पेसाले नर्श रहेकी सम्पदा रिजाल मोफसल बाहिर बसेर कविता कर्म गरीरहेकी पछिल्लो पुस्ताको शशक्त हस्ताक्षर हुन् । उनका कविताहरुले सामाजिक न्याय, समतामुलक समाज र सह-अस्तित्वको वकालत गर्छन्। विभिन्न सामाजिक मुद्दाहरुमा आफ्नो स्पष्ट बिचार अभिव्यक्त गर्ने सम्पदाका कविताहरु उनको बलियो चेतनाका प्रतिबिम्बहरु हुन् । प्रस्तुत छ साताको तीन कविता ।
प्रतिबन्ध
ओठमा झुन्ड्याइएको ताल्चा खोल्नु
र
केही सपनाका निस्ता गाँसहरु कोचिदिनु ।
प्रतिबन्धित कानका कपासहरु निकाल्नु
र
राष्ट्रगान बजिरहेका एयरफोन खाँदिदिनु ।
लामो निरंकुशताका थकानहरु सम्झाउनु
र
एकैछिन सुस्ताउने चौतारो खोजिदिनु ।
युद्धका घाउ, खतहरु गन्नु
र
स्पर्शको चेतना छोप्ने कोटहरु सिलाइदिनु ।
रगत गन्हाइरहेका सडकमा प्राप्तिका केही छिर्का पर्फ्युम छर्किदिनु ।
हुनसक्छ निरंकुशताको अर्को रङ !
हुनसक्छ प्रतिबन्धको अर्को स्वरुप !
झोला ?
कसले गर्यो
बंशजको यति असन्तुलित भागबन्डा ?
कसले झुन्ड्यायो
प्रत्येक मस्तिष्कमा
अधिकारको यति असन्तुलित तराजु ?
कसले टास्यो
मैले दौडिएको जिन्दगीको म्याराथुनमा
तिम्रो स्वामित्वको प्रमाण ?
युगौदेखी
धर्मले
समाजले
कानुनले
सोधिरहेको छ
मेरो पाठेघरको लालपुर्जा
र
उत्तरमा आफै रटाइदिएको छ
तिम्रो नामको सिफारिस !
तिम्रो लालपुर्जाले
मात्रै नापिएका पाठेघरहरु
तिम्रो अधिकारले मात्रै
नाम पाएका गर्भिणीहरु
तिम्रो स्वामित्वको प्रमाणले
मात्रै काटिएका
प्रसबका सालनालहरुले आज
कथित `आईमाई´ हुनुको
`चेकलिस्ट´
तिम्रो अदालत अघि च्यातेका छन
र
प्रश्न गरिरहेछन
महोदय ,
के स्वास्नीमान्छे तिम्रो बिर्य बोक्ने झोला मात्र हो ?
रोस्टम
किन बजिरहन्छ यो रोस्टममा
गाइको शोकगीत,
चुच्चे नक्साको बिज्ञापन,
मान्छेका लासहरुमाथिको पार्श्व संगीत ,
बहुराष्ट्रिय कम्पनीको दस्तावेज,
आँसुहरुको निषेधाज्ञा ।
रोस्टमको हरेक वक्तव्यको अन्त्यमा
ताली बजाउँछन कुर्सीहरु ।
यी कुर्सीहरुको किनारामा
एउटा कुर्सी मेरो पनि छ।
कुर्सीहरुको नेता रोस्टम किन कहिल्यै मेरो कथा भन्दैन ?
मसंग पनि छन ,
सडकको छातीमा
मेरो काँचो रगतले कोरेका सपनाका दस्ता ।
त्यही रोस्टमका पाइतालाबाट
घिस्रदै घिस्रदै आउँदा मैले नापेको भूगोलको नक्सा ।
थाकेका पाठेघर सुम्सुम्याउदै
हिमपहिरो थामेको काँध ।
त्यही रोस्टमले कापीकलम खोसेर
कहिल्यै अक्षर घुमाउन नपाएको उपेक्षित बुढीऔंलो ।
सधैं रोस्टमको एकोहोरो कर्कश आवाजले तर्सीरहेको
यो सदनको एउटा किनाराकृत कुर्सी,
आज पहिलोपटक आफैं रोस्टम उभिएको छु ।
थर्थर काँपेको छ यो व्यवस्थाको जड्यौरी रोस्टम
यहि थरथराहटले बिउँझिएका छन ,
हजारौं बर्षदेखि उँघिरहेका कुर्सीहरु ।