आनन्द श्रेष्ठ


हङ्गकङ्गमा वसोवास गर्ने  झण्डै ४० हजार नेपालीहरु माझ गत वर्ष हङ्गकङ्ग नेपाली महासंघका पुर्वअध्यक्ष टंक रानाको प्रसंसनीय कार्य र आफनो जन्मभूमि नेपाल आउँदा भएको  पत्रकार किसन राईको असामयिक निधनले सर्वाधिक  चर्चा पाएको थियो  । यी दुई सामाजिक अभियन्ताहरु मध्ये एकको मृत्यु भए पनि उनीहरुले गरेको कार्यको हङ्गकङ्ग र नेपालमा बस्ने नेपालीले  सधैं सम्झीरहने छ । आज यीनै दुई अभियन्ताहरुको विषयमा मेरो लेख केन्द्रित रहेको छ ।  

टंंक रानाको प्रसंसनीय कार्य

गत  वर्ष अर्थात सन २०२१ सालको वर्षामासमा विश्वलाई त्राहिमाम वनाईरहेको कोरोना महामारीले नेपाललाई पनि छाडने कुरै आएन । हरेक दिन ७ ,८ हजार कोरोना संक्रमणले नेपालीहरुलाई लडाई रहेको थिए ।  जताततै मृत्यु र भयको हाहाकार मच्चिएको थियो । अस्पतालमा विरामीहरुले खचाखच भरीएका थिए । कतै अक्सिजन, कतै भेन्टिलेटर नपाएर नागरीकहरुको ज्यान गईरहेको थियो । लकडाउनले मानिसको जिवनयापन धान्न उस्तेै सकस परीरहेको थियो ।

तर नेपालमा सरकार चलाई रहेका केपी शर्मा ओली एण्ड कम्पनीले भने जनतालाई अक्सिजन र भ्याक्सीन दिन छाडेर आफनो कुर्सी सधै टिकाउन आफनै पार्टि फुटाएर ,संसद विघटन गरी देशलाई चुनावमा लाने ताण्डव नृत्य देखाईरहेको थियो । औषधी र भ्याक्सीन खरीदमा दलालहरु मार्फत कमिशनको खेल खेलीरहेका थिए । धन्न न्यायपालिकाले देशलाई अरु बर्बादीतिर लैजानबाट  उनलाई रोकेको थियो । यसरी नेपालको गाउ शहरमा अक्सिजनको अभावले हजारौंको ज्यान गईरहेको वेला हङ्गकङ्ग  नेपाली महासंघले भने  आफनै खर्चमा एउटाको झण्डै ३ लाख पर्ने कन्सन्टेटर (अक्सिजनको मेशिन) बाँडन देशको सबै  प्रदेशका गाउँ  शहरमा पुगेको थियो ।

हङकङ नेपाली महासंघका पुर्व अध्यक्ष टंक राना

  वर्षामासको बेला थियो । एकातिर कोरोनाको कहर अर्को तिर भारी वर्षाले जताततै वाढिपहिरो गएको समाचार आईरहेको थियो । एक दिन विहानै हङ्गकङ्ग बाट  टंक रानाको फोन आयो ”दाजु हाम्रो अक्सिजन बोकेको गाडि धनकुटा आई पुग्यो है । डाँडा बजारको हेल्थ पोष्टलाई पनि एउटा दिउँ भनेको तर त्यहाँ जान बाटोमा पहिरोले अवरोध गरेको छ अरे तपाई पनि  गई दिनुहोस न है । ” मैले नाई भन्न सकिन ।

