कथाकार – सुमन वर्षा घिमिरे
आज मन अशान्त छ, अस्थिरताले मनमा जरा फैलाउँदै गएको आभास भइरहे झैँ लाग्छ । आँखाहरू कसैको प्रतीक्षामा यताउता चलमलाइरहेका छन । खै, किन हो ? हरेक पल एक्लोपनको महसुस बढदै गएको छ ।
रमेश नआएको पनि धेरै दिन भइसक्यो । अफिसमा क्लोजिङको काम चलिरहेकोले यो महिना आउन पाउँदिन भनेर बताएको पनि हो उसले, तर पनि किन हो महिनाको अन्तिम शुक्रबार आएपछि उसको बाटो हेर्न मन लागिहाल्ने ! सायद आज अफिस छिट्टै छुट्टी भएर पनि होला मन यसरी बेचैन भएको! भित्ते घडीले भरखर चार बजेको जनाउ दियो ।
ओहो ! कति ढिलो कटेको समय पनि ! यो घडीको सुई पनि अलि छिटो दौडिए हुने नि ! छोरा पनि होस्टेलबाट आउने अर्को हप्तामात्र हो । अब अर्को वर्ष एसइइको परीक्षा सकेपछि उसलाई होस्टेल राख्दिनँ । एक्लोपनले साह्रै सतायो । फेसबुक पनि कति चलाउनु ? जन्मदिनको शुभकामना र मृतकलाई श्रद्धाञ्जली र समवेदना व्यक्त गर्दागर्दै यो मन पनि संवेदनाहीन होला भन्ने त्रासले गाँजीसक्यो । केही लेख्न बसुँ भने पनि कति लेख्नु सधैँ एउटै कुरा ! उही विभेदका कुरा, उही प्रेमका अनि उही वेथितिका कुरा । खै किन होला ! अचेल त केही नवीन कुराहरू मनमा ओहोरदोहोर गर्न पनि छाडेका छन। मैले लेख्नुपर्ने सबै कुरा लेखिसकेर हो त ? कि सबै कुरा सबैजसो लेखकले लेखिसकेको र जुनकुरा मैले पढिसकेकोले हो ! म आफैँ मनमा यावत कुराका फोका उठाउँदै फुटाउँछु । अहँ, तर पनि मनमा एकोहोरो छटपटी चलिरहन्छ । एक्कासि होपफुल क्याफेको याद आयो । हातमै रहेको मोबाइलबाट लीनालाई फोन गरेँ । धेरैबेर घण्टी बजेपछि बल्ल फोन उठाई । एकछिन मन हरक्क भयो ।
“हेरन निरू! आज मेरो घरमा श्रीमानले अफिसका साथीहरू डिनरको लागि डाक्नुभएको छ । त्यसैको तयारी गर्दैछु । बरू तिमी नै यतै आउन ।तिमी पनि सबैलाई चिनिहल्छौ क्यारे !”
लिनाको श्रीमान र रमेश काम गर्ने एउटै बैंक हो । रमेशको माध्यमबाट नै मैले लिनालाई चिनेको हो । हामीबीच राम्रो सम्बन्ध छ । मेनेजेरमा बढुवा भएर रमेश दुई वर्षको लागि भैरहवा गएको बल्ल एक वर्ष हुँदैछ । आफू उता जान पनि जागिरले अल्झाउने । प्रोजेक्टको जागिर कति गारो ! कहिलेकाहीँ जागिर नै छोडेर जाउँजस्तो लाग्छ एक्लोपनले छटपटी हुँदा त !
