इन्दिरा भट्टराई, बिराटनगर
आफ्नै नाममा जग्गा पास गर्ने खुशीमा गदगद भएर विराटनगरस्थित भूमिसुधार तथा मालपोत कार्यालय पुगेकी विराटनगर १९ की ३७ बर्षीया विमला कोइरालालाई दिनभर छटपटि भइरह्यो । त्यस्तो खुशीको मौकामा एउटा समस्याले बिमलालाई दिनभर मानसिक तनाव बढाएको थियो । त्यो तनाव न त उनीसँगै गएका श्रीमानले थाहा पाए न अन्य उनका आफन्तले । उनीहरुले विमलालाई तनाव भइरहेको होला भन्ने सुइँकोसम्म पाएनन । तनावको कारण थियो— महिनावारी हुँदा लगाएको प्याड कहाँ फेर्ने !
शौचालय दुर्गन्धले भरिएका थियो । प्याडमा रगत लतपतिएकाले त्यसको विसर्जन अनिवार्य थियो । रजश्वलाको बेला व्यक्तिगत सरसफाईलाई ख्याल गर्नै पर्ने भएकाले गन्हाएकै शौचालयमा गएर उनले प्याड फेरिन । प्याड त फेरिन तर उनलाई अर्को समस्या आइलाग्यो, त्यो प्रयोग भइसकेको प्याड कहाँ फाल्ने ? केही उपाय नलागेपछि विमलाले नयाँ प्याडमा टाँसिएको कागजले प्रयोग भईसकेको प्याड बेरेर रुमालमा पोको कसेर ब्यागमा राखिन । पानीको व्यबस्था समेत नभएको शौचालयमा कोही आएर ढोका तान्ला की भन्ने डरले छिटोछिटो गरेर निस्कनु परेको त्यो क्षण सम्झदा पनि दिक्क लाग्ने विमला सम्झन्छिन ।
‘पेट दुखेर हैरानी, त्यसमा पनि घर बाहिर आईलाग्ने यस्तो तनावले के कामको लागि आएको भन्ने पनि भुलिने रहेछ’ विमलाले दिनभरीको अनुभव सुनाइन —‘महिनावारी भएको बेला कहिँ जान नपरे हुन्थ्यो जस्तो लाग्छ ।’ तर, महिनावारी भएकै कारण काम र अवसर छोडन त कहाँ हुन्छ ?
त्यसो त करिब सात महिना अगाडि सोही कार्यालयमा लगातार तिन दिन धाउँदा रंगेली नगरपालिका ३ दर्बेसाकी ३५ बर्षीया ज्ञानु न्यौपानेले भोगेको पीडा पनि कम थिएन । ‘फटाफट काम भएन धाइ रहनु परयो, त्यसमाथि मलाई महिनावारी भएको तिन दिन सजाय नै पाए जस्तो हुन्छ’ ज्ञानुले सुनाइन । दर्वेसाबाट विराटनगरसम्म लामो समय मोटरसाइकल चढेर आउँदा तुरुन्त प्याड फेर्नु पर्ने भयो । तर, ज्ञानुले घरमै पूर्व तयारी गरेर आएका कारण प्याड कहाँ फाल्ने भन्ने चिन्ता भएन । घरबाट हिडनु अगाडी प्याडसँंगै प्लाष्टिककोे झोला बोकर आएका कारण प्याड त्यसैमा हालेर ब्यागमा थन्काइन । ज्ञानुले भनिन —‘जहाँ पायो त्यहीं फाल्न भएन, डस्टविन हुँदैन भए पनि मान्छेको बिचमा हुन्छ । कसरी फाल्नु ? बरु बोकेर घर लगो उतै फाँले ।’ मालपोत कार्यलय एक उदाहरण मात्र हो । देश कै पुरानो शहर र प्रादेशिक राजधानी बिराटनगरका सरकारी कार्यलयहरु अझै पनि महिलामैत्री बन्न सकेको छैन । कार्यलयमा भएको शौचालयहरु व्यवस्थित त छैनन नै, महिलामैत्री बन्न नसक्दा त्यहाँका सेवाग्राहीहरुले भुक्तमान व्यहोरिरहेका छन ।
अव्यवस्थित सार्वजनिक स्थल
