क्रान्ति सुब्बा
अहिले मानिसको मनमा बरोबर जीवन्त रूपमा आइरहने एउटा प्रश्न हो यो कोभिड-१९ महामारीको अन्त कहिले होला ? हुन त यो भाइरसका कारण मृत्यु हुने र अस्पताल भर्ना हुने स्थितिको परिमाणमा यथेष्ट न्युनता आएकोछ। भनौं न कोरोनाभाइरस अहिले कम मृत्युदायी, बढी संक्रामक भएको छ। जस्तो कि पहिला संक्रामक मात्र होइन मानिसको सामुहिक हत्या गर्नमा रमाउथ्यो यो भाइरस । मृत्युमा साम्यवादी न्याय प्रणाली अपनाएर धनीगरिब, रोगीनिरोगी, तुच्छमहान केहि विचार नगरी सबैलाई एउटै खाडल पुर्ने रवैया यसले अपनायो । फलतः मानिसको जीवनशैली र चिन्तनधारामा नसोचेको परिवर्तन यो भाइरसले ल्याइदियो । यद्यपि यो प्राकृतिक न्यायको पटाक्षेप नहुनु अहिले कल्पनातित बिडम्बना भएको छ। भाइरससंग जीउन वा यसबाट बच्न व्यक्तिगत रुपमा कस्तो व्यवहार अम्मल गर्ने कुनै मानक निर्देशिका छैन। हङकङको सन्दर्भमा वनमा घरमा मास्कसंग बाफिएर जिउने स्थिति यथावत छ। कतिपय अन्य भूगोलमा जीवन सामान्य भैसकेको पनि देखिन्छ ।
सिंगो चेत अन्यमनस्कताको बादलमा हराइरहेको अहिलेको अवस्थामा हङकङका एक सरकारी सल्लाहकार लाउ यु-लुङले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को हवाला दिदै यो महामारीको अवसान आउदो २०२३ सालको मध्य ताका आधिकारिक रूपमा हुने संभावना रहेको कुरालाई खुलासा गरेका छ्न। नागरिकहरूले बिना मास्क ताजा हावामा सास फेर्ने दिन आउनेछ पनि भनेका छ्न । मैले उनको भनाइ हङकङको स्टान्डर्ड भन्ने अन्लाईनमा पढिरहँदा मेरो अन्तर्मनको एउटा अथाह कुनाबाट प्रसन्नताको एउटा ख्याउटे पवन शंकास्पद रितमा सरर चलेको थियो । सकसको चुडान्तमा पुगेर पनि बगावत गर्न नसकेको एउटा निरीह पात्र मानिसलाई यो एउटा भयंकर राहतमुलक खबर हो जस्तो लागेर आयो। गरिबलाई दिन्छु, राणीलाई लान्छु नभन्नु भन्ने उखान झैँ दिन्छु भनेर नदिने र लान्छु भनेर नलाने जस्तो त नहोलानी महामारी अन्त हुने कुरा भन्ने पनि लागिरहयो। विडम्बना कोभिड सकिएको काल्पनिक सत्यमा जीउन आदि भैसकेको एउटा रुग्ण पात्रले यस्तो कुरा सुन्दा उसलाई अतितको मिठास दोहोरिएको जस्तो मात्र आभास हुने रहेछ। तर के त्यस्तो दिन यति छिटो आउला त ? अहिलेको लागि यस्तो आशा पाल्नु निर्विकल्प विकल्प भएको छ मान्छेको लागि ।
संसारका देशहरुले भाइरससंग सह अस्तित्वका साथ जीउने निति अपनाएका छ्न तर चीनले जिरो कोभिड निति अपनाएको छ। चीनले किन भाइरससंग जीउन चाहेन भन्ने प्रश्नको आफ्नै किसिमको उत्तर होला। मुल रूपमा देशको स्रोत र साधनले धान्न नसक्ने गरि मेडिकल सिस्टम ढलेको अवस्थामा भाइरससंग जीउने निति अपनाइन्छ। यो एउटा बाध्यकारी अवस्था हो। चीनको स्रोत र साधनले धान्न सकेकोले मात्र शुन्य संक्रमण नितिलाइ यसले वरण गर्न सकेको हो। फेरि यो भाइरसको जन्मदाता चीन आफै भएको नाताले भाइरस