कथाकार : विश्व कुइकेल

“मेरो लागि समस्या उसको मोटो शरिर होइन । न त उसका बाहिर निक्लिएका दाँत नै । उसको प्यान्टे भुँडी, उसको कालो अनुहार, भित्र गडेका आँखा यी कुनै पनि समस्या होइनन । उसको अडबाङ्गे कुरा गर्ने शैली वा बटारिएर हिँडने अनौठो हिँडाई पनि मेरो समस्या होइन । यी सबै कुराको बाबजुद पनि म उसलाई स्वीकार्न तयार छु । तर मलाई उसको एउटै कुरामा समस्या छ- ऊ हिँडेको बाटो र हिँडन चाहेको बाटो ।” उनले कुरा टुङग्याउँदै भनिन ।
मैले उनको अनुहारमा हेरें । नेपाली समाजले बनाएको सुन्दरताको मानक उनीसँग मेल खाँदैन थियो । खासै राम्री त ऊ पनि होइन । काली छे । नाक पनि बाङ्गा छन । हाँस्दा देखिने दाँतका छिद्रले उनको कुरुपताको मौन सिफारिस गरिरहेको हुन्छ । उनको राम्रो कुरा हो-शिक्षा, कलेजको जागिर, अध्यययनशील बानी र स्पष्ट बोल्ने शैली ।
“उसले हिँडेको बाटो त परिवर्तन गर्न नसक्ला । त्यो अब इतिहास भैसक्यो । तर तिम्रो लागि उसले नयाँ बाटो हिँडन सक्छ । यसमा म उसलाई कन्भिन्स गर्न सक्छु किनकि ऊ तिम्रो प्रेममा छ ।” मैले उसको वकालत गर्दै भनें ।
यो भन्दै गर्दा ऊ अर्थात मेरो मित्र लेखक चिरन कुनै गोप्य दस्ताबेजको रूपमा रहेनछ भन्ने मलाई लागिरहेको थियो ।
उनी ठूलो स्वरमा हाँसिन । हाँस्दा उनका फाटिएका दाँतको बीचबाट थुकका छिटाहरू निक्लिए । उनले सरी पनि भनिनन । न यसमा कुनै प्रतिकृया नै जनाईन । दायाँवायाँका मान्छेले पुलुक्क हेरे । मलाई असजिलो लागे पनि उनले यसमा कुनै असजिलो मानिनन ।
“म उमेरले चालीस पुग्न लागिसकें । मेरो प्रेमी जसले लामो समय मसँग प्रेममा रहेर आफूलाई बर्बाद गर्‍यो, उसलाई दशौं वर्षपछि मैले विहे गर्दिनँ भनेकी थिएँ । उसलाई यी सब कुरा थाहा छ । त्यसमाथि पनि उदेकको कुरा उमेरले पनि ऊ मभन्दा सानो छ । के छ र त्यस्तो उसलाई मसँग प्रेम गर्नुपर्ने ? विहे गर्नुपर्ने ?” उनले मेरो आँखामा आँखा जुधाउँदै सोधिन । यस्तो लाग्थ्यो, यो सोधाई सिधै मप्रति लक्षित थियो तर पनि उनको आँखामा यस्तो आत्मविश्वास थियो कि, मलाई सोधिएका सब प्रश्नको उत्तर पनि उनीसँगै थियो ।
उनका प्रश्न जायज थिए तर पनि म बाँधिएको थिएँ । मैले चिरनलाई उसको प्रेम प्रस्ताव राखिदिने आश्वासन दिइसकेको थिएँ । उमेरले पैंतीस पुगे पनि आफ्नो प्रेम बताउन नसक्ने अचम्मको तर्क दिएको थियो उसले मलाई । खासमा ऊ आफूलाई लेखक भन्न रुचाउँथ्यो । रूचाउनुको कुरा मात्र होइन, वास्तवमा ऊ लेखक नै भैसकेको थियो । उसका दुई दुई वटा उपन्यास त चर्चित नै भैसकेका थिए । उसका पाठकहरू भन्छन, उसका कथा यति स्वभाविक हुन्छ कि प्रश्न गर्ने ठाउँ नै हुँदैन ।
