-मिश्र वैजयन्ती
ऊ र म धेरै समयदेखि भेट्न चाहिरहेका थियौँ । ऊ पनि जीवन धान्ने नाउँमा व्यस्त थियो र म पनि जीवन धान्ने नाउँमा जीवनको लठिभद्रलाई सम्हाल्दा सम्हाल्दै झनै जटिलतातिर छिरिरहेकी थिएँ । ‘एकदिन त अलिक सहज होला नि त !’ मन थाम्ने सुत्र यही थियो । निकै लामो प्रयत्न रह्यो हामीबीच भेट हुन । पछि समय मिलाएर भेट्न थाल्यौँ । तर भेट्ता भेटता यस्तो भयो कि नभेटेको भए राम्रो हुने थियो ।
ऊ चित्रकार हुँ भन्थ्यो तर मैले उसका चित्रहरु हेर्न पाएकी थिइँन । उसले धेरै कविता, नाटक ,उपन्यास , कथा लेखेको कुरा सुनाउँथ्यो तर मैले पढेकी थिइँन । ऊ मेरा सप्पै कुरा चाल पाउन चाहन्थ्यो । र ऊ आफ्ना सप्पै कुरा भने झैँ गर्थ्यो तर भन्दैनथ्यो । बोलिरहन्थ्यो ऊ । उसका मनका बात सप्पै बाँकी राखेर अरु थोकै भन्थ्यो । मेरै सामु हुँदा पनि म उसको अनुहार सम्झे जस्तो विर्सन्थेँ अथवा विर्से जस्तै सम्झन्थेँ । मैले पहिला चिनेको ऊ होइन । मेरा उसप्रतिका सप्पै धारणाहरु फेरिन बाध्य भए । उसले आफ्ना नाटकहरु प्रसिद्ध भएका कुरालाई सुनाएर मलाई छक्कै पारेको थियो । नाटक सुनाउनै ऊ नाटक गर्थ्यो । नाटक के थिए मलाई अझसम्म थाहा थिएनन् । भन्दा भन्दै उसका चित्रहरुको प्रसिद्धिको कुरा आउँथ्यो । उसले केही वर्ष होटेल चलाएर जीउ व्यापारको अनुभव पनि गरेको सुनाएको छ । ऊ कुनै दिन यस मुलुकले सम्मान गरेको लोकप्रिय समाजसेवक हो भन्छ । “त्यसो त म पत्रकार भएर रातो चन्दन व्यापार गरेर उकालो लागेको मान्छे ” भनेर तस्करीमा उसले मज्जा गरेको कुराका कथा सुनाउँथ्यो । उसको अर्को एउटा चरित्र मलाई मनै पर्दैन , ऊ अरुले आफूलाई नचिनून् भनेजस्तो गर्थ्यो।
ऊ मेरो घर आउँदैन । ‘मेरो व्यवहार लठिभद्र छ —आउन पाउँदिन , मेरो चित्र प्रदर्शनीमा बोलाउँछु , नाइँ नभन्नू , नाटक विमोचनमा मेरो नाटक ‘अर्को युग’ को समीक्षा तिमीले गर्न सक्छ्यौ जस्तो लाग्छ । अहिले पनि हतार छ ,आज चिनिया चित्रकारहरुसँग भेट र छलफल छ । हिजो अमेरिकी चित्रकारहरुसँग छलफल थियो । खाडी राष्ट्रका चित्रहरु अलिक फरक छन् । चित्रहरुमा मिसावट छ । फोनमा लामो बात मार्न सकिन्न । बरु एक साँझ एक एककप कफीको लागि म तिमीलाई निम्तो गर्छु है । ’ ऊ यसरी मलाई बारम्बार भन्थ्यो । मलाई उसको टेलिफोन आतङक जस्तो लाग्छ । ऊ यसरी फोन गर्छ कि न म उसको फोनको जिम्मेवारी नलिन सक्छु न जवाफमा केही बोल्न नै पाउँछु ।
