिंसा
मैले पानी सरि पिएको रक्सी
बेश्यागमन
अल्छी, निद्रा र मेरा शरीरका रोगहरु
आगो, आगो, आगो !!
हे आफन्तहरु
हे मलामीहरु
के यही हो स्वर्ग जाने बाटो ?
बिन्ती नराख मलाई चितामाथि
आगोले जलाउने छ मेरो अहमलाई र खरानी बनाउने छ ।
म स्वर्ग हैन, धर्तीमै बस्न चाहन्छु अरुकेही दिन वा केही घण्टा
र आफुलाई सच्याउन चाहन्छु अलिकती कम पिएर
आदरणीय मलामी ! ! स्वर्गमा शायद त्यो अवसर मिल्ने छैन ! !
आगो, आगो, आगो
जल्नेछन् मेरा महान बन्ने रहरहरु ।
रमिता
१
सवारी चालकहरु अचानक बाटो परिवर्तन गर्छन्
पछाडिकालाई पत्तै नदिई ।
नेताहरुले पार्टी परिवर्तन गरे जस्तो
आफ्ना वाचा र सिद्वान्त परिवर्तन गरे जस्तो ।
अनि हुन्छ दुर्घटना बीच सडकमा
संबिधान सभा भवन अगाडि ।
२
म निक्कै तल हुँदा तिमी निक्कै खुशी थियौ
त्यसैले मायाले सुम्सुम्यायौ ।
तिमीलाई लाग्यो म त्यहिँ सड्ने छु
मेरो हैसियत त्यत्ती हो
म नङ्ग्रा खियाउदै जति उकालो चढ्दै तिमीतिर आएँ, तिमी उति डराउन थाल्यौ
र माथिबाट ढुङ्गा बर्षायौ !!
तर मैले तिमीलाई तिनै ढुङ्गा टिपेर कहिल्यै हानिन
बरु अलिक पर्तिरबाट यात्रा थालेँ ।
तिमीले देखी हाल्यौ, खिसिक्क मुस्कुराएँ, उही तलको मान्छे झैँ
अचेल तिमी भेट्दा खिसिक्क मुस्कुराउछौ
लाग्यो बद्लिएछौ
तर ढुङ्गा खासल्न त अझै छोडेका रहेनछौ ?
तलबाट आउँदै गरेकाहरुले भनेको !!
३
बरु ओडाउनलाई कात्रो नहोस्
स्कुल जानलाई युनिफर्म होस्
बरु जलाउनलाई दाउरा नहोस्
लेख्नलाई एउटा कलम होस्
बरु घाटमा हजारौ मलामी नहुन
पढाउनलाई १ जना असल गुरु हुन ।
बरु लासमाथी छर्किने चामल नहोस्
जिन्दगीको यात्रामा अलिकती सामल होस् ।
जीवन भनेको आखिर के नै रहेछ र ?
रामेशले भने जस्तो-बाचुन्जेल गरिने काम न हो ! !
मरेपछि यत्रैसिती-बरु नर्ककै बास होस्
बाचुन्जेल ‘जिउने’ आश होस् !!!!
४
राज्य सरकार यतिखेर कर्मकाण्ड बाहेक केही गर्दैन
मन्त्री मण्डल बनाउने र भंग गर्ने
मलाई यस्तो लाग्छ, सरकार नभए पनि राज्य आफै संचालित छ
किनभने यहाँ किसानहरु छन्, खेतमा काम गर्दैछन्
मजदुरहरु छन्, भारी बोक्दैछन्
व्यापारीहरु छन्, व्यापार गर्दैछन्
कसाइहरु छन् मासु बेच्दैछन्
नगरबधुहरु छन् शरीर बेच्दैछन्
चोरहरु छन्, चोर्दैछन्
भ्रष्टाचारीहरु छन्, घुस खाँदैछन्
पुरुषहरु छन्, गर्भाधान गर्दैछन्
महिलाहरु छन्, सुत्केरी हुँदैछन्
रोगी वा बृद्धहरु छन् मर्दैछन्
घाटेहरु छन् तिनलाई पोल्दैछन्
यो देश यसरी नै चलेको छ ।