साँझको ३ बजेको हुँदो हो मैले डाँडा बजारको हेल्थ पोष्टमा खबर गरें । हेल्थ पोष्टका ईन्चार्ज नरेश खतिवडाले आज त बाटोमा पहिरो गएर आउन सक्नु हुन्न तर भोली विहान सम्ममा बाटो खुल्ला भने पछि सिँधुवामा अक्सिजन बाँडेर फर्किको गाडि लाई धनकुटा मै रोकेर बिहान ल्याईयो र एउटा अक्सिजन  हस्तान्तरण भयो । सो हेल्थपोष्टमा एउटा मात्र अक्सिजन रहेछ। त्यसैले अलिक गम्भीर २ जना विरामी एकै पटक आएमा एउटाले कुरेरै मर्नु पर्ने अवस्था थियो । कि विरामीलाई धरान झार्नुको विकल्प थिएन ।  कुनै पुर्व आश्वासन कुनै सुचना बिना अचानक अप्ठयारो परेको बेला आफै अक्सिजन भरीने मेशिन ल्याएर दिँदा त्यहाका गाउँले ,चिकित्सकहरु छक्कै परेका थिए । त्यति अक्सिजन ल्याउनको लागी त्यहाँका गाउँलेहरुले सबै पार्टीका नेता, सांसदहरुलाई गुहारेर थाकि सकेको थिए।  तर कसैले दिन सकेको थिएन भनि बताए । तर यसरी चिन्नु न जान्नु कहिले नामै नसुनेको संस्थाले विदेशबाट आफैले गाडिमा हालेर झरीवादल, वाढि पहिरो नभनि आफनै गाउमा ल्याई दिदा गाउँलेहरु नतमस्तक भएको कुरा डाँडावजारका वासिन्दा ओम प्रसाद लिम्बु  बताउछन ।

झण्डै एक हजार घरपरीवार भएको डाँडा बजार वरीपरीका जनतालाई एउटा भएनी अक्सिजनको भाडाले भरअभर टार्न सजिलो भएको कुरा हेल्थ पोष्टका ईन्चार्ज नरेश खतिवडा बताउछन ।  

झण्डै एक महिना लगाएर बाँडिएको सो अक्सिजनको मेशिनहरुलाई पश्चिमको रुकुम, रोल्पा देखि मुस्ताङको अति विकट गाउँ सम्म पुर्याएका थिए । घरीघरी टंक भाईको फोन आई रहन्थ्यो । दाई आज हाम्रो गाडि रुकुम पुग्यो है भनेर ।  कहिले हुम्ला जुुम्लाको विकट गाउँमा पुगेर गाडि फसेर रात भरी भतिजहरुको  विजोग भएको खबर सुनाउनु हुन्थ्यो । २ सय वटा अक्सिजन मेशिन वितरण नगरुन्जेल सम्म टंक भाईको काम गाडी  कहाँ पुग्यो , कता अडकियो भन्ने चिन्तामै वितेको आभाष मिल्थ्यो । सामान वितरण गर्न वहाँले आफनै  दुई भतिज गौरव जंग राना र जतिस राना  लाई खटाउनु भएको थियो ।

अक्सिजन कन्सन्ट्रेटर वितरण अभियान

एक दिन गाडी  लिएर धनकुटाबाट फर्कदाँ वहाँहरुलाई धरानमा भेटेको थिएँ । र छोटो अन्तरवार्ता पनि लिएको थिएँ ।  दुई जना फुर्तिला केटाहरु रात विरात अक्सिजनको गाडि लिएर दौडिरहेको बताउथे ।  वर्षाको बेला विकट पहाडि जिल्ला जिल्ला पुग्दा बाटोमा गाडि विग्रिएर , हिलोमा भासिएर धेरै रात भोकै र नसुती  बस्नु  परेको दुखद कुराहरु पनि सुनाए ।