किनमेल गरेर एकदिन म सहरबाट घर फिर्दै गर्दा सहरको कुनाबाट गाउँ निस्कने घाँटीमा उसले मलाई भेट्टायो । उसले टेलिफोन गरेर घरदेखि म पाइने सम्भावित सबै ठाउँमा खोजेपछि नपाएर फर्किंदैरहेछ । उसको चित्र प्रदर्शनी गर्ने वर्षौंदेखिको योजना भोलि पूरा हुने रहेछ । यही योजनामा जुटेको कुरा बतायो उसले । उसले मेरा सब्जी र भान्साका केही सामग्री भएका भिन्नाभिन्नै झोलाहरुलाई मेरो हातबाट खोसेर बाटा छेउका पसलमा राखिदियो । म नआउन्जेल ती सुरक्षित रहने भए । उसले मेरो हात समातेर गाडीको अगाडिको सिटमा बसायो र उसले आफैँले गाडी चलाएर सहरको बाहिर निस्कने अर्को घाँटीबाट हामीलाई बाहिर लाँदै र बोल्दै पनि गर्न लाग्यो —‘मैले तिमीलाई खोजेँ । अब तिमी फेला पर्यौ । आजै सबैथोक सकेर मेरो चित्र प्रदर्शनी छ भोलि । अन्तिम तयारी हेर तिमी । मेरो भोलिको चित्र प्रदर्शनीको योजनाकारमा तिमी पनि गनिनुपर्छ भन्ने मेरो राय छ । ’ उसले गाउँतिरको बाटाका कुइनेटाहरुमा गाडीलाई होस गरेर घुमाउँदै लग्यो । उसले सानो सहर जस्तो गाउँमा गाडी छिरायो ।
सहर रुपमा सहर र सारमा गाउँ नै देखिन्थ्यो । गाउँका नारीहरु काखीमा गाग्री च्यापेर सहरको धारामा पानी लिन आउँदै थिए । वनतिरबाट गोधूलीको संकेत गाईवस्तुहरु सहर चिरेर अर्को गाउँतिर जाँदै थिए । पसलका बेन्चमा बसेर मानिसहरु थकाइ मारेर बसेको शैलीमा बात मार्दै देखिन्थे । गाडी बिस्तारो चलिरहेका थिए । केटाकेटीहरु ‘सुदर्शन अंकलको गाडी आयो ।’ भन्दै गाडीतिर झुम्मिन तयारी गर्दै थिए । उसले गाडी रोक्यो । सहर पछाडि छोडिएको थियो । केटाकेटी गाडीमा खेल्न थाले । उसले ती हाँसिरहेका केटाकेटीलाई धपायो । उसले मलाई हात समातेर त्यो सानो सहरको छेऊको बगैँचाजस्तो रुखैरुखले भरिएको ठाउँको एउटा कटेरो जस्तो घरमा हतारमा लग्यो । ममा आतङ्क थियो । मैले मेरो शरिरको सन्तुलन नै गुमाउन लागे जस्तो भैसकेको थियो ।
कटेराको छानो बोराको थियो र त्यसको पर्खाल पनि बोराको नै थियो । तनक्क पारेर मिलाएर बनाएका ती छाना र भित्ता मलाई कुनै टेन्टहाउसको क्रित्रिम महल जस्तो लाग्यो । भित्ताभरि चारपाटे पाटीजस्ता उल्टो पारेर झुन्ड्याइएका थिए र उसले भने अनुसार ती क्यानभासहरु थिए । कस्तो अनौठो फ्युजन हो यो ! मैले ठम्याउन सकिन । क्यानभासहरु उल्टोमा पनि छोपिएका थिए । कटेराको माझमा बोराले नै छोपेको सामग्रीको थुप्रो थियो । त्यहाँभित्र के थियो मलाई थाहा थिएन । ऊ मात्र बोलिरहेको थियो र म चुपचाप कम सुन्न र बढी हेर्नमा व्यस्त थिएँ । एउटा कुरा पक्का थियो ऊ एकदमै फटाफट बोलिरहेकाले उसको अनुहारबाट पसिना आइरहेको थियो । ऊ सम्भवतः अतितमा प्रमाणित गर्न नसकेका जम्मै विषयममा प्रदर्शन गर्न चाहन्थ्यो अर्थात् खासमा उसको हैसियत ।
