पृष्ठभूमि-
वस्तुतः संस्कृति भनेको मानिसले जीविकोपार्जन गर्ने क्रममा अवलम्बन गर्ने जीवन शैली हो । सामान्यतः रीतिथिति, परम्परा, भेषभूषा, खानपान, चाडपर्व आस्था, विश्वास, नाचगान आदिलाई मात्र संस्कृतिको रुपमा बुझ्ने गरिन्छ । तर संस्कृति भनेको यति मात्र होइन त्यसैले संस्कृतिलाई संकुचित अर्थमा बुझ्नु राम्रो हुँदैन । कुनै पनि जाति, वर्ग र समुदायले परापूर्व कालदेखि नै अनवरत रुपमा अवलम्बन गर्दै आएको, अङ्गीकार गर्दै आएको समग्र क्रियाकलापको समष्टि रुप नै वास्तवमा संस्कृति हो । संस्कृति दुई प्रकारका छन – मूर्त तथा अमूर्त संस्कृति जसलाई भौतिक तथा अभौतिक पनि भन्न सकिन्छ । मूर्त संस्कृतिभित्र भौतिक वस्तुहरु (देख्न र छुन सकिने) मस्जिद, मन्दिर, गुम्बा, विहार, मठ, चोक, डबली, पाटी, पोखरी, खेलमैदान, साकेला थान, पूजा थान, मण्डप, गल्ली, कोत, आँगन, धारा, हिटी आदि मानव निर्मित वस्तुहरु पर्दछन भने अमूर्त संस्कृतिभित्र अभौतिक वस्तुहरु (देख्न र छुन नसकिने) भाषा, साहित्य, धर्म, दर्शन, विचार, आस्था, मूल्य, मान्यता, सीप, कला, खानपान, नाचगान, हासखेल, जात्रा-उत्सव, गीत–सङ्गीत, माया–प्रिती, रोदन–क्रन्दन, ज्ञान, विवेक, रुची, स्वभाव आदि वस्तुहरु पर्दछन ।

विश्वमा हरेक जाति, वर्ग र समुदायले आ–आफ्नो तरिकाले जीवनयापन गर्ने भएकोले सोही अनुरुपको संस्कृति निर्माण हुने गर्दछ । त्यसैले संसारमा विभिन्न प्रकारको संस्कृतिको जन्म र विकास हुन पुगेको हो । ती संस्कृतिहरुलाई अलग–अलग ढङ्गले चिन्ने र बुझ्ने गरिन्छ । जस्तैः धर्मको आधारमा किराती संस्कृति, बौद्ध संस्कृति, हिन्दू संस्कृति, इस्लाम संस्कृति आदि; यसैगरी जातको आधारमा राई संस्कृति, नेवार संस्कृति, तामाङ संस्कृति, क्षेत्री संस्कृति, बाहुन संस्कृति, थारु संस्कृति आदि; यसरी नै देशअनुसारको, भूगोल अनुसारको जस्तै : नेपाली संस्कृति, भारतीय संस्कृति, जर्मनी संस्कृति, पूर्वीय संस्कृति, पाश्चात्य संस्कृति आदि । यसरी मानिसद्वारा निर्मित संस्कृतिको अनेक रुप र प्रकार हुने गर्दछन । संस्कृति मानिसको पहिचान हो । अन्य पशुपंक्षी, जीवजन्तुहरु भन्दा मानिस पृथक हुनको प्रमुख कारण संस्कृति नै हो । प्रस्तुत आलेखमा संस्कृतिको परिचय, अर्थ तथा परिभाषा, संस्कृतिको निर्माण, संस्कृतिको विशेषता, संस्कृतिको वर्गीकरण तथा नेपालमा अवलम्बन गरिने विभिन्न प्रकारका संस्कृतिहरु मध्ये किरात राई जातिको अमूर्त संस्कृतिको बारेमा चर्चा गरिएको छ ।

