क्रान्ति सुब्बा

आत्मरती  अथवा अंग्रेजीमा नार्सिसिजम (Narcissism) अर्थात आत्मप्रेम या आत्ममुग्धता एउटा  मनोवैज्ञानिक अवस्था  हो। अरुको आवश्यकतालाई वास्ता नगरी आफ्नो स्वार्थमा केन्द्रित हुनु र आफ्नै रुप गुणमा मात्रै ध्यान दिनु आत्मरतिवादी  कहलिनु हो। अथवा फ्रायडका अनुसार जब कुनै पनि मानिसको सम्बन्ध बाहिरी दुनियाँसंग टुटछ तब उ आफै तिर फर्किन्छ अनि स्व सम्बन्ध बिस्तारमा केन्द्रित हुदछ। । अक्सर अन्तर्मुखी स्वाभाव भएकोमा यस्तो किसिमको व्यक्तित्वको विकास हुने गर्दछ

यो स्वस्थ्य  र अस्वस्थ्य किसिमको हुने गर्दछ। आत्मकामी हुनु भनेको प्रकारान्तरमा आत्म गौरव गर्नु हो अथवा आफ्नो  गुण दोषलाई बराबर जान्नु पनि  हो। स्वस्थ  स्तरको आत्म गौरवले नै ब्रेन सर्जन, राष्ट्रपति, रकेट साइन्टिस्ट जस्ता व्यक्ति जन्माउने गर्दछ भन्छिन  डाक्टर सोन्या ब्रनर । यस मानेमा आत्ममोह हामी कसैमा हुनु स्वाभाविक छ ।
वास्तवमा एउटा परिपक्व अवस्थामा पुगेको स्वाभिमान र आधारभुत आत्म सम्मान  आत्मप्रेमबाट नै बनेको हुन्छ।  तर कति हदसम्म आत्ममोह  भन्ने मात्र हो। आत्म आशक्तीको स्तर बढेर मानिस अति स्वार्थी बन्न गएमा अथवा म जत्तिको जान्ने र श्रेष्ठ  हरेक कुरामा कोहि पनि छैन भन्ने मपाइत्वको भावना अथवा अहंकार जन्मिएमा त्यसले व्यक्तित्वमा विकार ल्याउँदछ र नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डरलाई जन्माउदछ। 
वास्तवमा कुनै पनि व्यक्तिको स्वाभिमान रक्षार्थ निर्माण भएका अंतव्यैक्तिक(आन्तरिक ) र पारस्परिक ( वाह्य) रणनीतिक प्रणालीको नाम हो आत्ममोही आचरण । अर्थात यो आचरणले मानिसलाई आत्मसम्मान (self respect ) मा चोट लागेको कुरा संझाउने गर्दछ।

प्रेम नपाएर शोकमा डुबेकी इको नार्सिससलाइ हेर्दै

टिन एजमा जोकोही नार्सिसिस्टिक हुनु अन्यथा होइन। यो उमेरमा मानिसको शारीरिक मानसिक कुराको विकास हुने प्रक्रियामा नै भएकोले यस्तो हुनु प्राकृतिक छ।

संसारमा आत्ममुग्धता भएको तर मानसिक रोग नभएका मानिस पनि हुन्छन। यस्ता मानिस खलपात्रको रूपमा निकै कुख्यात देखिएका छ्न। यिनिहरुले अरु भन्दा आफुलाइ सुपर ठान्छन र यस्तो ठान्नुलाई पटक्कै गलत देख्दैनन। अरु मानिसको भावनालाई यिनिहरु कम बुझ्छ्न कि त बुझ्दै बुझ्दैनन। अरु मानिसमा आइपरेको सुखदुःखको हकमा पनि वेपर्बाह रहन्छन। संसारमा उपलब्ध सम्पूर्ण श्रेष्ठ चिजहरुको हकदार उनी पनि हुन भन्ने सोच राख्दछ्न। आफ्नो स्वार्थको लागि अरुको शोषण गर्न यिनिहरुलाइ केहि जस्तो लाग्दैन । यसो भनौं बास्तबमा उनीहरु जे गरिरहेका हुन्छन, त्यो कति गलत वा  कति सहि हुन्छ भन्ने बारेमा सचेत  हुदैनन अथवा यस्तो कुरालाई बुझ्ने अन्तरज्ञान उनिहरुमा हुदैन। फलस्वरूप अरुको शोषण गरेकोमा उनीहरुलाई न त लाजसरम हुन्छ न कुनै पश्चताप।

भनिन्छ वर्तमान र इतिहासमा नार्सिसिस्ट लिडरहरु हाम्रो समाजमा थिए र छ्न। बास्तबमा यस्ता नेताहरू शक्तिशाली ओहदामा जाने जन्मजात दक्षता लिएर आएका हुन्छ्न र त्यो दक्षतालाई  अभ्यासमा ल्याउन उनिहरुलाइ केही जस्तो  लाग्दैन। कतिपय लिडरहरुले त आफू शक्तिमा गएपछि दुष्टताको नमुना नै पेश गरेका छ्न जस्तै : एडोल्फ हिटलर ,जोसेफ स्टालिन ,पोल पोट, मोहामार गदाफी लगायत सबै जसो तानाशाह र अपराधी  आदि । बिजनेसको दुनियाँमा पनि सहयात्रीको बलमा सफलताको सिढी उक्लने बिजनेस लिडरहरु छ्न जस्तै बिल गेटस, ल्यारी एलिसन आदि ।

नार्सिसिस्ट र नार्सिसिस्टिक पर्सनालिटि डिसअर्डरमा ठुलो अन्तर छ भन्ने कुरा बिर्सनु हुन्न भन्छ्न डाक्टर आलेन स्वार्ज। जस्तै नार्सिसिस्टिक व्यक्तिमा मानसिक रोग हुदैन, व्यक्तित्व विकार पनि  हुदैन । तर यिनिहरुमा पैसा, पद ( शक्ति ) र मान कमाउने अजेय रुचि हुने गर्दछ। धेरै जस्तो नार्सिसिस्टहरु आफ्नो लक्ष्यमा पुग्न सफल पनि  हुन्छन।

आत्मरतिक  व्यक्तित्व विकार भनेको के हो?