प्रति असहनशिल भएको देखाउनु पर्ने नैतिक दबाब छ उसलाई । हङकङ पनि चीनको संप्रभुतामा रहेकोे प्रशासकीय ईलाका भएकाले चीन भन्दा पृथक हुने कुरा आएन। त्यसो त चाइनाको शुन्य कोभिड नितिले उल्लेख्य मात्रामा मृत्यु दर कम गरेको त हो नै। हङकङको जनसंख्याको इम्युनिटी लेवल लो छ भन्ने कुरा स्थापित यथार्थ हो। संसार भरिमा वयोवृद्धको जनसंख्या उच्च भएको शहर हो हङकङ र स्वाभाविक रूपमा ज्येष्ठ नागरिकको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । त्यसैले हङकङसंग जिरो कोभिड नितिलाइ युरोपले झैं त्याग्ने छुट छैन । यस मानेमा महामारीको अन्त्य नै भैहाले पनि हङकङमा भीडभाड हुने ठाउँहरूमा वा रुघाखोकीको सिजनमा मास्क लाउने नियम यथावत केहि समय सम्म रहन सक्ने छ्नक सल्लाहकार लाउले दिएका हुन।
कुरा यत्ति हो कि चीनले हाल अख्तियार गरेको संक्रमण प्रतिको शुन्य सहनसिलताले चीन र ग्लोबल इकोनोमीमा नकारात्मक असर पारेको छ।
लाउले इतिहासको अनुभवमा महामारीको अन्त्य छिटोमा तीन वर्ष ढिलोमा पाँच वर्षमा भएको दशी पनि उल्लेख गरेका छ्न।
लाउको बयान यस्तो छ – एकातिर कोरोनाभाइरस म्युटेसन हुदै विकसित हुनेक्रम जारी रहन्छ र अर्कोतिर मानिसहरू बारम्बार संक्रमित हुने सिलसिला पनि रहिरहन्छ साथै यस रोगका विरुद्धमा मानिसहरु खोप पनि लगाइ रहन्छन् र समय क्रममा कम भन्दा कम मानिसहरू मात्र संक्रमणका कारण गम्भीर रोगको शिकार हुने स्थिति आउँछ ।
र अन्तमा यदि भाइरसद्वारा संक्रमित भएर पनि जनसंख्याको करिब ९० प्रतिशतमा संक्रमणको कुनै लक्षण बाहिर देखा पर्न छोड्यो वा बालबालिकामा मात्र नाम मात्रको लक्षण देखा पर्न थाल्यो भने मात्र बल्ल नागरिकले कोरोना प्रतिरोधक खोप समेत लाउनु पर्दैन ।
अब कुरा गरौं अर्को गोलार्धको। युरोप र अमेरिकाले कोभिडलाइ वर्षेनी आउने सर्दी जस्तै मान्न थालिसकेको अवस्था छ। सर्दी अर्थात फ्लु भन्दा बढी संख्यामा कोभिडका कारण अहिले पनि अस्पतालमा भर्ना हुनुपर्ने अवस्था छ र सर्दिले भन्दा बढी कोभिडले अहिले पनि मानिस मारिरहेका कारण मात्र सर्दी र कोभिडमा फरक रहेकोे तर्क येल स्कुल अफ मेडिसिनकि इम्युनोलोजिस्ट आकिको इवासाकी बताउछिन। उनको टिम अहिले नसल बुस्टर भ्याक्सिन र युनिभर्सल कोरोनाभाइरस भ्याक्सिन बनाउन लागि परेको छ र सबै कुराको तारतम्य मिलेमा दुई वर्ष पछि भाइरस तथस्टकारी खोप निकाल्न सकिने कुरा उनले गरेकी छिन।
यो भाइरस उन्मुलन नै गर्न सकिने कुरामा विशेषज्ञहरू विश्वास गर्दैनन् । जस्तै गत महामारी निम्त्याउने स्वाइन फ्लु भाइरस २००९एचवनएनवन (2009H1N1) इन्फ्लुएञ्जा भाइरस अहिले पनि वर्षेनी फ्लु भाइरसको रूपमा आएर मानिसलाई बिरामी बनाएर जान्छ। हो यहि एच१एन१ भाइरस जस्तै कोभिड भाइरस नहराउने जिकिर गर्छन विज्ञ जन।