संस्कृतिको अर्थ तथा परिभाषा-
‘संस्कृति’ को शाब्दिक अर्थ परिष्कार, परिमार्जन, शुद्ध, व्यवस्थित, सुधारिएको, सुसंस्कृत भन्ने लाग्दछ । अंग्रेजीमा संस्कृतिलाई कल्चर भनिन्छ । यो ल्याटिन भाषाको कोलेरे वा कल्टसबाट आएको हो र यसको अर्थ पनि मानिसको सभ्यता वा परिष्कार भन्ने नै लाग्दछ । तर वर्तमान समयमा र आजको सन्दर्भमा भने संस्कृतिको अर्थ परिष्कार, शुद्ध भन्दा पनि यसलाई सामाजिकताको रुपमा बुझ्नु वाञ्छनीय देखिन्छ ।
संस्कृति मानवद्वारा निर्मित मानिसकै आन्तरिक विश्वास हो । हरेक व्यक्तिमा आफ्नो संस्कृतिको अमिट छाप परेको हुन्छ । जतिसुकै, अवैज्ञानिक, असुन्दर वा अनुपयोगी भए पनि मानिसलाई आफ्नो संस्कृति प्यारो लाग्दछ । त्यसैले संस्कृतिलाई एक्कासी परिवर्तन गर्न वा छाडन मानिसलाई कठिन हुन्छ । त्यसैले संस्कृतिको अर्थ परिष्कार, उन्नत, सुधारिएको, शुद्ध, पवित्र नभई आस्था एवम विश्वासमूलक जीवन पद्धति वा शैलीको अर्थमा बुझिनु उपयुक्त हुन्छ । तर, संस्कृति समय, आवश्यकता र परिस्थितिअनुसार निरन्तर रुपमा परिष्कृत, परिवर्तन भइरहने तत्व हो ।
संस्कृति के हो ? भन्ने सवालमा विभिन्न समयमा विभिन्न लेखक, अनुसन्धाताहरुले आ–आफ्नै ढङ्गले परिभाषित गर्ने गरेको पाइन्छ । ती विभिन्न परिभाषाहरुमध्ये मुख्य केही परिभाषाहरु देहाय अनुसारका छन :
बाबुराम आचार्य (२०५४) का अनुसार देश, समाज वा जातिहरुमा रहेको चालचलन, रीतिरिवाज, भेषभूषा, आमोद–प्रमोद, शिल्प व्यवसाय, धार्मिक मान्यता र भाषा एवम साहित्य आदि मानसिक चिन्तनका उपजको समष्टि नै त्यस देश, समाज वा जातिको संस्कृति हो ।
यसरी नै रेशराज अधिकारी र हरिहर घिमिरे (२०५६) का अनुसार सारांशमा भन्ने हो भने संस्कृति मानवले एक समाजको सदस्यको हैसियतले आर्जन गरेको ती सम्पूर्ण कुराहरुको योग हो, जसमा ज्ञान, विश्वास, मूल्य, मान्यता, भाषा, कानुन, प्रथा आदिको कुराहरुको समावेश भएको हुन्छ ।
संस्कृतिसम्बन्धी नेपाली शब्दसागर (२०५८) मा यस्तो उल्लेख गरिएको छ – कुनै चिजलाई परिमार्जन गरी निस्खोट दिने काम, परिष्कार, संस्कार, कुनै राष्ट्र वा जातिको सर्वाङ्गीण प्रतिबिम्ब देखिने शिल्प–विचार, दर्शन आदि क्रियाकलापको परिष्कृत रुप, अनन्त पूर्वदेखि आचार–विचार, आदिमा विकसित हुँदै आएको समाजको यथार्थ स्वरुप देखिने अभिव्यक्ति आदि समेतको समूह वा साधन, कला–साहित्य–भाषा–धर्म आदि मूल्य परम्पराको समष्टि नाम ।

निनु चापागाई (२०५९) का अनुसार संस्कृति, सामाजिक, आर्थिक संरचनाको प्रतिबिम्ब भएको हुँदा यसको परिधि एकदमै व्यापक छ । मानव जातिले भौतिक र मानसिक श्रमबाट सिर्जना गरेका सबै मूल्यवान वस्तुहरु संस्कृति हुन ।
भरत प्रसाद लामिछाने (२०६३) का अनुसार वैयक्तिक, सामाजिक, आर्थिक, राजनैतिक, धार्मिक व्यवस्था र कलाकौशल, रहनसहन, भाषा, भेषभूषा, उपासना र परम्परागत संस्कार आदि समस्त हलचल नै संस्कृति हो ।
अमर गिरी (२०६७) भन्छन – संस्कृति भन्नाले भौतिक र आत्मिक संस्कृतिको योग भन्ने बुझिन्छ ।
भक्त राई (२०७१) का अनुसार संस्कृति भनेको मानिसले प्राचीन समयदेखि आस्थापूर्वक एवम विश्वासपूर्वक अवलम्बन गर्दै आएको जीवन शैली हो ।
टायलर (Tylor, 1871) का अनुसार संस्कृति त्यो जटिल समग्रता हो, जसमा ज्ञान, विश्वास, कला, नैतिकता, कानुन, प्रथा र कुनै अन्य क्षमताहरु एवम आदतहरु समावेश हुन्छ, जसलाई मानिसले समाजको सदस्य भएको नाताले आर्जित गर्दछ ।
अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि सन २००३ को धारा २ ले ‘अमूर्त सांस्कृतिक सम्पदा भन्नाले प्रचलनहरु, प्रतिनिधिहरु, अभिव्यक्तिहरु, ज्ञानसिपहरु साथ–साथै साधनहरु, वस्तुहरु, कलावस्तुहरु र त्यससँग जोडिएका सांस्कृतिक स्थलहरु जसलाई ती समूदायहरु, समूहहरु तथा कतिपय अवस्थामा व्यक्तिहरु समेतले सांस्कृतिक सम्पदाको अङ्गको रुपमा चिनारी गरिरहेका हुन्छन तिनलाई बुझ्नु पर्छ भनिएको छ ।
यसरी संस्कृतिसम्बन्धी विभिन्न समयमा विभिन्न लेखक, अनुसन्धाताहरुले आ–आफ्ना विचारहरु व्यक्त गरेका भेटिन्छ । यी विभिन्न परिभाषाहरुको सार के हो भने संस्कृति भनेको मानिसद्वारा निर्मित मानिसले नै अवलम्बन गर्ने समग्र क्रियाकलाप हो । मानिसले जीविकोपार्जन गर्ने क्रममा आवश्यकता र आनन्द परिपूर्ति गर्नका निम्ति गरिने विभिन्न प्रकारका क्रियाकलापहरु जुन निरन्तर रुपमा प्रयोग र परीक्षण गर्ने क्रममा मानिसको जीवनशैली, वा जीवन पद्धति बन्न पुग्दछ, त्यही निरन्तरताको समष्टि रुप नै वास्तवमा संस्कृति हो । यसरी हेर्दा के देखिन्छ भने संस्कृति भनेको मानिसले जीवन यापनका क्रममा अनवरत रुपमा अपनाउँदै आएको जीवनशैली वा पद्धति नै संस्कृति हो जुन मानिसको अभिन्न अङ्गको रुपमा रहेको हुन्छ ।

