विषय परिचय
किरात राई जातिको सांस्कृतिक आधार मुन्दुम हो । मुन्दुम किरातीको जीवन भोगाइको सार हो भने मुन्दुममा आधारित वा मुन्दुमद्वारा निःसृत परम्परागत जीवनशैली नै किरातीहरुको मौलिक संस्कृति हो । मौखिक एवम श्रुतिपरम्परामा एक मुखबाट अर्को मुख, एक समाजबाट अर्को समाज र एक पुस्ताबाट अर्को पुस्तासम्म हस्तान्तरण हुँदै आएको मुन्दुमभित्र किरातीहरुको इतिहास, भूगोल, कला, साहित्य, दर्शन, चिन्तन तथा सामाजिक मूल्य र मान्यताहरु प्रतिबिम्बित भएका हुन्छन् । त्यसैले मुन्दुमभित्र किरातीहरुको आस्था र विश्वास प्रगाढ रुपमा रहेको हुन्छ । मुन्दुमभित्र किरातीहरुको समग्र जीवन भोगाइका अतिरिक्त जीवन र जगतसम्बन्धीका विश्वास, मूल्य र मान्यताहरुसमेत मुखरित भएका हुन्छन् । प्रस्तुत आलखेमा मुन्दुमले उठाएका वा मुन्दुमभित्र समेटिएका सृष्टि चिन्तनबारे अनुशीलन गरिएको छ । यो संसारको सृष्टिसम्बन्धी मुन्दुमी धारणा के छ ? वा यो चराचर जगतको सृष्टिका विषयमा मुन्दुमले के कस्तो विवचेना गरेको छ । यही विषयमा प्रस्तुत आलेख केन्द्रित छ ।
मुन्दुम के हो ?
मुन्दुम किरातीहरुको मौखिक ज्ञान भण्डार हो । मुन्दुमलाई किन मौखिक ज्ञान भण्डार भनियो भने मुन्दुम मूलतः हालसम्म मौखिक तथा श्रुतिपरम्पराबाटै पुस्ताहस्तान्तरण हुँदै आएको मौखिक वाङ्मय हो । मुन्दुमलाई किन वाङ्मय भनियो भने मुन्दुमभित्र किरातीहरुको भाषा, साहित्य, इतिहास, भूगोल, दर्शन, चिन्तन, गीत–संगीत, धर्म–संस्कृति आदि समग्रताको वर्णन हुने भएकोले मुन्दुम किरातीहरुको मौखिक वाङ्मय हो ।
मुन्दुम मौखिक परम्पराबाट एक पुस्ताबाट अर्को पुस्तासम्म हस्तान्तरण हुँदै आएको किराती जातिको परिचयको आधार पनि हो । मुन्दुमको आफ्नै प्रकारको मौलिक विशेषता देखिन्छ । यसको प्रमुख विशेषताहरुमा मौखिक तथा गेयात्मक, धार्मिकता, प्राचीनता, भाषिक विविधता, आख्यान विविधता, सीमितता, हस्तान्तरणीय, ऐतिहासिकता, परिवर्तनशीलता आदि रहेका छन ।
मुन्दुम किराती पुर्खाहरुले बाँच्ने क्रममा सिकेका, भोगेका र बुझेको ज्ञानको भण्डार पनि हो । तर यो ज्ञान जो सुकैसँग भने हुँदैन । मुन्दुमी ज्ञान सीमित व्यक्तिहरु विशेषतः किराती जातिको सांस्कृतिक गुरुहरु जसलाई नाक्छोङ, माङपा, कुबी, फेदाङवा आदि भनिन्छ। ती सीमित व्यक्ति तथा अन्य प्रतिभावान व्यक्तिहरु गायक, कलाकार, कथाकार आदि निश्चित व्यक्तिहरुमा मात्र मुन्दुमी ज्ञान पाउन सकिन्छ ।
प्राचीन किराती पुर्खाहरुले जीविकोपार्जन गर्ने क्रममा के गर्नु हुने, के गर्न नहुने, के खान हुने, के खान नहुने, कुन कुन काम कहिले गर्ने, किन गर्ने, कसरी गर्न, कहाँ गर्ने, कोद्वारा गर्ने ? आदि समग्र ज्ञान मुन्दुममा प्राप्त गर्न सकिन्छ । यसका अतिरिक्त मुन्दुमभित्र माटोको उत्पत्ति, ढुङ्गाको उत्पत्ति पानीको उत्पत्ति, जीवजन्तुको उत्पत्ति वा समग्र जीवन र जगतको उत्पत्तिसम्बन्धीका दार्शनिक दृष्टिकोणहरु समेत प्राप्त गर्न सकिन्छ । यो संसारको उत्पत्ति कहिले भयो ? कसरी भयो ? कोद्वारा भयो कि आफैं भयो ?आदि विषयमा अर्थात यो जगतको सृष्टिसम्बन्धी विवरणसमेत मुन्दुमभित्र पाउन सकिन्छ ।

बिरुपाक्षको किरातकालिन मुर्ति जो पशुपति आर्यघाट नजिक छ जसलाई किरातेश्वर महादेव पनि भनिन्छ ।

सृष्टि के हो ?
