पचासको दशकको प्ररम्भमा उदाएका कवि ठाकुर बेलवासे आफ्नो समयको बलशाली कवि मध्ये एक हुन । उनका कविताहरुले समाजमा रहेको सबै किसिमको बेथितिहरुको बिरोधमा प्रतिकार गर्नुको साथै एक सुन्दर र समानतामुलक समाज निर्माणको जिकीर गरिरहेको हुन्छ । हालसम्म कविको चार कविताकृति प्रकाशित रहेका छन् भने साझा पुरस्कार, राष्ट्रिय पत्रकारिता पुरस्कार लगायत दर्जनौ सम्मान र पुरस्कारबाट पुरस्कृत भैसकेका छन प्रस्तुत छ साताको तीन कविता ।
मन्त्रीज्यू ! कृपा गरेर काल पठाउनुस
मन्त्रीज्यू !
आमा सिकिस्त हुनुहुन्छ
सरकारी अस्पतालमा उपचारको पालो आएन
निजी अस्पतालमा लैजान आँट भएन
आमाको काल पनि आएन
आत्महत्याकालागि मेरो बल पनि भएन
मन्त्रीज्यू !
तपाईसंग घनिष्ठ बनेका वर्षहरु
जम्मा तीसवटा भएछन
पत्रकारिताको घनिभूत सपना देखेर
भँगेरी चरो जस्तो रनबन उडिरहेका बेला
तपाईसंग भेट भएको थियो
त्यसबेलाको तपाई जस्तै
ख्याउटे बाटोमा
मलाई याद छ
त्यो पहिलो भेट
डेरा भाडा तिर्न नसकेर
तपाई समयमै कोठा जान नसकेको
मलाई याद छ
पैसा नभएर
भर्खर विवाह गरेकी
श्रीमतीलाई पेटभर खानदिन नसकेको पीडा सहन नसकेर
तपाईले आत्महत्याका बारेमा लामो कुरा गरेको
हो मन्त्री ज्यू !
तपाईलाई याद छैन होला
मलाई याद छ
पाँच ,दश र बीस रुपैयाँका नोटहरु
जम्मा गरेर मेरी आमाले पठाएको
केही हजार रुपैयाँ
मैले सापटी दिएको
अहिले तपाई यो देशको मन्त्री हुनुहुन्छ
वितेका तीस वर्षमा
मैले समाचारमा तपाईलाई
कतिहजार पटक सम्प्रेषण गरे हूँला
न तपाई गन्न सक्नुहुन्छ
न त म नै
वितेका तीस वर्षसम्म हामी
आकाशका तारा जत्तिकै भेटेहौँला
पत्रकारिताका नाममा
म बोझिलो बोझिलो बन्दै गए
राजनीतिका नाममा तपाईँ
दिनदिनै पोटिलो पोटिलो बन्दै जानुभयो
संसद,भवन र सिंहदरवार अब तपाईका सपना रहेनन
हाम्रो भेट पनि पातलो बन्दै गयो
मेरो अभावग्रस्त जिन्दगी
तपाईलाई नसुहाउने भयो
म यी सबै बुझ्दा बुझ्दै
आमा बचाउन गुहार माग्दैछु
मन्त्रीज्यू !
सरकारी अस्पतालमा
आमाको उपचारको पालो आएन
आमाको काल पनि आएन
आमाले मुटु जस्तै मान्ने दाइजोको
खेत बेचेर आएको छु
मन्त्रीज्यू !
उहिल्यै मैले दिएको सापटी फिर्ता चाहिदैन
सरकारी सुविधा पनि पर्दैन
सरकारी अस्पतालमा आमाको उपचारको पालो आएन
हामी आमाछोराको काल पनि आएन
मन्त्रीज्यू !
