नेपाली साहित्यमा दुई दशक भन्दा लामो समयदेखि युद्व लेखकको रुपमा स्थापित साहित्यकारको नाम हो काङमाङ नरेश राई । उहाँले उठाएको बिषयबस्तु र आलोचनात्मक चेतको कारण सधैं साहित्यीक सर्कलहरुमा चर्चामा रहिरहनुहुन्छ । यस अघि आख्यान , सट वायाेडाटा लगायत विभिन्न बिधाको आठ कृति प्रकाशित छ भने भर्खरैमात्र राईको ” तेप्लायु ” कविताकृति बजारमा आएको छ । यो कृतिमा समेटिएको कविताहरुले विशेष युद्व अघि र युद्व पछिका गोर्खा आन्दोलन र असमानताहरुलाई समेटेका छन । सन २००९ मा गणेश राई, अब्जसे कान्छा र नरेश काङमाङ राई मिलेर नेपाली साहित्यमा युद्व साहित्य भन्ने सिद्धान्त लिएर आएका थिए । जसले नेपाली साहित्यको केन्द्रमा तरङ्ग उत्पन्न गरेको थियोे । त्यस्तै सन २०१५ सालमा स्थापना गरिएको चार लाख राशीको पहिचान पुरस्कार स्थापनाको निम्ति संस्थापक मध्ये एक हुनुहुन्छ । प्रस्तुत छ नेपाली साहित्य र पहिचानको बिषयमा केन्द्रीत रहेर गरिएको कुराकानी ।


. पहिचान पुरस्कारकाे कार्यक्रम  यसपल्ट काठमाडौंमा  नगरी जिल्लामै गर्ने  विचार गर्नुको  मुख्य उदेश्य के हो ?

– हामी अझै सांस्कृतिक रुपमा पहिचान प्राप्ति आन्दोलनमा छौं । गाउँ गाउँमा केन्द्र बनाउनु पर्छ भनिरहेका छौं । त्यसैले गाउँहरुमा आफ्नै केन्द्र निर्माण बनाउने प्रयास हो । यसो भएकोले गाउँहरुमा केन्द्र निर्माण गर्ने प्रयास गरौं भनेर भोजपुर जिल्लाको सुन्दर ठाउँ चखियामा यस पल्ट पहिचान पुरस्कार वितरण गरिएको हो ।



. पहिचान पुरस्कार स्थापना गर्नुपर्ने कारण नै किन आयो, यसकाे स्थापना हुन संभव कसरी भयाे र नेपालमा बाँडिने पुरस्कारहरूभन्दा याे  के कसरी फरक रहेकाे छ ?

– यो पुरस्कार सहकारी जस्तो तरिकाले स्थापना गरिएको हो । यस पुरस्कार निर्माण गर्न धेरै व्यक्ति व्यक्तित्वहरु अक्षयकोष दाता बन्नु भएको छ । नेपालको अन्य पुरस्कार भन्दा धेरै फरक छ । यो पुरस्कार व्यक्तिको नाममा स्थापना गरिएको होइन  । पहिचान प्राप्ति आन्दोलनलाई लेखनको माध्यमबाट  मद्दत गर्न स्थापना गरिएको हो । यो पुरस्कारले सबै समुदायको   पहिचानलाई सम्मान कसरी गर्नु पर्छ भनेर देखाउने प्रयास गर्दछ र अरुको पहिचानलाई सम्मान गर्दै आफ्नो पहिचानलाई पनि स्विकार गर भन्ने आग्रह  गर्दछ । 

. पुरस्कारकाे लागि छनाैट कसरी गर्नुहुन्छ अर्थात यसकाे प्रक्रिया के हाे ? पुरस्कार वितरण बाहेक अरू उद्देश्य के के छन ?

– प्रत्येक वर्ष क्रायटएरिया पुरस्कार कोषले बनाउँछ । पहिचान पुरस्कार कोषमा दर्ता भएका पुस्तकहरुलाई ३-५ सदस्य रहेको एउटा बोर्डले अध्ययन गर्छ । त्यही बोर्डले उत्कृष्ट ५ छनौट गर्छ र उक्त छनौट भएको पुस्तकहरु मध्येबाट निर्णायक मण्डलले एउटा  छनौट गर्दछ । कुनै बिशेष अवस्थामा दुइटालाई पनि छनौट गरिदै आइएको छ । 

. पुरस्कृत या सम्मानित लेखकहरूप्रति कत्तिकाे सन्तुष्ट हुनुहुन्छ ? पुरस्कारबारे सार्वजनिक प्रतिक्रिया कस्ताे पाइरहनु भएकाे छ ?

– लेखकको पुस्तकलाई पुरस्कार दिने भएकोले सन्तुष्टि   र असन्तुष्टिको बिषयलाई  संस्थाले गहन रुपमा लिदैन र संकुचित  रुपमा पनि हेर्दैन ।

.पहिचानकाे मुद्दा  आफैंमा एक राजनीतिक सवाल पनि हाे । तपाईंलाई के लाग्छ ? पुरस्कारकाे पनि राजनीति हुन्छ हाेला नि ?

