तिम्रो हरेक मङ्गल कार्यमा
अछुतको जुठो मुखबाट निस्केको
सहनाई र कर्नालको सङ्गीत फेरि कसरी मङ्गल ?
मेरा अस्पृश्य पाइतालाले माडेर निस्केका
अक्षताका बियाँहरू फेरि कसरी शुद्ध ?
मैले बनाएको ओदानमाथि बसालेर
मैले बनाएको ताप्केमा
मैले नै माडेको परालको धानको भात कसरी चोखो ?
मेरो अछुत आङबाट निस्केका पसिना मिसिएको पाइनले
तपाईंको जिउमा सजिने अलङ्कार कसरी पवित्र ?
पछिल्लो समय फेसबुकमार्फत ‘सेतोमाटो’ अनलाइनमा पढने अवसर पाएको राधिका कल्पितको ‘जालन्धरको विरुद्ध जङ्ग सुरु भइसकेको छ’ कविताको यो एउटा सशक्त कवितांश हो । यो कवितामा उनको कवित्व र विचारको सौन्दर्यात्मक चेत निकै घनीभूत रहेको पाइन्छ । र, यो उनको सशक्त वैचारिक कविता हो ।
पहिलोपल्ट राधिका कल्पितको कविता फेसबुकमा कहिले र कुन चाहिँ पढें, अहिले यकिन भएन । तर उनको ‘बरफका कोइलाहरु’ कविता संग्रह प्रकाशनमा आएको फेसबुकका समाचारहरु र पुस्तकको प्रतीकात्मक शीर्षक र सुन्दर आवरण कलाको आकर्षणले मलाई निकै नै तानिरह्यो । त्यसपछि फेसबुकमै आएका उनका कविताहरुलाई मैले पछ्याइरहें । सबैतिर कोभिडको महामारीले लगातार आक्रान्त बनिरहेको बेला उनको यो कविता संग्रहलाई कतैबाट सहजै उपलब्ध हुने सम्भावनाहरु पनि रहेन । फेसबुकमा उनका कविताहरु पढनु र उनको कवित्व शक्तिले बारम्बार मलाई तानिरहनु र उनीप्रति जिज्ञासु बनाइरहनु स्वाभाविक थियो ।
आफ्नो सिर्जनात्मक अभिव्यक्तिका लागि फेसबुक आजकल सजिलो माध्यम बनेको छ । र, फेसबुकमा कविता लेखिरहेका कविहरुको एउटा ठूलो जमात पनि पाइन्छ । र, यहाँ सबैको सजिलै पहुँच पनि देखिन्छ । यसकारण पनि फेसबुक एउटा प्लेटफर्म हो । यहाँ सबैथरी स्वाद, विचार र रङ छ । र, हामी आफ्नो इच्छा र गच्छे अनुसार यसलाई छनौट गर्न सक्छौं । राधिका कल्पितका कविताहरु मेरो आफ्नो च्वाइस हो र उनका कविताहरुले फेसबुकमा एउटा अलग स्टाटस बनाएको छ ।
राधिका कल्पितसँग मेरो फेसबुकको चिनजान हो । मैले फेसबुकमा पढेका उनका कविताहरु नै मेरो उनीसँगको निकटता हो । मेरो उनीसँगको संवाद नै उनका कविताहरु हुन । उनका कविताहरु पढिसकेपछि मेरो मनमा हुने उद्वेलनले नै मलाई उनका कविताहरु रुचिकर लाग्न थालेको हो ।
कविता मान्छेको मस्तिष्कमा उत्पन्न हुने एउटा विशिष्ट क्षणको सिर्जनात्मक अभिव्यक्ति हो । कविता बौद्विकहरुको शब्दको विलासिता र शब्दहरुको गठजोड मात्र होइन । कविता रहरमा लेखिने मनको लहड र एकान्तको बसिबियाँलो मात्र पनि होइन । कविता हृदयको सम्प्रेषण पनि हो, आह्लाद हो । एउटा कविले कविता लेखिरहेको अवस्था भनेको उसको समाधिपूर्वको रेचन कार्य हो भने कविता सिर्जना गरिसकेपछिको अवस्था उसको पूर्ण समाधिस्थ हो । यो अवस्था भनेको कविको चरम आनन्द र सुख प्राप्तिको अवस्था हो ।