बिराटनगर महानगर क्षेत्रमा भएका सार्वजनिक शौचालयहरु पछिल्लो समयमा बन्द छन । केही भत्काइएका छन । सडक विस्तार भइरहेकाले भएका शौचालयहरु भत्काउनु परेको बिराटनगर महानगरपालिकाले जनाएको छ । केही सार्वजनिक शौचालय भने पुननिर्माणका लागि बन्द रहेका छन । नभत्काइएको अवस्थामा समेत शौचालयमा प्याड विसर्जन गर्ने डस्टवीनको व्यबस्था गरिएको छैन । विराटनगर महानगरपालिका ९ स्थित ट्राफिक चोकमा जोशिला ट्रेडर्स संचालन गर्ने ४७ बर्षीया लक्ष्मी ढकालको अनुभवमा सार्वजनिक शौचालयहरु पनि व्यवस्थित थिएनन । प्याड बिसर्जन गर्ने डस्टवीन र नियमित सरसफाइको अभाव थियो ।
एकातिर सरकारी कार्यलयका शौचालयहरु व्यवस्थित नहुने र अर्कोतिर सार्वजनिक शौचालयहरु पुननिर्माणको क्रममा रहेको हुँदा आजभोलि यहाँका महिलाले अर्को जुक्ति लगाएका छन । त्यो जुक्ति हो, झोलामा प्याड, पत्रिका र प्लाष्टिकको थैली साथमा लिएर हिडने । ‘महिनावारी कुन दिन कुन समयमा हुन्छ पत्तो हुदैन, त्यसैले २,४ दिन अगाडी नै तयारी गरेर वैकल्पिक सामान बोकेर हिडछु ।’ लक्ष्मीले सुनाइन ।
२०६८ सालको जनगणना अनुसार नेपालका कूल महिला मध्ये ४६.७९ प्रतिशत महिलाहरु प्रजनन उमेर समूहका रहेका छन । यस उमेर समूहका महिलामा मासिक रजस्वला हुने गर्दछ । जसलाई महिनावारी भन्ने गरिन्छ । यसरी महिनावारी भएको समयमा रगत निस्कने गर्दछ र यो क्रम ३ दिन देखि ७ दिन सम्म चल्ने गर्दछ । यस समयमा नियमित प्याड परिवर्तन र सरसफाई अनिवार्य मानिन्छ ।
महिलामैत्री सार्वजनिक स्थलको आवश्यकता यसैकारण मानिएको हो । सार्वजनिक शौचालय व्यबस्थित नहुँदा यो प्राकृतिक प्रक्रियालाई नेपाली समाजले सहज ढंगले लिन नसकेको अर्थमा बुझ्नु पर्ने हुन्छ । यस्तो बुझाई सबै क्षेत्रका स्थानीय महिलाहरुमा व्याप्त छ । विराटनगरकी पत्रकार विनु तिम्सीनाको अनुभवमा अव्यबस्थित सार्वजनिक शौचालय, पर्याप्त पानीको अभाव र प्याड ब्यवस्थापनको प्रबन्ध नहुनु समस्या हो । ‘रिपोर्टिङमा नगई हुदैन, सरकारी कार्यलयमा जानुपरे पनि व्यवस्थित शौचालय र प्याड विसर्जन गर्ने डस्टविन हुँदैन’ पत्रकार तिम्सीना भन्छिन्— शौचालय गयो, प्याड ब्यागमा बोकेर घर ल्यायो, हैरान लाग्छ ।’ उनको थप भनाइ छ ‘झट्ट सुन्दा सामान्य लागे पनि यो महिलाका लागि ठूलो समस्या हो । सरकारले नीति बनाएर सबै कार्यालयहरु, सार्वजनिक स्थलमा अनिवार्य प्याड व्यबस्थापनको सामाग्री, पानी र महिनावारी सरसफाई सामाग्रीको ब्यवस्था मिलाउनु पर्ने देखिन्छ ।’ अधिकारकर्मी मञ्जिता उपाध्याय पनि सरकारी कार्यलयहरुमा महिलामैत्री संरचनाको आवश्यकता भएको दावी गर्छिन । यस्ता संरचनाको अभावमा महिलाहरुलाई काममा बाधा पुग्ने र अन्ततः दीर्घकालीन प्रभाव पार्ने उपाध्ययको भनाई छ ।
महिलामैत्री पूर्वाधार
