पेन्सेल्भेनिया, अमेरिका। भूटान गजल मञ्चद्वारा आयोजित ‘रचना वाचन तथा पुस्तक चर्चा’ कार्यक्रम सँगसँगै भूटान गजल मञ्चको तदर्थ समिति विघटन गरी नयाँ कार्य समितिको गठन गरिएको छ।

२१ अगष्ट २०२२ आइतबारका दिन अमेरिकाको पेन्सेलभेनिया राज्यको जेफर्सन हिल्स शहरमा भूटान गजल मञ्चले ‘रचना वाचन तथा पुस्तक चर्चा’ कार्यक्रम सम्पन्न गरेको छ। भूटान गजल मञ्च तदर्थ समितिका संयोजक नेत्राचार्य कौडिण्यको सभापतित्व, भूटानी नेपाली साहित्यका  पथ प्रदर्शक तथा अभिभावक गङ्गा लामिटारेको प्रमुख आतिथ्य, ओमाहा नेब्रास्काका व्यवसायी तथा सामाजिक ब्यक्तित्व भीम गुरूङ तथा तनहुँका कवि सत्यजी क्षत्रीको विशेष आतिथ्यमा दिनको ठीक २ बजे सुरू गरिएको कार्यक्रममा अन्य धेरै स्रष्टाहरूको समेत उपस्थिति रहेको थियो।


कवि धर्मेन्द्र तिम्सिना ‘क्षितिज’ को कविता संग्रह`आवाजहरूको जुलुस´तथा गजलकार सबीन शर्माको गजल संग्रह`ऐनाअघि उभिएर´कृतिहरूमा चर्चा परिचर्चा गरिएको थियो। कार्यक्रममा उपस्थित सबैलाई स्रष्टा शेखर कोइरालाले स्वागत गर्नुभएको थियो। कार्यक्रमा दिपेन ढुङ्गाना, आभाष रिखाम, शेखर कोइराला, राज बराल, गोपाल पौड्याल, त्रिविक्रम न्यौपाने, अञ्जान भूटानी, सत्यजी क्षत्री लगायतका स्रष्टाहरूले आफ्ना रचना वाचन गर्नुभएको थियो। कवि धर्मेन्द्र तिम्सिना क्षितिजको कविता संग्रह  `आवाजहरूको जुलुस´ बारे स्रष्टा राज बरालले बोल्नुभएको थियो। “कविको यस कृतिमा उत्पिडनका ब्यथाहरू, जागरूकताका विषयहरू र समाज परिवर्तनका कुराहरू समावेश छन्। यस कृतिका हरेक कविताले सन्देश प्रवाह गरेका छन्।” स्रष्टा राज बराल भन्नुहुन्छ। त्यस्तै गजलकार सबीन शर्माको गजल संग्रह  `ऐना अघि उभिएर ´ बारे स्रष्टा त्रिविक्रम न्यौपानेले गजलकार शर्माको लेखन शैलीको खुलेर प्रशंसा गर्दै “यस गजल संग्रह भित्रका हरेक गजलहरू गहन र जीवनपरक छन्” भन्नुभयो।

भूटानी नेपाली साहित्यका एक अभिभावक गङ्गा लामिटारेले आफ्नो मन्तब्यमा अतीतका तिता क्षणहरूको स्मरण गर्दै, नेपाली भाषा तथा साहित्यको बचावटका लागि उहाँले गर्नुभएको दुःख, वर्तमान परिवेश र भविष्यमा आउने राम्रा र नराम्रा दुवै पक्षको जानकारी दिनुभयो। साथै, सधैँ यस्ता कार्यहरूमा आफ्नो सहभागिता र अभिभावकत्व प्रदान गर्ने समेत बताउनु भयो। त्यसैगरी, व्यवसायी तथा सामाजिक व्यक्तित्व भीम गुरूङ, तनहुँका कवि सत्यजी क्षत्री लगायतका अतिथि तथा स्रष्टाहरूले आफ्नो मन्तव्य राख्नुभएको थियो। कवि धर्मेन्द्र तिम्सिना क्षितिज तथा गजलकार सबीन शर्माले पनि आफ्ना कृतिहरू बारे बोल्नुभएको थियो। उहाँहरूका कृतिहरू विश्व भूटानी साहित्य संगठनद्वारा आयोजित कार्यक्रम अन्तराष्ट्रिय सृजनात्मक अनुष्ठान-५ मा सिक्किमका पूर्व मुख्य मन्त्री पवन चाम्लिङ् र डा. गोविन्दराज भट्टराईको बाहुलीबाट विमोचित भएका थिए।