संस्कृतिको निर्माण-
मानिस सामाजिक प्राणी हो । ऊ समाजमै जन्मन्छ, हुर्कन्छ र समाजमै जीवनयापन गर्दछ । त्यसैले मानिसले समाजबाटै सम्पूर्ण ज्ञानहरु सिक्दछ । मानिसले सृष्टिकालदेखि आफ्नो जीवनयापन गर्ने क्रममा अनेकौँ समस्या र आवश्यकतासँग मुकाविला गर्न बाध्य भए । मानिस आफू बाँच्न र आफ्ना सन्ततिहरुलाई बचाउनका निम्ति विभिन्न किसिमका क्रियाकलापहरु अपनाउनु पर्ने भयो । यसरी विभिन्न कार्यहरु एकदिन मात्र गरेर मानिसलाई पुगेन । त्यो काम उसले वारम्बार गर्नु पर्ने भयो । मानिसलाई बाँच्नका निम्ति खानाको बन्दोबस्त गर्नु परयो, हावा, पानी, हुरी, जाडो, गर्मी तथा वन्यजन्तुबाट वच्नका निम्ति आवासको निर्माण गर्नुपर्ने भयो । यसरी जीविकोपार्जन गर्ने क्रममा मानिसले निरन्तर रुपमा अनेकौँ कार्यहरु गर्नुपर्ने भयो । यो क्रियाकलाप वा दिनचर्या मानिसको अभिन्न अङ्ग बन्न पुग्यो यसरी निरन्तर रुपमा बाँच्नको निम्ति अपनाइने जीवनशैली वा जीवन पद्धति नै कालान्तरमा मानिसको संस्कृति बन्न पुग्यो । यसरी मानिसद्वारा निर्मित संस्कृति उसले बाँच्ने आधार, तरिका, समय, भूगोल र परिस्थितिअनुसार फरक–फरक हुँदै जाने गर्दछ । आजभन्दा एक हजार वर्ष अगाडिको मानिसको संस्कृति अथवा जीवनशैली र वर्तमान समयको मानिसको संस्कृति वा जीवनशैली फरक हुनको कारण यही नै हो । त्यसैले मानिसको चेतना आवश्यकता र समय अनुसारको संस्कृतिको निर्माण र विकास हुँदै जाने गर्दछ ।
मानिस जुन संस्कृतिमा हुर्कन्छ सोही अनुसारको उसको सोचाई, बुझाई तथा आचरण हुने गर्दछ । त्यसैले संस्कृतिलाई मानिसले आफ्नो अभिन्न अङ्गको रुपमा अङ्गीकार गर्दै आएको हुन्छ । मानिसले राम्रंो, नराम्रो सही, गलत केही नहेरी आफ्नो परम्परागत संस्कृतिलाई पछ्याई रहेको हुन्छ । त्यसैले मानवशास्त्रमा संस्कृति र व्यक्ति बिचको अन्तरसम्बन्धलाई केलाउने कार्य गरिन्छ जसलाई मनोवैज्ञानिक मानवशास्त्र (Psychological Anthropology) भनिन्छ । किनभने संस्कृति सामाजिक वस्तु हो परन्तु संस्कृतिमा व्यक्तिको पनि महत्वपूर्ण भूमिका रहन्छ । यसरी नै व्यक्तिमा पनि संस्कृतिको गहिरो छाप परेको हुन्छ । संस्कृति कसरी व्यक्तिको चरित्रमा हावी भएर बसेको हुन्छ भन्ने सन्दर्भमा मानवशास्त्री भिक्टर बारनो (Victor Barnouw, 1973) भन्छन – संस्कृति र व्यक्तिको अध्ययनले खास खालको सामाजिक वातावरणभित्र रहने व्यक्तिगत वा सामाजिक चिनारीको बृद्धि र विकासलाई बुझ्ने प्रयत्न गर्छ । त्यसैले मानिस जुन सांस्कृतिक धरातलमा बाँचेको हुन्छ सोही अनुरुपको उसको व्यक्तित्व निर्माण भएको हुन्छ । यसैगरी कतिपय लोकप्रिय तथा सामाजिक अगुवा व्यक्तिको कारण पनि सांस्कृतिक अवयवमा पनि परिवर्तन देखा पर्न सक्दछ । त्यसैले व्यक्ति, समाज र संस्कृति एक अर्काको अभिन्न अङ्ग हुन । यसरी संस्कृतिको निर्माण मानिसको आवश्यकता आस्था र आनन्दका लागि व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रले थाहै नदिई गरिरहेको हुन्छ ।
प्राणी जगतमा मानिसलाई सर्वश्रेष्ठ प्राणी किन पनि भनिन्छ भने मासिसँग अन्य प्राणीभन्दा फरक ज्ञान, विवेक, विचार, अनुभव, अनुभूति, जिज्ञासा, कौतुहल, चिन्तन, चेतनाजस्ता मानसिक विशिष्ट गुण विद्यमान हुन्छ । मानसि सृष्टिकालदेखि नै विस्तारै विस्तारै विकसित अवस्थामा लम्किरहेको हुन्छ । मानवसभ्यताको प्रारम्भ अवस्थादेखि वर्तमान समयसम्म आइपुग्दा मानिसले जे–जति विकास र उन्नति गर्न सफल भएको छ त्यो कल्पनाभन्दा बाहिरको विषय हो । यही रफ्तारमा मानिस अगाडि बढदै जाने हो भने अबका सय वर्ष पछिका मानिसहरुको जीवनशैली कल्पनै गर्न कठीन छ । यसबाट के दखिन्छ भने मानिसको समग्र क्रियाकलाप, जीवनशैली या जीवनपद्धति परिवर्तनशील छ । मानिसको समग्र जीवनशैली नै उसको संस्कृति भएकोले संस्कृति स्वतः परिवर्तनशील छ ।

