नेपाली कविता लेखनको क्षेत्रमा आफ्नै मौलिकताका साथ आफ्नो पुस्ताहरु माँझ शिल्प र बिचारको आधारमा ससक्तरुपमा आइरहेकी कवि बादलदेवी चाम्लिङ एक शक्तिशाली कवि हुन। कविता लेखनमा महिलाले भोगीरहेको जीवन र उनिहरु माथि भैरहेको ज्यादतीको बिरोधमा जबरजस्त आफ्नो कवितामा बिद्रोह गरिरहेकी यी कविको कविता आम पाठकहरुले पनि त्यतिकै रुपमा रुचाउदै आइएका छन । प्रस्तुत छ साताको तीन कविता ।

घरफूलहरु

बुकी, मखमली पनि हैन
अझ ईन्द्रकमलको भन्दा पनि मिठो हुन्छ घरफूलको बासना ।

घर निर्जिव हो
तर बेस्कन जीवन ओथारेर बस्छ ।

बाटोछेउ उभिएको घरफूलकोे नाम बाटोघर
धाराछेउमा उभिएको छ त धारापानी
टिनको छानोे ओढेको छ भने टिनघर आदि ।

यिनलाई फूल्न मलिलोे माटो चाहिन्न
हरियो, ताजै जाग्न
सिम्सार, चिस्यान चाहिन्न
सुन्दर देखिन अरुको रङ
नक्कल लगाउन अरुको पहिरन चाहिन्न ।

आफ्नै बासना हुन्छ
बिहानै पुग्नुस
ठेकीबाट उठेर ताजा मोही आँगनसम्म फैलिएको हुन्छ
हाँडीमा भुटेको मकै भटमास मगमगाउँदैै नाकसम्म धाउँछ
मुला सिन्कीको अमिलो बासना
ओहोे !
तपाईंको जिब्रोले अघि नै ठाउँ छाडिसक्छ ।

मान्छेहरु आपतमा रुन्छन कराउँछन
घरफूल आतिन्न
वैँशमा घाम पनि चर्को हुन्छ
घरफूल मातिन्न ।

घरफूलहरुको मातृवात्सल्य प्रेम
घाम, जूनको भन्दा आत्मीय हुन्छ
काखमा लुटपुटिनु त
छानो आकाश र माटो धर्ती यही पाइन्छ

यी घरफूलहरु मेरो गाउँमा फूलेका छन ।

दृश्यमा उनी

तपाईंको आफ्नो आँखा फुकालेर छेउमा राख्नुुस

अमानव हुनुस

र सुन्नुस

म एउटा दृष्य पस्कँदैछु

चौबीस पच्चिस वर्ष जस्तै देखिने उनी

बोक्सी , चोर या बेश्या यस्तै केही हुन रे

बाटोको दुवैपट्टि

नालीको डिलभरि मान्छेहरु लस्कर उभिएका छन

सजाय हुन्छ आज

आवाज यस्तै सुनिन्छ

भीड उठदैछ ।

भकाभक उनीमाथि मुक्का बररर बर्सन थाल्छ

कपाल फुकेर हावामा फुरुरुरु उडिरहेको हुन्छ

घाँटी, ढाड, अनुहारमा रगत भलभल बग्दैछ

भीड तातेको छ

भीड मातेको छ ।

भकुन्डो जस्तै

मुक्काले उछिट्टिन्छिन परपरसम्म

उठछिन

फेरि ढल्छिन

पसिनाझैँ रगत पुछ्न फुर्सद छैन उनलाई

मानौँ

भीड

बर्खाको भेल हो

उनीमाथि उर्लँदैछ ।

शरीरमा कपडा थोरै बाँकी छ

त्यो पनि नाजुक छ

मट्टीतेल छर्किएर अब

आगो सल्काइन्छ ।

हातले आगो झार्न खोज्छिन

हातै पोल्छ

कतै टाढा भाग्न खोज्छिन

ज्वालाले आँखा छोपीदिन्छ

लर्बराउँदै बीच बाटोमा ढल्छिन

आत्था पोल्यो….नमिठो चिच्याउँछिन

यसबेलाको पीडा

मेरा शव्दहरुमा हैन

उनैमा छाम्नुस

क्रुरताको पराकाष्ठाको पारो

त्यहि भीडमा नाप्नुस ।

फुत्त एउटा छोरो मान्छे निस्कन्छ

एक भाँडो पेट्रोल उनैमाथि हुत्याउँछ

हुरुरुरु लप्का एक छानो उठ्यो

उनको शरीर झस्केझैँ देखियो

हातका औँला अलि अलि चल्दै थिए

त्यहि पनि बन्द भयो ।

लौ अब

तपाईंको आँखा खोल्नुस

मानव हुनुस

र गम्नुस

यो दृष्यमा तपाई कहाँ हुनुहुन्छ ?

खुसी

बाहिर पानी दर्किरहेको थियो

नानीहरु

सिकुवा छेउको पिँढी

आँगननेर सिँढी हुँदै रुझिरहेका थिए ।

हजार खुसी दिन सकुँ

मेरो ध्याउन्न

झोर जङ्गल छिचोलेर इन्द्रेणी फल पोल्टाभरि ल्याएँ कति

घामको न्यानो थुन्चे भर्दैै

बिछ्याउँनामा फिँजाएँ कति

मेहनत गरेँ

मैले दिएको खुसी त थोरै पो रे

यति विघ्न रमाएको आजैै देखेँ ।

प्रकृतिको यो उपस्थिति तमासा हो लाग्यो

चटक किन देखाउनु

डाह, ईर्ष्या जाग्यो

हेर्छुु

नानीहरु बाहिर पानीसँगै

म भित्र एक्लै छु ।

जमिनको धुलो साम्य भइसकेको थियो

बलेँसीमा पानीले आफु खुसी आकार लिइसकेको थियो

मतलव

हाम्रो खुसी हामीबाट अघि नै खोसिइसकेको थियो ।

बडो दुखले

खातामा जम्मा गरेको हृदयधन सकिएपछि

यही बिन्दुबाट खुसी जोर्न थाल्नुपर्छ भनेर

म जुरुक्कै मात्र उठेकी थिएँ

मन फुरुङ्ग भो

बिस्तारै छामेँ

अघि खोसिएको खुसी त फर्किएर मन भरि टम्म

बसिसकेको पो रहेछ

यो क्षण फोहोर धोइएर म त कति सफा बनें ।

तपाईको प्रतिक्रिया