“अहिले म संकटमा छु बुुझ्योै ? मेरो पेशा सरकारलाई पाच्य हुँदैन । म मेरो तरिकाले बाँच्न पाउनुुपर्छ । हरेक व्यक्तिको बाँच्ने इच्छाको सम्मान हुनुपर्छ । बाँचिनेहरुको शक्ति पनि हुनुपर्छ । अब लुते र शक्तिहिनहरुको काम छैन । तर हामी जस्ताको सम्मान भैहाल्ला जस्तो लाग्दैन । यसलाई जबर्जस्ती सम्मानको दायरामा ल्याउनुपर्छ । अबको सरकार पनि पुुरानो जस्तै सामन्ती चरित्रको नै हुुनेछ । जे गर्छ अब अदृश्य शक्तिले गर्छ । हामी जे देख्छौं त्यो केही होइन । देखेको सत्यको कु्रा नगर । दुनियाँ रिमोटले चल्छ । म रिमोट हुँ बुझ्यौ !” गोधूली टर्दै गरेको साँझमा मभित्र आतङ्कको पूरा घर छ । उसको प्रस्तुति आक्रोशले बलेको छ । उसको पीरको सारा जड म हुँ जस्तै गर्दैछ ऊ ।
“मलाई पनि आफ्नो काममा दत्तचित्त हुन पाउनु मेरो अधिकार हो । के म देशद्रोही हुँ ? हुँ भने पनि हुुुुुुँ । अरुले जस्तै मैलै पनि देशद्रोही हुन नपाउनु ? मैले मान्छे मारेको छैन बुझ्योै ? तर मभित्रको एउटा मान्छेलाई कसले मार्यो ? भन तिमी ? आहा ! कठैबरा !! विचरा !!! तिमीसँग यसको जवाफ के हुन्थ्यो ? ! तिमी त फूलको कविता लेख्ने मान्छे । प्रेमको गीत गाउने मान्छे ? ! ” ऊ रातो पीरो भएको थियो ।
“सुदर्शन , तिम्रो कुरा मैले बुझिन । सबै आक्रोश तिमी ममा किन पोख्छौ ? म त आम मानिस जस्तो एउटा आफ्नो जीवन चलाएर बाँच्ने अभ्यास गरिरहेको मान्छे । ”
मेरो नरम तर डराएको आवाज मैले पनि महसुस गरेँ । उसले बोलेको बेला उसको तातो सास मेरो गालामा बेला बेला आइपुग्थ्यो ।
“अहिले पनि म तिमीसँग कुनै प्रेमको भिख मागिरहेको छैन । म मान्छेसँग प्रेमको भिख माग्दिन । प्रेम नै छैन अब । म तिमीसँग अहिले नै यही घरमा मेरो खुशीमा सुत्न सक्छु । तिमीले नाइँ भन्ने छैनौ । भन्न भ्याउने पनि छैनौ । तर म सुत्तिन । मेरो उद्देश्य सुत्नु होइन । तिमीले मलाई बलात्कारी ठान्यौ हौली । भोलि तिम्रा कवितामा पुरुषको आक्रमणको कथा आउला । के नै पो जानेका छौ र तिमीहरुले पुरुषले दमन गर्यो , शोषण गर्यो भन्न बाहेक ? तिमीसँग त्यति सस्तो काममा फस्नु छैन । मेरो लामो लक्ष्य छ । मैले तुरुन्तै मेरो नयाँ कलाको सुुरुवात गर्नुु पर्ने छ ।”
उसको प्रस्तुतिले म त्यसै होस हराए जस्तै भएकी थिएँ । उसले मेरो दाहिने नारी समातेर बोलेको रहेछ । यति बिघ्न दुखेको थियो मेरो नारी कि उसले समात्ता भन्दा छोड्दा धेरै दुखेको थियो । रातले झपक्क पारेको थियो बाहिर तर उसको यो कटेरो मलाई अचम्म लागेको थियो । बत्तीको कडा चहकमा म आँखा खुम्च्याएर हेर्दै थिएँ , जे थिए त्यहाँ दृश्यहरु । बाहिर सुनसान थियो । केटाकेटीहरु खेल्न छोडेर गैसकेछन् , कुनै हल्ला थिएन । झ्याउँकिरीको एकोहोरो हल्ला सुरु