झोराहाट नाट्य समूह मोरङले झोराहट साहित्य शिर्षकमा प्रत्येक महिनाको दोस्रो शनिबार साहित्यिक कार्यक्रम गर्दै आइरहेको छ। महामारीको कारण स्थगन भएको मासिक साहित्यिक गतिविधिलाई पुन सुचारु गर्ने योजना अनुरुप यो कार्यक्रमको थालनी भएको जानकारी अध्यक्ष भरत गुरागाइ बर्बरिकले दिएका छ्न। `गाउँमा रंगमञ्च : जीवन र संस्कृति फरक अभ्यास´ नाराका साथ सम्पन्न चैत महिनाको मासिक साहित्यिक शृंखलामा चार जना कविको विशेष प्रस्तुति रहेको थियो ।
चैत १२ गते शनिबार दिनको १ बजे तिर शुरु भएको उक्त साहित्य गोष्ठी मोरङ जिल्ला स्थित झोराहट नाटक घरमा सम्पन्न भएको थियो । कार्यक्रममा चार जना नाम चलेका कविहरु क्रमशः रामबाबु दाहाल , मिना श्रेष्ठ , मीनकुमार नवोदित श्रेष्ठ र विवेक विवश रेग्मीले जनही आफ्ना उम्दा कोटिका चार कविता वाचन गरेका थिए ।
कवि रामबाबु दाहालले वाचन गरेका चार कविताका शिर्षक हुन १) ‘म आल्हादित छु’ २)‘स्वप्निल मन’ ३) ‘मौनताको आधार शिविरबाट’ र ४) ‘ए कविज्यू के हो कविता ?’ ।
कवि मीना श्रेष्ठद्वारा वाचन गरिएका कविताका शिर्षक थिए १) ‘भत्किएको सम्बन्ध’ २) ‘आइमाई बस्ने घर’, ३)‘सपना र जीवन’ ४) ‘फरगेट एस्टर्डे’ ।
मिना श्रेष्ठको एउटा वाचित कविता
“आइमाई बस्ने घर “
-मीना श्रेष्ठ
युगौंदेखि
आमाहरुको घर थिएन
हजुर आमालाई सानैमा
उफ्रिने,प्याउलिने कलिलैमा
हजुर बासंग जोडी बाँधिदिए रे
डोलिमा राखेर घर पठाए रे,
हजुर आमा सधैं नै
हजुर बाको घरमा बस्नुभो
हजुर बाको घर रेखदेख गर्नुभो
सदियौं देखि
हजारौं हजुर आमाहरु
बाजेहरुका घर रुङेर
बाजेहरुका सन्तान स्याहारेर
मृत्युसंग अङ्गालो मारे ,
लोग्ने मान्छेले,जता गए
जे गरे , जे बोले
टाउको कपाल केही नदुखाउने संस्कार
छेकबार,तगारो नलाउने चलन
चलिरह्यो , बाँचिरह्यो
खुट्टाका औंला जस्तो हुन
खुट्टाका पाइताला जस्तो होस
खराउखुट्टे या भुइ खुट्टे
खुट्टाका आकार प्रकार
कहिल्यै हेरिएनन
खुट्टाका जुत्ताहरु फेरीरहे
अनि ,निर्धक्कसंग
वाक्यहरु निस्किरहे
खुट्टा भए जुत्ता कति कति
जुत्ता र आइमाईको घर
तौलिरहन्थें म,
केलाइ रहन्थें म ,
यहि शब्दको अर्थलाई
सुन्थें, मेरी आमालाइ
काकाले भनेको
फलानाको छोरीले
फलानाको छोरीलाई
हो, मेरी आमाको घर थिएन
बुबाको घर कहिलै उनको भएन
त्यो घर काकाको थियो
त्यो घर बडाबाउको थियो
मेरी आमा जहिल्यै
बाहरुको घरमा बसीन
भोगाइहरुको पिडाको
ढाकर बिसाउन
मनको ब्यथा बिसाउन
माइत पुग्दा
अझै दुख्थिन
त्यो घर केवल
उनको भाइको थियो
माइतीघरका भित्ताहरु
भाइका सन्तानहरुका थिए
थिएन उनको अस्तित्व
थिएन उनको आफ्नोपन
आखाको डिलै डिल आँसु झार्दै
भक्कानोको हिक्का संगै
मरीसकेकी आमालाई सोध्थिन ।
आमा ! तिमी त पर… छौ ।
त्यहींबाट भनिदेउन आमा ।।
आमा ! आइमाईको घर कुन हो ?
आमा ! आइमाई काँ बस्नु?
आमा !! खोइ आइमाईको घर ??
मेरी आमाको हिक्कासंगै
आमाको भक्कानोको प्रश्नसंगै
म अर्कि आइमाई
मेरी आमाले जन्माएकी आइमाई
आमालाई उत्तर दिदै छु
म आफ्नै घर खोज्दै छु
आइमाईको पहिचान भएको
लोग्नेको दासत्व नभएको
पितृसत्तात्मक जातो नभएको घर
जहाँ आइमाई पुर्ण बाँचोस
जहाँ आइमाई खुलेर हाँसोस
आमा !! म बनाउदैछु ।
हजारौं आइमाई बस्ने घर ।
पटकपटक घनले बजारे पनि
नभत्किने बलियो चट्टानी घर
नियतिका बज्रपातले छिट्याए पनि
पिडाका बाछिटा नछिर्ने घर
मलाई गलत नसोच आमा !!
