हाल अमेरिकामा बसोबास गरिरहेकी कवि मनु लोहोरुङ राई प्रवासमा बसेर लेख्ने मध्ये राम्रो कविमा पर्नुहुन्छ । आफ्नो कवितामा सधै अन्याय र बेथितिको बिरोधमा प्रतिकार गरिहनु उहाँको कविताको बिशेषता नै हो । सधैँ सकारात्मक परिवर्तनको निम्ति आवाज उठाइरहने यी कविताहरु शान्ति , सदभाव , प्रेम र परिवर्तनको निम्ति एक ससक्त आवाजहरु हुन प्रस्तुत छ साताको तीन कविता ।
भ्रमित सपना
अहा ! कस्तो शान्त !
मेरो देश-
अचेल संगीन र वारुदहरु सुतेका छन
र आवाजहरु निदाएका छन
म पनि निन्द्रामा परेछु
र दन्त्यकथा सुनी रहेको रहेछु
साँच्चै ! सपना हो या त्यो विपना
मैले टेकेको पृथ्वीमा पनि युद्धहरु सुतेछन
गुलाफका पत्रहरुमा फक्रिन बाँकी
थुप्रै प्रेमिल कैदीहरु देखी रहेछु
यो पनि देख्दैछु………
कोही उठी सकेका कोही उठन लागेका
यहीं कतै चेतनाका देवताहरु….
सपनाको शान्ति यात्रामा हिडदै गर्दा
एउटा अर्को मोर्चा जन्मिएको देख्दो रहेछु
नयाँ युगका नयाँ नयाँ शकुनीहरु
त्रिपासा खेल्नेहरुको बगुन्द्रो भींड
अप्रत्यक्ष युद्ध मैदानमा बिना संगीन
मान्छेको छाती घोची रहने-एउटा मोर्चा
अहो, कस्तो शान्त !
ठूला ठूला शहरका गल्लीहरुमा
स्वतन्त्र टेकेर ‘गणतन्त्र’
सुटुक्क म ‘डन’ हुँ भन्छ
आफ्नो चिनारीले नै ऊ – चक्रपथ घुम्छ
उसको अप्रत्यक्ष हातले
पृथ्वी देखि चन्द्रमा सम्म एउटा अलौकिक
आकाशे पुल टाँगी दिएको छ
हो, त्यही अलौकिक मार्ग हुँदै
धरतीमाथि असिमित आयतनमा
मार्चपास देखाई चलखेल गरी रहेछ ‘मोर्चा’
निदाई रहँदा मैले सोच्दो रहेछु
उतिबेलाका सार्क र व्हेलहरु
युगिन क्लोन भएर अहिले ‘डन’ भएछन
आसन्न स्निग्ध ताराहरु बिलाउछन
यतै कतै आँगनमा,
बिना चोट फूलहरु खस्दै छन हाँगाहरुबाट
युद्धको शंख फुक्नेले नै
यहाँ मन्दिरमा फूलहरु चढाएको देख्छु
त्यसैले पो
अहा ! कस्तो शान्त मेरो देश !
ईश्वरको मुस्कान
खोइ कहिले ?
यो देशमा ईश्वर हाँस्छ
थाहा छैन,
बरू बहुलाई रहन्छ
समय समयमा
महिना र बर्ष मिलाएर
मानिसहरू पर्खी रहेछन
यहाँ आदिम पीडा बोकेर
ईश्वरको मुस्कान हेर्न
सदियौँ देखि पुछी रहेछन
आफ्नै आँखामा पीरको आँशु !!!
छापामार शैलीमा आउने
सुदूर सम्झना
अनि एक्कासी त्यति लामो दुरी छिचोलेर
आँखै अगाडीको आफ्नै जवानीको प्रतिविम्ब
यो दिमागी खोपीमा आलो स्पर्श
दौडेर समय कहाँ पुगी सक्यो
त्यो वर्तमान ‘अतित’ बनेर आई रहन्छ
जोवन र जीवनीको सम्मिश्रण ईण्द्रेणी
कहाँ खोजेर भेटुँ
अब त्यो बेलाको उन्मुक्त वैँश
कहाँ गएर सुन्न सकुँ
मुन्धुममा सुसेलेको पीरतीको धुन
अब कहिले सुन्न पाउँ
किंवदन्तीमा सुनेको
खाक्चुलुक्पाको मायालु कथा
सन्नाटामा मनको आवाज बाहेक
अरू सुन्न सकिदैन यहाँ
किन कि
मान्छे त अचेल मेसिन भइ सक्यो।