भारतको कालेबुङमा बसोबास गरिरहेका कवि पुकार राई आफ्नो पुस्ता माँझ शसक्त कवि हुन् । उनको “हल्लुँड” कविताकृति प्रकाशित भैसकेको छ । मानवीय मनोदशालाई शब्दहरु मार्फत शक्तिशाली रुपमा प्रस्तुत गर्नुका साथै शासन र व्यवस्थामा रहेको कमी कमजोरीको बिरोधमा निक्कै कडा रुपमा उनका कविताहरुले बिरोध गरिरहेका हुन्छन। प्रस्तुत छ साताको तीन कविता ।
हल्लुँड
खेतमा नारिइरहेका हलगोरुको जुरोबाट
जब उदाउँछ देवता जस्तो घाम
पेट छाम्दै मुस्काउँछ
संसद भवनको टुप्पाबाट तिरङ्गा
र कचेरा पुछ्दै ब्युँझन्छ देश।
कति गह्रौँ छ फसल बीमा-योजनाको हलो
हलगोरुको गर्धनमा बेह्रिएको छ गणतन्त्रको जोतारो
जसले पिल्सिएर अररर भएको छ जुरो
काँधको जुवामा बेह्रिएको क्यापिटलिस्ट छालाको हल्लुँड
र पनि निर्धक्क तानिदिन्छ हलो।
फ्रिडम टु एक्सप्रेसको चोयाले बुनेको महला ओढाएर
थमाइदिन्छ किसानहरूको काँधमा बागवानीको जुवा
ह…. ह…. हो….रा…. गर्ने गोरुको भाषामा पनि कपिराइट हाल्दिन्छ
हलोको अनौ समाउने हलीको हातमा,
जसरी सत्ताको हातमा छ हैकमको सिर्कुना
जसले चाबुक बजाइरहन्छ किसानहरूको आङमा।
चुटाइले थेत्तर भएकालाई चुट्नुको के अर्थ
शालीनताको घुम ओढेर खेत जोतिरहन्छ हली
दाँदेमा चढेर वल्लो र पल्लो छेउ गरिरहन्छ नाबालक अक्षर
सन्तुष्टिको प्लास्टिक ओढेर बाउसे गरिरहन्छ कोदाले
फ्याउरीले हिलोको पहाड समतल बनाइरहन्छ फ्याउरीवाल
रोपारहरू रोपिरहन्छन् संस्कारको बीउ
र उम्रिन्छ देशको अर्थनीति
जति बेला देश खाँदै क्यान्डिक्रस खेलिरहेका हुन्छन् नपुंसक सत्ता।
करुवाले च्याप्प समातेको फालीले
भित्रभित्रै उधिनेर उर्वर बनाउँछ सिङ्गो ब्रह्माण्ड
आधुनिक लिङ्गको वीर्य
माटोको योनीमा खसेपछि उम्रिन्छ देशको प्रोटोप्लाज्म
हिप्पोक्रिटहरूले महँगो प्रोडक्ट बनाएपछि सुकेनास पर्छ खेतमा
र किसानहरू क्यापिटलिस्ट छालाको हल्लुँडोमा झुन्डिएर आत्महत्या गर्छन्।
पुष्टकारीको खाजा बोकेर कोदो रोप्ने कमिलाको
खडेरी लागेर वर्षैपिच्छे चुहिबस्छ सपनाको छाना
सन्तुष्टिको पुरानो बंध्याले छाएर कटाउँछ वर्खा-हिउँदो
जसरी किसान पसिनाको अगरबत्ती बालेर
मालिकहरू कटाउँछन् ऐसको जिन्दगी।
जाबो इत्रु आलीमा भटमास र कालो दाल फल्छ भने
तिम्ले बाँझै छाडेको चेतनाको फोक्टामा के के नफल्ला।
कमसेकम यो थाहा पाएर कि
देशको अर्थनीति पुँजीहरूको इसारामा चल्छ
मकैको जुङ्गाभन्दा कच्चा हो उनीहरूका लिलिपुट चेतना।