भएको थियो । म एउटा असिनपसिन भएको मानिससँग त्यो एकान्त कटेरामा थिएँ । यो अर्ध सहर उसलाई वास्ता गर्न किन आएन ? यहाँ कोही मानिसको क्यारियरलाई धक्का मार्ने नरम हुलाकी छैनन ? शंका र डर लागिरहेको थियो । किन ? मसँग यत्तिखेर जवाफ थिएन । उसले मेरो अस्मितासँग कुनै रहर देखाएन । तर के मेरो अस्मिता भनेको त्यही यौन मात्र हो ? अस्मिता कहाँ छ ? यौनमा ? कि आत्मामा ? मेरो आत्मसम्मानमा अस्मिता छैन ? उसले मसँग सुत्ने कुरा गरेन भनेर म किन ढुक्क हुनु ? केका लागि म योसँग त्रसित छु ? तर म त्रसित छु । सायद समाजसँग ? हुनसक्छ मेरो परिवारसँग ? तर यी समाज र परिवारका कुरा मेरो दिमाग र मन दुबैमा किन ठिक यत्तिखेरै चाहिँ छैन ? म डराउनुको कारण ? यो मान्छे मेरो यौनमा दया गरिरहेको छ ? मलाई योसँग दयाको अव्यक्त भिखारी हुनुपरेकोमा पनि घृणा पलाउँछ । ‘आइमाई’को कमजोरी यीनै यौन अंग मात्रै हुन् त ? कि ऊभित्रको आत्मविश्वासको कमी ? कि उसले गर्ने विश्वास ? कि उसले पुरुषले जस्तै खेल्न नसिकेर ? आत्मस्वाभीमान भन्दा पर छन् यी विषय सम्भवतः । म यो पुरुषलाई हेरेर अचम्म परेकी छु । म कुनै दिन प्रेम गर्थेँ यसलाई र आज म भित्र अव्यक्त क्रोध उत्पन्न भएको छ ।
मैले कुनैदिन यसलाई भरपुर प्रेम गरेकी थिएँ । यसको मेरो जीवन सँगै गुजार्ने सम्झौता थियो । ऊ मेरा लागि र म उसका लागि भरोसाको केन्द्र थियौँ । दिनरात एकअर्कालाई सम्झेर कत्ति व्यवसाय नै बिगार्ने भएका थियौँ । उपहार दिनु पर्थ्यो एकअर्कालाई । साथीहरु हामीलाई हेरेर कुरा गर्ने भएका थिए । साथीहरुले कुरा गर्नु र हामीले लुकीलुकी भेट्नु अनि घन्टौँसम्म भावी नेपालको परिकल्पना गर्ने गफका नाममा आफनो अत्मियता साट्ने एउटा मज्जाको खेल बनेको थियो । देशको राजनीति जान्ने, आर्थिक असमानता र बाँडफाँडका बारेमा बताउने , कम बोल्ने , मीठो बोल्ने, नरम बोल्ने उसले मलाई जीवनका मीठा परिकल्पना सुनाएको थियो । वास्तवमा म ऊसँग अब छुट्टिनु सम्भव थिएन भन्ने सोच्ने गर्थेँ । देश , विदेश, समाज, मानिस सबैका विषयमा विवेकपूर्ण छलफल गर्ने ऊ मेरो जीवनको आदर्श साथी थियो । मेरो बिहे हुने बेलामा मैले उसलाई हामी बिहे गरौँ भनेकी थिएँ तर ऊ लाछी रहेछ । मानेन, बहाना बनायो । त्यस्तो लाछी मान्छे हो यो ।
