२४ फेब्रुअरी बिहीबार । हङकङ । क्रान्ति सुब्बा ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस
फेब्रुअरी २४ तारीख बिहीबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल केस संख्या: ८,७९८
.मृत्यु संख्या : ५० जना (गत २४ घन्टामा)
.आयातित केस संख्या : ३
.स्थानीय संक्रमण संख्या :८,७९५
.डेल्टाबाट संक्रमित संख्या : १९ जना
.ओमिक्रोन संक्रमित संख्या : ४,४३४
.अनिश्चित : ३
.अपर्याप्त भाइरल लोड केस: १३०
गत २४ घन्टामा मृत्यु हुने ५० जना मध्येमा एक जना नौ वर्षीय बालक पनि परेका छ्न।
दीर्घ रोगबाट पीडित उक्त बालक बिहीबार बिहान सबेरै घरमै बेहोस (कोमा) भएका थिए । उनको परिवारका सदस्यले उनलाई प्राथमिक उपचार गरेपछि एम्बुलेन्स बोलाइएको थियो ।
युनाइटेड क्रिश्चियन अस्पताल पुग्दा उनको मुटुको धडकन बन्द भैसकेको थियो। कृत्रिम स्वासप्रस्वास दिनु पनि ढिलो भैसकेको थियो । बिहान ७ बजे उनको मृत्यु भएको थियो ।
उनमा कोभिड–१९ को कुनै लक्षण नदेखिएको भएता पनि उनको आकस्मिक निधन भएकोले कोभिड परीक्षण गरिएको थियो । उनको परिक्षण नतिजा पोजेटिभ आएको थियो । उनको मृत्युलाई शुक्रबारको मृत्यु सुचीमा राखिने भएको छ। उनको केस कोरोनर अदालतमा पठाइनेछ।
“दुई तीन वर्षको हुँदा उनमा मांसपेशि सम्बन्धी वंशाणुगत रोग ( मसल जेनेटिक डिजिज) भएको पत्ता लागेको थियो,” अस्पताल प्राधिकरणका प्रमुख प्रबन्धक लाउ का-हिनले भने।
हङकङमा कोभिड प्रकोपको पाँचौं लहर शुरु भएपछि अहिलेसम्ममा चार जना बालबालिकाको मृत्यु भैसकेको छ । मृत्यु हुने अन्य तीन जनामा ११ महिनाकी नानी , तीन वर्षकी वालिका र चार वर्षका वालक थिए।
सरकारको खोप सल्लाहकार बालरोग विशेषज्ञ तथा हङकङ युनिभर्सिटीका प्रोफेसर लाउ यु-लुङले बालबालिकाको माथिल्लो श्वासप्रश्वास नली साँघुरो हुने भएकोले सङक्रमण भएमा त्यस त्यस माथि धेरै हदसम्म असर पर्न सक्ने बताए। उनले कोविडले बच्चाको दिमागमा सूजन (इन्फ्लेमेसन) ल्याउने कुरा पनि औंल्याए ।
सेन्टर फर हेल्थ प्रोटेक्शनका चुआङ शुक-क्वानले मृत्यु हुनेमा ५२ देखि ९७ वर्ष उमेर समुहका ३५ पुरुष र १५ महिला रहेको बताइन।
तीमध्ये ६ जनाले दुई डोज खोप र दुईजनाले एक डोज खोप लगाएका थिए । तीमध्ये पाँच जना ६० वर्षभन्दा कम उमेरका थिए। र ३१ जना मृतक ८० वर्ष वा सोभन्दा माथिका थिए।
मृत्यु हुनेमा सबैभन्दा कान्छो व्यक्तिको उमेर ५२ वर्ष थियो ।उनी केयर होममा बस्थे र ओछ्यानमा थलिएका थिए। उनको वाक्य बसेको थियो र ब्रेन हेमोरेज भएपछि मस्तिष्कको शल्यक्रिया पनि गरिएको थियो ।
एक ५३ वर्षीया मृतक चाहिँ क्यान्सरबाट पीडित थिए र अर्का एक ६० वर्षका व्यक्तिले ब्रेन ट्युमरका कारण केमोथेरापी लिइरहेका थिए ।
अहिलेसम्म संक्रमित वृद्ध आश्रमको संख्या ३६० पुगेको छ। ती विभिन्न आश्रमका कुल ४२० कर्मचारी र १,१०० निवासी संक्रमित भएका छ्न। ३७ वटा आश्रममा १० जना भन्दा बढीका दरले संक्रमित छ्न।
सरकारी अस्पतालमा संक्रमित कर्मचारीको संख्या १ हजार ६ सय ६८ पुगेको छ । पहिलो चोटि पोजिटिभ पुष्ठि भएको सातौं दिन दिन पछि गरिएको टेस्टमा नेगेटिभ रिजल्ट आएका कर्मचारीलाई काममा आउने अनुमति दिइएको छ।