सुकेनासले पिरोलेको खेतलाई नाइटफल हुन थाल्यो भने
घोगाको साटो बन्दुक फलाउन सक्छ मकै
चे ग्वेभाराको टिसर्ट लाएर आलीमा उभिन सक्छ भटमास
कान्लाबाटै इलामेले माउत्सेतुङको कार्यकर्ता बनिदिन सक्छ
परालले लगाउन सक्छ समानता र स्वतन्त्रताको डढेलो
र खाक खाक हुन सक्छ पुँजीवादको साम्राज्य।
कमसेकम यो बुझेर कि
लोकतन्त्रको झाडीबाट माथिमाथि देखिने बिल्डिङघारी
पागलहरूको बस्ती हो
जहाँबाट नियन्त्रण गरिन्छ खेडरीको ड्याम
अहिलेलाई
नपठाउँदा नि हुन्छ खेतसम्म आइनपुग्ने किसान सब्सिडी
नबनाउँदा नि हुन्छ किसान क्रेडिट कार्ड
एकलै एकलै एकलैहरूका खेतको जमातले
चेतनाको हलो ताछ्न सक्छ नपुंसकहरूको अगेन्स्टमा।
हजुर
जुवामा बेह्रिएको जोतारो र हल्लुँडो
क्यापिटलिस्ट छालाको डोरीले नबाटिँदो हो त
स्वयं हलगोरु एक्टिभिस्ट हुने थिएनन् !
जिउँदो
कुनै बेला आँधी आवोस्
आकाश फाटोस र बर्सियोस् चट्याङ
बाढी आवोस् र घुसोस मेरो घरभित्र
भत्कियोस हिमाल र बन्द होस् घरको झ्याल ढोका
सलह पसोस र सखाप पारोस मकैबारी
कुनै बेला
मेरो गिदीको सर्जरी हुन सक्छ
मलाई ‘मेन्टल’ को उपनाम दिइन सक्छ
मेरो स्वाभिमानको धज्जिया उडाइन सक्छ
मेरो नागरिकतामाथि शङ्का गरिन सक्छ
मेरो चेतनामा 666 को चिप जडान हुन सक्छ
मैले कुल्चेको धुलो
फोरेन्सिक ल्याबमा जाँच हुन सक्छ।
म कुनै बेला प्रताडित बन्न सक्छु
म विरूद्ध मुद्दा चलाइन सक्छ
मेरो पछि सरकारी मान्छे लाग्न सक्छ
मेरो परिवारमाथि दुर्व्यवहार हुन सक्छ
कुनै पनि बेला
मेरो घर जमिन खोसिन सक्छ
मेरो कागजात जलाइन सक्छ
मेरो पुतला दहन हुन सक्छ
म विरूद्ध संसदमा तहल्का मच्चिन सक्छ
कुनै पनि बेला
मलाई झुन्डाइन सक्छ
मलाई मारिन सक्छ, जलाइन सक्छ
मेरो शरीर धुलोमा रूपान्तर हुन सक्छ
मेरो अस्थीपञ्जर कङ्क्रिट बन्न सक्छ
र नामेट हुन सक्छ
म जिउँदो हुनुको प्रमाणहरू
किनकि
म जिउँदो छु।
म काँटा, फरूवा चलाउन सक्छु
हँसिया, कोम्बी उध्याउन सक्छु
बञ्जर जमिन उर्वर बनाउन सक्छु
आगोको भुप्रो चिम्टाले समात्न सक्छु
विद्रोहको कविता लेख्न सक्छु
म जिउँदो छु।
म सत्ता विरूद्ध क्यानभासमा रङ भर्न सक्छु
प्रतिवादले भरिएको मुट्ठी उठाउन सक्छु
शब्दहरूको बन्दुकमा विध्वंशको बारूद भर्न सक्छु
सङ्कल्पहरूको धरहरा खडा गर्न सक्छु
सम्भावित परिणामहरू द्योतक बन्न सक्छु
अधिकारको नारा अलाप्न सक्छु
किनकि