सृष्टि के हो ? भन्ने सन्दर्भमा विभिन्न समयमा अनेकौं प्रकारका विाचार, बहसहरु हुँदै आएको पाइन्छ । सृष्टिसम्बन्धी जे–जस्तो विचारहरु देखिँदै आए तापनि वस्तुतः सृष्टि भनेको उत्पत्ति हुनु हो । अझ सरल भाषामा भन्ने हो भने सृष्टि भनेको रचना हुने कार्य, सिर्जना हुने कार्य, पैदा हुने कार्य वा निर्माण हुने कार्य हो । सृष्टिसम्बन्धी प्रज्ञा दर्शन कोश (२०७०ः३१८) मा बनाउने वा पैदा गर्ने काम, रचना एवम सिर्जना । संसारको रचना, विश्वको उत्पत्ति वा सम्पूर्ण भौतिक जगत चराचर विश्व ब्रह्माण्ड जगतको आविर्भाव अर्था संसारको उत्पत्तिलाई नै सृष्टि भनिएको छ ।
संसारमा विभिन्न समयमा सिर्जना भएका विभिन्न धार्मिक ग्रन्थहरुले वा मौखिक चिन्तनहरुमा सृष्टिसम्बन्धीका विचारहरु पाइन्छन । सृष्टि अर्थात उत्पत्तिसम्बन्धीका विचारहरु, चिन्तन र दर्शनहरु उल्लेख भएको पाइन्छ । खास गरेर पञ्चतत्वको उत्पत्ति कसरी भयो, पशुपंक्षीको उत्पत्ति कसरी भयो, यो समग्र प्रकृतिको उत्पत्ति कसरी भयो, सम्पूर्ण भूगोल (पृथ्वी) र खगोल (आकास) को उत्पत्ति कसरी भयो अथवा यो चराचर जगत, विश्वब्रह्माण्डको उत्पत्ति वा सृष्टि कसरी भयो भन्ने विषयमा विभिन्न धर्म, ग्रन्थहरुमा धर्म सम्प्रदायहरुमा भिन्न भिन्न प्रकारका विचारहरु व्यक्त भएको पाइन्छ ।
यसरी नै किरात साम्पाङ मुन्दुमबारे डा. भक्त राईको (पूर्वीय दर्शन, २०७४ : ९२) का अनुसार पूर्वीय दर्शनहरूमध्ये वेदान्तले तत्व मीमांसा सम्बन्धी के धारणा व्यक्त गरेका छन भने ब्रह्म नै सम्पूर्ण सृष्टिको आधार हो । बृहदारण्यक उपनिषदले पूर्ण ब्रह्मबाटै पूर्ण जगतको निर्माण भएको हो भनी बताएको पाइन्छ । यसै भनाइमा सहमति जनाउँदै मुण्डकोपनिषदमा के भनिएको छ भने – जसरी माकुराले आफैबाट आफ्नो जालो निकाल्दछ, जसरी शरीरबाट रौंहरू उम्रन्छ त्यसरी नै ब्रह्मबाटै सम्पूर्ण वस्तुहरू प्रादुर्भाव हुन्छन र ब्रह्ममै विलाउँदछन । यसरी नै सांख्य दर्शनको तत्व मीमांसीय दृष्टिकोण मूल भौतिक तत्व प्रकृति हो भन्ने देखिन्छ । सांख्य अनुसार संसारको प्रत्येक वस्तु सत्व, तम र रज गुण मिलेर बनेको हुन्छ । सांख्य अनुसार सृष्टिको मूल कारण प्रकृति र प्रकृतिबाटै सम्पूर्ण जगतको उत्पत्ति हुन्छ । सांख्य अनुसार तीन गुण सत्व, तम र रजको साम्यवस्था नै प्रकृति हो र जब यिनीहरू बीच सन्तुलन भङ्ग हुन्छ तब प्रकृतिमा विचलन भई सिर्जनाको प्रक्रिया शुरु हुन्छ ।

फेदाङ्गमा