म चुपचाप उसका कुरा सुनिरहेकी थिएँ र उसले मलाई हेरेको थियो, मैले थिएन, अनुमान लगाएकी थिएँ मैले । उसले दह्रोगरी झक्झक्याएर फेरि सोध्यो “किन नबोलेकी ? के सोचि रहेछ्यौ ? सोच्नु पर्दैन मेरा लागि हो भने । केवल मेरा चित्र हेर र राय देऊ । यी यो चित्र हेर ,यसको रङ हेर ।” उसले देखाएको पहिलो चित्र एकदमै रगतै रगतको रङमा थियो । क्यानभासबाटै बाहिरै निस्केला जस्तो रगतका फाल्साहरु । बग्दै गरेको रातो रङ । मेरा आँखा तिरमिर भए । उसले मेरो मन पढ्दैन । मैले जान्नुपर्छ यो । छोड्यो मन पढ्न । ऊ आफनै धन्दामा छ । उसले तर किन मलाई यो देखाइरहेको छ ? मसँग यसको कारण छैन । जवाफ छैन । पहिलो चित्रले म आतङ्कित अनुभूति गर्न थालेँ ।
उसले दोस्रो चित्र देखायो । फुंग उडेको बाटोको पर पर निला डाँडाहरु र केही फुलेका फुलका राता थोप्लाथोप्लीहरु, सडकमा सानातिना गाडीहरु र एउटा बाइकमा एउटा विल्कुल नाँगो चालक र पछाडि नाँगी स्त्री । मैले आँखा चिम्लेँ । हातले आँखा छोपेँ । हेर्न आँट आएन अरु गहिरिएर । कति अश्लिल चित्रहरु देखेकी मैले मेरो मानसमा मैले सोचेको यस मान्छेले यस्तो चित्र नबनाओस् भन्ने रहेछ सायद । मैले हावाजहाज, रेलगाडी, जेट विमान जस्तै जस्तैहरुमा यस्ता चित्रहरुको कल्पना यत्तिछिटो गरेँछु कि म चिच्याएको आवाजमा बोलेँछु ।
“छोप , छोप सुदर्शन ! म तिम्रा अश्लिल चित्र हेर्न सक्दिन । ”
ऊ हाँस्यो बेस्सरी । उसको गललललल हाँसोले कोठा नै चिर्यो । छेक्ने नै के थियो र ? केवल बोराका आकर्षक भित्ताबाहेक ।
“अश्लिल ? यी अश्लिल हुन् ? तिम्रो नजरमा होलान् । प्रकृतिलाई अश्लिल भन्ने मूर्खहरुलाई म के भन्न सक्छु र ?” यसो भन्दै ऊ ठूलो स्वरमा हाँस्यो । तर बाहिर सुनसान थियो । मैले मनमनमा सोचेँ, यो उसको नाटक हो । म प्रति उसले गरेको नाटक । मलाई बिस्तारै यसले यसको तुष्टिका लागि प्रयोग गदैँछ । मलाई यसले उत्साहित बनाउँदैछ । कत्ति निच ? तर उसले त्यस चित्रलाई केही गरेन पनि छोपेन पनि । बरु अर्को चित्रलाई पल्टाएर देखायो ।
“लौ हेर , यो मेरो लामो सोच र परिश्रमले बनाएको चित्र हो । मेरो नाटक ‘अर्कोयुग’ लाई समेत यसले समेट्छ भन्ने छ । त्यस नाटकको गातापातोमा म यही चित्र राख्छुु । तर तिमी हेर पहिला । ”
उसको यस चित्रमा केवल राता, पहेँला, नीलामा पनि रातो मिसाइएका, गुलाबी, काला रङका थेग्लाथेग्ली थिए । मैले चित्र ठम्याउन सकिन । मैले आजसम्म चित्र पढ्न जानेको छैन । सिधासिधी आकारका मूर्त चित्रहरु मात्र । त्यही पनि आफनो व्यक्तिगत शैलीले पढ्ने मात्रै थियो मेरो तागत । कसरी उसको यो चित्रलाई यत्ति परिश्रम पर्यो त ? के छ चित्रमा ? मैले उसलाई योबारे सोध्ने आँट गरिन । उसलाई बोलाउनु भनेको अर्को महाभारत पल्टाउनुजस्तो हुन्छ । मैले चित्र हेर्न थालेपछि ऊ भुईँको थुप्रोतिर लाग्यो । उसको यो नै अन्तिम चित्र होइन रहेछ । म यो रातभरि एक युगको कष्ट भोगिरहेकी छु । न बस्न नै कुनै कुर्सी छ छेऊमा । न उभिन