तीन दशक भन्दा लामो समयदेखि मानव अधिकार ,महिला अधिकार र हकको क्षेत्रमा स्थापित एक अग्रणी नाम स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय तहसम्म हिंसापिडित महिलासँग काम गरेको अनुभव अन्तराष्ट्रिय स्तरमा पुग्ने नेपाली महिलाहरु मध्ये एक सम्मानित नाम ,सञ्चारिका समुह नेपालकी पुर्व अध्यक्ष , नेपाली टेलीभिजनमा करिब बीस बर्षसम्म काम गरेको अनुभव हाल संयुक्त जनसङ्ख्या कोष युनिसेफ उच्चस्तरीय आयोगकी सदस्य बन्दना राणासँग महिलाको बिषयमा केन्द्रीत रहेर बिमला तुम्खेवाले गरेको कुराकानी ।
१. तपाईं नेपालको तर्फबाट महिला अधिकारको आवाज उठाउदै अन्तर्राष्ट्रिय क्षेत्रमा पुग्न सफल एक अभियन्ता हुनुहुन्छ । यसरी हेर्दा हाम्रो देश नेपाल कहाँ छ ?
यो मेरो सिड कमिटीको दोस्रो कार्यकाल हो । हेर्दा नेपालको तर्फबाट भनिएता पनि सिड कमिटीमा मेरो उपस्थिति स्वतन्त्र बिज्ञको रुपमा हो । यो बीचमा मैले ९० राष्ट्रहरुको समीक्षा गर्ने मौका पाएँ । पहिला जसरी नेपाल महिला हक, अधिकार र ससक्तीकरणको क्षेत्रमा अन्य मुलुकहरु भन्दा पछि छ भन्ने लाग्थ्यो तर त्यस्तो होईन रहेछ । कतिपय एसीयली र अफ्रिकी मुलुकहरुमा भन्दा नेपाल महिला अधिकार , मानव अधिकार, वाक स्वतन्त्रता, एैन कानुनको सन्दर्भमा उदार र प्रजातान्त्रीक रहेछ । हाम्रो देशसँगै तुलना गर्दा अन्य धेरै मुलुकहरुमा घरेलु कानुन छैन । धर्म परम्परा र प्रथाको आडमा महिलामाथि गरिने हिंसाहरु भयावह छ । हाम्रो देशमा त्यो किसिमको अन्याय छ तर प्रतिकार गर्न पाउने अधिकार छ बोल्न पाउने अधिकार छ । तर उनिहरुको मुलुकमा बलात्कार र गर्वपतन जस्तो गम्भीर अपराधहरुमाथी कानुनी बहस गर्ने अवस्था नै छैन । नेपालले सिडले उल्लेख गरे झैं महिला सहभागीतालाई देशको सबै क्षेत्र तह र तप्काहरुमा पुर्याउने कोशिश गरिरहेछ । अन्य कति मुलुकहरुले त्यो मर्मलाई अझैसम्म बुझ्ने कोशिश नै गरेको छैन । हाम्रो देश तेस्रो लिङ्गीको पहिचानको बिषयमा विश्वमै संविधानमै उल्लेख गर्ने पहिलो मुलुक हो ।
२. कानुन बने पनि कार्यान्वयनको पक्ष फ्यातुलो देखिन्छ यसलाई सुधार गर्न के के गर्नुपर्छ ?
देशमा घरेलु हिंसाको कानुन बनेको १३ बर्ष बितिसकेको छ । तपाईंले भनेझैं कार्यान्वयनको अवस्था फ्यातुलो छ तर यसो हुनुको मुख्य कारण हाम्रो मुलुकको साँस्कृतिक, सामाजिक राजनैतिक अवस्थाहरुले सृजना गरेको बिभेदकारी व्यबस्था र अवस्था नै मुख्य कारण हो । यो कानुनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नको निम्ति सेवा प्रदायक कहाँ कानुनले भनेको कुरालाई जस्ताको तेस्तै रुपमा जिम्मेवारीपुर्वक बुझाउन जरुरी छ । उनीहरुलाई महसुस होस यो देश मेरो पनि हो र यो कानुन मेरो लागी बनेको हो । तर अवस्था गम्भीर छ । महिला बालिकामाथि हाम्रो समाजमा भैरहेको अन्याय भयावह छ ।
३. जतिबेला तपाईं यो क्षेत्रमा आउनुभयो । त्यो अवस्था र अहिलेको अवस्थामा नेपाली महिलाहरुमा आएको परिवर्तनलाई कसरी महशुस गर्नुहुन्छ ?
म यस क्षेत्रमा आवद्व भएको सुरुको समय र अहिलेको अवस्थामा महिलाहरुको चेतनाको स्तरमा धेरै फरक आईसकेको छ । अहिले महिलाहरु आफू माथि हिंसा भएको बिरोधमा प्रतिकार गर्न सक्ने अवस्थामा आईसकेका छन् । कतिपय अवस्थामा राज्य र राज्यको कानुन प्रभावहिन छ । राज्यले अपराधीमाथि कार्वाही गर्ने सवालमा ढिलासुस्ती छ । समाजमा पिडित लुक्दै हिड्नुपर्ने तर पिडक खुलेआम हिडीरहेको अवस्था छ । दुरदराजका महिलाहरु सुरक्षाकै कारण आफुमाथि भएको अन्यायको बिरोधमा बोल्न सक्ने अवस्थामा छैनन् भनेपछि यो बीचको समस्यालाई समाप्त गर्न सरकारले आफ्नो संयन्त्रहरुलाई तुरुन्त एक्सनमा लानुपर्यो र पर्छ तर त्यस्तो देखिन्दैन महिलाहरुलाई न्याय पाउछु भन्ने बिषयमै भरोसा उडिसकेको छ । एक्लै कसैले पनि केही गर्न सक्दैन तर हरेक सरोकारवालाले आआफ्नो ठाउँमा जिम्मेवारीका साथ कर्तव्य निभाउने हो भने समाजमा परिवर्तन सम्भव छ ।
४. तर हरेक दिन जसो नेपाली समाजमा जसरी छोरीहरु गर्वमै मारिन वाध्य छन् यो अपराधलाई रोक्न के गर्नुपर्छ ?