यसरी नै वैशेषिक दर्शनको मूलभूत उद्देश्य नै पदार्थ निरूपण र परमाणुवादको स्थापना हो । ‘पदार्थ’ को अर्थ नामको आधारमा जान्न सकिने वस्तुहरू भन्ने हो । वास्तवमा वैशेषिक दर्शनको विकास पदार्थ विज्ञानको व्याख्या र विश्लेषणको क्रममा भएको हो । त्यसैले आधुनिक परमाणु विज्ञानको सैद्धान्तिक अवधारणा महर्षि कणादले नै प्रस्तुत गरेका छन भन्न सकिन्छ । उनले सम्पूर्ण भौतिक जगतको सृष्टिको आधार परमाणु संरचनाबाट भएको हो भन्ने अवधारणा प्रस्तुत गरेका छन । यसै गरी चार्वाक दर्शनले यो चराचर जगत चारवटा भौतिक तत्वहरू (भूत–चतुष्ट्य) बाट बनेको हो भन्ने ठान्दछ । चारवटा पदार्थहरू पृथ्वी, जल, अग्नि र वायुबाट यो संसारको उत्पत्ति भएको मान्दछ । चार्वाक दर्शनले पदार्थलाई गतिशील ठान्दछ र पृथ्वी, जल, तेल र वायु चार तत्वको स्वाभाविक विभदेकै कारण परस्पर गति पैदा हुन्छ र त्यही गतिकै संयोग वियोगबाट चेतनातत्व पादुर्भाव हुन्छ । यसरी हेर्दा के देखिन्छ भने चार्वाक दर्शनले संसारमा भौतिक तत्व पहिले उत्पत्ति भएको र त्यसबाटै चेतना तत्वको प्रादुर्भाव हुन्छ भनी भौतिकवादी चिन्तनलाई अङ्गीकार गरेको छ । यसै गरी तत्व मीमांसाको हिसावले हेर्दा न्याय दर्शनले यो जगतको निर्माण पृथ्वी, जल, वायु, आकाश र अग्नि अर्थात पञ्च महाभूतबाट भएको ठान्दछ । न्याय दर्शन अनुसार यो संसारको उत्पत्ति पञ्च तत्वहरूबाट भएको र पञ्च तत्व अणुहरूबाट निर्माण भएको हो । अणुहरू अपरिवर्तनशील छन । शरीर पनि पञ्चतत्वबाटै बनेको हो ।
यसरी नै जैन दर्शनले इन्द्रिय, कषाय, पञ्चव्रत, मन, वाणी र शरीर आस्रव तत्वका आधार रूप मान्दछ । यिनै तत्वहरूको सम्मिलनबाटै संसारको निर्माण भएको हो भन्ने विचार जैनीहरूको देखिन्छ । मीमांसा दर्शनले कर्मलाई अतिशय महत्व प्रदान गर्दछ । यसले कर्म नै सृष्टिको आधार मान्दछ । कर्मको मूल आधार द्रव्य अथवा पदार्थलाई मान्ने मीमांसा दर्शनले अविनाशी पदार्थहरूबाट जगत्को उत्पत्ति भएको ठान्दछ । मीमांसा दर्शनले कुनै पनि परिणामको निश्चित कारण ठान्दछ । मीमांसाले हरेक वस्तुमा अन्तर्निहित शक्तिबाट नै कतै न कतै परिणाम वा प्रभाव जन्माउँदछ, त्यसैले यो जगतको सृष्टि ईश्वरबाट नभै पदार्थमा अन्तर्निहित शक्तिको कारण भएको हो भन्ने मान्यता राख्दछ ।