प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा.बालकृष्ण साह महिनावारीको समयमा सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताउछन । महिनावारीको समयमा पाठेघरको मुख खुकुलो हुने हुनाले नियमित सरसफाई नगरे जिवाणु छिरेर दिर्घकालीन असर हुने उनको चेतावनी छ । ‘ब्याक्टेरियाले महिनावारीको समयमा बाहिर आउने रगत मन पराउने भएकोले चाँडो–चाँडो सफा गरेर भित्र छिर्न दिन हुँदैन । डाक्टर साहले भने – सेनेटरी प्याड सामान्यतया ६ घण्टामा परिवर्तन गर्नु पर्छ । प्याड पूर्ण रुपमा प्रयोग नभइसके पनि धेरै समय लगाइरहनु स्वास्थ्यका लागि राम्रो हुँदैन । यसकारण कार्यलयहरुमा महिलामैत्री पुर्वाधार चाहिन्छ ।
भूमिसुधार तथा मालपोत कार्यालय विराटनगर मोरङका प्रमुख लोक बहादुर भण्डारी कार्यालयमा शौचालय भएपनि ब्यवस्थापन राम्रो नभएको स्वीकार गर्छन । उनकै शब्दमा ‘फोहोरी अड्डा’ भनेर परिचित कार्यालयलाई चाँडै महिलामैत्री बनाउने तयारी छ । दैनिक दुई सय बढी जग्गासँग सम्बन्धित प्रशासनिक काम हुने कार्यालयमा करिब ३० प्रतिशत महिलाहरुको नाममा जग्गा पास हुने हुदाँ कार्यालयमा महिलाहरुको बाक्लो उपस्थिति हुन्छ । तर, कार्यालयको पछाडी भागमा रहेको शौचालय धेरैले देख्दैनन । कार्यालयले ‘शौचालय यता छ’ भनेर सूचना टाससम्म पनि गरेको छैन ।
यस बर्ष बजेट विनियोजन भएकोले कार्यालयलाई महिला मैत्री बनाउने, शौचालय सरसफाई र प्याड ब्यवस्थापनको लागि डस्टविन राख्ने लगायतका काम अगाडी बढाउने योजना रहेको मालपोत अधिकृत भण्डारीले बताए । विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्कीले कार्यालयका शौचालयमा प्याडको ब्यवस्था गरेपनि सार्वजनिक शौचालय, बडा कार्यलयहरुमा ब्यवस्थापन नभएको बताइन । सेनेटरी प्याड वितरण, महिनावारीको समयमा गर्नुपर्ने सरसफाईको बारेमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै यस बर्ष महानगर मातहतका कार्यालयहरु महिलामैत्री बनाउने तयारी भइरहेको जानकारी दिइन । महानगरका विभिन्न पाँच स्थानमा महिलामैत्री हुने गरी सार्वजनिक शौचालय बनाउने तयारी रहेकोले भिडभाड हुने र अन्य ठाउँमा महिलाका लागि सहज हुने उनको भनाई छ ।
बजार तथा भिडभाड हुने स्थानहरुमा सार्वजनिक शौचालय, पानी र हात धुने सामाग्रीको ब्यवस्थापन मात्र भएपनि महिलाहरुले सङक्रमणको जोखिममा पर्नुपर्ने र काम नै अधुरो छोडेर हिडनुपर्ने बाध्यता टार्न महिला स्वास्थ्यसँग सम्बन्धित व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्दछ । सार्वजानिक सेवा प्रवाह गर्ने कार्यालयहरु अझै पनि महिलामैत्री नहुँदा घर बाहिरको काममा निस्केका महिलाहरुले ‘कन्टामिनेट’ प्याड झोलामा बोकेर हिडनुपर्ने बाध्यता छ । जसका कारण महिलाहरुको स्वास्थ्यमा झन जोखिमको खतरा बढन जान्छ ।