 एक दिन त मैले टंक भाईलाई भने पनि अरुले जस्तो सामानहरु एयरपोर्टसम्म पुर्याएर नेपाल सरकारलाई हस्तान्तरण गरेको भए हुदैन थियो भाई ? किन यत्रो दुख उठाउनु भएको ? भनेर । जवाफमा उनले मलाई भनेका थिए । त्यसरी कहाँ हुन्छ र दाई ! भुकम्पमा विदेशबाट  पठाएको राहतको औषधी, चामल, पालहरु त एयरपोर्टमा  अझै कुहिएर बसेको छ। झन  जनतालाई अक्सिजन चाहिएको बेला एयरपोर्टमा छाडयौं भने त्यो कहिले पुग्छ पुग्छ र ? चाहिएको बेला सामान नपुगे हामीले  मेहनत गरेर करोर्डाैको सामान पठाएको के काम र  दाई !
उनको कुरा सुनेर म आफै लज्जित भएँ । वास्तव भाईले सत्य कुरा बताएका थिए । नेपालको सरकार त्यति उतरदायि र जनताले दुख पाएको  बेला साथ दिने खालको भए नेपाली जनताले किन पो यसरी दुख पाउथे र ! विदेशमा बस्ने नेपालीहरुले सधैं आफनो देशलाई दुख पर्दा आफनो पेट काटेर भए पनि सहयोग पुर्याउदै आएका छन तर त्यसको सहि सदुपयोग नहुँदा त्यतिकै दुखित पनि हुनु परेको घटनाहरु थुप्रै छन । त्यसैले कोरोनाको महामारीमा हङकङ  नेपाली महासंघका तत्कालिन अध्यक्ष टंक रानाले आफनो मातृभुमीप्रति देखाएको अपार माया र सहयोगको जति प्रसंसा गरे पनि पुग्दैन । तर यसको सहि मुल्यांकन हङकङ  नेपाली महासंघ र नेपाल सरकारले कतिको गर्यो, गरेन त्यो आफनो ठाउँमा छ । तर नेपालको शहर देखि हुम्ला जुम्लाको विकट गाउँमा बस्ने नेपालीहरुले भने स्वास्थ्य चौकिमा अक्सिजन मेशिन देख्ना साथ उनलाई र हडकड नेपाली महासंघलाई सधै सम्झने छ ।

मित्र किसन राईको मृत्यु एउटा सपना जस्तो

जीवनको परीभाषा दिनु हुदै २१औं शताव्दीका प्रखर अध्यात्मिक गुरु ओशो भन्नु हुन्छ ”जीवन श्रम हो, विश्राम हो अनि धेरै चाहि भ्रम हो । ” हो वास्तवमा जीवन भ्रम नै हो । कहिल्यै नमरौंला जस्तै गरी निष्फीक्री हिडदा हिडदै बाटोमा लडेर मर्छौं भने यो भन्दा भ्रम अरु के हुन सक्छ ?
स्व किसन राईसंग परीचित मान्छेहरु सबैलाई   पक्कै  पनि उनको मृत्यु एउटा सपना,भ्रम जस्तो लागेको हुुनु पर्छ । सधैं जसो आफनो देशमा प्रवेश गर्दा फेसवुकबाट हल्ली खल्ली मच्चाउदै आएर साथीभाई ईष्टमित्रहरु संग भेटघाट गरेर सकुसल हङकङ फर्कने किसन राई यस पटक भने कहिल्यै नफर्किने गरी यतै बसे । धेरैलाई अझैै पनि लागेको होला किसन राई एक पटक हङकङ  आए पनि हुन्थ्यो भनेर ।