तत्व मीमांसाको हिसावले वौद्ध दर्शन मौन देखिन्छ यद्यपि वौद्ध दर्शनले जुन वस्तुको अस्तित्व छ त्यो अस्तित्व शाश्वत र नित्य हुँदैन । हरेक वस्तुको अस्तित्व चिरस्थायी रहँदैन हरेक क्षण परिवर्तन भइरहेको हुन्छ भन्ने चिन्तन राखेको देखिन्छ । यसरी नै योग दर्शनले सांख्य दर्शनले अङ्गीकार गरेको पच्चीस तत्वलाई स्वीकार्दै थप एउटा तत्व ‘ईश्वर’ लाई थप गरेको छ । त्यसैले तत्व मीमांसाको हिसावले सांख्य दर्शन भन्दा बढी यस दर्शनले बोलेको छैन । वस्तुत योग दर्शन आचार मीमांसीय दर्शन हो ।
यसैगरी न्याय, वैशेषिक,सांख्य दर्शन आदिले प्रमाण मीमांसालाई बढी जोड दिएका छन । किरात राई जातिको मुन्दुमी दर्शनले पनि विशेषतः तत्व मीमांसामा बढी जोड दिएका छन । आचार मीमांसा अन्तर्गत त्यस्तो कुनै कडा नियम वा कठिन जीवन पद्धतिको निर्देशन मुन्दुममा भेटिँदैन । यसरी नै प्रमाण मीमांसाको रूपमा मुन्धुमी ज्ञानयुक्त शब्दहरू नै यस दर्शनको एक मात्र प्रमाण हो । बिजुवा, धामी–झाँक्रीहरूले मौखिक परम्परामा एक पुस्ताबाट अर्को पुस्तासम्म हस्तान्तरण गर्दै आएको बोली वा शब्द प्रमाणलाई मुन्दुमी दर्शनले अङ्गीकार गर्दछ । किराती मुन्दुमले बढी जोड दिएको विषय भनेको तत्व मीमांसा नै हो ।

मुन्दुममा सृष्टि चिन्तन
सृष्टि सम्बन्धी किरात राई जातिभित्र रहेका विभिन्न भाषा भाषि अनुसार केही फरक मिथकहरु पाइन्छन । किरात राई जातिमा प्रचलित विभिन्न भाषाहरुमध्ये केही भाषाहरुमा वर्णित यो संसारको सृष्टिसम्बन्धीका वर्णनहरु निम्नानसार छन : चाम्लिङ मुन्दुम (होसुङ : २०७३) का अनुसार पहिला यो संसारमा पानी पानी थियो अरे । त्यो पानीबाट फिँज आयो । फिँजले दर्शन ढुङ्गो उत्पत्ति भयो । ढुङ्गो चेपमा ठाडो उन्यु उम्रियो । उन्यु बूढो भएपछि पात झरयो । त्यहाँ धमिरा पैदा भएर त्यसले माटोको ढिस्को उत्पत्ति गरायो । ढिस्कोमा निभुच्याउ उम्रियो । निभुच्याउ पनि हुर्केर त्यहाँ खुम्लेकिरा उत्पत्ति भयो । त्यो खुम्लेकिराबाट रिभ्याँमा (सृष्टिको पहिली स्त्री) दिदी (चेली) र (सृष्टिको प्रथम पुरुष भाइ) रिकपा माइती उत्पत्ति भए । यसरी नै किरात साम्पाङ मुन्धुम (?) अनुसार उहिले तायदिनमा भगवानको शक्ति र इच्छाले अचानक पृथ्वीको उत्पत्ति भयो जुनबेला पृथ्वीमा हावापानी जीवजन्तु आदि केही थिएन ।यसरी पृथ्वी उत्पत्ति भएको कैयौँ वर्षपछि मात्र रुमाहाङको उत्पत्ति भयो जो पृथ्वीमा वादलजस्तो उत्पत्ति हुँदै हराउँदै गर्दथे । यसरी वादलको रूपमा देखापर्दै हराउने रुमाहाङ वादलको रूप बढदै गएर आखिरमा पृथ्वी नै ढाक्ने गरी वादल र हावा फैलियो। त्यसपछि धेरै वर्षसम्म ती बादलबाट घनघोर वर्षा भएर सारा पृथ्वीको होचो भाग सबै पानीले जलमग्न भए भने अन्य भाग जमिनमा परिणत भए । यसप्रकार भगवान