काठमाडौं । नेकपाको दाहाल–नेपाल पक्षले एक महिनाका लागि दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । आज शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको आन्दोलन परिचालन समितिको बैठकले पार्टी संगठन पुनर्गठन र संघर्षका कार्यक्रम एकसाथ अघि बढाउने निर्णय गरेको संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संयोजक श्रेष्ठले दोस्रो चरणको आन्दोलनका कार्यक्रमबारे जानकारी दिए । आन्दोलन अन्तरगत देशभर विरोध प्रदर्शन, भेला, मसाल जुलुस, सभा र विभिन्न राजनीतिक दलहरुसँग अन्तरक्रिया गर्नेलगायतका कार्यक्रम रहेको उनले बताए ।
आन्दोलनका क्रममा संविधान वाचन तथा व्याख्या गर्ने कार्यक्रमसमेत राखिएका छन् । माघ २३ गते राजधानीमा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम राखिएको छ ।
प्रतिनिधिसभा पुनःस्थापनाको मागमा विपक्षी दलहरुको संयुक्त आन्दोलन गर्ने प्रयास असफल भएपछि प्रचण्ड–माधव पक्षले एक्लै आन्दोलन गर्न लागेको हो ।