कुनै पनि जाति, वर्ग, समुदाय वा राष्ट्रको संस्कृतिको निर्माण र विकास तुरुन्तै नभएर हजारौँ वर्षको निरन्तरताबाट मात्र भएको हुन्छ । त्यसैले संस्कृति हजारौँ हजार वर्षको त्याग र तपस्याको क्रमबद्ध इतिहास पनि हो । संस्कृतिको निर्माण कुनै एक व्यक्तिको प्रयासले मात्र सम्भव हुँदैन । वास्तवमा संस्कृति त्यस्तो तत्व हो जसले मानिसलाई एक जैविक प्राणी (Biological Being) बाट सामाजिक प्राणी (Social Being) मा परिवर्तन गरिदिन्छ । त्यसैले संस्कृतिको निर्माण मानिसले जीवन भोगाइका क्रममा निरन्तर निरन्तर रुपमा थाहै नपाई गरिरहेको हुन्छ जो आवश्यकता, समय, सन्दर्भ र परिस्थितिअनुसार गतिशील र थपघट हुँदै जान्छ ।

संस्कृतिको विशेषता-
संस्कृति मानव निर्मित वस्तु हो र यसलाई मानवले नै अवलम्बन गर्दछन । संस्कृतिको आफ्नै प्रकारको विशेषता हुन्छ, यसका प्रमुख विशेषताहरु निम्नानुसार छन :
१. मानव निर्मित वस्तु
मानिसले आफ्ना आवश्यकता (गास, बास, कपास) र आनन्द (मनोरञ्जन तथा विरह, दुःख, कष्ट) व्यथित प्राप्त गर्नका लागि निर्माण गरेको क्रियाकलापको समष्टि योग नै वास्तवमा संस्कृति हो । त्यसैले संस्कृतिको प्रमुख विशेषता यो मानव निर्मित वस्तु हो ।
२. प्राचीनता
संस्कृतिको महत्वपूर्ण विशेषता प्राचीनता हो । मानिस जति नै सभ्य र आधुनिक बन्न पुगे पनि उसको व्यवहारमा प्राचीन संस्कृति कतै न कतै झल्केकै हुन्छ । मानिसले सृष्टिकालदेखि नै आफ्नै प्रकारको संस्कृति निर्माण गरेको हुन्छ, जसले मानिसलाई पछ्याई रहेको हुन्छ । त्यसैले संस्कृति रातारात तुरुन्तै निर्माण नभई प्राचीन समयदेखि नै निरन्तर रुपमा हस्तान्तरण हुँदै आएको वस्तु हो ।
३. परिवर्तनशील
संस्कृति परिवर्तनशील वस्तु हो । प्राचीन समयदेखि वर्तमान युगसम्म फडको मार्दा मानिसले अनेकौँ संस्कृतिको निर्माण गर्दै तथा छाडदै आएका छन । र ती परम्परित संस्कृतिहरु समय, परिस्थिति, सन्दर्भ तथा आवश्यकताअनुसार क्रमशः गतिशील थपघट एवम परिवर्तित हुँदै जान्छन । त्यसैले संस्कृति परिवर्तनशील वस्तु हो ।