लीनाले बोलाए पनि जान मन लागेन । सोचेँ ! उसले आफ्नो धर्म निभाई तर मभित्रको हुटहुटी भने शान्त भएन । आखिर मान्छे समूहमा भए पनि बाँच्ने त एक्लै हो । उसमा भावनाहरूको उछाल आउँछन जान्छन जुन स्वयंले महसुस गर्ने न हो । किन साथी खोजेर अलमलिनु ? म एक्लै पनि त क्याफे जान सक्छु नि ! मनले तत्काल निर्णय गर्यो र ल्यापटप झोलामा हालेँ जो मेरो हरदमको साथी भएको छ । उसलाई कारको अगाडि सिटमा राखेर होपफुल क्याफेतिर हुइँकिएँ म ।
उफ ! कति लामो जाम ! यो चक्रपथको ट्राफिक जाम कहिले नसुध्रिने भयो । म्यानुअल भन्दा यो अटो लाइटिङ्ग सिस्टम ठिक भनेको झन लम्बेतान हुने रहेछ । कुन दिनदेखि फेरि गौशालाको जस्तै म्यानुअल मै झर्ने त होला नि ! हाम्रो देशमा के कुरा पो सिस्टममा चलेको छ र ! सोच्दासोच्दै हरियो बत्ती बल्यो । गाडीको एक्सिलेटर दबाएँ । हल्का उकालोमा पनि गाडी रोकेपछि पिकअप लिन मलाई अझै सकस पर्छ । सायद गाडी ठूलै स्वरमा गर्जेको थियो । छेवैको अर्को गाडीको ड्राइभरले त्यस्तै लुक दियो । उसको हेराई र भाव मैले बुझिहालेँ ।
चाबहिल चोकबाट म पूर्वतर्फ मोडिएँ । बाफ्रे ! बाटोको धुलोले दायाँ र बायाँको प्रायःजसो होर्डिङबोर्डका अक्षर झण्डै झण्डै पुरिए जस्तै छन । मान्छेहरू धन्न हिँडन सकिरहेका छन । पसलमा दिनभर बस्नेलाई झन कति सकस हुँदो हो । “मरता क्या नही करता” हिन्दीको एउटा उक्ति त्यति नै बेला सम्झेँ । बौद्ध पुग्नुभन्दा ठिक पचास मिटर अगाडिबाट उत्तर मोडिएर सय मिटर अगाडिको उक्त क्याफेको पछाडिपट्टि कार पार्क गरेर अगाडिको गेटबाट भित्र छिरेँ ।
गेटबाट भित्र पस्दै गर्दा शेर्पा ड्रेस लगाएकी एउटी किशोरीले दुई हात जोडेर अभिवादन गरी । नेपथ्यमा बजिरहेको मधुरो सङ्गीतले मन रोमाञ्चित बनाउँदै लग्यो । यहाँको हरियाली अनि शान्त वातावरणले नै हो मलाई यहाँ घरीघरी आउन आकर्षित गर्ने । लबीबाट भित्र पसेँ । भित्रभन्दा बाहिरको हरियाली झन मोहक छ यहाँको । काउण्टरको भाइ मुसुक्क हाँस्यो ।प्रत्युत्तरमा त्यस्तै मुस्कान उसमाथि छरेँ । मैले सधैँ रोज्ने लनको भित्तातिरको टेबल खाली नै थियो । सायद त्यो टेबलले पनि मलाई नै कुरिरहेको जस्तो लाग्यो मलाई ।
बाहिर लनको छ ओटा टेबलमध्ये एउटा टेबलमा मात्र एक जोडी छन । अर्को मैले अकुपाइ गरेँ । बाँकी पुरै खाली छन । हुनत यहाँ त्यति मान्छेको भिडभाड देखेको छैन अरू बेला पनि । भरखर पाँच त बज्यो । जाडो महिनामा भए झमक्क साँझ परिसकेको हुन्थ्यो । यस्तै सोच्दै ल्यापटप खोल्छु । मेरा आँखा त्यो जोडीको पुरूष पात्रसँग ठोकिन्छ । ऊ मुसुक्क मुस्कुराउँछ । छेउमै बसेकी महिला पात्रको अनुहार उतिरै फर्केकोले हुनाले म देख्दिनँ उसको प्रतिक्रिया । पछाडिबाट देख्दा यस्तो लाग्थ्यो—सलक्क परेको जीउ, पातलो कम्मर, टाइट टिसर्टबाट देखिएको पाखुरामुनिको पुष्ट भाग, भी सेपको स्ट्रेट कपाल, बेलाबेला जादुगरी चालले चलमलाउने उसका हाउभाउले आभास दिलाउँथ्यो कि उनी अप्सरा हुन । त्यस्तै विपरित दिशामा बसेको एउटा बलिष्ठ ज्यान, जो राम्रो कसरत र खानपिन पुगेजस्तो । सफाचट गोरो अनुहार । चस्मा बाहिरैबाट पनि स्पष्ट देखिएका ठूलाठूला आँखा । आइरनको धारले नै काटछ कि जस्तो उसले लगाएको सेतो सर्ट । साँच्चै नै यस्तो भान हुन्थ्योकि ऋषि विश्वामित्र लठ्ठ परेर मेनकालाई हेरिरहेका छन। तर कसरी यस्तो मन्त्रमुग्ध क्षणबाट आफूलाई अलग्याएर उसले मलाई एक मुस्कान पस्कियो ? म सोचमग्न भएँ ।
“एक्सक्युज मि म्याम ! मेनु ।” अगाडि उभिएकी लेडी वेटरको आवाजले मेरो सोचमग्नतालाई भङ्ग गरिदिन्छ ।
“एउटा चिसो कार्ल्सबर्ग र चिकन नगेट अनि चीज कर्न, अहिलेलाई यति नै ।” मैले मेनु नहेरिकनै उनलाई अडर दिन्छु । वेटर अर्डर लिएर जान्छे । म वरिपरिको वातावरणलाई नियाल्छु । एक जोडी चरा म बसेको टेबलको ठिक उत्तरपट्टिको रूद्राक्षको रूखमा चिरविर गर्दै एउटाबाट अर्को डालीमा भुर्र उडदै फेरि त्यही डालीमा फर्कंदै खेलिरहेका छन । मन उद्वेलित हुन्छ । चरालाई पनि साथी चाहिने रमाउनलाई । तर यिनीहरूको रमाइलोमा स्वार्थ हुन्न होला है ? मनमा प्रश्न उब्जन्छ । यद्यपि एकछिन तिनीहरूको रमाइलो हेरिरहन्छु ।
केही क्षणपछि एक अधबैँसे जोडी पनि लनमा आउँछन । त्यहाँ बसिरहेका उक्त जोडी छेउकै अर्को टेबलमा बस्छन । सायद डिनरका लागि मान्छे आउने समय नि भयो अब । म बियर पिउन थाल्छु । चिसो बियरले छटपटी केही शान्त भएको महसुस गर्दै मेरो एउटा कविता साफी गर्न थाल्छु । अस्तिदेखि नै एउटा अनलाइन पत्रिकाले मागिरहेको थियो । लेखिसकेको थिएँ । शुद्धाशुद्धी मिलाउनमात्र बाँकी थियो । बाँकी पनि कति कुरा हुन्छन जिन्दगीमा ! पढने रहर बाँकी, लेख्न बाँकी,घुम्न बाँकी, नाम कमाउन बाँकी, दाम कमाउन बाँकी । हरे ! जीवन नै सबै बाँकीमा त चलेको छ । कवितामा मात्र कहाँ मेरो ध्यान जान्छ र ! मनको चराले कति उडान भर्छ, कहाँ कहाँ पुग्छ। आँखापनि फनफनी घुम्छन ।
त्यो जोडीको खानपिन सकिएको थियो या त अर्को जोडीले उनिहरूको रङ्गलाई भङ्ग गरेको थियो । उनीहरूले उठने तरखर गरे । त्यसैक्रममा ती महिला पात्रले पछाडि फर्केर हेरिन । टिनएजबाट भर्खरै उकालो लाग्दै गरेकी उनी मैले पछाडिबाट देखेको भन्दा उम्दा सुन्दर थिइन । जो कोहीलाई पनि मन्त्रमुग्ध बनाउने जस्ती नै रहिछन । मैले मनमनै सोचेँ । त्यो पुरूषको अनुहारमा पनि पुलुक्क हेरेँ । त्यतिबेला ती युवती उतै फर्किसकेकी थिइन । पुरुषले पूर्ववत मुस्कान ममाथि छरयो। मैले स्वतःस्फुर्त उक्त मुस्कानको बदला थोरै टाउको तलमाथि पार्दै मुस्कान फर्काएँ । मानौँ मैले ती जोडीलाई क्याफेबाट अहिलेको लागि बिदा भनेको थिएँ ।
चिकन नगेट टोकेँ अलिक कडा लाग्यो । सोचेँ, सलाद मगाउँ । भर्खरै निस्किएको जोडीले मेस गरेको टेवल सफा गर्दै थियो वेटर। “भाइ ! यता आउ है !” मैले ल्यापटपबाट आँखा नउठाइकनै उसलाई बोलाएँ ।
“तपाईंलाई त मैले कतै देखेजस्तै लाग्छ ।” एउटा स्वर मसँग कोही सोध्दैथियो । त्यो वेटर यति छिटो बोलाउन नपाइ आइपुग्यो ! मैले हठात उसलाई हेरेँ । ऊ त्यहीँ टेबल पुछ्दैथियो । दायाँपट्टि पछिल्तिर फर्केर हेरेँ । मसँग प्रश्न सोध्दै गरेको मान्छे त त्यही अघि निस्केर गएको जोडीको पुरूष पात्र पो रहेछ । म झसङ्ग हुन्छु । आफूलाई सम्हालेर भन्छु —“खै, होला ! कतै देख्नुभयो कि !”
“अघिदेखि नै तपाईंलाई कहाँ देखे–देखेजस्तो लागेर हो । माइन्ड नगर्नु ल । वाइ द वे तपाईं के गर्नु हुन्छ ?”
“किन माइन्ड गर्नु ? म लेखक हो ।”
“कतै तपाईं ‘भूमिपुत्री’ उपन्यासको लेखक त हैन?”
“तपाईंले ठ्याक्कै पत्ता लगाउनुभयो । म निरू हितैषी ।” मैले हौसिएर जवाफ दिएँ ।
“ओहो, नमस्कार ! म त तपाईंको फ्यान ! मलाई एकदमै मन परेको उपन्यास । अनि लेखकलाई भेटने हुटहुटीको त कुरै नगर्नुहोस ।” एकै सासमा बोलेर भ्यायो उसले । म मनमनै मख्ख परेछु। बल्ल पो भनेँ—“बसेर कुरा गर्नु न !”
उसले केही सम्झे जस्तो गरी हातमा हेर्यो । कपाल च्याप्ने क्लिपजस्तो केही कुरा थियो उसको हातमा ।
“तपाईसँग एकछिन बसेर कुरा गर्न मिल्छ ?”
“आफ्नो प्रशंसकलाई कहाँ नाइँ भन्न सक्छु !” मैले फ्याट्ट जवाफ फर्काएँ ।
उसले पुनः आफ्नो हाततिर हेर्दै भन्यो—“एकै छिनमा म आएँ है !” मैले टाउको हल्लाएर स्वीकृति दिएँ ।
वेटर आइसकेको थियो । उक्त व्यक्ति आएपछि उसलाई सोधेर थप केही कुरा मगाउँला भनेर मैले वेटरलाई एकैछिन रोकेँ। मेरा र वेटरका आँखा लनमा पस्ने ढोकातिरै केन्द्रित थियो । ऊ फर्केर आएर बस्न नपाउँदै मैले सोधेँ— “के पिउनुहुन्छ तपाइ ?”
“केही नलिने, तपाईंसँग एकैछिन कुरा गरेर फर्किहाल्छु ।”
“त्यसो भनेर कहाँ हुन्छ ? मैले यो भाइलाई कुराइरहेकी छु । तपाइ आएपछि अर्डर दिन।”
“त्यसो भए आजको बसाइको ट्रिट मेरो तर्फबाट ।”
मैले `हुदैन’ भनेपछि फेरि उसले अर्को सर्त राख्यो— “मलाई पनि कुनै दिन तपाइलाई मेरो तर्फबाट ट्रिट दिने अवसर दिनुहुन्छ भने मात्र ।”
“ठिक छ तपाईंको पछिल्लो प्रस्ताव स्वीकार्य छ ।” मेरो बोली खस्न नपाउँदै उसले भन्यो— “मलाई एउटा टुबोर्ग । स्न्याक्स केही नखाने । बरू सलाद खाउँ ।” वेटर अर्डर लिएर गयो ।
“लेखकमा कस्तो क्षमता होला है, आम मान्छेका कुरा लेख्ने ?नारीप्रधान भएपनि तपाईंको उपन्यास पढदै जाँदा त्यहाँको पुरूषपात्र कतिपय ठाउँमा मै हुँजस्तो लाग्यो । बेरोजगारी समस्या, विदेसिनुको बाध्यता अनि परिवारले यहाँ बसेर घरखेत सबैको जिम्मेवारी एक्लै उठाउनुपरेको कुरा ठ्याक्कै मेरो जीवनसँग मेल खान्छ । म जापान बसेर आएको हुँ । गाउँमा चाँडै बिहे गर्ने चलन हुन्छ । फेरि आमा एक्लै । ब्याचलर पढ्दै गर्दा बिहे गरियो । ब्याक लागेर पास गर्न पनि ढिला भयो । पास गरेपछि पासपोर्ट बनाएर स्टुडेन्ट भिसामा जापान गएको ठ्याक्कै सोह्र वर्ष भयो । अझै पनि आउने–जाने गरिरहन्छु । एउटा छोरा छ,तेह्र वर्षको भयो । बिरामीको कारणले आमा अलिक कमजोर हुनुहुन्छ । त्यसैले परिवार जापान लान पनि सकिनँ । गाउँतिर नै अलिकति जमिन जोडियो बरू । काठमाडौंमा एउटा कुटी किनेको छु तर आमा आउन मान्नुभएन। दुईतला भाडमा छ । माथि आफूलाई राखेको छु । यसो आउँदा–जाँदालाई ठिकै छ । विदेश गएर परिवारलाई सुख दिन खोज्दा झन दुख थपिएको छ । अब सोच्दैछु— जापानमा रेष्टुरेन्टमा काम गरेको अनुभवले यतै यस्तै बिजनेस गरौँकि यस्तै रेस्टुरेन्टको !”
“लेखकहरूमा कम बोल्ने बढी लेख्ने बानी हुन्छ कि क्या हो ! म मात्र बोलिरहेको छु ।” बियर सिप लिएर टेबलमा गिलास राख्दै उसले म केही बोलोस भन्ने आग्रहमा मेरो अनुहारमा हेर्छ।
“कस्तो रमाइलो लागिरहेको छ तपाइको कुरा । साहित्य तपाइलाई धेरै मन पर्छ जस्तो छ । खुब पढनु हुन्छ ?” मलाई उसको कुरा सुन्नु थियो । किनकि मेरो उपन्यासको घटनालाई आफ्नो जीवनसँग दाँजेर कुरा गरिरहेको थियो ऊ ।
“पहिले त्यति पढदैनथेँ । मेजर इङ्गलिस लिएर पढेकोले कोर्सका कथा, कविता र नाटकहरू पढ्नुपर्छ भनेर पढेको हो । गाह्रो लाग्थ्यो । ब्याक लागेर पास भएँ ।”
बढो सहजतासाथ आफूलाई प्रस्तुत गर्ने भएर नै हुनुपर्छ उसको कुरा सुन्न वास्तवमै मलाई मज्जा आइरहेको थियो । लीनालाई नै बिर्साउने गरी उसले ननस्टप भन्दै गयो—
“जब जापान पुगेँ, एक्लै भएँ । कोठामा रूम सेयर गरेर बस्ने साथी खुब उपन्यास पढथ्यो । उसको बेडभरि इङ्गलिस र नेपाली उपन्यासहरू हुन्थे । उसको र मेरो ड्युटी समय फरक थियो । कुनै कुनै हप्तामात्र एउटै समयमा हुन्थ्यो । त्यसैले ऊ काममा गएको बेला उसले राखेको उपन्यास पढदापढदै पढने लत बसेछ ।”
मलाई गफको सिलसिलामा अघि सँगै बसेको केटीको पनि प्रसङ्ग जोडेर कुरा गरे हुने भन्ने लागिरहेको थियो । उसको घरपरिवारको सबै कुरा थाहा पाएपछि मलाई त्यो केटीको कुरा जान्ने उत्सुकता बढ्यो तर आफैंँले कुरा झिक्न मन लागेन र फेरि कुराको सिलसिला बदलेँ साहित्यतर्फ नै—“तपाईंलाई एकदमै मन परेको उपन्यास चाहिँ कुन हो ?”
“तपाईंको ‘भूमिपुत्री’ उपन्यास । यसपाली मदन पुरस्कार पाउनुपर्ने किताब हो, तर किन पाएन? मलाई अचम्म लागेको छ । धेरै पढेको चाहिँ पारिजातको ‘शिरिषकोफूल’ र जापान छोडनु अघि झुम्पा लाहिरीको कथासङग्रह ‘इन्टरप्रिटर अफ मालाडिज’ पढेको थिएँ । खुब मज्जा लाग्यो ।”
“ओहो, तपाईंलाई त मस्का लगाउन नि आउने रहेछ है ! अरू एउटा बियर थप्ने हो ?” मैले प्रस्ताव गरेँ । किनकि ‘भूमिपुत्री’ लाई मदन पुरस्कारको हवाला दिएको थियो उसले।
“हैन आज यति नै, बरू तपाईं थप्नुस्न । तपाइ एउटैमा अलमलिरहनुभयो त ! मैले कतै तपाईलाई डिस्टर्ब त गरिनँ ।” ऊ सतर्क हुन खोज्यो ।
“मेरो त कोटा नै यति हो ।” उसको सतर्कतालाई सहज बनाएँ मैले ।
“साहित्यकाहरू त पिउनका सौखिन हुन्छन नि ! जापानमा यदाकदा साहित्यिककारहरूसँग बसेर खुब खाइयो । नाम चाहिँ नभनौँ होला।”
“सबैलाई एउटै बास्केटमा राख्नुभएन नि हौ !” भन्नासाथ उसले “नाइँ नाइँ त्यो त मैले राखेको नै छैन । मैले मेरो अनुभव पो बताएको, जोसँग म बसे” भनेर स्पष्टीकरण दियो ।
अझै पनि कुनै प्रसङ्गमा त्यो केटीको कुरा नआएर झन रक्सीतिर पो मोडियो । अबको गफ भने झर्को लाग्दो लाग्न थाल्यो । “अब उठनुपर्छ होला” भनेर मैले काउन्टरतिर टाउको उठाएर हेरेँ ।
“हो रात पनि पर्यो” उसले परिस्थितिलाई नियाल्यो र सहमति जनायो । “वाइ द वे के छ तपाईंको साधन ? मैले त अघि साथीलाई छोडिहालेँ । घर पुर्याइदिन्छु त भन्दै थिइन ।”
बल्ल उसले साथीको कुरा निकाल्यो जुन कुरा सुन्न म अघिदेखि आतुर थिएँ ।“तिनी साथी हुन तपाईंको ? छोडि दिनु भयो नि त बिचैमा ?”
“तपाईंलाई भेटेपछि छोडेको हो, बिचमा त हैन । आजको भेट सकिएको थियो उनीसँग ।”
“तपाईं पनि कतै सुयोगवीर त हैन ! कलिला फूलहरू फुल्न र फक्रिन नपाउँदै कच्याककुचुक पार्ने अधिकार कसले दिन्छ हँ सुयोगवीर नामका भमराहरूलाई ?” खै किन हो ! म त उक्त युवतीको प्रसङ्गको कुरामा रमाइलो होला भनेको त आवेगमा पो आएछु ।
“तपाईं लेखकहरू के लेखेर आफूलाई अब्बल सावित गर्नुहुन्थ्यो यदि समाजमा यस्ता घटनाहरू हुन्थेनन भने ।” ऊ पनि आफूलाई जोगाउन प्रयत्नरत देखिन्छ ।
“भो लेख्नु छैन यस्तो विकृति ! आफूले गरेको गल्ती लेखकमाथि नथोपर्नोस ।” मैले केही सम्हालिँदै भनेँ ।
ऊ गिलासमा बचेको बियर घटघट पिउँछ र हिम्मत जुटाए जस्तो गरी मलाई हेर्दै भन्छ—“हो, बाँच्नका लागि सङघर्ष गर्ने क्रममा मैले जीवनमा धेरै गल्तीहरू गरेँ । मेरो शारिरीक र मानसिक अवस्थाको सन्तुलन ठीक गर्ने सबालमा म धेरै ठाउँमा चुकेको छु । के गरुँ त म अब ? इन्टरप्रिटर अफ मालाडिजमा जस्तै मलाई पनि मिस्टर कपासी चाहिएको छ । तपाईं मेरो लागि मिस्टर कपासी बनिदिन सक्नुहुन्छ ? जोसँग म मैले मेरो गल्तीहरूको फेहरिस्त राख्न सकुँ र आफूलाई ग्लानिबाट मुक्त गर्न सकुँ ।” ऊ भुइँतिर टाउको झुकाउँछ र दाहिने हातको बुढी औँला र चोर औँलाले चस्मामार्फत दुबै आँखा ढाक्छ र भुइँतिरै झुकिरहन्छ।