आफ्नो कविता लेखनको प्रक्रियाको बारेमा कवि राधिका कल्पितको आत्म स्वीकृति छ– ‘कविताले मलाई जहिले पनि एउटा मेडिटेटिभ मुडमा लैजान्छ र सकारात्मक ऊर्जा दिन्छ । कविता लेखनको क्षण म आफू एउटा समाधिमा ध्यानस्थ योगीजस्तै अभौतिक बनिदिन्छु ।’
सायद कविता लेखिरहेका धेरै कम कविहरुले यस्ता क्षणहरुलाई अनुभूति गर्छन । जब एउटा ध्यानस्थ मुद्राबाट सर्जकका अनुभूतिहरु जन्मन्छन, उनको सिर्जनाले एउटा पूर्ण जीवन प्राप्त गर्छ । र, त्यही उनको कालजयी कृति बन्छ ।
राधिका कल्पितका कविताहरु यसकारण पनि पठनीय छन कि उनी इमान्दार छिन आफूप्रति, आफू बाँचिरहेको समयप्रति र समाजप्रति । उनका कविताहरु पढिसकेपछि कविताले आफ्नो एउटा सघन उपस्थिति राख्छ पाठकका मस्तिष्कमा । राधिका कल्पित आमा पनि हुन र उनी शब्दहरुका सर्जक पनि हुन । उनले आमा हुनुको शारिरीक र लेखक हुनुको मानसिक, दुवै प्रसवलाई भोगेकी छिन । ती दुवै प्रसव उनलाई उत्तिकै पीडा र कष्टकर लाग्छ । जब उनी कविता लेख्न बस्छिन उनले आफूलाई लामो प्रसव पीडाबाट गुज्रिएर शिशुलाई जन्म दिइरहेकी आमाजस्तै पाउँछिन । र, जब उनी कविता लेखिसक्छिन उनलाई यो आकाश खुल्ला र स्वच्छन्द लाग्छ र उनी मुक्त हाँसो हाँस्छिन । उनी एउटी स्वास्नीमान्छे हुन र उनलाई थाहा छ उनीजस्तै कैयौं स्वास्नीमान्छेहरुले बाँचिरहेको यो समय उनीहरुका लागि विसङ्गत छ । र, यिनै विसङ्गतिहरुका विरुद्ध उनका कविताहरु विद्रोही छन, आन्दोलित छन । कहिलेकाहीँ आफू लडिरहेको र बाँचिरहेको यो समय पनि उनलाई साँच्चै नोस्टाल्जिक लाग्छ ।
जब तिम्रा नजरका नक्षत्रहरु
केवल मेरा वक्षस्थलको कक्षमा परिक्रमा गर्छन
जब अभिमानी भाले
आफ्नै घरमन्दिरको देवीलाई छाडेर
धाइरहन्छन देवालयतिर व्यर्थ
जब बिर्सन्छन शिवहरुले
अर्धनारीश्वरको अर्थ
बिर्सन्छन शक्तिस्वरुपा जननी र सतीको अस्तित्व
तब प्रश्न गर्न मन लाग्छ मलाई
तिमीले फेरेको पहिलो सास कसको थियो ?
तिमीले चाखेको पहिलो स्वाद के थियो ?
–आइमाई, पृष्ठ २८
लोग्नेमान्छेको अहंमाथि उनका कविताहरुले सधैं उठाइरहेको प्रश्न हो यो । हजारौं वर्षदेखि नारीलाई देवी मानेर शक्तिका रुपमा पुज्दै आइरहेको हाम्रो शास्त्र र समाज बडो विरोधाभासपूर्ण छ । यो शास्त्र दुर्गालाई देवी मान्छ र द्रौपदीलाई वेश्या बनाउँछ । यो शास्त्र कृष्णलाई देवता बनाउँछ र राधालाई रखौटी मान्छ । र, यो समाज नारीलाई रुपसी बनाउँछ र आम्रपालीलाईझैं उसको सौन्दर्यलाई बजारमा बेच्छ र यो सहरको नगरबधु बनाउँछ । एउटी नारीप्रति न यो शास्त्र न यो समाज कहिल्यै यति उदात्त रह्यो जसले सधैं नारीको अस्तित्वलाई कहिले स्वास्नीमान्छे बनाइह्यो र कहिले आइमाई बनाइरह्यो ।
जब भोलेनाथ बनेर बौलाउँछौ
पार्वती बनेर नाँच भन्छौ
जब कृष्ण बनेर बजाउँछौ मुरली
राधा बनेर कम्मर भाँच भन्छौ
जब इन्द्र बनेर उत्ताउलिन्छौ
शची बनेर हाँस भन्छौ ।
–कुन अवतार लिऊँ म ?, पृष्ठ २९
हो म आइमाई हुँ
आइको अर्थ आमा र माई माने देवी
देवी र माताको उच्च ओहोदाबाट