सक्ने छु म । म एकदम निरिह छु । उसको चित्र पढ्नु मेरो अनिवार्य काम हो अहिलेलाई । चित्र केवल थेग्लाथेग्ली छन् । मैले उसलाई चोरेर हेरेँ । ऊ धमाधम नयाँ क्यानभास निकालिरहेको थियो । उसका नयाँ क्यानभासमा पनि रङका थुप्रो मात्र थिए जस्ता लागे । मैले उसको भित्तामा देखाएको यो चित्रमा फेरि आँखा लाएँ । अहँ ! मेरो वशको कुरो थिएन । तैपनि मैले ऊबाट मुक्ति पाउन त्यो चित्र हेर्नु नै थियो । हेर्दै गएँ । थेग्लाभित्र मान्छेकोे टाउको जस्तो । टाउको जीउबाट छुट्टिए जस्तो । हातहरु छरिएका जस्ता । खुट्टाहरु पनि भाँचकुँच गरिएका जस्ता । जताजतै विभत्सता मात्र जस्तो । प…र कतै केही मानिसका आकृतिहरु अत्याधुनिक अस्त्रका छेउछाउमा रमाएका , पिइरहेका , नाचिरहेका जस्ता पनि थिए । मैले आँखा मिचेँ । उसको पहिलो चित्रको प्रभाव होला भन्ने सोचेँ । एकछिन आँखा चिम्लेँ । शान्त हुने प्रयास गरेँ । दिमाग आतकिंत भएको महसुस भएको थियो । मन पनि आत्तिएको थियो । फेरि मैले त्यसै चित्रमा आँखा पुर्याएँ । चित्रभरि टाउका, हात, खुट्टा अस्तव्यस्त थिए । अव्यवस्थित अंगहरुको छरपस्ट्याइँले म चिच्याउँला झैँ भए । मलाई अघिल्लो चित्रको धङधङी समेतले सायद सहयोग भो । म अनियन्त्रित भएँ । भोकले हो वा सन्दर्भको दिग्दारीले , वाकवाक् होला जस्तो भयो । रातको यो सुनसानमा यो एकान्तमा सुदर्शन मबाट के चाहन्छ ?
“सुन्यौ ? सुन्यौ मेरो चित्रको आवाज ? देख्यौ मेरा चित्रहरु हिँड्छन् ? कसरी बोल्छन् भोलिको आवाज ? तिनीहरु भोलिलाई , धेरै पछिको भोलिलाई बोल्छन् बुझ्यौ ? यी चित्रहरु दूरदर्शी छन् । अँ तिमीले साथ दिनुपर्छ । कत्ति बस्छौ पछौटे भएर ? समयलाई चिन्नुपर्छ । अब यतै बग्छ समय । तिम्रो बुद्ध पनि यतै बग्दै आउँछ । तिम्रो कृष्ण पनि यतै हाम फाल्छ । तिम्रो क्राइष्ट पनि दगुर्छ यतै । तिम्रो अल्लाहले पनि यतैको बाटो खन्छ । तिम्रो गान्धी जन्मेर पनि निरिह हुन्छ । अब अकैँ हुन्छ देउता । तिम्रो कार्ल माक्सले पनि सिद्धान्तलाई थन्क्याउँछ र हेर्छ मेरो चित्रलाई र अनुभूत गर्छ मेरो नाटकको । यी हेर, तिम्रो कार्ल मार्क्सको टाउकोमा बुद्धको जीउ जोडिदिएको छु । तिम्रो बुद्धको टाउकोसँग कार्ल मार्क्सको जीउ छ । कुन चाहिँ हो तिम्रो मार्क्स ? कुन चाहिँ हो तिम्रो बुद्ध ? के तिमी यी तस्विरहरुमा माओलाई भेट्न सक्छ्यौ ? यी सबै उनीहरुकै तस्वीर हुन् र पनि होइनन् । कृष्ण, बुद्ध, अल्लाह, गान्धी सबैका आफनै तस्वीर हुन् र होइनन् । केवल टाउका साटिदिएको छु अथवा जीउ मात्र फरक छन् । र अब त रङ पनि । चिन, कुन हुन् तिम्रा आदर्श ? सबका जीउका माथि बद्लिएका छन् टाउकाहरु र टाउकाभित्रका गिदीहरु पनि । ”
