नेपाली साहित्यमा विगत अढाई दशकदेखि चुपचाप लेखनमा सक्रिय कवि–आख्यानकार अप्सरा लावती लिम्बुको हालसम्म ‘आमाको चाहना’ २०५७ मा र ‘लोजीमा’ २०६३ मा गरी दुई उपन्यास प्रकाशित छन् । कथा र कविता लेखनमा पनि त्यत्तिकै सक्रिय उहाँ केही समय शिक्षण पेशासँग पनि आबद्ध रहनु भयो । हाल याक्थुङ लेखक संघको केन्द्रीय उपाध्यक्ष समेत रहनु भएकी लावतीसँग पछिल्लो समयमा नेपाली साहित्यमा महिला लेखकले भोग्नुपर्ने चुनौती र अवस्थाको विषयमा केन्द्रित रहेर गरिएको कुराकानी
१ अझै पनि यो समय स्वास्थ्य जोखिममै छ, लेखन र पठनमा तपाईंलाई कतिको बाधा–अप्ठेरा परिरहेको छ ?
सुरुका दिनहरुमा जस्तो त्रास र तनाब अहिले छैन । सुरुका दिनहरुमा त हाउगुजी नै आए जस्तो आफ्नै घरको गेटसम्म निस्कँदा पनि भाइरसले छोइहाल्ला र मरी नै हाल्ला भन्ने त्रास हुन्थ्यो । तर यी सब अनावश्यक हल्ला र अनभिज्ञताको कारण थियो । अब पछिल्लो समयमा भनेको, सर्तकता अपनाउँदै आफ्नो दैनिकीहरुलाई सुचारु गर्न थालिएको छ । तैपनि पहिले जस्तो निस्फिक्री ढंगले हिँडडुल गर्न मानसिक रुपले अझ सकिएको छैन ।
त्यही नै हो सुरुका दिनहरुमा यो पेन्डामिकले विश्वमा नै मानसिक र आर्थिक उथलपुथल ल्याएको थियो । अझ पनि अर्थतन्त्रका समस्याहरु छँदै छन् । तर मानसिक बिचलनमा अलि सुधार आयो । पेन्डामिक सुरु हुँदै गर्दा सृजनाका कामहरु गर्न पटक्कै सकिएन । अब अहिले चाहिँ त्यस्तो गारो स्थिति छैन ।
२ ताजा लेखन के छ तपाईंको ?
म अहिले कथा संग्रहको तयारीमा छु । उपन्यास पनि एक हिसाबले लेखिसकेको छु । तर उपन्यास भन्दा पहिले कथा संग्रह नै पाठकहरु सामु ल्याऊ भन्ने लागेको छ । सँगसँगै मेरो प्रथम उपन्यास “आमाको चाहना” पनि सम्पादन गरेर पुन बजारमा ल्याउने सोच गरेकी छु ।
३ लेख्दाको चुनौती छ कि छैन ?
चुनौती भन्नाले कस्तो चुनौतीको कुरा गर्नु भएको हो ? एउटा महिला भएर लेख्दाको चुनौतीको कुरो हो भने अझ पनि चाहे जस्तो सहज परिस्थिति चाहिँ छैन । लेखनमा मात्र नभएर महिलाहरुलाई करीअरको हरेक क्षेत्रमा पारिवारिक जिम्मेवारीको हिसाबले, सामाजिक दृष्टिकोणको हिसाबले संघर्षका पाटोहरु अझ बाँकी छन् ।
४ तपाईंको लेखन सुरु केबाट या कसरी भयो ? किन लेख्नु हुन्छ ?
वास्तवमा, उपन्यास लेखनबाट नै कलम चलाउन सुरु गरेको थिएँ । मैले ख्याल–ख्यालमै उपन्यास लेखेकी हुँ । खेतबारीका डिलहरुमा बसेर, लुकीछिपी लेखेकी थिएँ । त्यो बेला म त्यस्तै सोह्र–सत्र वर्षकी थिएँ । एसएलसी दिएर बसेको खाली समयको सदुपयोग थियो । १८,१९ वर्षको हुँदा त उपन्यास नै बजारमा ल्याइसकेको थिएँ । प्रकाश कोविद र श्रेष्ट प्रिया पत्थरका उपन्यासहरु पढिन्थ्यो । त्यसैले एकैचोटि उपन्यास लेखनमा हात हाल्ने उत्प्रेरणा मिलेको थियो । तर मैले साहित्य लेखनको चुनौती र महत्वलाई नबुझी नै लेख्न सुरु गरेकी थिएँ ।
लेखनमा सबैभन्दा ठुलो शक्ति हुन्छ । लेखेर समाजमा ठुला–ठुला क्रान्ति र परिवर्तनहरु भएका थुप्रो उदाहरणहरु छन् । समसामयिक कथावस्तु र घटनाहरुलाई लेखियो भने भविष्यमा एउटा दस्तावेज पनि हो, भावी पुस्ताहरुका लागि ।
समाजका घटनाहरु, समसामयिक कथावस्तुहरुलाई उठान गर्नको निमित्त लेख्ने गर्छु ।
५ तपाईंले आफ्नै भाषामा पनि लेख्नु भएको छ कि ? लेखकको लागि मातृभाषा, संस्कृति र इतिहास जस्ता कुरा कतिको जरुरी लाग्छ ?