–  आन्दोलनको कारण नै संसारमा आमुल परिवर्तनहरु भएका छन । राजनैतीक पार्टीले मात्र आन्दोन गर्दैनन । पहिचान प्राप्ती आन्दोलनमा सांस्कृतिककर्मी, बुद्धिजीवी , नागरिक समाज लागयत सबैले गरेका छन । तर पनि कलाको सबैभन्दा उत्कृष्ट कला राजनीति  नै हो  । 

. अनि तपाईं  आफैं लेखक हुनुहुन्छ । एक लेखकीय दुष्टिकोणबाट हेर्दा नेपाली साहित्यको केन्द्रमा रहेका विषयवस्तुहरूमा पहिचानकाे सवाल कसरी आइरहेको पाउनुभएकाे छ ?

– हामीले मोनार्कीइजम अन्त्य गर्न चाहेका हौं । सत्तामा मात्र मोनार्कीजम नहुँदो रहेछ । व्यक्तिको चरित्रमा हुँदो रहेछ ।  लेखकहरुमा पनि हुँदो रहेछ । लेखनमा चाँही पहिचानको सवाल राम्ररी नै उठीरहेको छ । २०६० देखि यता पहिचान पक्षधर लेखकहरुले राम्ररी नै सत्तालाई हल्लाई रहेको छ । 

. लामो समयदेखि तपाईं  युद्व साहित्यसँग नजिक हुनुहुन्छ । नेपाली साहित्यमा युद्व साहित्य लेख्न किन जरूरी छ र याे क्षेत्रकाे साहित्य लेखनले पहिचानकाे मुद्दालाई कसरी लिइरहेकाे छ ?

– युद्ध  विध्वंस मात्र होईन  निर्माण पनि हो । त्यसैले युद्ध  साहित्य लेख्दै आएका हौं । सारांसमा युद्ध  साहित्य पहिचान खोजिको आन्दोन हो । किन भन्ने प्रश्न आउँछ । म जस्तो अनुहारहरुले पहिलो विश्व युद्ध  हुँदै अहिले सम्म ६० हजारले अर्काको देशमा बलिदान दिए । तिनै बलिदान दिनेहरुको नयाँ पुस्ता खै ? हामी हाम्रो पुस्ता खिजिरहेका छौं । 

. तपाईं  पेसाले बिट्रिश आर्मी । भुतपूर्व बिट्रिश सेनाहरूमाथि भएको र भइरहेकाे अन्याय या विभेद के कस्ता छन ? नेपाल सरकार यस विषयमा कसरी उभिन जरुरी छ ?  यो पटक दुई देशबीच सकारात्मक रूपमा वार्ता टुङ्गेला त ?

– बिभेदको बिषयमा यहाँ बोलेर सकिन्न । मत बेचिएको एक लाहुरे प्रतिनिधि पात्र हुँ ।  म जस्तोलाई वेलायतले भर्ती गरेवापत मेरो देश नेपाललाई रोयल्टी दिँदो रहेछ । मेरो देश रोयल्टी थाप्दो रैछ । बिभेद यहीँबाट  शुरुवात  भएको छ । 

. गाेर्खा भर्तीबारे लेखिएका इतिहास कस्ताे पाउनुहुन्छ ? के राज्यकाे दमन र शाेषणकाे काेणबाट अथवा सेना या पीडित परिवारकाे काेणबाट यस्ताे इतिहास लेखिएकाे छ त ? याे भर्तीबारे हाम्रा सम्बन्धित समुदायहरूकाे चेतना र धारणामा कत्तिकाे विद्राेहात्मक परिवर्तन पाउनु भएकाे छ ?

– लाहुरेहरुको बिषयमा धेरैले अतिरन्जित बनाएर लेखेका छन । हामीलाई बस्तुको रूपमा उभ्याएका छन ।  स्लोगनहरुमा मुर्ख बनाएका छन । हामी कसैको लागि राक्षस जस्तो भयौं होला कसैको लागि भगवान जस्तो भयौं होला ।

हामी आफैले आफ्नो बारे लेख्न थालेको एक दशक  जती मात्र हुँदैछ । बिद्रोहात्मक शब्दावलीले र सोचाइले त कही पुर्‍याउँछ भन्ने लाग्दैन । 

. नेपालमा पहिचानकाे आन्दाेलन सेलाएकाे जस्ताे लाग्दैन ? यसकाे विचार र कार्यदिशा कस्ताे हुनुपर्थ्याे भन्ने लाग्छ ? एक भुतपूर्व सेनाकाे आँखाले कसरी हेरिरहनु भएकाे छ ?

– पहिचानको आन्दोन सेलाएको भन्दा पनि रक्षात्मक भएको होला । तर वर्तमान अवस्थामा पहिचान पक्षधरहरुबाट सबै भन्दा असुरक्षित छ पहिचानको आन्दोलन ।  मेरो अध्ययनले भनिरहेको छ । 

. तपाईंको नयाँ कविता कृतिका धेरैजसो कविताहरूले मौलिकतासाथ रैथाने सुगन्ध  बाेक्नुकाे कारण ? अनि, अबकाे नयाँ सिर्जनाकाे तयारी केमा छ ?

– मैले  बाँचेको जीवन त्यही भएर होला मेरो कविताहरुमा मौलिकता  र रैथाने सुगन्ध आएको ।  भखरै कविता संग्रह “तेप्लायु” आएको छ । अर्को कृतिको बिषयमा  सोचेको  छुइन ।

तपाईको प्रतिक्रिया