सुम्निमा पारुहाङ

४. हस्तान्तरित
आज हामी जुन सांस्कृतिक धरातलमा बाँचेका छौँ, त्यो अघिल्लो पुस्ताबाटै हामीलाई प्राप्त भएको हो । संस्कृति एक व्यक्तिबाट अर्को व्यक्ति, एक समाजबाट अर्को समाज तथा एक पुस्ताबाट अर्को पुस्ता सामु हस्तान्तरण हुँदै जाने वस्तु हो । त्यसैले यो हस्तान्तरित हुँदै जाने वस्तु हो ।
५. परिष्कृत, परिमार्जित
संस्कृति गतिशील हुँदै जाने क्रममा परिवर्तन हुने क्रममा परिष्कृत परिमार्जित एवम थपघट हुँदै जाने गर्दछ । कुनै पनि जाति, वर्ग वा समुदायमा प्रचलित कतिपय नराम्रा परम्पराहरु विस्तारै छाडदै जाने, हराउँदै जाने गर्दछ । जस्तै : नेपालमा प्रचलित बालबिवाह, बहुविवाह, सतीप्रथा, दासप्रथा, छाउपडी प्रथा, दाइजो (दहेज) प्रथा आदि नराम्रा परम्परित संस्कृतिहरु विस्तारै परिमार्जन हुँदै जानु यसको विशेषता हो ।
६. आध्यात्मिकता
संस्कृति मानिसको आस्था, आसा, भरोसा, विश्वास पनि हो । त्यसैले संस्कृतिभित्र आध्यात्मिक भावना र चिन्तन विद्यमान हुन्छ । संस्कृति एउटा व्यापक एवम समष्टि प्रक्रिया हो । यसभित्र धर्म, दर्शन, संस्कार, आस्था जस्ता आध्यात्मिक ज्ञान तथा चिन्तन समेत रहको हुन्छ । संस्कृतिलाई अत्यन्त श्रद्धापूर्वक अवलम्बन गर्ने कारण पनि मानिसको यसप्रतिको आस्था एवम विश्वास नै हो ।
७. पृथकता
संस्कृतिको अर्को महत्वपूर्ण विशेषता भनेको यसको पृथकता हो । मानिस जीविकापार्जनका लागि संसारका विभिन्न क्षेत्रमा विस्तारित हुने क्रममा विभिन्न प्रकारका संस्कृतिहरुको निर्माण हुन पुग्यो । त्यसैले संस्कृति जाति, धर्म, भूगोल, देशअनुसार फरक–फरक खालका हुन्छन । त्यसैले संस्कृति समय, समाज र समुदायअनुसार पृथक हुन जान्छ ।
यसरी हेर्दा के देखिन्छ भने संस्कृति मानव निर्मित हुनु, प्राचीन तथा परिवर्तनशील हुनु, परिष्कृत, आध्यात्मिकता, हस्तान्तरित एवम पृथक हुनु यसको महत्वपूर्ण विशेषता हो ।

संस्कृतिको वर्गीकरण-
संस्कृति मूलतः दुई प्रकारका हुन्छन् । देख्न र छुन सकिने संस्कृति जसलाई भौतिक संस्कृति (Tangible Culture) भनिन्छ र देख्न र छुन नसकिने संस्कृति जसलाई अभौतिक संस्कृति (Intangible Culture) भनिन्छ । संसारमा संस्कृति यी दुई प्रकारका हुन्छन ।

किरात राई जातिमा प्रचलित अमूर्त सांस्कृतिक सम्पदाहरुलाई मूलतः तीन भागमा छुट्याएर अध्ययन गर्न सकिन्छ । ती हुन :