नेपाली समाज छोरा चाहने राष्ट्रहरुमा विश्वकै पहिलो स्थानमा पर्छ । छोरीमात्र पाउने महिलारुको परिवार र समाजमा इज्जत छैन । सुरुको दिनमा हामीले जुन उदेश्यको साथ लिङ्ग पहिचानको निम्ति कानुनी सुबिधा र अधिकार हुनुपर्छ भन्यौं तर अहिले यो विकृति र अपराधको रुपमा मौलाउदै गएको छ ।
पछिल्लो समयमा नेपाली समाजमा यो समस्या जटिल हुनुको साथै अपराधीक बन्दै गएको छ ।
५. यो अपराधलाई रोक्न मिडीयाले कस्तो किसिमको भुमिका खेल्न जरुरी छ ?
पहिलो कुरा नीति निर्णायक तहमा रहेका पुरुषहरुलाई बुझाउन जरुरी छ र त्यसको निम्ति मिडीयाले खेल्नुपर्ने भुमिका अत्यन्तै महत्त्वपूर्ण छ । समाजलाई जिम्मेवार बनाउन मिडीयाले खेल्ने भुमिका अत्यन्तै प्रभावकारी हुन्छ । बिगतमा जति महिला हकअधिकार सम्बन्धी कानुनहरु बन्यो मिडीयाको महत्वपुर्ण योगदान छ । अझैँ पनि महिला हकअधिकार सम्बम्धी बनेको कानुन र एैनहरुलाई बुझाउन मिडीयाको महत्वपुर्ण भुमिका रहन्छ ।
५. ईन्गेज ईन मेनेज आर्टिकल ५ र टेम्पोररि स्पेशल मेजर्स अन्तर्गतको आर्टिकल ४ भन्नाले के बुझीन्छ र यो किन महत्त्वपूर्ण छ ?
हाम्रो जस्तो बिकास उन्मुख देशहरुमा मात्र नभएर सबै देशहरुमा महिलाको सहभागीता राज्यको सबै तह र तप्कामा आउन सकोस भन्ने उदेश्यका साथ सिडले स्थापित गरेको एक महत्वपुर्ण बुँदा हो यो । नेपालमा आज राजनितिमा महिलाको सहभागीता जसरी उल्लेखनीय रुपमा देखिएको छ । त्यसको पछाडि माथि उल्लेखित बुँदाको महत्वपुर्ण भुमिका छ । र राजनितिमै पनि अन्य धेरै मुलुकहरु मध्ये हामी अग्रस्थानमा छौँ ।
६. संसारभरि नै महिलाहरुले भोग्नु परेको साझा समस्या के के हुन् ? नेपाली महिलाहरुको समस्या अन्य देशको महिलाहरुको भन्दा के कारणले फरक र जोखिमपुर्ण छ ?
नेपाल पितृसत्तात्मक देश हो । यही कारण धर्म ,सँस्कृति, संस्कारको कारण साथै छोराको चाहनाको कारण जन्मीएका छोरीहरुले भोग्नुपरेको हिंसा डरलाग्दो छ । मिडियाले पनि महिलाको छवीलाई परम्परागत रुपमा मात्र प्रस्तुत गरिदिन्छ । हामीले भोग्दै आएको असमानता लगभग उस्तै हो र हामीले आउने दिनहरुमा गर्नुपर्ने संर्घषहरु पनि समान छन ।
७. तपाईंको जीवनमा बिर्सनै नसक्ने महत्त्वपूर्ण क्षण कुनै छ कि?
एसिया सोसाइटीले धेरै बर्ष अघि अमेरिकामा गरेको एक कार्यक्रमा अबको दश बर्ष पछि तिम्रो देशमा के परिवर्तन भएको हर्न चाहान्छौ भन्ने प्रश्नको जवाफमा मैले मेरो देशमा हरेक घरमा छोरी जन्मदा खुशीयाली छाएको हेर्न चाहान्छु भनेको थिए । यो बीचमा धेरै परिवर्तनहरु आइसक्यो तर पनि हामीबीच अझै चुनौतीहरु छन् । स्थानिय , राष्ट्रिय र अन्तराष्ट्रीयरुपमा महिलाको क्षेत्रमा काम गर्ने उहाँहरुको समस्या र चुनोतीलाई बुझ्ने मौका मिल्यो । करिब १८९ देशहरुको समिक्षा गर्ने मौका मिल्यो त्यो सम्झदा खुशी लाग्छ ।
अन्तमा केही छ की भन्न छुटेको ?
हामी सबै महिलाको मुद्दामा काम गर्ने संघसस्थाहरु एकवद्व भै सामुहिक रुपमा एक भएको हेर्न मन छ ।