हङकङमा अहिले बिए.५ बाट ६० भन्दा बढी प्रतिशत बिरामीहरु संक्रमित छ्न। यो प्रतिशत बढेर ८० प्रतिशतमा पुगेपछि मात्र संक्रमित हुनेको संख्या घट्न थाल्दछ। बिश्व स्तरमा अधिकतर संक्रमित तुल्याउने भाइरस पनि बिए.५ नै हो। यो वर्षको अन्त सम्ममा बिए.५ को तेजोबध हुने निस्चय भए पनि ओमिक्रोनको अर्को संस्करणको उदय अवश्यम्भावी हुन्छ भन्छ्न येल युनिभर्सिटीका एसोसिएट प्रोफेसर डाक्टर स्कट रोबर्टस।
प्रत्येक वर्षको एउटा सिजनमा मौलाएर फैलिने ल्याकत कोभिड भाइरसमा भएकोले नै यसको अन्त किटान गर्न नसकिएको हो उनले भने। यो भाइरसको यही खुबीले गर्दा पेन्डामिकबाट एन्डामिकमा जाने संक्रमण काल लम्बिएको हो उनले थपे। सुस्त गतिमा भए पनि यो रोग क्षेत्रीय महामारी तर्फ अघि बढेको भने अवश्य छ।
भाइरस फैलावटको चाप व्यापक नै भएता पनि जब सन २०२० सालमा जस्तो मानिसको बीभत्स मरण युरोप र अमेरिकामा कोरोना भाइरसका कारण हुन छोड्यो तब अहिले यी देशहरुले कोभिड -१९ आउटब्रेकको उत्तरार्द्वमा प्रवेश गरेका छन अर्थात पेन्डामिकबाट एन्डामिकमा गएका छ्न। यी महादेशमा सिर्जित इम्युनिटीलाई छ्क्याएर संक्रमण तुल्याउने अर्को भेरिएन्ट ननिस्किए सम्म हाल बिद्यमान एन्डामिकको स्थिति तन्किएर शरद रितु सम्म जाने अनुमान गरिएको थियो । त्यसो त खोप र संक्रमणले निर्माण गरेको इम्युनिटी समयक्रममा क्षय भएर जान्छ नै । हङकङमा भएको रिपोजिटिभ केस यसको एउटा उदाहरण हो। र बिद्यमान इम्युनिटिको स्तर खस्किएमा स्थिति के हुने हो भन्न सकिन्न ।
अहिले खोप कम्पनीहरु हाल प्रभुत्व जमाएर बसेको ओमिक्रोनको सन्तति द्वय बिए.४ र बिए.५ लाई तह लाउने बुस्टर बनाउन तिर लागेका छ्न।
समग्रमा भन्ने हो भने विगत दुई वर्षको कुनै पनि तिक्त क्षणको तुलनामा गएको ६ महिनादेखि यताको अवस्था धेरै देशहरुमा उज्यालो देखिएको छ बिशेष गरि भाइरसलाई निस्तेज पार्ने कुरामा। र यो ओमिक्रोन कै रजगज रहिरहेमा आशावादी रहन सकिने कारण छ भन्छन् विज्ञहरु। ओमिक्रोन सब भेरिएन्ट बिए.४/५ को स्वाभावमा देखिएको कम क्रुरताका कारण महामारीले बिदावारी पाएको हर्ष पनि कतिपय देशमा मनाइएको छ।
अब उसो जनसंख्यामा व्याप्त इम्युनिटिले ओमिक्रोन प्रकोपलाई कति लामो समयसम्म थेग्न सक्छ भन्ने कुराले भविष्यको दृष्यावली निर्धारण गर्ने छ। तीन डोज भ्याक्सिन लगाएकाले यसको विरुद्धमा मध्यम स्तरको प्रोटेक्सन पाउने कुरा नयाँ अनुसन्धानले देखाएको छ।
अन्तमा ओमिक्रोनलाई पछार्ने अर्को घागडान भाइरसको नयाँ संस्करण नआइन्जेल कम्तीमा युरोप र अमेरिकाले महामारीको अन्त्येष्टि पर्वलाई मनाइरहनेछ्न। तर नयाँ भेरिएन्ट आएर कोभिड-१९ महामारीको अर्को अध्याय खोल्न पनि सक्छ । त्यसकारण वैज्ञानिक समाज जसको निम्ति पुर्ण तयारी बस्नुपर्ने देखिन्छ । तर विश्व स्तरबाट हेर्दा अहिलेको घडीमा यो महामारी अधोगती तिर लागेको हो भन्नू पर्दछ । आगे भाइरसको मर्जी ।