(१) आस्था अनुष्ठानमूलक अमूर्त संस्कृति
क. धर्म–दर्शन
किरात राई जातिको धर्मलाई किरात धर्म भनिन्छ । पितृ र प्रकृतिलाई पुज्ने यी जातिको धर्म दर्शन उनीहरुको मौखिक वाङ्मय मुन्धुममा आधारित छन । कुनै पनि प्रकारको काल्पनिक इश्वरको सत्तालाई अस्विकार गर्ने किरात धर्मले आफ्ना मृत तथा जीवित पितृ र प्रकृतिलाई यो चराचर जगतको निर्माता, पालनकर्ता तथा संहारकर्ताको रुपमा पूजा अर्चना गर्दछन ।
ख. तन्त्र–मन्त्र
किरात राई जातिले तन्त्रमन्त्र परम्परामा विश्वास राख्दछ । प्राचीन पूर्वीय सभ्यतामा देखापरेको तन्त्रवादी चिन्तन वर्तमान समयसम्म यी जातिमा पाइन्छ । विशेषतः मुन्धुमवेत्ता वा मुन्धुमविद धामी, झाँक्रीहरुले तन्त्र–मन्त्र मार्फत संस्कार अनुष्ठान उपचार तथा पूजा अर्चना गर्ने गर्दछन ।
ग. जोखाना–ज्योतिष
किरात राई जातिमा भविष्यवाणी गर्ने प्राचीन प्रचलन भेटिन्छ । यसका लागि भविष्यवेत्ताका रुपमा धामी, झाक्रीहरु हुने गर्दछन । उनीहरुले जोखाना हेरेर राम्रो नराम्रो पत्ता लगाउने तथा ग्रह शान्ति गर्ने, सातो ल्याउने, शीर ठड्याउने आदि कार्यहरु गर्ने प्रचलन छ ।
घ. मिथक–गाथा
किरात राई जातिको आस्था एवम विश्वासको धरोहर मुन्धुम हालसम्म मौखिक परम्परामा जीवित रहेको छ । मुन्धुम भित्र मान्छेको उत्पत्ति, पृथ्वीको उत्पत्ति, जीवजन्तुको उत्पत्ति, ढुङ्गा, माटोको उत्पत्ति तथा चराचर जगतको उत्पत्तिको कथा पाइन्छ । यसका साथै मान्छेको उत्पत्ति, किरातीको उत्पत्ति र विकासजस्ता यावत सवालको विषयमा विभिन्न प्रकारका मौखिक लोकोक्तिहरु पाइन्छन । जो एक मुखबाट अर्को मुख, एक समाजबाट अर्को समाज र एक पुस्ताबाट अर्को पुस्ता सामू हस्तान्तरण हुदै हालसम्म जीवित रहेको भेटिन्छ ।

ङ. पूजा–अर्चना
किरात राई जातिले कुनै पनि प्रकारको देवी–देवता वा इश्वरको अस्तित्वलाई विश्वास गर्दैन । यद्यपि यी जातिले आफ्ना पितृ र प्रकृतिलाई भक्तिपूर्वक पूजा अर्चना गर्ने गर्दछन । जन्मदेखि मृत्युसम्म गरिने विभिन्न प्रकारका सांस्कृतिक, धार्मिक, सामाजिक कार्यहरुमा पितृ र प्रकृतिलाई पूजा अर्चना गर्ने परम्परा राई जातिमा पाइन्छ ।
च. संस्कारहरु
किरात राई जातिमा आफ्ना बेग्लै प्रकारका संस्कार, अनुष्ठान गर्ने प्रचलन देखिन्छ । उनीहरुको प्रमुख संस्कारहरुमा जन्म, न्वारान, अन्न प्राशन, छेवार, पास्नी, विवाह र मृत्यु प्रमुख रहेका छन । यी सम्पूर्ण संस्कार सम्पन्न गर्दा घरका जेष्ठ सदस्य वा धामी, झाँक्रीहरुले विधिपूर्वक सम्पन्न गर्ने गर्दछन ।
छ. विश्वासजन्य परम्परा–मान्यताहरु
किरात राई जातिमा विभिन्न प्रकारको विश्वासजन्य परम्पराहरु पाइन्छ । जस्तैः झारफूक गर्ने (तन्त्रमन्त्रद्वारा उपचार गर्ने विधि), सेहेँ लाग्ने, दोख लाग्ने, भूतप्रेत लाग्ने, रुङरी रुने (मानिसको आत्मा रुने), शीर ढल्ने, पाप लाग्ने, पितृ खुसी वा दुःखी हुने, लच्छिन, अलच्छिन हुने, देउ लाग्ने, सिकारी लाग्ने, वनकोले भेटने जस्ता परम्परित मूल्य र मान्यताहरु यी जातिमा पाइन्छ ।
(२) जीविकोपार्जनमूलक अमूर्त संस्कृति
क. उपचार पद्धति
किरात राई जातिमा दुई प्रकारको उपचार पद्धतिको परम्परा पाइन्छ । पहिलो प्रकारको उपचार पद्धति भनेको धामी, झाँक्रीद्वारा झारफूक गरेर गरिने उपचार विधि र दोस्रो तरिका भनेको प्राकृतिक तरिकाले जडिबुटीद्वारा गरिने उपचार विधि हो । विरामी पर्दा धामी, झाँक्रीहरुले जोखाना हेरेर रोगको कारण पत्ता लगाउने र सोही अनुरुप उपचार गर्ने प्राचीन परम्परा यी जातिमा पाइन्छ । यसैगरी झारफुकको अतिरिक्त विभिन्न प्रकारका रोग लाग्दा विभिन्न प्रकारका जडिबुटी प्रयोग गरेर तथा अन्य प्राकृतिक चिकित्सा पद्धतिद्वारा पनि उपचार गर्ने गरिन्छ ।
ख. सिप–कला, कौशल
किरात राई जाति अत्यन्तै कलाप्रेमी जातिको रुपमा चिनिन्छ । यी जातिमा विशेषतः हस्तकला, वास्तुकला, पाककला आदि उच्च स्तरका पाइन्छ । हस्तकला अन्तर्गत विभिन्न प्रकारका घरायसी सामानहरु जस्तैः डोको, डालो, थुन्से, धोवे, पेरुङ्गो, ढडिया, सुकुल, गुन्द्री, मान्द्रो, चित्रा, नाम्लो, दाम्लो, भकारी, मदानी, ठेकी, राडी–पाखी आदि । यसरी नै वास्तुकला अन्तर्गत माङखिम (पितृ पुज्ने ठाउँ), गोठ, घर आदि । पाककला अन्तर्गत विभिन्न प्रकारका खाद्य सामग्रीहरु जस्तैः जाँड, रक्सी, किनिमा, तिते, सिस्नु, मासुका परिकार आदि ।
ग. पेशा–व्यवसाय
किरात राई जातिको मूल पेशा खेतीपाती तथा पशुपालन नै हो । हाल आएर वैदेशिक रोजगारी, सरकारी जागिर, व्यापार तथा अध्ययन, अनुसन्धान तर्फ केही मात्रामा लागेको देखिए पनि यी जातिहरुको मूल पेशा खेतीपाती तथा पशुपालन नै हो ।
(३) मनोरञ्जनमूलक अमूर्त संस्कृति
क. नाचगान-गीत–सङ्गीत
किरात राई जाति अत्यन्त मनोरञ्जनप्रेमी जातिको रुपमा परिचित छन । नाचगान, भोजभतेर, जमघट, हाँसखेल गर्न मनपराउने यी जातिमा हरेक चाडपर्वहरुमा छरछिमेकी, दाजुभाइ तथा इष्टमित्रहरु भेला भएर नाचगान गर्ने प्रचलन छ । उभौली (वैशाख पूर्णिमा), उँधौली (मंसिर पूर्णिमा) मा साकेला नाच तथा गीत, विहे तथा भोजभतेरहरुमा हियारी गीत गाउने, मारुनी नृत्य नाच्ने गरिन्छ भने मेलापात, घाँस दाउरा जाँदा हाक्पारे, गोठाले गीत गाउने गरिन्छ । यसरी विभिन्न प्रकारका नाचगान तथा गीत–सङ्गीतको परम्परा यी जातिमा पाइन्छ ।

