समकालीन साहित्यिक लेखनमा एक सशक्त अथक हस्ताक्षर हुन्— प्रगति राई । राईका एक कविता संग्रह ‘बादी विज्ञप्ति’ सहित दुई उपन्यास ‘लेखककी स्वास्नी’ र ‘बिर्सिएको मृत्यु’ प्रकाशित छन् । ‘थाङ्ग्रा’ उपन्यास भने उनको ताजा शब्दकर्म हो, जुन चाँडै नै बजारमा, पाठक माझ आउँदै छ । यहाँ उनले आप्mनो दैनिकी, साहित्यिक यात्रा लेखन–अप्ठेरा, सामाजिक व्यवस्था, लेखनका निजी दृष्टिकोणसहित केही दुःखका, केही उत्साहका र दायित्वका बारे कुरावार्ता बाँडेकी छन्ः
१.तपाईंको दैनिकी कसरी बितिरहेछ ?
म यतिखेर १ नम्बर प्रदेशमा छु । ९१ वर्षको आपासँग समय बिताइरहेछु । आमाको अन्तिम दिनहरूमा सँगै रहन पाइनँ, त्यसैले आपासँग चाहिँ सँगै रहने अवसर पाएको छु । जीवनको सन्तुिष्टहरूमध्येको एक थोक पूरा गर्न पाएको छु । आनन्द भइरहेको छ ।
२.यो वैश्विक स्वास्थ्य जोखिम समयमा एक जना कवि–लेखकको जीवनसँग समाज या राज्य–सरकारको सम्बन्ध कस्तो रहेको अनुभव गर्दै हुनुहुन्छ ?
यस्तो जोखिम अवस्थामा कवि–लेखकहरूले अरुलाई त्यति सहयोग नगरे पनि अरुलाई अप्ठेरो पार्ने काम पनि भएको छैन । यसमा थोरै खुशी हुन सकिन्छ । तर कवि–लेखकहरूले संकटको समयमा पनि साहित्यमै रमिरहनु चाहिँ अलिक गैरजिम्मेवारपन देखिन्छ कि लाग्छ । अब सरकारको कुरा जो छ, त्यो टाढाको कुरा हो ।
३.हामी प्रायः गाउँबाटै सहर आयौँ, आइरहेका पनि छौँ तर कोरोना जोखिमका कारण कैयौँ मजदुर या सर्वसाधारणहरु उतै गाउँ फर्किएका थिए । देशभित्र र बाहिर पनि अनेक समस्या देखा परेका थिए–छन् । तपाईँ वैदेशिक श्रमको सिलसिलामा कोरिया पनि केही वर्ष बस्नु भयो । फर्केर हेर्दा ती दिन र आजको स्थितिमा आफूलाई कहाँ पाउनु हुन्छ ?
हजुर, गाउँमा हुर्किन पाउनु भनेको अप्ठेरोहरूमा पनि सजिलो मानेर यात्रा गर्न सक्ने क्षमता हासिल गर्नु रहेछ । गाउँमा जन्मेका मानिसले वैभवशाली जीवन होस् या त कठिन दुःखमा होस् नआत्तिकन र नपात्तिकन समयलाई पक्रन सकिन्छ भन्ने लाग्छ ।
अब रह्यो, नेपाल र कोरियाको कुरा । नढाँटिकन भन्नुपर्दा सोचको हिसाबले नेपालभन्दा त कोरिया ५० वर्ष अगाडि नै देखिन्छ । त्यहाँका सरकार जनताप्रति उत्तरदायी छन् । केहीले गल्ति गरे पनि गल्ति गर्नेको संख्या अति कम भएकाले कारवाही गर्न सजिलो हुन्छ । अर्को कुरा, त्यहाँको जनतामा एक कदम भए पनि अरुभन्दा राम्रो काम गरेर देखाऊँ भन्ने सोचको विकास भइसकेको पाएँ । यो ज्यादै खुसीको कुरा र सिक्न पर्ने कुरा पनि हो । राम्रो कुरा जहाँ र जसबाट सिक्दा पनि हुन्छ । यसरी राम्रो काम गर्ने प्रतिस्पर्धा प्रत्येक व्यक्तिमा भएकाले कोरोनाजस्तो महामारी तुलनात्मक रुपमा सहजै नियन्त्रण–व्यवस्थापन गर्न सके नि ! नेपालमा त लोकतन्त्र दुरुपयोग भा’छ । कुनै कुरा पनि नियन्त्रण भित्र राख्नै गाह्रो हुन्छ र भइरहेकै छ ।
४.समान वंशीय अधिकारको लागि तपाईंहरुले अभियान पनि चलाउनु भएकै हो । आजको पुँजीवादी पितृसत्ताकेन्द्रित समाजमा महिला लेखकको लागि कति सहज या अवरोध भइरहेको लाग्छ ?
