रमी प्रिया

कवितालाई असाध्यै माया गर्ने कवि चन्द्र गुरुङका कविताहरुमा हृदयपक्ष बढी वाचाल लाग्छन् । उनका कविताहरु भीडबाट मौलिकता सहित पृथक देखिन्छन् ।

कवि चन्द्र गुरुङका केही कविता चाखिसकेको होस् ,अझ उनको पृष्ठभुमिको बारेमा थोरै जानकारी भएको होस् , म जस्ता ती पाठकहरुलाई पक्कै पनि आत्मीय लाग्छ संग्रहको नाम ” जब एउटा मान्छे हराउँछ”। उसो त आम पाठकलाई सोझै स्पर्श गर्छ संग्रहको नामले, अक्सर प्रिय मान्छेहरु रहर/बाध्यता वा नियतिको खेलमा ओझेल पर्दै जाने गर्छन् जीवनको फ्रेमबाट । नामैले मात्र पनि खासै बाँधिराख्न नसक्ला यदि संग्रहित कविताहरु सबल र सौन्दर्य चेतले नभरिएका हुन्थे भने ।

जब संग्रह हात पर्यो पहिलो कविता “बाको अनुहार” मै मन अल्झियो ।

त्यो अनुहारमा……..
थेप्चो छ आत्मसम्मान उचाल्दै उभिएको नाक
चाउरिएको छ सुखदुखले चिप्लेटी खेल्ने गाला
…………
घामले डढेको छ मङ्गोल पहिचान
मलाई राम्रो लाग्छ
धेरै राम्रो लाग्छ
जब सबले सुनाउँछन्
तेरो अनुहार काटीकुटी तेरै बाको जस्तो छ ।

कवितामा निकै सुन्दर ढंगले पहिचानप्रतिको गौरव र प्रेम उनेर आत्मसम्मानको स्वर बुलन्द पारेकाछ्न कविले। सङलो खोलाको पानी झैँ सलल बगेको कविता निकै सशक्त लाग्यो । आसा गरौँ, पहिचानको नाममा एकोहोरो नारा लेख्नेहरुले पनि पढ्लान ।

आँखाको डिलबाट झरिरहेको आँसुलाई
नदेऊ खस्न सजिलै
आँसु झरेको त्यो भुईँमा धूलो उठोस
हिँडोस असन्तुष्टिले केहि कदम
यसरी हात उठाउने छ असहमतिमा
……………
उठोस रहरको तरङ्ग घाउचोट पन्छाउँदै
उम्रीयोस आँटको नयाँ बिरुवा
चलोस उमङ्गको लहर
…जीवन बाँच्ने नै यसरी हो ।
               – “यस साँझ”  बाट

अधिकांश कविताहरुमा आसाका रहरलाग्दा कोपिला हुर्काउँदै गरेको भेटछु म कवि चन्द्र गुरुङलाई । कर्म र संघर्षले खँदिलो बनाएको कविलाई जीवनको गीत गाइरहन र जीउने कलाको बारेमा कसले बताइरहनु पर्ला र ?

परदेश त
दुई धारे तरबार पो रहेछ
खुसीमा पनि काटछ
पीडामा पनि काटछ ।
           – ” परदेश -१ ” बाट

विरानो भूगोलमा एक्लो हुनुपर्दा कुन परदेशीको छाती  पोलेको नहोस् र बालबच्चा ,परिवार अनि माटोको सम्झनामा ? समग्र परदेशीको मर्म प्रतिध्वनित हुन्छ यो सानो कवितांशमा । यो एक स्टेञ्जा मात्रले पनि पूर्ण कविताको सामर्थ्य राख्दछ । जीवनका उर्जाशील समय परदेशमा खर्चनु परेको पीडा र बाध्यता हृदयको भित्ताभरी कुँदिएको नामेट छापहरु जस्तै यथेष्ट भेटिन्छन् सँग्रहभित्रका कविताहरुमा ।

हेर त
मेरा थकित लुगाहरु
अनाथ झैँ बनेका किताब, कलम र पानाहरु
बेवारिस लासझैँ पल्टेका चुरोटका ठुटाहरु
चमक हराएको ऐना
सबै सबैलाई
छ तिम्रो एक स्पर्शको पर्खाई ।
            – “बिश्वास” बाट

