बिचार

पंचायती व्यवस्थामा गोरु र गाईको छालाबाट च्याब्रुङ बनाउदा बनाउदै लगेर थुने, लोकतन्त्रमा अहिले पनि थुन्दैछन । अहिले पनि सयौँका संख्यामा हाम्रा दाजुभाईहरू सोही कारणले जेलजीवन भोग्न वाध्य छन। त्यो समयमा त्यहि व्यवस्थाको विशेष समारोहरुमा च्याब्रुङवालाहरु बोलाईन्थे, नाच्थे । अहिले पनि गाईलाई माता मान्ने केही ठुला पार्टीको नीति त्यहि छ । हामी उसको समारोहलाई रमाईलो बनाईदिन च्याब्रुङ बजाउदैछौँ ।

पहिले श्री ३ राणाहरुको दरबारमा उनिहरुको रमाईलोको लागि नाँच्ने नर्तके, नर्तकी जस्तो भएका छौं । त्यहि नर्तकीहरुलाई राणाहरुले यौनदासी बनाएका थिए । नर्तकेहरुलाई कमारो बनाएका थिए । यस्तो हुनुमा १९१० को जंग बहादुरले ल्याएको पहिलो कानुनमा मासिन्या जाति ( मार्दा कानुन नलाग्ने, कमारा कमारी बनाउन पाउने, व्यापार गर्न नपाउने ) भनेर तोकेको तामाङ समुदाय प्रायः शोषित पिडित बने र आजसम्म पनि यो समुदायमाथी परेको आर्थीक ,शैक्षिक, राजनितिक र सामाजिक असर यथावत छ ।

शुभकार्यमा मात्र बजाउने सम्मानित बाजालाई च्याब्रुङ बनाउनसम्म नदिने, हाम्रो संस्कृतिलाई खिसिटिउरी गर्नेको कार्जेमा गएर नाचेर च्याब्रुङको गरिमा र महिमालाई शुन्यमा पुर्याउदैछौं हामीले ,भनेपछि हाम्रो मौलिकता कतातिर जादैछ ? हामी कता जादैछौ ? आफैले आफुलाई प्रश्न गर्ने समय सायद ढिला भैसक्यो । राणाहरुले उबेला तामाङ जातीमाथि गरेको विभेदको असर अहिले पनि र अब आउने सयौँ बर्षपछि सम्म पनि भोग्न बिवश हुने छन उनिहरुको सन्तती ।

बर्तमान समयमा अहिले याक्थुङ (लिम्बू) हरूमा च्याब्रुङलाई दुरुपयोग गर्ने एजेण्टहरुको लर्को लामो छ । अवस्था उस्तै र यस्तै छ की समग्र लिम्बु समाजले समयमै बुझ्न जरुरी छ की इतिहासको गर्वमा उनिहरुलाई कमजोर र बदनाम गरिएको थियो भनेर। याक्थुङ (लिम्बू)हरूमा लाजको साह्रै ठुलो अर्थ छ । समाजमा थोरै लाज भयो, लाज हुने काम भयो भने शिर ढल्छ र मरिन्छ भन्ने मान्यता छ । शिर ढलेमा तुरुन्तै शिर उठाउने अनुष्ठान गर्ने चलन आज पर्यन्त छ । अहिले समाजका एजेण्टहरुले समुदायको नै शिर ढालेको अवस्था छ । तेसैले याक्थुङ समुदायका कलाकारहरुले गीत गाउँदा, नाच्दा गाईने, नर्तके नर्तकी भएर सडकछाप झैँ हुने कि स्वाभिमानी कलाकार भएर समुदायको पनि शिर उठाउने ? आजको यक्ष प्रश्न यही हो ।

चासोक तङनाम,उधौली पर्व,फोल ष्याँदर, चासुवा लगायत आदिवासीको चाडमा बिदा कटौती

बिक्रम सम्बत २०६२ र ६३ को जनआन्दोलनपछि आदिवासी जनजातिका चाडपर्वमा राष्ट्रिय बिदा दिन शुरू भयो । पञ्चायतको महेन्द्रीय शैलीले थिचोमिचोमा पारेको पर्वहरू २०४६ सालको प्रजातन्त्रले पनि न्याय गर्न सकेको थिएन । झण्डै १० वर्षभन्दा बढि समय राष्ट्रिय पर्वको रुपमा मान्यता पाएको चासोक तङनाम, उधौलि पर्व, फोल ष्याँदर, चासुवा लगायतको चाडको विदा केपि ओलीको दुईतिहाई बहुमतको सरकारले कटौती गर्यो । आदिवासी जनजातिको लागि उनी महेन्द्रिय शैलिमा मात्र फर्केनन, पशुपतिमा ३० करोडको जलहारी, ठोरीमा राम मन्दिर बनाउन उर्दि जारी गरे ।

राज्यको रकम असली हिस्दुस्तान निर्माणमा प्रतिबद्धता जाहेर गरे । राष्ट्रिय विदा कटौति गरे पनि जिउ हजुरिया गरेपछि राजाले हुकुम बक्स गरे झैं गरेर निर्णयबाट विदा दिए । आदिवासी जनजातिलाई हजुरिया गर्न लगाउने, दोश्रो दर्जामा राख्ने घुमाउरो कुमाई चाल चाले । नीतिगत रूपमा शून्य बनाउने, दिए झैं गरेर भुभलैयामा पार्ने नीति अख्तियार गरे ।

अहिले कतिपय ठाउँहरुमा माथि नेता र पार्टीहरुको कालो कर्तुतलाई ढाकछोप गर्न तल्लो तहमा सोहि पार्टीका नेता कार्यकर्ताहरुले चासोक तङनाम, उधौलि मनाउने कार्यक्रमको आयोजना गर्दैछन । नर्तके, नर्तकी बनाउन आव्हान गर्दैछन । उपयोग गर्ने, नचाउने पनि अब अति भयो, चरम दुरुपयोग नगरौ । रम्ने नाच्नेहरुले पनि स्वाभिमान बचाऔँ । यति मात्रै गर्न सकेपनि आउने पुस्ताको निम्ति सबभन्दा महत्वपुर्ण र सुन्दर उपहार हुनेछ ।

https://www.hongkongkhabar.com/8004.html

तपाईको प्रतिक्रिया