ख. गरगहना
राई जाति अन्त्यन्त कलाप्रेमी जातिको रुपमा देखिन्छ । यी जातिका पुरुषहरुले टोपी, लुकुनी, भोटो, कच्छाड, लवेदो आदि मौलिक पहिरन लगाउँछन् भने महिलाहरुले धोती, साडी, चोलो, पटुकी, बर्की आदि लगाउने गर्दछन । गरगहना भने पुरुषहरुले खासै लगाउँदैनन । उनीहरुको दौरा वा भोटोको तुनामा विनायो, जंगली फूलहरु झुण्डिएको हुन्छ भने कम्मरमा खुकुरी भिरेको हुन्छ । महिलाहरुले भने ढुङ्ग्री, बुलाकी, मारवाडी, चिम्टी, सुनफूल, हारको माला, नौगेडी, कल्ली आदि गरगहनाहरु लगाउने गर्दछन ।
ग. अभिनय
किरात राई जातिमा धामी, झाँक्रीको प्रचलन छ । धामी झाँक्रीलाई विभिन्न थरी राईहरुको भाषा र उनीहरुको काम अनुसार माङपा, होमे, विजुवा, कुवी, नाक्छोङ, नाक्छो आदि भन्ने गरिन्छ । उनीहरुले पितृ पुज्दा, घरचिन्ता बस्दा वा अन्य धार्मिक सांस्कृतिक अनुष्ठानहरुमा नाच्दै विभिन्न प्रकारका अभिनयहरु गर्ने गर्दछन । उनीहरुले पशुपन्छी आदिको अभिनय गर्दै नाच्ने तथा कैरन भट्याउने गर्दछन । यसरी नै उधौली, उँभौलीका बेला विभिन्न शिलीहरु (नाच्ने फरक फरक शैली) गर्दा पनि विभिन्न किसिमको अभिनय गर्ने गरिन्छ । जस्तै साथी बोलाउने, बिऊ छर्ने, धान रोप्ने, गोडने, काटने, टिप्ने, झाँटने, थन्क्याउने, कुटने, पकाउने, खाने आदिका अभिनय तथा अन्य जीवजन्तुको समेत अभिनय गर्दै मनोरञ्जन गर्ने गरिन्छ । यसका अतिरिक्त किरात राई जातिमा विभिन्न प्रकारका खेलहरु खेल्ने, गीत, संगीत, नाचगान गर्ने, मेलापात, चाडवाड मनाउने, हाँसखेल, मायाप्रिती लगाउने आदि अभिनयमूलक अमूर्त सांस्कृतिक परम्परा भेटिन्छ ।
घ. चाडपर्व
किरात राई जातिमा विभिन्न प्रकारका चाडपर्वहरु मनाउने प्रचलन पाइन्छ । जस्तैः उधौँली, उँभौली (मंसिरे पूर्णिमा र वैशाखे पूर्णिमामा पितृ र प्रकृतिको पूजा आराधना गर्दै विधिपूर्वक नाचगान गर्ने), मंसिरे (मंसिर महिनामा अन्न र पितृको पूजा–आराधना गर्ने), न्वागी (नयाँ अन्न तथा कन्दमूल खानुपूर्व पितृहरुलाई चढाउने कार्य), माघे संक्रान्ति, साउने संक्रान्ति, विभिन्न प्रकारका प्रकृति पूजाहरु (संसारी, हुईलुङ-छौवा, सेउली, सिकारी, आइतबारे, सारेप्पा-शीर उठाउने) आदि । यी विभिन्न प्रकारका चाडपर्वहरुमा दाजु–भाइ, छोरी–चेली, इष्ट–मित्र, छर–छिमेकी आदि भेला भएर भोजभतेर खाने आदि कार्य गरेर मनोरञ्जन गर्ने गर्दछन ।