पदच्युत गरेर मलाई
बनायौ अहिलेसम्म
‘आइ’ ‘माई’ अर्थात म र मेरी मात्रै ।
–आइमाई, पृष्ठ २७
शास्त्र र समाजमा रहेको यही व्याप्त असङ्गतिहरुप्रति कडा आलोचना राख्छन राधिका कल्पितका कविताहरु । उनी आफ्ना कविताहरुलाई शास्त्र भत्काउने हम्मरका रुपमा प्रयोग गर्छिन र आफूलाई समाज रुपान्तरको बाहक बनाउँछिन ।
लेखन क्षेत्रमा लागेका महिलाहरुका लागि अगाडि जहिल्यै पनि दुई वटा गम्भीर जिम्मेवारी र चुनौतीहरु हुन्छन । पहिलो हो पारिवारीक जिम्मेवारी र दोस्रो हो स्तरिय लेखन र निरन्तर लेखन । त्यसैले पनि लेखन कम सजिलो छैन महिलाहरुका लागि । कहिलेकाहीँ कवि हुने रहरले लेखिएका कविताहरु सामान्य कविताका रुपमा रहन्छन । ती कविताहरुले समाजमा कविलाई स्थापित गर्न सक्दैनन । र, सामाजिक रुपान्तरमा ती कविताहरुले खेल्ने भूमिका गौण हुन्छन । समाजप्रति प्रतिबद्ध कविताले समाजका विसङ्गतिहरुसँग जुधेर समाज परिवर्तनको दायित्व वहन गर्छ र त्यस्ता कविताहरु विशिष्ट र अमीट रहन्छन । एउटा विशिष्ट कविताले समयको एउटा कालखण्डको परिवर्तनको प्रतिनिधित्व गर्छ र स्रष्टा र सिर्जना दुवैको मानक बन्छ । त्यस्ता कविताहरुले समालोचकहरुको समालोचकीय वर्चस्वबाट मुक्त गरेर पाठकलाई एउटा स्वतन्त्र पाठकीय दृष्टिकोण निर्माण गर्छ । यहीँनिर कविता र पाठक बीचको सम्बन्ध सुमधुर रहन्छ । र, कविता पाठकको मस्तिष्कमा खेलिरहन्छ ।
परिवार र लेखन यी दुवै क्षेत्रमा राधिका कल्पितको सफलताले अहम भूमिका राख्छ । पाठकको मस्तिष्कलाई उनका कविताले आह्लादित बनाउँछ । एउटा सुन्दर कविता एउटा सुन्दर चित्रकारिता पनि हो र एउटा सुन्दर चित्रकारिता एउटा सुन्दर कविता पनि हो । दुवै बिम्बमा बोल्छ । उनका कविताहरु चित्रात्मक छन ।
तिम्रा आँखाबाट
तप्पतप्प खसेका आँसुहरुले
कतै नगरुन आत्महत्या भनेर
जब थाप्न पुगेँ दुवै हत्केला
त्यही दिनदेखि
हतकडी लागेको छ
मेरा हातहरुमा
तिम्रा आँसुहरुलाई
जबरजस्ती गर्न खोजेको आरोपमा ।
–आरोपित हत्केलाहरु, पृष्ठ ६९
राधिका कल्पितका कविताहरुका बारेमा समालोचक डा. रजनी ढकालको मत छ– ‘शक्ति र सत्ताले थिचेका महिला, सीमान्तकृत र अन्यायमा परेका पात्रका अनुभूतिमा एकाकार भई सरल बिम्बमय भाषाको वर्णनकुशलतामा स्वस्फूर्त मौलिक अभिव्यक्ति दिनु कल्पितको वैशिष्ट्य हो ।’ र, राधिका कल्पित स्वयम पनि आफ्ना कविताहरुलाई अलि बढी नारीकेन्द्रित दृष्टिकोणबाट लेखिएको मान्छिन । उनका कविताहरु नेपाली समाजले महिलाहरुलाई सधैं अबौद्धिक मान्ने र महिलाको शरीरलाई केवल यौनको लागि प्रयोग गरिने वस्तुको रुपमा पितृसत्तात्मक सत्ता र त्यसका सामाजिक संरचनाहरुले गरेको उत्पीडन र हिंसाको भत्सर्ना हो ।
शिरमा शिरबन्दी
सिउँदोमा सिन्दुर
चुल्ठोमा डोरी
निधारमा बिन्दी
नाकमा फुली
कानमा झुम्का
आँखामा गाजल
ओँठमा लाली
गलामा पोते
कम्मरमा कम्मरबध
हातमा चुरी
औंलामा औंठी
खुट्टामा पाउजू