नवीन अनुहारका उसका चित्रहरु हेरेर म रनभुल्लमा भएकी थिएँ । ऊ एकोहोरो भाषण नै गरिरहेको थियो । ऊ यति भन्दै भन्दै उसको काम छोडेर मेरो नजिक आइसकेको थियो । उसको ओठबाट निस्केको तातो बाफ म महसुस गर्न सक्थेँ । उसले उसका दुवै हातले मेरा हातलाई समातेको थियो । मनभित्र आँधीजस्तो डरलाई बोकेर म उसका अघि आज्ञाकारी बालक जस्तै उसका कुरा सुनिरहेकी थिएँ । रात यति चकमन्न भएको थियो कि रातका किराहरु पनि गाउन छोडेर चुपचाप थिए । उल्लु पनि कराएको थिएन । गाउँतिर कुकुर पनि कराएका थिएनन् । उसले पनि चर्को बोलेको लाग्थ्यो मलाई । मलाई ऊबाट चाँडो मुक्ति लिनु थियो । म के गर्न सक्छु ? म मुक्तिको उपाय सोच्न थालेकी थिएँ । बाहिर अँध्यारो अझै बाक्लै थियो । ऊ क्यानभासमा पोतिएका रङलाई अझै प्रदर्शन गर्न चाहन्छ । म कहाँ सकूँली यो सहन ? म पसिनाले निथ्रुक्क हुन्छु । ज्वरो बढेर जीउ रनक्क भएर आयो । टाउको टनटन दुःखेको जस्तो भयो । घुँडा लुला भएका रहेछन् । छातीमा ढुकढुकी बढेको पाएँ । ऊ भित्तामा क्यानभासहरु सजाउन थालेको थियो । अब उसका चित्रहरु हेर्ने धीरता ममा छैन । मलाई यस्तै भैरहेको थियो ।
म आफैँलाई सम्झाउँछु । प्रिय, समय र स्थिति सधैँ एकैनाश हुँदैन । यसले बद्लिन कर लाग्छ । आफैँ बद्लन्छ , त्यो आफ्नो अनुकूल न हुन पनि त सक्छ । अनुकूलताका लागि आफैँ लाग्नुपर्छ । विकासहरु परिवर्तन हुन् तर सबै परिवर्तन कहाँ अनुकूलित विकास हुन सक्छन् र ? आफ्नो यात्राको नेतृत्व आफैँले नै गर्ने हो । आफ्नो आशाको व्याख्या आफैँले नै गर्ने हो ।
मेरो मौनताभित्रको मौनतालाई भत्काउँछ ऊ । “म तिम्रो फितलो सिद्धान्तको उहिले पनि पक्षपाती थिइन । तिम्रो चेतना निरकुंश छ । तिमी कसैलाई पनि आफनो चेतनाको पक्षपाती भैदिहालोस् भन्ने मान्छे । हेर, तिमी मेरा चित्रहरु हेर र मन पर्दैन भने …त्यो तिम्रो रुचिको कुरा हो । तर एक न एकदिन तिमीजस्ताहरुले यसको पछि लाग्नै पर्छ । तर यो शक्तिको खेल हो । चित्र र नाटकहरुमा शक्ति हुनुपर्छ । खोई तिम्रा कवितामा शक्ति ? तिम्रा कविता अचार बिनाका दाल र भात खाएजस्ता छन् । अब गनथनले कसैलाई छुँदैन । आदर्श शताब्दीयौँ पुरानो हो । लुते नानी जन्मियो भने जन्मेकै भोलिपल्ट मारिदिन पर्छ त्यसलाई । त्यसले जीवनभर मरीमरी बाँचेको किन हेर्नु ? शक्तिशाली जन्माउन शक्तिको हाइब्रेड गर्नुपर्छ बुझ्यौ ? हाइब्रेड ! हाहाहा ! माया अब केवल ठट्टा हो । त्यो कसैसँग पनि एकछिनलाई गर्न सकिन्छ । के तिमी मलाई एकछिनलाई माया गर्न सक्छ्यौ ? ”