हामीमाथि कृपा गरेर
काल पठाए पनि हुन्छ
मृत्युसंगत
सँगै जन्मिएको मृत्यु
सँगसँगै खेलेर हुर्कियो
हिडदै गर्दा
बाटाे पहिराेमा पुरियाे
म
मृत्युकाे हात समातेर पुरिनबाट जाेगिएँ
एकाएक बाढी घरमा पस्याे
बाढीमै डुब्याे घर
म
मृत्युकाे काँध चढेर
डुब्नबाट जाेगिएँ
हठात
अध्यारो हुँदा समय
आगो बालेर
उज्यालो बनाउन खोज्दा
कयौं पटक आगो सल्किएर समयमा
समय खरानी हुँदा
मृत्युले आगो निभाइदिएर
म
खरानी हुनबाट जोगिएँ
एक्लै जंगलको यात्रा गर्दागर्दै
हिंस्रक जनावरले झम्टिदा
मृत्यु अगाडि आएर नजोगाएको भए
म कसैको सम्झनामा पनि हुने थिइन
एक्लै छु भन्ने डरले काँपेका बेला
जीवनको अन्त्यको संघारमा पुगेका बेला
अगाडि या पछाडि उभिएर
जीवन बचाइदिने
जुम्ल्याहा जस्तै
आफू जस्तै
मनको साथी मृत्युलाई
मैले भुल्दै गएछु
मृत्युसंग सम्बन्ध टुटेको जस्ताे
मैले उसकाे सम्बन्ध
सम्झना कहीं कतै राखिनछु
जीवनमा बाढी,पहिराे
आगाका मुस्ला
हिंस्रक समयका उग्रता अनि क्रूरता
उसैगरी आइरहे
म ती सबैबाट बाँच्दै बाँच्दै यहाँसम्म आएँ
यावत विपत्तिलाई जीतेको अहंकार
ममा चुलिदै आयो
म
आफ्नै अहंकारले थिचिन लागेको बेला
टुप्लुक्क मृत्यु मेरा अगाडि देखियो
र विगतका कहालीलाग्दा बिपतका दृश्य एक एक आँखामा ल्याइदियो
ती सबै बिपत्तिबाट जाेगाउने उही मृत्यु रहेछ
मैले पश्चाताप गर्ने समय पनि बाँकी राखेकाे रहेनछु
मेरा आँखा अगाडिबाट मृत्यु अदृश्य भयो
यस पछि त हो
म धर्तीबाट अलप भएको
आधुनिकताको धारिलो हतियार
मनमा आधुनिताको धारिलो हतियार बोकेर
अनुहारमा वैभवताको धरापिलो आकाँक्षा पोतेर
भूगोलको एक्लो मानिस बन्ने सपना
आँखा भरी भरेर
खुट्टामा पहिरो लतार्दै
सडक , चौर ,बजार र वस्ती ढाक्ने गरी
सलह जस्तै हिडिरहेका मान्छेहरु
जीवन होइन
मृत्यु बाँचिरहेका छन
मृटु रेटिरहेको छ
आफैले बोकेको आधुनिकताको हतियारले
आरनको फलाम जस्तै मन पलिरहेको छ
आफ्नै महत्वाकांक्षी सपनाले
आधुनिक वैभवताको अभिलाषाले
जन्माइरहेको छ, मनमनमा राक्षसीस्वरुप
एक्लो मानिस बन्ने सपना बोकेका आँखाबाट
उज्यालाको प्रकाश होइन
अध्यारोको मुस्लो निस्कि रहेकोछ
संसारको एक्लो नायक बन्ने
दुस्साहस बेकोका खुट्टाहरु
प्रत्येक पाइलामा पहिरो हिँडिरहेका छन
शान्ति र चयन
आफ्नै मनभित्रको पहिरोले बगाइरहेको छ
दुःख अनि त्रासको दास बनिरहेको छ
आजको मानिस
भूगोल भरका
आधुनिक रत्नाकर डाँकुहरुका
मनमा छिट्टै वाल्मीकि ऋषि पसुन
सायद
यसबेला सिंगो पृथ्वी
पृथ्वीभरका भगवानहरु
प्रार्थना गरिरहेका छन !