पत्रकार तथा अभियन्ता किसन राइ

किसन जी धरान आउनु हुँदा  सधैं मेरो लागी एक साँझ छुट्याउने गर्नु हुन्थ्यो । अनि हामीे  सिधै  जान्थ्यौ शिवधाराको गुरुङनी दिदीको छहारी होटलमा वियर खान । अनि एकाध घण्टा  भएभरको गफ चुटेर फर्कन्थ्यौं ।  यस पटक पनि उनी काठमाण्डौं आएकै  दिन मेसेन्जरमा छोटो कुरा भएको थियो । मैले कहिले धरान आउने साथी ? भन्दा उनले यस पटक मनाङ मुस्ताङ घुमेर आउछु है भनेका थिए । उनी संगको मेरो यहि नै अन्तिम सम्वाद थियो । म उनी आउने  प्रतिक्षामा थिएँ । कुरा भएको ढेड हप्ता पछि कार्तिक ८ गते बिहानै  काठमाण्डौंबाट  मित्र राजेन्द्र रिमाल जीले किसन जी त भीरबाट  लडेर बित्नु भयो नी थाहा पाउनु भयो ? भनेर फोन गर्नु भयो ।
हन के भन्नु हुन्छ ? शुरुमा त विश्वासै भएन । जब वहाँ संगै यात्रामा रहनु भएको साथी प्रेम कुमार श्रेष्ठजी संग फोन सम्पर्क गरेर सोधेँ तब विश्वास गर्न करै लाग्ने अवस्था आयो । अनि किसनजी संगको फ्याल्स व्याकहरु एक एक गरी चलचित्रको रील जस्तो मानसपटलमा घुम्न थाल्यो । मन, मुटु भक्कानियो । तर कतिन्जेल ? आखिर बाँच्नेले यी सब भ्रमका जालोलाई पर्दामा देखिएको चलचित्र जस्तो सम्झिएर अघि  बढनै पर्दोरहेछ ।  अनि एक दिन आफु पनि अरुको लागी त्यही दुखद समाचारको पात्र बन्न करै लाग्छ । यो साश्वत सत्य यथार्थलाई कस्ले टार्न सक्छ र !
 यसरी एउटा कर्मयोद्धा मिलनसार मित्रलाई अनायासै गुमाउँदाको पिडा मनमा लिएर उनको अन्त्यष्टिको कार्यमा सघाउन उनको धरान १५ स्थित घर पुगेँ । हङ्गकङ्गबाट दुई   छोरासंग बहिनी शोभा आउनुभएको रहेछ । सम्हालिन आग्रह गरें तर आफै भने धरमराएको जस्तो भईरहेको  थिएँ । अन्तत सयौं ईष्टमित्रहरुको उपस्थितिमा किसनजी लाई उनकै वुवाको समाधि नजिक  अश्रुधारा बगाउदै समाधिस्थ गर्यौं  ।
 धरानलाई छाडेर हङ्गकङ्गलाई कार्यक्षेत्र बनाएको २०औ वर्ष विति सक्दा पनि उनलाई अन्तिम विदाई दिन सयौंको संख्यामा ईष्टमित्रहरु आएको देख्दा उनी सबैको कति लोकप्रिय मित्र रहेछन भन्ने पुष्टि भयो  । वास्तवमा आफनो लागी भन्दा अरुको सुखदुखमा साथ दिएर रमाउने मान्छेलाई कसले पो विर्सन सक्छ र । जिउँदो हुँदा जसले जस्तो मुल्यांकन गरे पनि मरे पछिको मलामी नै उनको अन्तिम सलामी हुँदो रहेछ ।

उसको मृत्युको बारेमा देश विदेशमा विभिन्न खाले टिकाटिप्पणी शंका आशंकाहरु उठन  थालेको थियो ।  एक पत्रकार भएको नाताले उसको मृत्युको बेला संगै रहेका साथीहरुसंग मैले पनि एक सरो केरकार गरें । क्रान्ति सुब्बा युट्युब च्यानल मार्फत  मैले उनीसंग यात्रामा रहेका हाल अमेरीका निवासी अन्तर्राष्ट्रिय  आदिवासी जनजाती महासंघका अध्यक्ष यम कुमार थापा मगर ज्यु संग अन्तरवार्ता लिएर प्रशारण नै गरेँ ।

