अरेन्द्र गुरुङ
हङकङ । विगत १० वर्षदेखि प्रत्येक महिनाको अन्तिम आइतबारका दिन हङकङ साहित्यिक साझा शृङ्खलाले नियमित साहित्यिक गोष्ठी गर्दै आएको थियो । कोभिड महामारीका कारण सामाजिक जमघटमा सरकारले अंकुश लगाएपछि गत पाँच महिनादेखि शृङ्खलाको कार्यक्रम अवरुद्ध भएको थियो । कोभिड नियम केही खुकुलो भएको परिप्रेक्ष्यमा शृङ्खलाले वर्ष १० अंक १०९ यही जुन २६ तारिख आइतबार जोर्डन स्थित चुम्लुङ हिममा सम्पन्न गरेको छ।
विशेषतः हङकङबासी नेपाली सर्जकहरु एक ठाउँमा भेला भई नेपाली साहित्य सम्बन्धि विचार–विमर्श तथा अन्तरक्रिया, सृजना वाचन, कृति समिक्षा गर्ने र गीत संगीत तथा चित्रकला आदि सम्बन्धी बिधामा पनि चर्चा–परिचर्चा गर्ने एउटा साझा प्लेटफर्म यो शृङ्खला रहदै आएको छ।
शृङ्खलाका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा श्रृङखलाका सल्लाहकार राजकुमार राई , पुर्व संयोजक दिपा एवाई राई ,टिबि याक्खा र डिबि पालुङवा साथै हङकङका साहित्यकार, साहित्यानुरागी , बुद्धिजिवी, समाजसेवी तथा पत्रकारहरुको उपस्तिथि रहेको थियो ।

शृङ्खलाका सह-संयोजक गीता अधिकारी अस्वस्थताका कारण नेपाल फर्किएपछि रिक्त रहेको पदमा श्रीमती अरुणा शर्मालाई सह- संयोजकको पदमा नियुक्त गरिएको थियो ।
शृङ्खलाका सल्लाहकार तथा साब्लाबुङ साहित्यिक पत्रीकाका सम्पादक राजकुमार राईले रामकृष्ण बान्तावाको आमालाई चिट्ठीबारे प्रकाश पार्नु भएको थियो भने पुर्व संयोजकहरु दिपा एवाई राई, टिबि याक्खा ,डिबि पालुङवा, गुल्मेली अनलाइन टिभीका संचालक तथा साहित्यकार नारायण भण्डारी , कवि डोम राना , गीतकार बिसु सम, रोसन लिम्बू , बाल प्रतिभा सुनिस्का याक्खा र अरेन्द्र गुरुङले आ-आफ्नो सिर्जना वाचन गरेका थिए ।
कार्यक्रममा हङकङ निवासी रामकृष्ण बान्तवाको १,१४० पृष्ठको आमालाई चिट्ठी , दक्षिण कोरियामा रहनु हुने दिलिप बान्तावाको ताल्चा कथा संग्रह र कोरिया बस्नु हुने कवयित्री दिपा मेवाहाङ राईको यादको संन्दुक कविता संग्रहको संयुक्त विमोचन भएको थियो । गीतकार बिष्णु इङनामको नयाँ आमा भन्ने गीतको अडियो बजाएर बिमोचन भएको थियो ।

फोटो सौजन्य : टिबि याक्खा