माङपा

उपसंहार
संस्कृति मानवद्वारा निर्मित मानवमात्रले अबलम्बन गर्ने भौतिक तथा अभौतिक क्रियाकलाप हो । संस्कृति मानिसको पहिचान हो । मनुष्यलाई उसको संस्कृतिबाट अलग गर्नु भनेको मनुष्यलाई मनुष्यबाट अलग गर्नु हो । त्यसैले मानिस जहाँ–जहाँ पुग्दछ त्यहाँ–त्यहाँ उसले आफ्नो प्राचीन संस्कृतिलाई पनि सँगसँगै लगेको हुन्छ । जसरी संस्कृतिको निर्माण हजारौँ वर्षको निरन्तरताबाट हुन्छ, त्यसरी नै पुरानो संस्कृतिलाई परित्याग गर्दै नवसंस्कृतिको निर्माण र अबलम्बन गर्नु पनि लामो समय लाग्छ । समय आवश्यकता, परिस्थिति र सन्दर्भअनुसार संस्कृति परिवर्तन हुँदै जान्छ तर यसको परिवर्तन पूर्ण रुपमा र तीब्र गतिमा भने हुँदैन । संस्कृति जाति, वर्ग, समुदाय, भूगोल र राष्ट्र अनुसारका अलग–अलग प्रकारका हुन्छन् । नेपालमा प्रचलित विभिन्न संस्कृतिहरु मध्ये किराती संस्कृति पनि अत्यन्त प्राचीन संस्कृति हो । विश्वकै प्राचीन जातिका रुपमा रहेको किरात राई जातिको संस्कृति उनीहरुको पुर्खाहरुले छाडेर गएको विरासत हो । उनीहरुको संस्कृतिको आफ्ना बेग्लै प्रकारको विशेषता पाइन्छ ।
अन्त्यमा, के भन्न सकिन्छ भने, किरात राई जातिको प्राचीन अमूर्त संस्कृतिहरु दिनानुदिन लोपोन्मुख भइरहेको देखिन्छ । संस्कृति भनेको कुनै पनि व्यक्ति जाति, वर्ग, समूदाय वा राष्ट्रको पहिचान हो । यस प्रकारको अमूर्त सांस्कृतिक सम्पदालाई बेलैमा पहिचान गरी संरक्षण, संवर्द्वन गर्न सके राष्ट्रकै अमूल्य सम्पत्तिको संरक्षण हुने हुँदा यसतर्फ सबैको ध्यान पुग्न जरुरी देखिन्छ ।

सन्दर्भग्रन्थ सूची
अधिकारी, रेशराज र हरिहर घिमिरे (२०५६), नेपाली समाज र संस्कृति, काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार ।
आचार्य, श्री कृष्ण (२०५४) नेपालको सांस्कृतिक परम्परा (प्र.सं.), काठमाडौँ : (सम्पा.) श्री कृष्ण आचार्य ।
गिरी, अमर (२०६७), समय, समाज र संस्कृति, काठमाडौँ : विवेक सिर्जनशील प्रकाशन प्रा.लि. ।
चापागाई, निनु (२०५९), सन्दर्भ : संस्कृति र सांस्कृतिक रुपान्तरण, काठमाडौँ : विवेक सिर्जशील प्रकाशन प्रा.लि. ।
युनेस्को (सन् २००३), अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धी ।
राई, भक्त (२०७१) किरात साम्पाङ पहिचानमा लोकगीतको भूमिका, काठामाडौँ : नेपाली डायस्पोरा वाङमय प्रतिष्ठान ।
लामिछाने, भरत प्रसाद (२०६३ प्र.सं.), संस्कृति र संस्कार, वाराणसी : अनुष्ठान प्रकाशन, उ.प्र. ।
शर्मा, नेपाल, वसन्तकुमार (२०५८), नेपाली शब्द सागर, काठमाडौँ : भाभा पुस्तक भण्डार ।

Barnouw, Victor (1973), Culture and Personality. Home Wood Liionois: The Doresy Press.

Tylor, E.B. (1871), Primitive Culture, Vol. 2, London: Murray.

तपाईको प्रतिक्रिया