म जिउँदो छु
डाइनोसर
चाहे नपत्याउन् कसैले
हज्जारौं वर्षअघि विज्ञानले
धर्तीबाटै बिलिन भइसकेको घोषणा गरेको डाइनोसर
आज हज्जारौं वर्षपछि
फेरि जिउँदो भएको छ।
यो डाइनोसर
न शाहाकारी, न मांसाहारी, न त हो सर्वभक्षी
न छ यसको कुनै तिखो दारा
न सिङ्ग, न पुच्छर, न खपेटा
न त ओकल्छ आगो
तर पनि त्यसले घोची बस्छ, टोकी बस्छ
मलाई थाहा छ
त्यो मैले सोचे जति शोषक होइन
त्यो मेरो जीवनको कुलो भएर पस्छ र कान्ला भत्काउँछ
माउसुली जस्तो भित्तामा चड्छ र खुशीको गुँड भत्काउँछ
मेरो ओठको मुस्कान टिप्छ र सुखको छानो भत्काउँछ
त्यसले मेरो निधारबाट चुहेको पसिनामा दागा धर्छ
मेरो खेतको धान सलहले सखाप पारेको हेरेर रमाउँछ
त्यसले मेरो मैले थाहा नपाउने गरी मुटु खान्छ
मलाई थाहा छ
त्यो मैले सोचे जति क्रुर छैन
तर त्यसले मेरो योजनामा आफ्नो योजना हाबी गर्छ
मैले फेर्ने सासको हावामा क्लोरोफर्म पठाउँछ
सुविधाको झोलाभित्र असुविधाहरू पठाउँछ
मेरो सपनाको बस्तीमा डरेलो सल्काउँछ
मेरो आशाको पाइपमा ठेडी घुसार्छ
स्वाभिमानको घडेरी उठ्यो, भत्काइदिन्छ
जाँगरहरूमा अल्छीको मल्टिकम्प्लेक्स भिटामिन हालेर कक्टेल बनाउँछ
मलाई थाहा छ
त्यो मैले सोचे जति आतङ्ककारी होइन
तर त्यसले मेरो घरभित्र युद्ध गराउन कुनै जुक्ति निकाल्छ
मेरो असिमित इच्छाहरूमा पूर्ण विराम लगाउन
आफ्नै रहरहरूको ग्यास च्याम्बरमा छटपटाएको हेर्न रूचाउँछ
बन्दुकको नाल जस्तो सोते देखेर डराउँछ
र हज्जारौ हज्जार ट्याक्सहरूको बम विस्फोट गराउँछ
मलाई थाहा छ
त्यो मैले सोचे जति निरङ्कुस छैन
तर त्यसले मलाई मानचित्रको पिन्जरामा थुन्छ
सिमाना नाघे त्यसले मेरो पासपोर्ट खोज्छ
त्यसले मेरो आकाश र घरमाथिको जुन खोस्छ
त्यसको शासन क्षेत्रभित्र सधैँ
साङ्गली बोकी रहनुपर्छ स्वतन्त्रताको खल्तीमा
तर मलाई यो थाहा छ
परेवाले सधैं शान्तिको झण्डा नबोक्न पनि सक्छ।
असिना पऱ्यो भन्दैमा उड्न छाड्दैन चराहरू
मुस्कुराउन छोड्दैन आगन डिलको फूलहरू
पलाउन छोड्दैन स्कुलको बेन्चीमा चेतनाको टुसा
ब्युउँताउन सक्छ चिहानबाट सपना
ओ विज्ञान!
हज्जारौं वर्षअघि
तिमीले धर्तीबाटै बिलिन भइसकेको घोषणा गरेको डाइनोसर
आज हज्जारौं वर्षपछि
फेरि जिउँदो भएको छ।
यो धर्तीबाट
जिउँदै मान्छेलाई अवशेष बनाउने
जिउँदै मान्छेको अस्थिपन्जर घोट्ने
मान्छे नमारीकन मान्छे खाइरहने
यो डाइनोसरको पतन कहिले हुन्छ?