पछिल्लो पुस्तामाँझ प्रीय कवि भनेर चिनिने सुनिल आङबो आफ्नो पुस्ताबीच एक परिपक्व लेखकको रुपमा स्थापित छन् । उनको लेखनले बिशेषगरि पहिचानको बिषयहरुलाई प्रखर रुपमा उठाईरहेको हुन्छ । पछिल्लो समयमा बिभिन्न पहिचानको बिषयहरुसँग सरोकार राख्ने आन्दोलनहरुमा सकृय रहदै आएका कवि आङबो समाजमा भएको अन्याय र असमानताको बिरोधमा आवाज अठाईरहने एक प्रखर कवि हुन् प्रस्तुत छ साताको तीन कविता ।

सहिदको उद्वघोष

दरबारहरुको हातामा कैद भएको सपना
अनिकाल र विभेदको मानचित्रमा हाँसीरहेको देशसँग
जीवनको हिसाब खोज्दै , मृत्युु रोजेर
सम्बन्धहरुबाट बिच्छेद भएका हौं हामी ।

समाजवादको सागरमा
भविस्यको जहाज खियाउँदै
मोक्ष प्राप्तिको लक्ष्य बोकेर
रगतले मृत्यु – पत्रमा हस्ताक्षर गरि
बोइलर मुटु बोकेर हिडेका
शासकहरुलाई परास्त गर्न
आफ्नै आयुलाई हत्केलामा राखेर
सयर भएका हौं ।

यो अध्यारो विरुद्ध
जुनकीरीको उज्यालो निकालेका हौं
र’त मैदानमा
कोहि हिड्दा – हिड्दै बीच बाटोमा
कोहि लड्दा – लड्दै आधा मोर्चामा
सहिद भएका हौँ ।

तर –
अचम्म दुनियाँ
अभाव र विभेदको पहाड
झन् झन्
सगरमाथा छिचोल्दै उकालै उकालो लाग्दै गयो।
समृद्धको सालिक पुज्नेहरुले
म र म जस्ता सहिदहरुको रगत
सिनित्तै पारेपछि
वर्ष दिनमा एकचोटि डकार्ने
सहिद दिवस चाहिन्दैन अब ।।
सहिदहरुको सम्मानमा एक मिनेट मौनधारणमा
लत्रिने तिम्रा शिरहरु चाहिदैन अब
सालिकबाट निस्केर म सहिद
तिमी विरुद्ध युद्ध मैदानमा फेरि तैनाथ भइसकेको छु।

क्रान्तिको आवाज बोल !

म जरुर जान्दछु,सपना देख्नु
सपना देख्नु उपस्थिति हो
सपना देख्नु मेरो पनि सहभागिता हो।
तर जब सपना देख्न थाल्छु।
प्रतिगमनले लात हान्छ।प्रतिगमनको प्रहारले
मेरा कलिला प्रदेशहरु फेरि छट्पट्टीन्छन्
जसरी छटपट्टिन्छ निर्मला पन्त संसद भवनको आँगनमा
र ओइलिन्छ न्यायलयको ढोकामा।

गुराँसको अतिक्रमणले लगातार पोतिएर पहाड
मेटिन्छन मेरो देशको अनेकौं पहिचानहरु

र,
रहेका बाकी केही
औंसीको बिशाल अध्याँरो साम्राज्यले
निल्न थाल्छ
रैथाने बिम्ब बोकेको मेरा कविताहरु
मेरो जन्म बोकेर उभिएको स्थलहरु
मेरो धड्कन बोकेको लोकगीतहरु

तब मैले यो मृत्युु र जिन्दगी बीच उभिएर
चिच्याउनै पर्छ।

ए इतिहासको पानाहरुबाट उठ
ए यो कंकाल चिहानहरुबाट निस्क

विजयी झन्डाहरु फर्फराउदै
आवाजमा बिद्रोह ओकल्दै

ए! भुँइमान्छेहरु !
पराजित कहानीहरुलाई च्यात्दै
प्रतिगमन र एकात्मकतालाई फुटाउदै
क्रान्तिको आवाज बोल!
अब क्रान्तिको धुन निकाल।

त्यसपछि देशद्रोही भए

गणतन्त्र चोकमा उभिएर
म र म जस्ताहरुको
अनुहार समाबेश नभएको
एक थान संबिधान
एक काट्टि मच्चिसको सहायताले
दाहसंस्कार गर्दै थिएँ

अलि परतिर-
घण्टाघरबाट आएको
प्रहरी अफिसरले भन्यो
यो देशद्रोही हो , ठोक साले लाई ।

तपाईको प्रतिक्रिया