उनको भनाई अनुसार यस पटक किसनजी अन्य बेला जस्तो घरायसी कामको लागी मात्र नेपाल आएका रहेनछन । उनले नेपालका आदिवासी जनजातीहरुको महासंघलाई अन्तर्राष्ट्रिय महासंघ बनाउन आफैले विधान समेत बनाएर  नेपाल छिरेका रहेछन । नेपाल आउना साथ उनले जनजाती महासंघको साथीहरुसंग मिलेर अन्तर्राष्ट्रिय जनजाती महासंघको गठन गरी आफु त्यसको सल्लाहकार मात्र बसेर अमेरीकी जनजाती महासंघका अध्यक्ष यम कुमार थापा मगरलाई  अध्यक्ष बनाएका रहेछन ।
कति वर्ष देखि विदेशमा बस्ने आदिवासी जनजातीहरुलाई अन्तर्राष्ट्रिय  महासंघमा गोलवद्ध गर्ने सपना पुरा गरी साथीभाईहरुसंग किसनजी रीफ्रेस हुन मनाङ मुस्ताङ र आफनो पुर्ख्यौली जिल्ला   ओखलढुंगा देखि भोजपुर हुदै धरान सम्मको यात्रामा निस्किएका रहेछन । तर हुनेहार दैव नटार अन्तत:  उनले आफनै देशको माटोमा प्राण त्याग  गरे ।


 झण्डै दुई दशक सम्म विरानो देशमा नेपाली पत्रकारीता मार्फत नेपालीहरुलाई सजग र सक्रिय तुल्याउन अहोरात्र खटिरहेका थिए । उनको यहि कार्यको मुुल्यंकन गर्दै हङ्गकङ्ग  सरकार र नेपाल सरकारले सेवा पदकबाट  पनि सम्मानित गरेको थियो ।  वान मेन सोल्जरको रुपमा खटिरहेका किसनजीको अभावलाई हङकङवासी नेपालीहरुले अब कसरी आत्मसात गर्लान त्यो हेर्नै पर्ने भएको छ । तर यदि स्व किसनजीलाई हङ्गकङ्ग बस्ने नेपाली दाजुभाईहरुले मृत्यु पश्चात पनि साच्चिकै सम्मान गर्ने हो भने उनले देखेको सपना पुरा गर्नु पर्छ । उनले देखेको सपना र चाहना  भनेको हङ्गकङ्ग बस्ने नेपाली दाजुभाईहरु एक आपसमा सयपत्रीको माला जस्तो एउटै धागोमा वाँधिएर सुगन्धित (सुखशान्ती )पुर्वक  मिलेर बस्न सकुन भन्ने थियो भन्ने बुझ्न  सकिन्छ । समाजमा वदमासीले प्रश्रय नपाओस । कसैमाथी थिचोमिचो नहोस ।  सबैले समान हक,अधिकारको उपभोग गर्न पाओस । खासगरी आदिवासी जनजातीहरु माथी उठुन।
जता पनि नेपाली भनेर गौरव साथ छाती फुलाएर हिडन सकौं भन्ने थियो । त्यसैले उनी दर्जनौ सामाजिक संघसंस्थामा रातदिन कुदिरहेका हुन्थे । नत्र हङ्गकङ्ग जस्तो व्यस्त अनि आत्माकेन्द्रित महानगरमा रातदिन पैसा कमाउन छाडेर पत्रकारिता जस्तो आवाज विहीनहरुको आवाज बनेर पत्रिकाको  मुठा बोकेर गल्लीगल्ली किन भडकिन्थे ।
अब उनको आवाज र सपनालाई मर्न नदिन उनको मिसन पत्रकारीतालाई हङ्गकङ्गवासीले निरन्तरता दिन वान्छनीय छ ।
अनि देशलाई  अप्ठयारो पर्दा मलमपट्टी  बाँध्न सधैं तत्पर टंक राना जस्ता  मेहनती युवा समाजसेवी, सफल व्यापारीलाई माया र सहयोगले पुरस्कृत गर्न सक्दा भावी पुस्तालाई पनि  समाजसेवामा लाग्ने प्रेरणा मिल्ने छ । 

तपाईको प्रतिक्रिया