कै इच्छा र शक्तिले पृथ्वी उत्पत्ति भएपछि यस संसारमा पानी र हावाको सृष्टि गर्ने पहिलो पटक देखापरेका भगवान नै रुमाहाङ थिए । यसपछि उनै भगवान रुमाहाङको इच्छाअनुसार संसारमा सानातिना जीवहरू देखापर्न थाले । यति भएपछि पृथ्वीको उत्पत्ति, पानी, हावा साथै अन्य जीवहरूको प्रथम सृष्टि गरेकैले नै प्रथम सृष्टिकर्ता रुमाहाङलाई पारुहाङको नाम दिइएको हो भन्ने भनाइ छ । यिनै पारुहाङलाई हाल कसैले शिव, महादेव, विष्णु , शङकर आदि विभिन्न नामले पुकार्ने गर्दछन भने किरातहरूले पारुहाङलाई आफ्ना प्रथम आदिम पुर्खा भनी पुज्ने गर्दछन र यिनै पारुहाङको शक्तिले मानव सृष्टि भएको हो भन्ने किरात साम्पाङ राईहरूको विश्वास रही आएको छ ।
किरात बान्तवा राईको मुन्दुम (पृथ्वीराज मुकारुङ अन्तर्वार्ता, २०७३– ०२–०६) का अनुसार सृष्टिको रचना गर्ने अकल्पनीय निराकारलाई पारुहाङ मानिन्छ जसलाई यस्तो रूपको, आकारको र प्रकारको रहेको छ भनेर भन्न सकिन्न । त्यसैले यिनलाई मान्तोक्मा मान्सिका माङ पारुहाङ अर्थात देख्न नसकिने, चिन्न नसकिने बीजको राजा भनिन्छ । सृष्टिको रचनामा महत्वपूर्ण भूमिका खेल्ने आदि बजै निनाम्मालाई लिइन्छ । ‘नि’ को अर्थ अपरिचित वा अज्ञात आकार प्रकारकी ‘नाम्मा’ क्षेत्र वा तारागण वा घामको आमा भवसागर, अन्तरिक्ष र आकाशलाई मानिन्छ । यी दुई महान पुर्खाहरूको संसर्गबाट नै सृष्टि भएको मुन्दुमीहरू बताउँछन । सृष्टिको समयमा सन्नाटा, शान्त र चकमन्न अध्यारोमा अनुमान नै गर्न नसकिने जल्दोबल्दो ज्योतिको पिण्ड देखियो । त्यसको ठिक तलतिर अकल्पनीय विशाल स्त्रीको गुप्ताङ्गको आकारको देखिने पानीको फोका ‘दोलोकुम्मा दो’ प्रकट भयो । ‘दोलोकुम्मा दो’ को अर्थ मुख लुकाउनु पर्ने भन्ने हुन्छ । साँच्चै भन्ने हो भने ‘दोलोकुम्मा दो’ गाउँदा नै चराचर जगतको सृष्टिको कथा (माङपा) विजुवाहरूले (मुन्दुमी) वर्णन गर्छन । त्यो बल्दोजल्दो ज्योतिपिण्ड अन्य केही नभएर पारुहाङको पारुलुङ भन्ने बीज वा वीर्य भन्ने हुन्छ । त्यो पारुलुङ थियो । निनाम्मा वा दोलेकुम्मा दो पानीको फोकामा अतिवेगले खस्दा वा पस्दा अति नै ठूलो आवाज निस्कियो । तातो र चिसोको संसर्गले कुहिरी मण्डल, हावा, हुरी, बतासले लामो कालखण्ड लिँदा विभिन्न पिण्डहरू उछिट्टिन पुगी (साङगेनलुङ) तारागणहरू वा (रुवालुङ) घाम आदिको उत्पत्ति हुन पुग्यो । तिनीहरूबाट पनि स–साना पिण्डहरू उछिट्टिदा हेन्खामा पृथ्वी सहित उपग्रहहरूको पनि उत्पत्ति हुन गयो ।
