अनिल श्रेष्ठ नेपाली कविताको क्षेत्रमा एउटा शालिन नाम हो । उनका कविताहरुमा प्रकृतिको सुन्दरतालाई नजिकबाट महसुस गर्न सकिन्छ । मान्छेको मनोदशालाई नजिकबाट बुझ्न पाइन्छ र प्रेमको निम्ति समग्र मानव समाजलाई एक कविको नाताले शान्तिपुर्ण समाज निर्माणको आव्हान गरेको छ । प्रस्तुत छ साताको तीन कविता ।
गुमनाम हुँदै गइरहेको एउटा नाम
जसरी चराहरु
आकाशमा उडेका छन निर्विघ्न
चराहरु झैं म आकाशमा
उडन सक्दिनँ
यो जाडोमा
घामको पाहार ताप्न
म उभिएको छु आफ्नो घरको
आँगनको डिलमा
र, हेरिरहेको छु चराहरुको
निर्विघ्न उडान
यसै समय
मेरो टोलको जग्गा दलाल
टुप्लुक्क देखा पर्छ मेरो अघिल्तिर
र ऊ मलाई भन्छ –
‘यो घाम छोड
यो आँगनको डिल छोड’
र, ऊ मलाई
एक्कासि देखाउँछ
वर्षौदेखि मेरो नाममा रहेको
यो घरको लालपुर्जामा
अरुको नाम
म आश्चर्य
र किंकर्तव्यविमुढ छु
परबाट
मलाई हेरेर
मेरो छिमेकी मुस्कुराइरहेको छ ।
गुलुबको उज्यालो
‘टवाङ’
बजेको छ
खेल सुरु हुनुअघिको
सूचनाको पहिलो घण्टी
न्यायालयको
मूख्य प्रवेश स्थानमा
घरि निभ्दै
र बल्दै गरेको
रातो र पहेँलो गुलुबको उज्यालो
फैलिरहेको छ माइतीघर मण्डलासम्म
र, नागरिकका
त्रस्त र मलिन्य आँखाहरु
नियालिरहेका छन न्यायालयको
मूलढोकाबाट आइरहेको
गुलुबको उज्यालो
गुलुबको उज्यालोमा
खस्दै गइरहेको छ सिंहदरबारको साँझ
र, बार एसोसिएसनको सडकहरुमा
निस्फिक्रीसँग खेलिरहेका छन
चमेराहरु
‘टवाङ’
बजेको छ
खेल सुरु हुनुअघिको
सूचनाको अर्को दोस्रो घण्टी
अब केही छिन मै
एउटा रोमाञ्चकारी मल्ल युद्ध हुँदैछ
न्यायालयको मैदानमा
र, निकै उत्साहपूर्वक
खेल मैदानमा प्रवेश गर्नेछन
सहभागीहरु
आउनुस,
माइतीघर मण्डलामा उभिएर
यो गुलुबको उज्यालोमा
तपाई र म पनि
एउटा बेटिङ लगाऊँ
अब यो युद्धलाई
निः शुल्क होइन
सशुल्क गरौं
र, हर्षोल्लासपूर्वक
हामी यो रातको मनोरञ्जन लिऊँ ।
एउटा अप्रिय साँझ
कसले मुर्छा पर्ने गरी
काउकुती लगाउँदै छ यो देशको
संसदमा ?
बाहिर सडकसम्म
हाँसोको एकोहोरो फोहोरा
आइरहेको छ
संसदघरबाट
र, संसद परिसरका
रुखहरुबाट
एक्कासि तर्सिएका चराहरु
आफ्नो बासस्थान छाडेर
उडिरहेका छन
नयाँ बानेश्वरको
आकाशमा
साँझमा
घरभित्र उठिरहेको लयहीन अट्टहास
र, चराहरुले बासस्थान छाडेर
हिँडेको समय
दुवै अप्रिय हुन्छन
गाउँमा बुज्रुकहरु भन्छन ।