यसरी आफ्नो हृदयलाई फुकाएर राखिदिएका छन् उनले पाठकमाझ । आँखै अगाडिका बिम्बहरु टपक्क पारेर कवितामा बुन्न सिपालु कवि हुन् चन्द्र गुरुङ । अनुभूतिलाई सिर्जनात्मक रंग दिएर सितलता छर्छन कवि र देखाउछ्न मनलाई थुमथुमाउने उपाय पनि ।

समयको शिशिर याममा
आशाको अन्तिम पातलाई आँधीहुरीले चुँडाएर
पछारिदिन्छ टाढा टाढाको परदेशमा ।

जीवनबाटै उखालिँदा पनि
यी बिरुवाहरुले अँगालेका हुन्छन
जरामा केही थुप्रो माटो ।
          – “माटोको माया” बाट

शास्वत सत्य जस्तै हो माटोप्रेम । परिस्थिति जस्तै आइलागे पनि मनलाई निभ्न दिनुहुन्न बरु परैबाट पनि एकमुठी उज्यालोको निरन्तर प्रयास हुनुपर्छ भन्ने सौन्दर्य चेत बोकेको छ कविताले ।

रणबाट
छोडिआएका छन् क्षतविक्षत लासहरु
छोडिआएका छन् करुण क्रन्दनहरु
छोडिआएका छन् बीभत्स दृश्यहरु।
……..
तर
अझै जित्न सकेका छैनन् युद्धमा
थुप्रै थुप्रै हृदयको साम्राज्य।
              – “अधुरो गीत” बाट

औँला उठाउँछन –
तिमीले छुनु हुँदैन पानी।

म रन्थनिन्छु
र सोच्छु –
के पानीलाई थाहा छ
मैले उसलाई छुनुहुन्न भन्ने ?
            – “पानी नचल्ने मान्छे” बाट

यी दुई कवितामा पिडित र सिमान्तकृतको पक्षमा आवाज बनेर कविधर्म निभाएका छन् उनले । विद्रोह र चिन्तन एकै साथ आएकोछ । कवि हृदय सधैँ न्यायको पक्षपाती हुन्छ नै ।

उदासीमा जुन किनारमा उभिने गर्थ्यौ
हो, त्यो नदी हराउँछ
साथ उक्लने देउराली हराउँछ
बाटोको छातीबाट पदचिन्हहरु हराउँछन
आपतमा आश्वस्त पार्ने स्वर हराउँछ
हराउँछ सिंगो पृथ्वी
जब एउटा मान्छे हराउँछ !
           – “जब एउटा मान्छे हराउँछ” बाट

भावुक बनाइदिने यो कविता निकै स्पर्शी लाग्यो । पढदापढदै एकपल्ट छुटिगएका मान्छेहरुको अभाव महशुस गराउँछ । सघन भावले भरिएको सुन्दर शब्द संयोजनमा‌ रचिएको यो कविताले हृदयलाई खूब तरंगित बनायो ।

संग्रहित कविताहरुमा केही असन्तुष्टि र आक्रोशहरु छन् भने ब्यंग्य र अपिलसहित बिद्रोह पनि । वियोग र पीडालाई मनग्ये चिन्तनसहित राम्रोसित मस्काएका छन् कविले । संघर्ष, श्रमको सुगन्ध, प्रेमिल अनुभूति, हार्दिकता, प्रकृतिप्रेम, दर्शन र उज्यालोको गीतले भरिएका कविताहरुमा मुख्यतया जीवन र माटोसँगको प्रेम यत्रतत्र भेटिन्छ । सरल भाषामा कविताहरुले जीवनको भोगाईलाई गहन रुपमा सोच्न प्रेरित गर्दछ ।

एकाध अप्रिय लाग्ने शब्दहरु चयनमा नपरेको भए हुन्थ्यो – भन्ने बाहेक कवितामा अमूर्तता, क्लिष्टता भेटिँदैन । अनावश्यक बिम्वहरुको तामझामबिना नै हृदयको सरल अभिब्यक्तिहरु आँकिएका छन् कवितामा । समग्रमा कवि चन्द्र गुरुङका कविताहरु उनको ब्यक्तित्व जस्तै शालीन र गहन छन् ।

तपाईको प्रतिक्रिया