सृष्टिभन्दा पहिले संसार शून्य थियो । हावा,बादल, चन्द्र, सूर्य, पानी,माटो, आगो, प्रकृति, केही थिएन । जताततै केवल महाशून्य थियो । सर्वप्रथम पञ्चतत्वको उत्पत्ति भयो । त्यसपछि क्रमशः वायु, वायुबाट पानी, बादल, हिउँ, असिनाको उत्पत्ति भयो । वादलको कणबाट ढुङ्गा–माटोको उत्पत्ति भयो । ढुङ्गाको आकार बढदै गयो । त्यसपछि हावा पानी, ढुंगा–माटोयुक्त पृथ्वीको आकार बढन थाल्यो । त्यसै प्रकारले सूर्यको, चन्द्रमाको तथा अन्य लाखौं ग्रह–उपग्रहको उत्पत्ति भयो । उनीहरूको तापबाट शक्ति पैदा भयो र उक्त ताप क्रमशः सेलाउँदै गएपछि र पृथ्वीमा जीवजन्तु तथा बोटविरुवाहरूको उत्पत्ति भयो । यसरी किराती मुन्दुम अनुसार सृष्टिक्रममा पहिले पदार्थ (भौतिक वस्तु) र त्यसपछि मात्र चेतना (अभौतिक वस्तु) को उत्पत्ति भयो भन्ने विश्वास रहेको छ ।
निष्कर्ष
यसरी हेर्दा के देखिन्छ भने किराती दर्शनले यो चराचर जगत प्रकृतिकै उपज हो, प्रकृतिबाटै निर्माण भएको हो अथवा यो सम्पूर्ण जगत नै प्रकृतिको रूप हो, यसको आफ्नै नियम, आफ्नै रूप र स्वरूप छ जो परिवर्तनशील छ भन्ने मान्यतालाई विश्वास गरेको देखिन्छ । किराती दर्शनले कुनै पनि भगवान, ईश्वरलाई स्वीकार नगर्ने केवल पितृ प्रकृतिलाई मात्र स्वीकार गर्ने गरेको छ । प्रकृति भनेको सम्पूर्ण पर्यावरण हो । त्यसैले किराती दर्शनले प्रकृतिलाई नै जीवनको मूल आधार मानेको छ । यो सृष्टिको निर्माता तथा पालनकर्ता प्रकृति नै हो र प्रकृति परिवर्तनशील भएको हुँदा संसारको हरेक वस्तु परिवर्तनशील तथा गतिवान छन । यसको विनाश वा अन्त्य आफ्नै गति र नियम अनुसार हुने कुरामा मुन्दुमी दर्शनले विश्वास गर्दछ । यो संसारका सम्पूर्ण जीवजन्तु कुनै भगवान, ईश्वरले निर्माण गरेको नभई प्रकृतिको काखबाटै यसको उत्पत्ति भएको र प्रकृतिमै विलीन हुने कुरामा मुन्दुमी दर्शनले विश्वास गर्दछ ।

सन्दर्भ ग्रन्थसूची
प्रभात, विष्णु (प्र. सम्पा.), (२०७०), प्रज्ञा दर्शन कोश, काठमाडौं ः नेपाल प्रज्ञा–प्रतिष्ठान ।
प्रभात, विष्णु, (२०७३), प्रज्ञा संस्कृति कोश, काठमाडौं : नेपाल प्रज्ञा–प्रतिष्ठान ।
मुन्दुम (?) किरात साम्पाङ राई, काठमाडौँ : किरात साम्पाङ राई,जुम्लेखा नेपाल
मुन्धुम होसुङ (२०७३), काठमाडौं, किरात राई चाम्लिङ खाम्बातिम ।
राई, भक्त (२०७४), पूर्वीय दर्शन, काठमाडौँ : नेपाल प्राज्ञिक अनुसन्धान केन्द्र ।
सांकृत्यायन, राहुल (सन् २०१६), दर्शन, दिग्दर्शन, इलाहावाद : किताब महल ।

तपाईको प्रतिक्रिया