हजुर, महिलाहरुको समस्या मार्क्सवादले व्याख्या गर्ने सीमाभन्दा पनि अझै पछाडि छ । कानुनले केही पुँजीवादको नजिक तान्ने प्रयास भए तापनि त्यो संभव छैन । मार्क्सवादको व्याख्यामा आउने गरीको स्तरमा हुनु त महिलाले वंशीय अधिकार प्राप्त गर्नुपर्छ । हाम्रो लेखन, अभियान यसमा चलिरहेकै छ । पितृसत्ताकेन्द्रित समाजमा महिला लेखन अति अप्ठेरो–अवरोध छ र नै जुध्नमा पनि मज्जा आउँछ ।
५.‘बादी विज्ञप्ति’ लाई साँध मानेर यसको अघि र पछिको लेखन काललाई हेर्दा आख्यानको पाइलाको गतिसँगको तुलनामा तपाईंको कविताको पाइला अलि सुस्त या ठप्पै जसो भएको लाग्छ नि, किन होला ?
‘बादी विज्ञप्ति’ पछि कविता लेखन केही कम भएको हो । तर ठप्प त भएको छैन । फेरि अर्को संग्रह पुग्ने नयाँ कविताहरू छन् । प्रकाशकसँग कुरा नमिलेर मात्र थाती रहेको हो । प्रकाशक भन्छन्, ‘बादी विज्ञप्ति’को पुनःप्रकाशन गरौं, म भन्छु, यसभित्रका केही कविता हालेर नयाँ कृति निकालौँ । यसरी काम थाती रहेको हो ।
६.लेखनको लागि तपाईं कसरी–केले उत्प्रेरित हुनु भएको थियो ? लेखनको सुरुवाती संघर्षबारे केही बताइदिनुस् ?
लेखनको लागि उत्प्रेरणा त महिलाहरूको नाजुक स्थितिले पैदा गरेको हो । दरबारमा होस् या झुपडीमा तर महिला भएपछि निर्वासन हुनै पर्ने बाध्यात्मक संस्कारलाई उल्टाउन मैंले लेख्न थालेको हुँ ।
मेरो सानैमा विवाह भएकाले मेरो लेखनलाई पनि श्रीमानको देन मान्थेँ । जैसीले हात हेर्दा पनि यिनको हत्केलामा चिन्तन–रेखा छ, पछि यिनको लोग्ने विचारी हुन्छन् भन्थे । केहीले चाहिँ महिलाको गन्थन लेखेर लेखनको सीमा साँगुरो नबनाऊ, तिमीमा धेरै माथिसम्म जानसक्ने खुबी छ, साँगुरो बाटो नरोज भन्थे । तर म मूर्खै सही, महिलाकै विषयमा निरन्तर लेख्छु भन्ने अठोटमा लागिरहेँ ।
७.तपाईं गैर–आख्यानिक किताबमा कतिको रुचि राख्नुहुन्छ ?
म आख्यानभन्दा गैरआख्यान बढी पढ्छु । ‘जात वार्ता’ भर्खर पढिसकेँ । मन परेका गैरआख्यान पुस्तकहरू लुकाएर राख्ने मेरो नराम्रो बानी पनि छ ।
८.केही सम्झिरहने, छोइरहने किताब र लेखक ?
सम्झिरहने, छोइरहने पुस्तक आहुतिको ‘जात वार्ता’ भइहाल्यो । राजन मुकारुङको ‘फेरिँदो सौन्दर्य’, ‘फुटपाथपर कामशुत्र’ का लेखकको नाम तत्काल भुलेँ । अनि प्रसिद्ध मानव इतिहाकार युवल नोह हरारीका केही पुस्तकले ज्यादै प्रभावित छु ।
९.कस्तो साहित्य लेखनमाथि तपाईंको झुकाव रहँदै आएको छ ?
यथार्थ चित्रणको सौन्दर्य–प्रतिविम्ब अनि यथार्थको अन्तर्विरोध गर्दै समस्याका समाधान–परिवर्तन–दिशाबोध गर्ने खालका कला–साहित्यमा दुई पाटा हुन्छन् भन्ने लाग्छ । यसर्थ, मेरा विचारमा साहित्यका दुई धार हुन्छन् । १)यथार्थको चित्रण र प्रतिविम्ब । २)यथार्थको प्रतिविम्ब साथै त्यसमा प्रगतिशील परिवर्तन, सुधार र समाधानोन्मुख । सुन्दर र सकारात्मक विषयमाथिको लेखन हो भने प्रतिविम्बात्मक धार राम्रो हुन्छ । तर सुन्दर कुरा आफैँमा सुन्दर हुन्छन्, विम्बमा उतारिरहन जरुर हुन्छ भन्ने लाग्दैन । खैर, मनोरञ्जनको लागि लेखिँदा राम्रै होला । तर म चाहिँ धेरै जसो दोस्रो खाले धारमा काम लेखन गर्छु । किनकि मानव जीवनमा आइपर्ने अनेक दुःख–अप्ठ्याराहरू छन्, तीमध्ये कुनै एकलाई म सुधार र समाधान गर्न चाहन्छु । पहिचानवादी साहित्यमा पनि मेरो खास झुकाव छ । यस खाले साहित्य लेखनमा यथार्थको प्रतिविम्ब उतार्ने काम मात्र हुँदै आएको जस्तो छ । यसमा परिवर्तन र विनिर्माण गर्न जरुरी छ अर्थात् दोस्रो धार पक्रन जरुरी छ ।
१०.तपाईंले उपन्यास पनि लेख्नु भएकै छ । लेखक वास्तवमा कस्तो÷किन हुन जरुरी पर्ला ?
हो, म उपन्यास लेख्छु । एकचोटि पोखरामा किताब वार्ताकै सिलसिलामा मलाई एक प्रश्न सोधिएको थियो, विचार प्रवाहको लागि भाषण, निबन्ध वक्तव्य काफी छँदैछ । तर त्यही विचार प्रवाह भन्दै किन यति लामो गन्थन घुमाएर उपन्यास लेखिन्छ भनेर । उत्तरमा मैंले भनेको थिएँ, उदाहरणको लागि एक स्वस्थ मानिसलाई खाना नै औषधि हुन्छ, कम स्वस्थ मानिसलाई भिटामिन र औषधि ट्याब्लेट चाहिन्छ । झनै अशक्ततामा भिटामिन र औषधिलाई तरल बनाइनुपर्छ । अझ अन्तिम चरणको बिरामीलाई त झन् इन्जेक्सन हान्नुपर्छ । उपन्यास त्यस्तै इन्जेक्सन हो, सोचको स्तर कमजोर भएका व्यक्तिलाई सही जीवनशैली र असल विचार देखाउन उपन्यासका कथाहरूले फकाउँदै, घरि हसाउँदै त घरि रमिता देखाउँदै अलमलाएर र झम्झाएर असल विचारहरू उनीहरूको दिमागमा सेट गरिदिनुपर्छ । यसैले उपन्यासमा घुमाउरो गन्थन धेरै हुन जान्छ । मेरो विचारमा यो सही उत्तर नै लाग्छ । अर्को प्रश्न छ, लेखक कस्तो हुनुपर्ला भन्ने । अब लेखक यस्तै हुनुपर्छ भनेर मैले मानक बनाउन त मिल्दैन तर एउटा सत्य चाहिँ के हो भने, लेखक बन्नका लागि विषय खोजिहिँड्ने लेखक समाज र ऊ स्वयंलाई पनि काम लाग्दैन । विचारले ठेलेर निकालेका व्यक्ति मात्रै दिर्घजीवी लेखक बन्छ जस्तो लाग्छ । जीव–जगतमा अनेकन् दुःखहरू छन् । ती दुःख आफैँमा दुःख होइनन् । हामीले नजानेर ती दुःख रहेका हुन् । त्यस्ता समस्याको हल, समस्याको चिनारी अवगत गराउन नै समाजमा लेखकको जरुरी हुन आउँछ ।