मभित्र आतङकको आँधी आउँछ । कसरी सकेँ होला यतिन्जेल यसको विषयमा सहन गरिरहन ? उसले लामो संवाद गर्छ । संवाद हैन एक्लै बोल्छ । उसको बोलाइ र हाउभाउ अचम्मको थियो । उसका तिखा तिखा लाग्ने औँलाहरु र सुकेको जीउले मेरो वरिपरि घुम्दै मेरो अनुहारतिर लक्ष्यित गदैँ उसको भनाइ व्यक्त गरिरहेको थियो । तर उसको यो अन्तिम वाक्य उसको अन्तरदिलबाट फुटेर निस्केको थियो सायद । प्रतिध्वनि भएर निकैबेर गुन्जियो मेरो कानमा । मलाई पनि कताकता रसायो यो वाक्यले । उसले मेरो छेउबाट आफूलाई अलिक पर सार्यो । अनौठा आँखाले हेर्यो । उसका आँखा गहिरा थिए र त्यहाँ स्नेह पग्लिएको थियो । म उसँग केही बोल्न सक्ने पक्षमा थिइन । मसँग उसँग पोख्नुपर्ने गुनासो पनि केही थिएन । उसले मलाई दिनुपर्ने चिज पनि मेरा लागि केही थिएन । मलाई उसको माया पनि क्रम भंगको स्थितिमा थियो । उसका नाममा रोएका रातहरुलाई फर्काउने इच्छा ममा थिएन । त्यसको आवश्यकता पनि थिएन । खासगरी उसले रोजेको बाटो मेरो थिएन । म घाम चाहने मान्छे ऊ रात । उसले चाहेको रातभित्र रात हो तर मेरो चाहना रातबाट दिन । मेरो ऊसँग आपत्ति छ विमति छ । ऊ र म अब एउटै सरल रेखामा एकैतिर गैरहेका छैनौ । मलाई शान्ति र उज्यालो चाहिन्छ । यात्रामा एकैतिर हिँड्दा पो धेरैबेर बाटामा बात मार्दै हिँड्न सकिन्छ । विपरित दिशामा भेटेकासँग एकछिनलाई न हो ए ! भन्नु पनि ।
उसले अचानक उसको थोत्रो टिनको बाकसबाट कागजहरु देखाएर ठूलो स्वरमा चिच्याउँदै उसको नाटकको सम्वादलाई अभिनयात्मक रुपमा प्रस्तुत गर्न थाल्यो । मलाई सह्य भएन । धेरै काट्यो भने काटेको घाउ पनि नदुख्दो रहेछ । मैले एकदिन प्रशस्त प्रेम गरेको मान्छेलाई आज एकदमै दुत्कारेर बाहिर निस्कन खोजेँ । ऊ थचक्क बस्यो र आफ्नै कपाल समात्यो । ऊ अघिको चिच्याहटबाट टाढा थियो । म उसको साँघुरो ढोकाबाट असिनपसिन निस्केर बाहिर दगुरेँ । बाहिर चिसो हावा सलबलाइरहेको थियो । एक तृप्ति सास फेरेँ । बाहिर पर क्षितिजमा मसिनो उज्यालो शान्त धर्सो थियो । मेरो लक्ष्य त्यतै थियो । मैले भुईँ हेरेकी थिएँ र उज्यालो क्षितिज हेरेकी थिएँ । परको उज्यालो हेरेर उतैतिर गइरहेकी थिएँ । मैले उसलाई धेरै पर छोडेकी थिएँ । अर्थात म सुदर्शनबाट भागिरहेकी थिएँ । मभित्र पीडाको अग्नि थियो । मैले किन आफैँसँग सुदर्शनलाई ल्याउन सकिन ? तर म सुदर्शनलाई उसका नाटक र चित्रहरु सहित यता ल्याउन नै सक्दिन । सुदर्शन नाटक र चित्र बिना यता फर्किन सक्तैन । मनबाट भयको राप बिस्तारै सेलाउन थालेको अनुभूति हुँदै थियो ।
“ सुदर्शन ! चित्रमा जून र अघाएर खेल्न मन गर्ने नानीका आकृति कोर्यौ भने मलाई खोज्नु है ! म टाढा छैन । ”