यसैबीच  भूटान गजल मञ्च तदर्थ समितिको पूर्व वैठक अनुसार भूटान गजल मञ्च पुनर्गठन समितिको चयन गरिएको थियो। पातलो अन्तरेको संयोजकत्वमा अन्य दुई राज बराल तथा शेखर कोइराला गरी तीन सदस्यीय पुनर्गठन समिति गठन गरिएको थियो। उक्त पुनर्गठन समितिले भूटान गजल मञ्च तदर्थ समिति विघटन गरी मतदान प्रणालीद्वारा निर्विरोध निर्वाचन गरेको थियो। निर्वाचनमा पाँच बर्षे कार्यकालका लागि अध्यक्ष नेत्राचार्य कौडिण्य, उपाध्यक्ष पूर्ण नर्जाली, सचिव धर्मेन्द्र तिम्सिना ‘क्षितिज’, सहसचिव माया भट्टराई, कोषाध्यक्ष आर बि खडका तथा प्रचार-प्रसार समितिमा वेणु मैनाली ‘ईट्टाघरे’ र अर्जुन प्रधान, सदस्यहरूमा शेखर कोइराला, पातलो अन्तरे, आभाष रिखाम, दिपेन ढुङ्गाना, अविनाश भट्टराई र भीम गुरूङ गरी जम्मा १३ सदस्यीय कार्य समितिको गठन गरिएको छ। स्रष्टा पातलो अन्तरेको संयोजकत्वमा यो निर्वाचन गरिएको थियो। यसै गरी सल्लाहकार समितिमा प्रमुख सल्लाहकार गङ्गा लामिटारे सहित अर्जुन रसाइली, जय वान्तवा, त्रिविक्रम न्यौपाने, केशव बैरागी, राज बराल, कर्ण गुरूङ , खेम रिजाल र सबीन शर्मालाई सल्लाहकार चयन गरिएको थियो।


वि. सं. २०६० सालमा भूटान गजल मञ्चको स्थापना भएको थियो। धेरै अग्रज गजलकारहरूले यस संस्थाद्वारा भूटानी नेपाली समुदायमा सयौँ गजलकारहरूलाई जन्म दिएको इतिहास छ। पुनर्वासको प्रकृयामा आफ्नो र परिवारको ब्यवस्थाको चपेटाले धेरै बर्षसम्म निष्क्रिय रहेको यस संस्थालाई आज विघटन तदर्थ समितिले पुनर्जीवन प्रदान गरेको थियो।

कार्यक्रमको अन्त्यमा, कार्यक्रमका सभापति नेत्राचार्य कौडिण्यले “भूटान गजल मञ्च हामी सबैको सम्पत्ति भएकाले भूटानी नेपाली समुदायका हरेक गजलप्रेमीहरू यस संस्थाको सदस्य बन्न पाउनु हुनेछ। भूटान गजल मञ्चले सदस्यताको लागि प्रक्रिया सबैसामु चाँडै लिएर आउनेछ। भूटान गजल मञ्चले अब डटेर काम गर्नेछ।” भन्दै आफ्नो रचना वाचन सहित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरी कार्यक्रम विसर्जन भएको घोषणा गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया