नरजित राइ
ल्यङ मान – १
= कति बर्ष पुगिस हाउ आलाइ ? एकदिन चाइनिज मित्र तङमिङले अचानक उमेर सोध्यो।
= साठी पुगे नि, मैले नढाटि उमेर बताएँ।
= त्यसो भए ल्यङमानको अक्टोपस कार्ड बनाए भयो नि । हङकङको यातायात क्षेत्रमा जति नै धेरै भाडा भए पनि ल्यङ मान मात्र हो। धेरै सस्तो र पैसाको पनि बचत हुन्छ । एम टि आर ( मास ट्रान्जिट रेल्वे ) स्टेसनको जुनसुकै काउन्टरमा फारम पाइन्छ। फाराम भरेर पठाए आफ्नो पोस्ट बक्समा अक्टोपस कार्ड पठाइ दिन्छ।
= पैंसट्ठी पुगेपछि मात्र सुबिधा पाउने होइन र तङमिङ? मैले अनभिज्ञता प्रकट गरें। मलाई थाहा भए अनुसार पैंसट्ठी बर्षपछि मात्र ल्यङ मानको सुबिधा पाइने सुनेको थिएँ।
= हङकङ सरकारले नियम परिवर्तन गरि सक्यो नि। अब देखि साठी पुगेकालाइ पनि ल्यङ मानको सुबिधा दिन थालेको छ। बरु चाडो गर धेरै नै फाइदा हुन्छ।
= कुराकानीको सिलसिलामा अर्को चाइनिज मित्रले भर्खरै प्राप्त गरेको ल्यङ मानको अक्टोपस कार्ड फयाट्ट पर्सबाट निकालेर देखाउदै भन्यो। “यी यस्तो हुन्छ क्या आलाइ।”
मैले उसको कार्डलाई वल्टाइ पल्टाइ गरेँ।
त्यो कार्डको एकापट्टी बाहकको नाम सहितको फोटो र छेउमा “जो यु कार्ड” पनि लेखिएको रहेछ । यो हङकङका यातायात सेवामा साठी बर्ष पुगेपछि सरकारबाट दिइने अनुदान रहेछ।
म झसङ्ग झस्किएँ । अरे आफू पनि वृद्धहरुको पछाडी लाइनमा पो उभिइ सकेछु । आफ्नो उमेरले डाँ डा काटन लागेको हो? यो संसारमा पाइला टेक्ने दिनहरु घटिरहे कै हो ? आफ्नो जिन्दगीलाई सम्झिएर निक्कै भावुक पनि भएँ । म हङकङ प्रवेश गरेको हिजो झैं लाग्छ । कति चाँडो दिनहरु बितिसके छ । मलाइ समयले थाहै नदिइ निलि सकेछ । मैले हङकङमा जवानी ओरालो लागेका दिनहरुलाइ सम्झिएँ।
म नेपाल एयरलाइन्सबाट ५ मार्च १९९६ को दिन हङकङ (तत्कालीन काइतक) अन्तराष्ट्रीय बिमानस्थलमा अपरान्ह ३:०० बजे उत्रिएको थिएँ । यो जीवनको पहिलो बिदेश यात्रा थियो त्यो । मैले विदेशी भुमिलाई कर्मक्षेत्र बनाउने छु भन्ने कहिल्यै कल्पना र सपनाहरु देखेको थिइन । यदि देखेको भए सायद बिर्टिसको गोर्खा राइफल्समा पुगेर बाबाको बिडो थाम्थे होला। मेरो सोचाइ र सपना भनेको आफ्नै भुमिमा रहेर देशको सेवा गरुँ भन्ने थियो । मैले देश, घर परिवार,आफन्तको मायालाइ मन भरि बोकेर हङकङमा पाइला टेकि सकेको थिएँ । आफ्नो देशमा बस्ने अडान,सोचाइ,अठोट ,सपनाहरूलाई सदाको लागि तिलान्जली दिएको थिएँ।
मेरो हङकङ आगमन जिन्दगीको अनौठो मोड र क्षण थियो । मैले पनि बिदेशी भुमिमा भविष्य खोज्न पाइला टेकेको थिएँ । एराइभल हलबाट निस्किदा शिशाका ढोकाहरु आफै खुल्ला र बन्द हुँदा चकित भएको थिएँ । मलाई पनि अविकसित देशबाट विकसित देशमा पुग्दा सबैमा हुने अनुभुती भएको थियोे।
मेरो जीवन साथी गङ्गाले एराइभल हलमा पर्खिरहेकी थिइन। उनलाइ देख्दा खुसीले भाबुक पनि भएको थिएँ। हामी ट्याक्सीबाट तु क्वा वान आयौं। यहाँको सफा बाटो, ट्राफिक लाइटको सुबिधा, दुई तले बस र अग्ला -अग्ला भवनहरु देख्दा छक्क परेको थिएँ। मेरो दिब्य आखाले देखेको भन्दा हङकङ धेरै फरक पाएँ।
हाम्रो बासस्थान तु क्वा वान रोडको आइ फेङ्ग मेन्सन बिल्डिङ्माको ब्लक “ए” को ८ तल्लामा रहेछ। मैले नेपालबाट धेरै पटक गङ्गालाइ यसै बिल्डिङ्गको ठेगानामा पत्रहरु पठाएको थिएँ । म त्यही ठेगनामा स-शरीर आइपुग्दा सपनामा पो छु कि झैं भएको थिएँ।