उसले कति वटा पुस्तक निकाल्यो भन्ने मलाई थाहा पनि छैन, वास्तवमा । उसका लेखाईमा यौनका विषयवस्तु पनि टन्नै हुन्छन । उसका पात्रहरूले निस्फिक्रि प्रेमका प्रस्ताव राख्छन । तर चिरन आँफै चाहिँ सक्दैन रे, यी सब गर्न ।
“एक पटक विचार गर सीमा । चिरन वास्तवमा साहित्यमा स्थापित नाम हो । उमेरले तिमीभन्दा कान्छो भए पनि उसले तिमीलाई सुख दिन्छ । आजसम्म उसले कसैको चित्त दुखाएको मलाई थाहा छैन । ऊ गम्भीर खालको प्रेम गर्नसक्ने मान्छे हो । तिमी आफ्नो लागि कसैको आश गर्न नपर्ने मान्छे हौ । ऊ पनि तिमीसँग आश गर्नुपर्ने मान्छे होइन । उससँग घरमा एउटा वैचारिक बहस गर्न पनि तिमीलाई मज्जा आउँछ । साच्चै हो, तिमीलाई लाग्दैन यस्तो ?” मैले उनलाई जसरी पनि मेरो कुरामा सहमत गराउने सोच राख्दै भनें ।
“नो नो नो । यी सब कुरा मलाई थाहा छ । म उसलाई बाहिरबाट प्रेम गरिरहन पनि सक्छु तर उसको प्रेम,आलिङ्गन, विवाह, यौन यी सब गर्न सक्दिनँ । यो मेरो खुशी हो । सरी ।” उनले आफ्नो कुरा टुङग्याउँदै भनिन र बसिरहेको कुर्सीबाट जुरुक्क उठिन ।
कफीको पैसा तिरेर बाटोमा निक्लँदा उनले स्कुटर स्टार्ट गरेर मलाई बाइ भन्न मात्र कुरिरहेकी थिइन । एकै छिनमा उनले तिव्र गतिमा स्कुटर दौडाइन । म उनी गएको दिशामा हेरिरहें । सडकमा एक किसिमको शुन्यता छायो । मानौं सवारी साधनको कोलाहल नै छैन । मैले बाटोमा उभिएर उनी गएको दिशातिर हेरें । लामो ओरालो बाटोले केही पर धोबि खोलालाई पार गरेको देखियो । धोबी खोलामाथि भत्केको नाम गरेको पुलमा फाट्टफुट्ट सवारी गुडिरहेका देखिए । म फटाफट चाबहिल गणेश थानतर्फ लागें ।
लाइनै देखिएका तरकारी पसलहरूमा मान्छेहरू तरकारीको भाउताउ गर्दै थिए । ढोकाको छेऊमै पालुङ्गो बेच्न बसेकी केटी आफ्नै सुरमा कराउँदै थिई “ल सयको तीन मूठा । सयको तीन ।” गणेश थान छिर्ने फलामे ढोकामा निहुरिएर तर्दा दुई अँधवैंशेले मलाई बाटो दिए । मन्दिरमा टङ्ग घण्टी बज्यो । नजिकैका परेवाका बथान हुरुरु उडे । तिनको पखेंटाबाट आएको हावामा बेग्लै खालको गन्ध मिसिएको थियो । म विस्तार गणेश थान मार्गतिर लागें ।
जीवनमा पहिलो पटक होला चिरनले मसँग कुनै अपेक्षा राखेको थियो । यस्तो अपेक्षा जुन उसको जीवनसँग जोडिने पक्का थियो । बीस बाइस वर्षको हुँदादेखि उसलाई विवाहको प्रस्ताव आएको हो रे । नातागोता सबैले अनेकौं जोडबल गर्दा पनि ऊ विवाह गर्न राजी नै भएन रे । उसैले सुनाए अनुसार एक पटक त उसले यस्तो भनेछ कि जुन कुनै सालिन मान्छेले आफ्ना बाबुआमाको सामु भन्नै सक्दैन । सँधै सामान्य लाग्ने छोराको मुखबाट यति अभद्र कुरा सुनिसकेपछि कसैले पनि उसलाई विवाह गर्न कर गरेनन रे !
