तप्लेजुङ जिल्ला हाङपाङ २०१५ सालमा जन्मिएकी साहित्यकार लक्ष्मी उप्रेती नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभा सदस्य हुनुहुन्छ । लामो समयदेखि बनिता प्रकाशनको अध्यक्षको रुपमा कृयासिल हालसम्म उनको उनन्चालिस वटा कृति प्रकाशीत छन । बाल साहित्य र महिला मनोविज्ञान उनको लेखनका प्रमुख विषयवस्तु हुन । प्रस्तुत छ हङकङ खबरले यही विषयवस्तुमा केन्द्रीत रहेर गरेको कुराकानी :
सन्चै हुनुहुन्छ ? नयाँ के तयारी गर्दै हुनुहुनुहुन्छ ?
सन्चै छु। नयाँ काम भन्नु आफ्नै केही प्रकाशनमा बाँकी रहेका कृतिहरूको पाण्डुलिपि मिलाउने व्यवस्थापनमा छु।
लामो समयदेखि साहित्यीक संस्था , लेखन अनि आमाको भुमिका समान्तर रुपमा अगाडि ल्याईरहनु भएको छ । एउटा महिलाको निम्ति आमा र लेखक हुनुमा कस्ता कस्ता चुनौतीहरु देखिएको छ ?
आमा हुनुको जिम्मेवारी बहन गर्न केही समस्याहरू पक्कै भयो। तर सन्तानको लागि समस्या भनेर म पछि हटिन । यसमा समयले पनि साथ दियो। साहित्य मेरो रूचिको विषय हो । यसलाई सँगसँगै लिएर हिडदा मेरा छोरा, छोरीले कहिले अबरोध गरेनन। जहिले र जसरी पनि साथ दिई रहेका छन। यसैले पनि होला चुनौतीसँग लडदै बढीरहेँ।
लेखनकै सिलसिलामा तपाईंले देख्नु भएको सामाजिक विभेद र असमानता यी दुई बिषयलाई तपाईंको लेखनले अभिव्यक्ति गरिरहेका हुन्छन। तपाईं पात्रहरुलाई कसरी चयन गर्नुहुन्छ ?
पात्रहरूको चयन गर्न सहज त छैन। तर समाजका पात्रहरूलाई पहिले नजिकबाट नियाल्छु र कहिले दिमागमा सुल्झन्छ र मनमा बेचैनी र छटपटी हुन्छ तब लेख्छु। यसमा कुनै पात्रहरू कै अनुमति लिन्छु र अलिकति काल्पनिक रंग भर्छु। कुनै पात्रहरूलाई हानि नपुग्ने गरि गुमराहमा पनि राख्छु। यस्तो पनि गर्नु पर्ने हुन्छ लेखनमा।
लेखन क्षेत्रमा पनि पितृसत्तात्मक सोच हावी छ भन्छन। तपाईंको प्रतिक्रिया के छ यसमा ?
हावी भन्दा पनि अवसरका खोलीहरूलाई पुरूषले सहजैसँग भजाँउने वातावरण हुन्छ भने महिलालाई निकै कुराले छेक्छ। घर, परिवार, छोराछोरीलाई प्राथमिकता दिदा दिदै कति महिलाहरु हराउँछन। नहराउनेहरू पनि पुरूषको तुलनामा पछि नै हुन्छन। तर लेखन शक्ति भने महिलामा पनि कम छैन। पुरूषका समानान्तर हुन सक्छन जस्तो लाग्छ है मलाई त।
लेखनमा पारिजात पछि आएका महिला लेखकहरुमा बैचारिक खडेरी छ भन्ने टिप्पणीहरु पनि सुनिन्छ। के साच्चिकै यस्तै हो त ?
माथि नै भनि सके जिम्मेवारीको कुरा। यसैलाई बुझ्ने हो भने महिलाहरूमा झन बढी विचारको प्रवाह हुन्छ। महिला लेखकहरुले परिवारका समस्या र समाजका समस्या नजिकबाट बुझेका र भोगका हुन्छन र देखेका हुन्छन। त्यसलाई अभिव्यक्त गर्न सक्दैनन तर लेखनमा उनिहरुलाई सहज हुन्छ र यही नै भविस्यमा इतिहासको दस्तावेज हुन्छ ।
तपाईं लामो समयदेखि वनिता प्रकाशनको प्रमुखको रुपमा क्रियाशिल हुनुहुन्छ र प्रज्ञा सदस्य पनि हुनुहुन्छ। महिला लेखकहरुको चुनौती के कस्ताे देख्नु भएको छ ?
महिला लेखकहरुको चुनौती प्रशस्त छ कति कुराहरु लेख्न चाहेर पनि लेख्न सक्दैनन । परिवार समाजद्वारा निर्धारित सँस्कार र सभ्यताहरुमा महिलाहरु बाँधिएका हुन्छन। बल्ल यसबेला अलिकति खुकुरो हुँदै गएका छन । महिला लेखनमा सक्षम छन। लिङ्ग भेद नगरौं ।
आखिर जीवन के रहेछ ?
थोरै खुसी धेरै दुख। तर खुसी थोरै भए पनि सम्हाल्न सके पूर्ण होइन्छ । दुख घेरै भए पनि जीवनको एउटा पाटो सम्झेर हिडनु नै जीवन हो।
अन्तमा केही भन्नुहुन्छ कि ?
भन्न पर्ने कुरा के छ भने महिला कहिले दयनीय र असक्षम छु भन्ने भावनाबाट ग्रसित हुनुहुन्न । हामी त दोहोरो बोझ बोकेर पनि लेखनमा आइरहेका छौँ । तर यही कुरा पुरूषबाट सम्भव छ त ? नेपाली महिलाहरुले शक्तिशाली यात्रा तय गरिसकेको छ अब निरन्तरता मात्र हाम्रो चुनौती हो ।