शिरदेखि पाउसम्म
सबै अङ्ग बाँधिएका छन
शृङ्गारले स्वतन्त्रता लुटेको पत्तै छैन ।
–शृङ्गारको कारागार, पृष्ठ ६२
एउटा लेखकले सधैं अरुका मान्यताबाट प्रभावित भएर परम्परागत लेखनलाई पछ्याइरहनु पर्छ भन्ने होइन । लेखकले नयाँ ढङ्गले सोच्नै पर्छ र लेख्नै पर्छ । लेखकले नवीन विषयको खोजी र नवीन शैलीको निर्माण गर्नु जरुरी छ । कुनै पनि हालतमा लेखकले पुनरावृत्तिको बाटो हिँडनु हुँदैन । पुनरावृत्ति लेखनमा लेखकको आत्मतुष्टि त रहला तर यसले पाठकको मस्तिष्कमा लेखकको लेखन प्रभावको पदचाप भने छोडदैन ।
हामी कहाँ अहिले राम्रा भनिएका कतिपय किताबहरु पनि एउटा मिथकीय लेखनको परम्पराको घेराभन्दा बाहिर निस्कन सकेको देखिँदैन । त्यहाँ जीवनको कुनै आयाम हुन्न । किताब पढिसकेपछि एउटा पाठकले आफ्ना अनुभूतिहरुलाई जीवन्त बनाउन र परसम्म फैलिएर जीवनलाई बोध गर्न सक्दैन । जब पाठकका अनुभूतिहरु मर्छन, एउटा लेखक पनि मर्छ । हाम्रा धेरै लेखकहरु सधैं एउटै विषयलाई फरक तरीकाले लेखिरहेका हुन्छन र पाठकको रुचिलाई मारिरहेका हुन्छन । पुनरावृत्ति आजको लेखनको सबैभन्दा ठूलो समस्या हो ।
‘बरफका कोइलाहरु’ कवितामा राधिका कल्पितको बिम्ब प्रयोगको नौल्याइपन छ । यस संग्रहभित्र रहेका कविताहरु एउटा परम्परागत बिम्बहरुबाट भिन्न र मुक्त छन । कवितामा नेपाली आम महिलामाथि पितृसत्तात्मक सामाजिक संरचना, राज्यप्रणाली र त्यसका कानुन व्यवस्थाले गरेको विभेद, उत्पीडन र हिंसाप्रति असन्तुष्टि र विरोध छ । भूमण्डलीकरण, सूचना प्रविधिको विकास र त्यसले ल्याएको प्रभाव, वेरोजगारीले सिर्जना गरेका समस्याहरु, युवाहरुको वैदेशिक पलायन, साइबर संस्कृति, मान्छेले प्रकृतिमाथि गरेको दोहन कार्य, मान्छेभित्र बढदै गइरहेको संवेदनहीनता, परिवारिक विघटन जस्ता यी विषय विविधता उनका कविताका आयाम हुन ।
धर्मले निषेध गरेको नियोजित बजार
साह्रै सस्तो बजार
एउटा मान्छेले अर्को मान्छेलाई
सबैभन्दा सस्तो मूल्यमा
सजिलैसँग किन्न पाइने
मान्छेको मासुको बजार
–मासुको मण्डी, पृष्ठ १३३
तैँले जानिस बूढी
बेलैमा गइस
मुखमा दाँत छँदै
ज्यानमा आँत छँदै
न लौरो टेक्न परो तँलाईं
न अँधेरो देख्न परो तँलाईं
ऊ बेला तँ थिइस
मायाले बोल्ने फुर्सद थिएन
अहिले तँ छैनस
मलाई फुर्सदै फुर्सद छ
–विधुर बिलौना, पृष्ठ १४८
‘बरफका कोइलाहरु’ कोरोना महामारीको एकान्तले सिर्जिएका कविताहरु हुन । र, यी कविताहरुलाई बटुलेर बि. एन. पुस्तक संसार प्रा. लि.ले २०७७ सालमा बजारमा ल्याएको हो । अंग्रेजी क्यालेण्डर अनुसार सन २०२० को जनवरीमा चीनको उहान प्रान्तमा देखिएर महामारीको रुपमा यस रोगको सङक्रमणले विश्वलाई गाँज्यो । पुरै संसारले कोरोना महामारीको त्रासदी भोग्यो । कोरोनाका कारण मानिसहरुको मृत्यु हुनेको संख्याले विश्वभरिका देश र मानव समुदायलाई त्राहिमाम बनायो । यो महामारी मानव समुदायको अस्तित्वको रक्षाको संकट बन्यो । र, यसले मानिसको जनजीवनलाई नै अस्तव्यस्त बनायो । लकडाउनले विश्व नै ठप्प रह्यो । सबैतिर कोरोनाको आतङक व्याप्त थियो । मानिसहरु घरभित्र बन्द थिए । अमेरिका, बेलायत, भारत जस्ता विश्वका धनी र चिकित्सा सम्पन्न भनिएका देशहरु यस महामारीबाट सबैभन्दा बढी प्रभावित भइरहे र सबैभन्दा बढी मृत्युदर पनि त्यहीँ देखियो ।
महामारीको यो भयावहताको बीच हामीले पनि आफ्ना घर, पसल, कार्यालय, कलकारखाना सब बन्द गरिदिएका छौं । दैनिक अरबौं घाटा बेहोरेर राज्य मस्त निद्रामा छ । रोजगारी बन्द छ । व्यापार बन्द छ । मजदुरी बन्द छ । अभाव बढदै छ । फेरि पनि राज्यसँग कुनै जवाफदेहिता छैन । नागरिक अलमलमा छन । यथार्थ, सत्यतथ्य जवाफ कसैसँग छैन । क्वारेनटाइन छ, यातनागृहजस्ता । कुनै व्यवस्थित छैन । अस्पतालहरु छन, संवेदनहीन । सबै कुराहरु लयहीन छन, अस्तव्यस्त । शून्यता बढदैछ । रिक्तता बढदैछ । हामी दिनदिनै राज्यविहीन बन्दैछौं । कोरोनाको यो महामारीले बोकेर ल्याएको हुरीले गुँड हराएको चराहरुलेझैं आँखामा सन्नाटा च्यापेर फेरि पनि हामी आफ्नो गुँड खोजिरहेका छौं ।
एकथरी छन
रोगसँग लडिरहेका
अर्काथरी छन
भोकसँग लडिरहेका
अर्को एउटा झुन्ड छ
शोकसँग लडिरहेको
एउटा विराट जमात छ
यी तीनैसँग जुधिरहेको ।
कोरोनाको कुरुक्षेत्रमा
निःशस्त्र जनताहरु युद्धरत रहँदा
यी तीनै चीजबाट दूर रहेको
एउटा विलासी वर्ग छ
जो हेलिकप्टर चढेर हेरिरहेछन्
मृत्युले देखाइरहेको तमासा
मानौं– भोक, रोग र शोक
उनीहरुको भाग्यमा पर्दैन ।
–देश लकडाउनमा छ, पृष्ठ १०३
राधिका कल्पितका यी कविताहरु समयका साक्षी हुन । कुरुप राज्यसत्ता र व्यवस्थाप्रतिको असन्तुष्टि र विद्रोह हुन । विभेदपूर्ण समाजको अन्त्य र न्यायपूर्ण समाज निर्माणको पक्षपाती हुन् । त्यसैले उनी समाज परिवर्तनको लागि सचेत आन्दोलनको माग गर्छिन ।
लकडाउन खुकुलिँदै जाँदा एकदिन विवेक सिर्जनशीलको सानेपा कार्यालयमा राधिका कल्पितसँग भेट भयो । त्यहीँ उनले मलाई बरफका कोइलाहरु दिइन । आफूले खोजी गरेको किताब पाएँ । फुरुक्क भएँ र उनीसँग हार्दिकता व्यक्त गरेँ । काठमाडौंबाट आँबुखैरेनी फर्कर्दै गर्दा बरफका कोइलाहरुभित्र रहेका झण्डै आधाआधी कविता यात्रामै पढिसकेँ । कविता पढदै जाँदा केही फुटनोटस तयार भए । कवितामा उनको यो सशक्त उपस्थितिले यी केही शब्दहरुलाई लेख्ने उत्साह दियो । उनका कविताहरुको एउटा असल पाठक भएर यति कुराहरु लेख्न सकें । बस, उनका यी सुन्दर कविताहरुका लागि अहिलेलाई शुभकामनासहित उनकै यो कविताको यो अंश–
हे ! मेरा अस्त्रहरु खोसेर मलाई नै कमजोर बनाउनेहरू हो
हे ! मेरा बस्त्रहरु खोसेर मलाई नै नाङ्गा बनाउनेहरु हो
मेरा हातगोडामा तिमीले लगाएका फलामका साङलामा
खिया लागिसकेको छ
मलाई पढाइएका झुठा शास्त्रको भेद
अब खुलिसकेको छ ।
–‘जालन्धरको विरुद्ध जङ्ग सुरु भइसकेको छ’, सेतोमाटो