आफ्नो प्रेम प्रस्ताव अर्कालाई राख्न लगाउनेले यस्तो भन्यो कि भनेन भन्नेमा पनि मलाई शङका छ । उसैका अनुसार यति अभद्र तरिकाले प्रस्तुत होला भन्ने अनुमान नै नगरेका उसका बाआमा चुप लागे रे । उसका नातागोताले पनि क्रमश: यो कुरा थाहा पाएपछि उसलाई विहेको प्रस्ताव नै राखेनन रे ।
कहिलेकाहिँ ऊ आँफै हाँसेर भन्थ्यो, “घरकालाई तर्साई हालियो । अब त विहे गर्छु भन्न पनि लाज भयो ।”
साँच्चै उसले विहे नै गरेन । मलाई कलेज पढदाकै एउटा घटना याद आयो । मलाई लाग्छ, त्यस बेला नै उसलाई घरमा विहेको प्रस्ताव भने आउन थालिसकेको थियो ।
-०००००-
एक दिन रविको हातमा एउटा कापी देखें मैले । “कसको हो ?”सोधें ।
“चिरनको । इन्दूलाई दिएको रहेछ । फिर्ता दिनु भनेर मलाई दिई पठाएकी । आज चिरन कलेज गएनछ ।” उसले छोटोमा सबै कुरा भन्यो ।
मलाई उटपट्याङ्ग बुद्धि फिर्‍यो । “ए! पख पख।” भन्दै मैले फटाफट अङग्रेजीमा एउटा प्रेमपत्र लेखिदिएँ, कापीमा । रवि वाल्ल परेर मलाई हेरिरह्यो । त्यो प्रेमपत्रको धेरै कुरा त मलाई याद थिएन तर एउटा शब्द अझै पनि याद छ, “मिराकुलस” । हामी दुवैले उसको कोठामा लगेर सुटुक्क कापी छोडिदियौं । चिया पसलमा भेटिएको उसलाई रविले कोठामा कापी छोडिदिएको कुरा बतायो ।
त्यसपछिका केही दिनहरूमा उसले “मिराकुलस” भन्ने शब्द खुब प्रयोग गर्न थाल्यो । त्यति बेला,हामीले उसको अनुहारमा छचल्किएको खुशी प्रत्यक्ष अनुभव गर्थ्यौ । तर त्यसमाथि कुनै प्रतिकृया जनाउँदैनथ्यौं । हामीलाई अपेक्षा थियो, जुन दिन यिनीहरूको प्रेम सफल हुन्छ र विहे हुन्छ, त्यस दिन यो उटपट्याङ्ग काम हाम्रो हो भनौंला । हामीलाई डर पनि थियो, कतै इन्दूले नलेखेको प्रेमपत्रको जिकिरमा कुनै ठूलै विवाद त नबन्ला नि । तर यस्तो केही भएन । उनीहरू त दुई जना मात्र चिया पिउन गएको पनि देखियो ।
यो घटना भएको छ महिनापछि एक्कासी चिरन पडकियो, “प्रेम गर्छु भन्छे यार! कापीमा चिट्ठी लेखिछ । किन लेखेको भन्दा जवाफ नै दिन्नँ । म कहाँको गाउँले, ऊ शहरिया । हाम्रो स्तर नै मिल्दैन । म कसरी उसको प्रेम स्वीकार्न सक्छु ?”
