उत्तम लिम्बु तुम्सा समयसामयिक नेपाली कविता क्षेत्रमा स्थापित नाम हो । डेढ दशक अघिबाट कवितामा निरन्तर साधनारत उनी कुरुले तेनुपा, धनकुटा निवासी हुन् । कवितालाई बिचार भन्दा हृदयले श्रृङगार्न रुचाउने उनले जब कविता वाचन गर्छन् तब कुनै फेदाङमाले मुन्धुम फलाके झैं लाग्छ । प्रस्तुत छ साताको तीन कविता ।
रित्तै फर्कि आएँ
सुनेपछि देशकाे खबर
बरु उतै फुलाउँछु ठानेर सपनाकाे अम्लारी
रित्तै फर्कि आएँ कान्छा
रित्तै फर्कि आएँ
तल्सिङकाे अँधिया खेतमा
पाकिरहेकाे दुखकाे अंश
सालघारीकाे उदास बयेँलीजस्ताे
आफ्नाे मान्छेले गाउने बिरही सुस्केरा
लेखेर कहिल्यै नसकिने
समयकाे हाँगामा अल्झिएकाे जीवनकाे गीत
खै के-के, के-के सम्झेर
सुनेपछि देशकाे खबर
बरु उतै फुलाउँछु ठानेर सपनाकाे अम्लारी
रित्तै फर्कि आएँ कान्छा
रित्तै फर्कि आएँ
दाैलत भनेकाे त
नुहेकाे बाँसकाे पातमा अडिएकाे
शीतकाे थाेपा मात्रै पाे सम्झिए कि,
या सम्झिएँ
छाेराले लेखी पठाएको
गुनासाेकाे लामाे फेहरिस्त
माइतीकाे मायाले जीवनभर
माइतीमै बुढिकन्या बसेकी
चेलीकाे पीर सम्झिएँ कि
खै के सम्झिएँ ?
सुनेपछि देशकाे खबर
बरु उतै फुलाउँछु ठानेर सपनाकाे अम्लारी
रित्तै फर्कि आएँ कान्छा
रित्तै फर्कि आएँ ।
बग्दै बग्दै जाने रहर
भेटिएला या नभेटिएला
सम्झनाको भंगालोमा छुट्दै छुट्दै बगिजानेलाई
कुनै गल्छीमा
वा कुनै फाँटको नागबेली बाटोमा
कुनै दहमा
वा कुनै किनारको कतैपट्टी
भेटिन्छ कि भनेर
मलाई यसरी धेरैपछि बग्दै बग्दै
बगि जाने रहर लागेको छ
सँगै बग्यौँ हामीले
भीरजस्तो लाग्ने बाटोहरुमा खोला भएर
सँगै खस्यौँ हामीले
पहराको अग्लो छहाराबाट झर्ना भएर
बग्दै बग्दै उ
धेरै टाढा पुगिसकेछ नदि भएर
समयको कुनै गल्छिमा
म अल्झिएँ सायद
भेटिएला या नभेटिएला
सम्झनाको भङ्गालोमा छुट्दै छुट्दै बगिजानेलाई
यदि कतै भेट भइहालेछ भने
म आफैँ सम्झाइदिउँला उसलाई
हाम्रो अतितका गीत
मनैको उडान उडि भाग्छ
हजुरको माया अझै लाग्छ
छुटेको बाटो जस्तै रैछ
लेखान्त भावी यस्तै रैछ
वनैको फुलमा वनचरी
मन बुझाउँ मैले कसरी
भेटिएला या नभेटिएला
सम्झनाको भङ्गालोमा छुट्दै छुट्दै बगिजानेलाई ।