म उसलाई सहज बनाउन खोज्दै भन्छु—“इन्टरप्रिटर अफ मालाडिजको कुरा गर्नुभयो, एकदम राम्रो तर त्यहाँ पनि त मिसेस दासको आफ्नो अवैधानिक छोराले जसलाई ऊ बुवा भन्छ वास्तवमा ऊ त्यो बुवाको आफ्नो छोरा हुँदैन । जुनकुरा बाबुछोरा एक–अर्कालाई थाहा छैन अर्थात यो संसारमा त्यो छोरालाई जन्माउने आमा मिसेस दास यानिकी कथाको मिना पात्र बाहेक कसैलाई नै थाहा हुँदैन । जुन ग्लानिले उनीविगत आठ वर्षदेखि पिरोलिएको कुरा मिस्टर कपासीलाई सुनाएर हल्का हुन खोजे पनि उसले केही हल दिन त सक्दैन नि !” केवल सुनेर ऊ आश्चर्यमा पर्छ । ऊ त दोभाषे न थियो डाक्टर र बिरामीबीच भाषाको पुल । डाक्टर गुजराती जान्दैनथ्यो तर उसकोमा आउने बिरामी प्रायः गुजराती हुन्थे । मिस्टर कपासी उनीहरूको मालाडिज अर्थात समस्याहरू डाक्टरसम्म पुर्याउने काममात्र न गर्थ्यो ।
यसको अर्थ के हो ? तपाईं आफै बुझ्ने हुनुहुन्छ । मेरो बुझाइमा भने यो संसारको सबैभन्दा ठूलो कन्फेसन भनेको सेल्फ रियलाइजेसन हो । जुन भरखरै तपाईंलाई भएको छ । धेरै धेरै बधाई छ तपाईंलाई ।”
ऊ एकछिन चुपचाप बस्यो । वातावरण चकमन्न जस्तो थियो । नेपथ्यबाट आइरहेको मधुरो सङ्गीतको धुन बजिरहेको थियो ।
उक्त मधुर धुन बीचबाटै म बोल्छु—“तपाइ सुकेधारा बस्ने भन्नुभएको है ? म तपाईंलाई छोडिदिन्छु । तपाईंले चाहनुभयो भने फेरि हामी चाँडै भेटछौँ ।”
बाटो खाली थियो,सुकेधारा आइपुग्न बेरै लागेन। उसलाई सुकेधारा चोकको पुलिस बिट अगाडि छोडन गाडी रोकेँ । ट्राफिक देख्दा मन ढक्क फुल्यो । पाँच बजेदेखि पिएको एउटा बियर अहिलेसम्म कुनै असर बाकी भए पो ! गाडीबाट ओर्लनु अगाडि धेरैबेरको सन्नाटा तोडदै उसले भन्यो—“थ्याङ यु फर एभ्रिथिङ । अ राइटर ह्याज पावर टु ब्रिङ द चेन्जेज । फ्रम टुडे नट ओन्ली इम्प्रेस्ड वीथ योर राइटिङ आइ एम इम्प्रेस्ड वीथ यु टू डियर राइटर !”
“मी टू ह्यापी फर यु ” भन्दै मैले औपचारिकता निभाएँ । ऊ कारको ढोका खोलेर ओर्लियो । मैले हात हल्लाएँ उसले पनि हात हल्लायो ।
उसले मलाई ‘धन्यवाद !’ भनेर बिदा भएपछि मलाई एक्कासी ग्लानिले पिरोल्न थाल्यो । मनमा कुरा खेलिरह्यो । किन, खोतल्नुपरेको होला बित्थामा अरूको निजी मामला ? हेर ! मैले गर्दा ऊ दुःखी भयो । आज उसको रमाइलो शुक्रबार नै मैले चौपट गरिदिएँ । वाह, मेरो लेखक चरित्र ! भो कसैको निजी जिन्दगी खोतली खोतली लेख्नुपरेको छैन अब । मैले आफैलाई निचोरेँ । बाटो खाली थियो तर मन भने ग्लानिले भरिएको थियो । बाटोभरि मैले पनि मिस्टर कपासीलाई झलझली सम्झिरहेँ ।
।। समाप्त ।।