मातृभाषा र लिपिमा चाहिँ अहिलेसम्म लेख्न सकेको छैन । लेख्नुपर्छ भन्ने चिन्तन लिएको छु । एउटा लेखकका लागि मात्र नभएर भाषा, संस्कृति र इतिहास हामी सबैका लागि अत्यन्तै महत्वपूर्ण हुन् । यिनै चीजहरुले हामीलाई विश्वको कुनै पनि ठाउँमा लगेर पहिचान दिन सक्छ । त्यसैले कलम चलाउन सक्ने र केही चेतना, चिन्तन भएकाहरुले यी चीजहरुको संरक्षण, सम्बर्द्धन र प्रयोग गर्दै लानुपर्छ भन्ने लाग्छ ।
६ लेखकले राजनीतिलाई कसरी हेर्नु पर्छ जस्तो लाग्छ ?
लेखकले मात्र हैन । अहिलेको पेरिफेरीमा राजनीति सम्पूर्ण जनताले बुझ्न अत्यावश्क छ । तर राजनीति नै गर्ने कि नगर्ने भन्ने चाहिँ स्वेच्छाको कुरो भयो ।
७ तपाईंलाई जीवनमा छोएको खास किताब छ ? त्यो किताब किन याद गर्नुहुन्छ ?
पछिल्लो समय पढेको जीवनी “ होन्डुरसका महिलाहरुको हृदयको आवाज ” भन्ने किताबले अत्यन्तै छोयो । त्यो पुस्तक सामान्य ग्रामीण महिला एल्भीया अल्भाराडोको जीवनीमा आधारित छ । त्यसमा महिला संघर्ष र चेतना विकासका कुरोहरु चित्रण गरिएका छन् । पशुकै जीवन भोगेकी अशिक्षित महिलाको चेतना र संघर्षले उनीहरुको समुदायमाथि राज्यले गरेको अत्याचार र हिंसाको विरुद्ध विद्रोह गर्ने क्षमता राख्छिन् । त्यसमा उनको भावनात्मक र सामाजिक पीडा साथै महिला हुनुको समस्याहरुको पनि बयान छ ।
८ महिलालाई पुरुषलाई जस्तो लेख्न सहज पक्कै थिएन,छैन । कि तपाईंलाई कस्तो लाग्छ ?
मैले माथि पनि भनिसकेँ । महिलाहरुले आफ्नो करीअरको निम्ति अहिले पनि फाड्नु पर्ने परिबन्ध, परिस्थिति र समस्याहरुको जालो अझ बाँकी छ । तर पहिले हाम्रा आमा, हजुरआमाका जमानासँग तुलना गरेर हेर्ने हो भने चाहिँ आकाश र जमिनकै अन्तर आएको छ ।
९ लेखकलाई लेख्नको लागि निकै जरुरी कुरा के के हुन सक्ला ?
लेख्नको लागि चाहिने कुरो त अवश्य पनि बातावरण र परिवेशहरु नै हुन् । लेख्न बसेको बेला अनुकूल वातावरण भएन भने लेखनमा क्रमभंगता आउँछ । अर्थात् लेख्नै सकिँदैन ।
१० सबै लेखक उस्तै–उस्तै होलान ? कि फरक–फरक लाग्छ ? तपाईंले आफूलाई चाहिँ कस्तो लेखकको रुपमा उभ्याउनु हुन्छ ?
आफ्नो स्वभाव, चिन्तन, परिवेश, वातावरण र रुचिले लेखकलाई डोरयाउँछ जस्तो लाग्छ । त्यसैले लेखकहरुको लेखकीय विषयवस्तु वा सन्दर्भ कथावस्तु फरक–फरक नै हुन्छन् । म आफूलाई स्वतन्त्र लेखक ठान्दछु । मेरो कुनै वाद वा झुण्ड छैन । मैले पाठकहरुका निमित्त सृजना गर्ने हो । म आफू चिनिए पनि मेरो सृजनालाई चिनून् र सम्झून् भन्ने लाग्छ । म कुनै पनि विषयवस्तुको उठान गरेर स्वतन्त्र रुपले लेख्न सक्छु ।