म आइमाई बस्ने घर बनाउदैछु
म आइमाईको मन अडने घर बनाउदैछु आमा !!
कवि मीनकुमार नवोदित श्रेष्ठले वाचन गरेको कविता थिए १) ‘गाउँ सम्झेर गाउँ’, २) ‘विस्मृति’, ३) ‘बाको झोला’ ४) ‘छुटी जानेहरु’
गाउँ सम्झेर गाउँ
–मीनकुमार नवोदित श्रेष्ठ
जुन दिन अँध्याराको भीरबाट
हामफालेर आत्महत्या गरयो घामले
त्यही दिनदेखि उज्यालो हरायो गाउँबाट ।
बेपत्ता भयो मुस्कान
खुसी खोज्न गएको बतास
फर्किएन कहिल्यै
बरु मृत्युलाई काँधमा बोकेर
फर्कियो आँधी ।
त्यसपछि गाउँको–
हातखुट्टा भाँचियो
एकाएक हरायो आँखाबाट ज्योति
क्षणभरमै बगायो दुःखको पहिरोले
जिन्दगीको भित्तामा झुन्ड्याएका
अनेकन सपना ।
यति बेला अनिकालको कुहिराले
ढाकेको छ गाउँको अनुहार
अभावको झोला बोकेर
हाट जान्छ र थोरै बेसाहा
लिएर घर फर्किन्छ गाउँ ।
अचेल गाउँमा
पाटीपौवा, चौतारो र धारो बन्दैनन
नौमती र पञ्चेबाजा बज्दैनन
रोदी, सोरठी गाइँदैन
मकैभटमास र मोही खाइँदैन
धाननाच र चण्डी नाँचिदैन ।
अपहरणमा परेको छ–
आफ्नै पहिचान
अनि, धर्म र संस्कृति
अझ गाउँबाट गाउँ नै हराएको छ ।
हेर्दाहेर्दै चौतारी र पँधेराहरू भए बेपत्ता
हिंडदाहिंडदै हरायो गन्तव्य
गाउँदागाउँदै बन्द भयो जीवनको गीत
लेख्दालेख्दै मेटिगयो आँसुको कथा ।
डढेलो लागेपछिको जंगललाई
चराहरूले छाडेर गएझैं
सबैले छाडेर गएपछि
दलिनमा सिहुरिएर लालपुर्जा
सहर पसेको छ गाउँ ।
सहर पसेको वर्ष दिन नबित्दै
बढेको छ एक्कासि प्रेसर र सुगर
के–के न पाइन्छ भनेर
सहर छिरेको गाउँ
यति बेला बाल्यकालका दौँतरी सम्झँदै
सहरभन्दा अलि पर…..
वृद्धाश्रममा छटपटाइरहेको छ एक्लै !
कवि विवेक विवश रेग्मीले वाचन गरेका चार कविताका शिर्षक हुन १) ‘जुत्ता’ २) ‘दुधिलोको रुख’ ३)‘चस्मा’ ४) ‘केटाकेटीहरु’ ।
दूधिलोको रुख
– विवेक विवश रेग्मी
मेरो ठूलदाई दूधिलो खुब मन पराउनुहुन्थ्यो
हरेक दिन
घाँस झार्ने बहानमा
दूधिलोको टुप्पोसम्म पुग्नुहुन्थ्यो
दाई रुखबाट झरेपछि
म दाईको काँधमा चढथेँ
काँधमा चढदा
दूधिलोको रुख भन्दा अग्लो हुन्थ्यो मेरो उचाई
दाइलाई हेर्दा
पहाडभन्दा विशाल लाग्थ्यो दाईको छाती
आकाशभन्दा अग्लो लाग्थ्यो दाईको शीर
माटो जस्तै कोमल लाग्थ्यो दाईको पैताला
धरतीजस्तै चौडा थियो दाईको हृदय
एक दिन
दाई परदेश जानुभो
दूधिलोको रुख र म
एक्लाएक्लै भयौँ ।
लामो समयपछि
दूधिलोको रुखमा एउटा काग आएर बस्यो
र, अनौठो तरिकाले करायो ।
शुभ बोल, ठाउँ सरी बस भन्नुहुन्थ्यो – बा ।
बा को भाषा बुझेझैँ
काग उडेर सिमलको हाँगामा बस्यो
अहिले दूधिलोको रुख सुक्दै गएको छ
आज दाई परदेश गएको बर्सौँपछि
हुलाकीले चिट्ठी ल्यायो
जसमा लेखिएको थियो –
“दूधिलोको रुख ढल्यो ।”
सम्मानित सर्जक अन्तर्गत २०७८ मा कृति प्रकाशित गर्ने स्रष्टाहरु परेका थिए । उनीहरुलाई आयोजक संस्थाका अध्यक्ष भरत गुरागाई ‘बर्बरिक’, कवि तथा पत्रकार राजन न्यौपाने, समाजसेवी छत्र काफ्लेलगायतले खादा ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रमका केहि तस्वीर