मैले हङकङमा बसोबास गर्नका लागि आइडि कार्ड बनाउनु पर्ने थियो। यसका लागि वान चाइमा अवस्थित मुख्य इमिग्रेसन कार्यलयमा आवेदन दिन जानू पर्ने रहेछ।
भोलिपल्ट बिहान ७:०० बजे तु क्वानबाट 5C नम्बरको दुई तले बस चडेर स्टारफेरी पुग्यौं। त्यहाबाट पानीजहाज चडेर वान चाइ पुगेका थियौं ।मैले जीवनमा पहिलो पटक समुद्र र पानीजहाज देखेको र चढेको थिएँ। यो पनि जीवनको अविस्मरणीय क्षण नै थियो।
मैले एक महिना भित्रमा नै आइ डि कार्ड प्राप्त गरेँ। त्यसपछि हङकङमा भबिस्यका लागि भनेर जीवनका उर्जालाई बाल्न र जलाउन थालें । पैसाका लागि ब्यस्तता अति नै बढन थाल्यो। ` घडीको काँटाको´ आदेशमा सुत्नु ,उठ्नु, हिडनु, भेटघाट गर्नु र काम गर्नु बाध्यता नै बन्यो । यो हङकङमा काम नगरी बाँच्न र बस्न नसकिने स्थिति रहेछ । तर यहाँ जति मेहनत र खटन सक्यो त्यति नै अर्थोपार्जन गर्न सकिने रहेछ । मेरो हङकङमा २-३ बर्ष मात्र काम गरि नेपाल फर्कने इच्छा र सोचाइ थियो । अहिले समयलाई गन्ती गर्दा त हङकङमा बसोबास गरेको पनि २७ बर्ष नाघ्न लागेछ।
ल्यङ मान – २
म मानसिक रुपमा पहिले जस्तै छु । तर दिमागको तेज बिस्तारै कमजोर भइरहेको छ। आफुले आर्जन गरेका कुराहरु पनि भुल्न थालेको छु । शारीरिक स्वरुपमा पनि परिवर्तन भइरहेछ। मेरो केश पातलिदै सेताम्य भएका छन । शरीरका छाला बिस्तारै पातलो हुँदैछन। आँखाको ज्योति त झन निक्कै नै कमजोर भइसकेको छ। शरिरमा ब्लड प्रेसर स्थिर नभई तलमाथि गरि रहेको छ। बृद्ध अवस्थाका प्रायः लक्षणहरु देखिन थालेको छ। अहो मेरो जिन्दगी त अस्ताचल तिर पो मोडिसकेछ।
तर मलाइ आश्चर्य लाग्दैन किनकि म प्रकृतिको नियमित प्रक्रियामा नै छु । जन्मनु भनेको एकदिन मर्नु पनि हो। यस बीचमा राम्रो नराम्रो कर्म गर्नु प्रकृतिले मानवलाइ छुट दिएको छ । सकभर सकारात्मक कर्म गर्नु नै मानव जाति हुनुको महानता हो। एकदिन प्राणी, बनस्पति, किटपतङ पनि बुढो नै हुनु पर्ने। आफू उभिएको हिंडेको, खेलेको,हाँसेको, रमाएको,दगुरेको भुमिमा नै बिलाउनु नै पर्ने । उमेरको ग्राफ ओरालो लाग्दा कताकता न्यास्रो, नरमाइलो अनुभुति भने हुँदो नै रहेछ।
मैले हङकङको भुमिमा मेहनत गरि हातमुख जोडन सफल भएको छु । तर व्यक्तित्व विकास गर्न नसक्दा आत्माग्लानीले शिर निहुरिन्छ। कहिलेकाहीं तनावबाट मुक्त हुन हङकङका डाँडाहरुमा उकाली ओरालीमा हिडेँ।गर्मीले बाफिएको बेला सिर्सिरे बतासले सुमसुमाउदा रमाएँ । दृश्यहरुले मन लोभ्याउदा सेल्फी पनि खिचेँ ।मनमा शान्तीको आभास हुँदा सानो स्वरमा गीतहरु पनि गुनगुनाएँ। आफ्नो देशमा फर्कन्छु भन्दाभन्दै जीवनका धेरै वसन्तहरु हङकङमा नै पार गरेछु । बुढ्यौलीको रेखामा झ्याप्प पाइला टेकि सकेछु।
मैले ल्यङ मानको लागि फाराम भरेँ । प्रमाणका लागि चाहिने कागजात पोको पारेर सम्बन्धित कार्यलयमा पोस्ट गरेँ । मलाइ करिब दुइहप्ता पछि एसएमएस सहित सम्बन्धित अफिसबाट ल्यङ मान वाला अक्टोपस कार्ड पोस्ट बक्समा पठाइ दिएको थियो । हङकङ सरकारको बुढेसकाले अनुदान पनि प्राप्त गरेँ । निवृत्त जिन्दगी बिताउने बेला भएको छ । अस्ताउदो डाँडा तिर पाइला बढाइ रहेछु तर खै किन अझै घोट्टिइ नै रहेछु । अहिले ल्यङ माने सुबिधामा आइपुग्दा खुसी र दुखिको सङ्गममा उभिएको छु। मलाई तङमिङले ल्यङ मानको (दुई डलर) कुरा नगरेको भए सायद जिन्दगीको आरोहलाइ सम्झने थिइन होला।
नोट : ल्यङको अर्थ क्यान्टोनिज भाषामा २ हो।
मानको अर्थ डलर हो।
१५ जुन २०२२
तु क्वा वान, हङकङ