साङसेन पंधाक मुन्धुमी कवि हुन् । उनको लेखनमा मुन्धुमी लय अनि टिम्मुरको जस्तो स्वाद भेटिन्छ। उनको कविता पढे पछि कविताले राजनीति गर्नु पर्छ भन्ने ल्याकत देखाउछ। फरक आयाम साहित्यिक आन्दोलनका अभियान्ता समेत रहेका उनका कविताहरुले जबरजस्त र तर्कपुर्ण रुपमा आफ्ना बिचारहरु पस्कीरहेका हुन्छन्। प्रस्तुत छ साताको तीन कविता ।
अक्षरहरुको झुपडी र चेतना
जङ्गल जाँदा भलायोले छोए जस्तै
तिमीलाई पनि भित्र भित्रै डिप्रेसनले छोएछ
सोल्टिनी तिमी
यो स्थितिमा नआइ पुग्नु पर्ने हो
तर आइ पुगेछौ।
तिमी त नरम नरम बतास जस्तो पालाम सुसेल्दै हिँड्ने मान्छे
तिमी त मनमा शान्त तलाउ लिएर जोखाना हेर्दै बस्ने मान्छे
तिमी त भुइँसँग संवाद गर्दै डुल्ने मान्छे
तिमीले पानीको अनुहार छोएपछि
कहिले कुहिरो,
कहिले बादल,
कहिले बरफ हुँदै बाफको चक्रमा पानी नाचि रहेको हुन्थ्यो
तिम्रो बोली
बिनायो
हाक्पारे
अनि संगीतको धुन उस्तै उस्तै लाग्थ्यो
तिमी त अक्षरहरुको झुपडीहरुमा चेतनाको दीयो सल्काउँछु भन्ने मान्छे
तिमी त पत्थरलाई आकृति दिने कुशल मूर्तीकार
अन्यायलाई न्याय दिलाउन हिँडिरहेको रहेको एक छापामार।
तर
खै कसरी भन्यौ ….?
यी पुरुषहरु बोका हुन्
यी बाउहरु यौन पिपासु हुन्
यी दाजुभाइहरु सबै बलात्कारी हुन्
यी साथीहरु त झन् पातकी हुन् पातकी ।
सोल्टिनी ,
हुन त यो स्थितिमा आइ पुग्न मेरो पनि पक्कै हात होला ।
हाउ…सोल्टिनी,
यो भुगोलमा रत्नाकर डाकुलाई वाल्मीकि बनाउने मान्छेहरु पनि छन्
समाजमा बुद्धलाई हिटलर बनाउने मान्छेहरु पनि छन्
दुखमा आमा जस्तै साथ दिनेहरु पनि छन्
मृतक शरीर छोडेर जाने आत्माहरु जस्ता पनि छन्।
माटो कसम !
मुन्धुम कसम ! !
हाउ ।।।सोल्टीनी,
त्यो बलात्कारी भनेको –
प्रेमी,
साथी,
बाउ र दाजुभाइ मात्र हुँदो रहेनछ
त्यो बलात्कारी भनेको शासक पनि हो
त्यो बलात्कारी भनेको सत्ता पनि हो
त्यो बलात्कारी भनेको न्यायाधीश पनि हो
त्यो बलात्कारी भनेको धर्म पनि हो
त्यो बलात्कारी भनेको सामाजिक मान्यताहरु पनि हुन्।
सोल्टिनी , बल्ल बोल्न आँट गर्नु भएछ…
बोल्नु भनेको युद्ध गर्नु हो
बोल्नु भनेको भुकम्पले पृथ्वी हल्लाए जस्तै
बलात्कारीहरुको मथिङ्गल हल्लाउनु हो
बोल्नु भनेको प्रतिकार गर्नु हो
बोल्नु भनेको न्यायको पक्षमा उभिनु हो
बोल्नु भनेको सत्यताको पर्दा उघारी दिनु हो ।
सोल्टिनी …..
बोल्न थाल्नु भएछ,
यसरी बोल्न थालेपछि
आवाजको सानो धक्काले नै भत्काउछ बलात्कारीहरुको पर्खाल
आवाजको सानो स्पर्शले नै भत्काउछ बलात्कारीहरुको ब्रह्माण्ड ।
अर्थात अनिकालको राजनीति
अनिकाल जाऊ
सहकाल आऊ,
अनिकाल गयो है सहकाल आयो है भन्दै
कुनै येबाले
ठ्याङ् ठ्याङ् ठ्याङ् ठ्याङ्
थाल ठटाए जस्तै
किन डङ् डङ् डङ् डङ् गर्दै सिसेक्पा तङ्नाममा
नाङ्लो ठटाइ रहेको छ खाम्बेक्सा ?
राज्यसत्ता अनिकाल देखाउँदै दोष मौसमलाई दिन्छ
अर्थशास्त्री अनिकाल देखाउँदै दोष गरीबीलाई दिन्छ।
यो गाँउ गाँउमा
कसले पठाइ रहेको छ अनिकालको सुनामी….. ?
यो सिसेक्पा तङनाममा कसले मिसायो अनिकालको राजनीति ?
मस्तिष्कभरी कुन शासकले भर्यो भोकमरीको आतङ्क ?
किन गाँउकै छाती कुल्चिएर आउँछ अनिकालको पाइताला ?
उ अर्थात खाम्बेक्सा…..?
यो भाला जस्तो प्रश्नहरु उसले सोचेकै छैन ।
या सोची रहेको छ।
तर आज
उसको नाङ्लो ठटाइमा फरक सुन्दैछु।
फलफूल चढाउने डोरीमा
किन सिउरी रहेको छ बिद्रोह फलाक्ने बिम्बहरु….?
दियो भित्रको सलेदोबाट
किन आइ रहेको छ भरुवा बन्दुकको जस्तो आवाज ….?
शासकहरुको हैकमी छाला काढेर
नाङ्लो बनाउने सोचमा पो… छ कि…
कि ….नाङलोबाटै निफनेर
झट्याउने सोचमा छ अनिकालको भ्रम….?
कि …नलिहाड झिकेर
डङ् डङ् डङ् डङ् बजाउँदै
धपाउने सोचमा छ भोकमरी उत्पादन गर्ने स्वघोषित देउताहरु ।
सोच
घडीलाई घडीकै काँटाले फनफनी घुमाए जस्तै
अहिलेसम्म त हामीलाई विज्ञानले घुमायो ।
कृष्णले सुदर्शन चक्र फनफनी घुमाए जस्तै
हामीलाई धर्मले घुमायो ।
घुमाउनु पनि जिन्दगीलाई
यसरी मिलाई मिलाई घुमायो कि
जिन्दगीलाई त साँच्चै नै
जिन्दगीबाटै बेपत्ता हुने गरी घुमायो ।
टक्क …रोकेर एकैछिन् सोच्नुहोस् त !
त्यसपछि विज्ञान र धर्मलाई
हामी पृथ्वी जस्तै फन फनी घुमाऊँ ।