“कसको ? ईन्दूको ?” मैले सोधेको थिएँ ।
उसले अचम्म मान्दै मेरो अनुहारमा हेर्‍यो । सकारात्मक टाउको हल्लायो र चुप लाग्यो । मैले इन्दूको नाम कसरी लिएँ भन्नेमा ऊ शायद अलमलियो पनि ।
“प्रेममा यस्तो हुँदैन नि चिरन ।” मैले सम्झाउन खोज्दै भनेको थिएँ । त्यति बेला मलाई लागेको थियो, यो उसको होइन मेरो प्रेम भडकँदैछ किनकि ईन्दूको भनिएका शब्दहरू मेरा थिए । ती शव्दहरू निक्लँदा म कति खुशी थिएँ । मलाई लागेको थियो, यी मिठा शब्दहरू मैले मेरी प्यारी कविताका लागि लेख्नुपर्थ्यो जो मलाई मन पर्थिन पनि। तर मैले मेरो कलमले इन्दूको शब्द भनी चिरनलाई लेखिदिएको थिएँ । अहिले ती शब्दहरूमा मसी पोखिएर विरूप भए जस्तो लागिरहेको थियो । चिरनले मान्दै मानेन जात, धन, मन, इन्दूको जागिर नचाहिने के के कुरा ल्यायो बीचमा र इन्दूसँगको सम्वन्धलाई पूर्णविराम लगायो ।
केही दिनपछि मैले अप्ठेरो मान्दै इन्दूलाई सोधें । यतिखेर मलाई लागेको थियो, चिरनको होइन, मेरो प्रेम तोडिएको छ । उनले अँधेरो अनुहार बनाउँदै भनेकी थिइन, “हो, चिरनले अनौठो तरिकाले मैले नलेखेको प्रेमपत्रको हवाला दिँदै मलाई प्रेम देखाएको थियो । अहिले आँफै टाढियो ।”
यसरी आफ्नो सन्काहापनले एउटा जीवित प्रेमलाई पूर्णविराम लगाउने चिरनले अहिले सीमासँग प्रेमको प्रस्ताव राखिदिन मलाई भन्यो । म फेरि पनि खुशी भएको थिएँ , उसलाई जोडी बनाइदिने जिम्मेवारी ममा आएकोमा । यसपाली सीमाले शुरूमा नै अस्वीकार गरी ।
-०००००-
यतिखेर म सीमाबाट छुटेर चाबहिल चोकमा आइपुगेको थिएँ । चारै दिशाबाट कुदिरहेका सवारीको चापले ट्राफिकहरू थिचिएका थिए । एउटा मोटो प्यान्टे भुँडी भएको ट्राफिक रिसाउँदै एउटी ट्याम्पोवालीलाई गाली गर्दै थियो । ट्याम्पोवाली झ्यालबाट टाउको निकालेर किच्च हाँस्दै थिई । एउटा कालो रङ्गको पल्सर मोटरसाइकल बेतोड आएर मलाई हावाले छुवाउँदै रिङ्गरोडतिर लाग्यो । म बाटो तरेर साँखु जाने बस रोक्ने ठाउँतर्फ लागें ।
बस कुरिरहेको बेला मोबाइलको घण्टी बज्यो । मैले हेरें, त्यो चिरनको फोन थियो । उठाउन गार्‍हो लाग्यो । तैपनि फोन उठाएँ । उसले एकै पटक सोध्यो, “के भो ?”
“सरि भनी यार!” मैले निराश हुँदै भनें ।
ऊ अचम्मसँग हाँस्यो र भन्यो, “छोडिदेऊ यार, मैले एउटा कथाको प्रोजेक्ट त्याग्नुपर्ने भयो ।” उसले फोन राख्यो । म कुरा नबुझेर अलमलमा परें ।
बस आएर खलासीले “साँखु साँखु” भन्दै कराउँदै रहेछ । म गाडी चढें । पछाडिको सिटमा गएर बसें । एक छिनमा सीमाको फोन आयो । उसले सिधै भनी, “तिमीलाई थाहा छ ? चिरनको अघिल्लो उपन्यास कसको जीवन कहानी हो ?”
म अलमलमा परें । केही बोल्नु अगाडि नै मोबाइल डिसकनेक्ट भएको थियो । मोबाइलको ब्याट्री सकिएको रहेछ । मैले धेरै पछिसम्म सीमालाई फोन गर्न सकिनँ ।
-०००००-

तपाईको प्रतिक्रिया