हाल अमेरिकामा बसोबास गर्ने कवि कल्पना तामाङ अनेसास क्यान्सस च्याप्टर अमेरिकाको सचिवको रुपमा कार्यरत रहिसकेकी छिन। कविता,गजल र कथा लेखनमा राम्रो दखल राख्ने यी कवि आफ्नो पुस्तामा राम्रो सम्भावना भएकी लेखक हुन । उनका कविताहरुमा प्रकृति र सामाजिक बिषयहरु शसक्तरुपमा उभिएका हुन्छन प्रस्तुत छ साताको तीन कविता ।
जिन्दगीको किनाराबाट
एकनाश बगीरहेको जिन्दगीको खोलामा
यतिबेला
एउटा बाँधको कल्पना गरीरहेको छु
लागेको छ,
जिन्दगीकाे सम्पूर्ण हिसाब खाता बिगारौँ
च्यात्यौँ, नबुझिने पुराना पानाहरू
नलेखौँ, अब जाेड, घटाउ, गुणन र भागहरू
यसो सोच्छु,
जाेड घटाउ नै नबनाई दिएको भए
अङक र अक्षरहरु नै नभई दिएकाे भए
न गन्नु पर्थ्याे उमेरकाे अङक
न लेख्नु पर्थ्याे बिगतकाे हिसाब
न गर्नु नै पर्थ्याे जिन्दगीकाे जाेड घटाउ
न गुन्नु पर्थ्याे असफलताको गुणन भाग
न सोच्नुपर्थ्यो हरदम आईरहने शेष संख्याका बारे
यी अंक र अक्षरहरू नभईदिएका भए,
अहा, कति सुन्दर हुने थियाे जिन्दगी
तर त्यो समय कहाँ छ हामीलाई ?
खासमा कुन मुर्खले बनायो अंक र अक्षर
जसका कारण
लेख्नु परेको छ उकालो र ओरालोको कथा
हिसाब गर्नु परेको छ,
सफलता र असफलताका जोड-घटाउ
धैत
यो अक्षरै अक्षरको जिन्दगी के जिन्दगी ?
यो अंकै अंकको जिन्दगी के जिन्दगी ?
के हामी बेहिसाब हाँस्न पाउनु पर्दैन ?
के हामी बेहिसाब गाउन पाउनु पर्दैन् ?
के हामी बेहिसाब नाच्न पाउनु पर्दैन् ?
खासमा बुझ्नु पर्ने कुरा यो छ कि
नहाँस्दा नहाँस्दै पनि
उमेरको खोला बग्दै बग्दै सकिन्छ नै
त्यसैले,
नझर्दै आयूको फूल, बेहिसाब हासौँ
नसुक्दै जीवनको मूल, बेहिसाब बाँचौँ
बरु भत्काऔँ , अङकहरूकाे उकालाे पहाड
बरु जलाऔँ , अक्षरहरूको बेखुसी ठेली
र भनौँ एक स्वरमा
अरे ओ समय,
हामी मान्छे भएर बाँच्न चाहन्छौँ ।
जूनेली दिदी
आँसु बगाई रहेछ रातको जून
बिहानीको प्रतीक्षामा
जसरी आँसु बगाउँछिन मेरी दिदी
अरब गएका भिनाजुको प्रतीक्षामा
कालो बादलले
जब ढाकीदिन्छ जुुनको मुहार
लाग्छ, मेरि दिदी वर्षा बन्न ठीक्क परेकी छिन
कालो बादलमा चाँदीको घेरा देखेपछि भने
सम्झिन्छिन दिदी
अरबबाट आएको रेमिटेन्स
र मुस्कुराउँछिन उनी आउने भोलि सम्झेर
जब,
पाइला पाइलामै भेटिन्छन, जङ्गली काँडा
उनलाई,
बेस्सरी बिझाउँछ एक्लोपन
बेस्सरी बिझाउँछ चुहिने छानो
बेस्सरी बिझाउँछ नानीबाबुको किताब
बेस्सरी बिझाउँछ साँहुको तमशुक
दिदीलाई लाग्छ,
हाम्रो भागको आकाशमा
कतिञ्जेल औँशी मात्र रहला ?
र कहिले बल्ला घरमा जोर दियो ?
आकाशमा जब सकिन्छ औँशी
तब उदाउँछ उत्साह लिएर जून
जूनेली दिदी
आफ्नै जवानी र ढल्दै गरेको उमेर हेर्छिन ऐनामा
अनि केर्दै मेटदै गर्छिन भित्तेपात्रो
भिनाजु
कतिञ्जेल बगाउने बालुवामा पसिना ?
र कहिलेसम्म फकाउने दिदीलाई
सुनको शिरफूलको लोभमा ?
हरेक रात जून रुँदा
ताराहरू गन्दै रुन्छिन दिदी
तर तपाईँ गन्न सक्नुहुन्न दिदीको आँसु
भिनाजु
यतिबेला दिदीलाई सुन हैन,
आसुँ पुछ्ने हात चाहिएको छ ।
पातकाे साम्राज्य
वसन्तको सुन्दर समय रहुन्जेल न
पातकाे साम्राज्य
पातलाई थाहा छ
पात हुनु भनेकाे मूल तत्व हुनु हैन
पात हुनु भनेकाे जरा र काण्ड हुनु हैन
अनि पात हुनु भनेकाे अरु नहुनु पनि हैन
जब ढल्किदै जान्छ वसन्तकाे आयु,
जब आउँछ वर्षा र आँधिबेहरी
जब चल्छ शिशिरकाे हावा
अनि ?
के हुन्छ? पातकाे साम्राज्य
पातले आफैँलाई जति नै सोचे पनि सृष्टि नै म हुँ
जब समयकाे ढाेकैमा आउनेछ बतास
उसले छाेडनु पर्नेछ
आफ्नो सिङ्गो आयू र झर्नुपर्नेछ भुईँमा
ओ पात! त्यो समय
तिमीलाई छाडनेछन तिम्रा नशा नशामा बग्ने रगतले
तिमीलाई छाडनेछ सिङ्गो रुखले
तिमी जमिनमा एक्लै रुमल्लिनु पर्नेछ
हावाकाे एकै झाेक्काले पनि उडाउनेछ
थोरै पानीले पनि बगाउनेछ तिमीलाई
सत्य यही हो
तसर्थ
यतिबेला रुखको हाँगामा बसेर
आफूलाई अग्लो नठान्नु
दिनु सबैलाई सके जति अक्सिजन
दिनु सबैलाई शितल छहारी
र बाँच्नु एउटा सार्थक जिन्दगी ।