अब कुरा गरौं नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डर रोगको सन्दर्भमा । यो रोगको ठोस कारण अहिलेसम्म पत्ता लागेको छैन । यद्यपि ब्रीटानिका पेजमा   अस्ट्रीयाली मनोविश्लेषक द्वय हेन्ज कोहुट(Heinz kohut) र ओट्टो केनबर्ग ( Otto Kernberg) को  सिद्धान्तबारे एउटा जानकारीमुलक लेख छ। उक्त सिद्धान्त अनुसार यो बिमार हठात देखा पर्दैन । यसको बीउ बाल्यकालको बेला मातापितासंग हुने गडबडयुक्त  अन्तरक्रियात्मक अनुभवबाट  नै रोपिन थाल्दछ । एउटा स्वस्थ्य आत्मा विकसित हुने क्रममा कुनै  त्रुटी भएमा  नार्सिसिस्टिक व्यक्तित्वको खिल गाडिन  थाल्छ। मुलतः आमा त्यसपछि  आसपासमा  रहेका व्यक्तिसंगको अन्तरक्रियाको भरमा वालकको अंतर व्यक्तित्व विकास हुदै परिपक्व हुने गर्दछ । जुन अभिभावकहरु करुणामय र संवेदनाले भरिएका हुन्छन उनीहरुको बालबच्चाले दुई तरिकाबाट आफू भित्र  असल आत्मा बिकास गर्ने मौका पाउछ्न । एक , उनिहरुले आमाबुबाको चालचलन हेरेर आफु कस्तो बन्ने भन्ने कुराको प्रतिबिम्ब (दृष्टान्त ) प्राप्त गर्नेछ्न। दुइ , त्यस्तो मातापिताले नानीहरूको सामुन्ने चाहिदो स्तरको  व्यवहार यथार्थपरक ढंगले   प्रकट गर्दछ्न जसलाई  नानीहरूले आदर्श ठानेर आफू पनि त्यस्तै बन्न संभव हुन्छ भनी अनुकरण गर्दछ्न।
तर जुन  मातापितामा करुणाको अभाव हुन्छ र बालबच्चालाई पनि सोही अनुसारको कठोर र निष्ठुर व्यवहार गर्छन र  नानीहरूले अभिभावकबाट  सराहना, प्रशंसा प्राप्त गर्दैनन साथै  नानीहरू सामु उचित रोल मोडेलको रूपमा पनि प्रस्तुत हुन सक्दैनन भने त्यहाँबाट समस्याले प्रवेश गर्दछ।

ग्रीक मिथकमा पाइने वन अप्सरा

केनवर्ग र कोहुटले प्रस्तुत गरेको सिद्धान्त अनुसार यिनै  वाल्यकालीन इतिहास असन्तोषजनक सामाजिक सम्बन्धहरुका साथ गुज्रिएका वयस्कहरु नै आफ्नो छबिलाई भब्य देखाउने ध्याउन्नमा लाग्छ्न जसले जीवनलाई  नै द्वन्दग्रस्त मनोबैज्ञानिक परनिर्भरतामा बाँच्नु पर्ने अवस्थामा पुर्याइदिन्छ।

यो बिमार चरीत्रको पर्याय बनेर अक्सर जीवन भर रहने गर्छ। यो बिमारले  कुनै पनि व्यक्तिभित्र आवश्यकता भन्दा अधिक आत्मविश्वास भरी दिने गर्दछ । जसले गर्दा त्यो व्यक्तिले स्वयंलाई सबैभन्दा असल र अलग संझन थाल्दछ।

आत्ममुग्धता असल र खराब खाल्का हुन्छ्न। असल र स्वस्थ्य आत्ममुग्धताको हकमा व्यक्ति आफ्नो कमीकमजोरीलाई हटाउनको लागि आफुले आफैभित्र आत्मविश्वास जगाउनतिर  लाग्दछ। खुशी र संतोषजनक जिवनको लागि यो आवश्यक छ र यो आम मानव स्वाभाव पनि  हो।
उच्च आत्म गौरब हुनु, समाजमा आत्मविश्वासका साथ बाँच्नु, दृढ निश्चयी बन्नु, आफुले वास्तविक रूपमा हासिल गरेका उपलब्धि प्रति गर्व गर्नु, आफ्नो शारीरिक रुपको ख्याल गर्नु , प्रतिस्पर्धाको भावना राख्नु आदि स्वस्थ्य  मानसिकताको द्योतक नै हो।

तर जब व्यक्ति आत्मकेन्द्रित बन्दछ तब आत्ममुग्धताले समस्याको रुप लिदछ। तब अरुको भावनाको कदर नगर्ने , आफ्नै मात्र प्रशंसा सुन्ने प्रवृति बढन थाल्दछ। र विस्तारै यो प्याथोलोजिकल बन्दै  नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डर अर्थात आत्मरतिक व्यक्तित्व विकारको स्वरुपमा रूपान्तर हुन थाल्दछ। निरन्तरको विकारयुक्त सोच , इमोसन र व्यवहार जसले आफु र अरुलाइ हानी गर्दछ भने त्यो व्यक्तित्व विकार अन्तर्गत पर्दछ।

नार्सिससको कायान्तरणको दृष्टान्त दर्साउने साल्भाडोर डालीको पेन्टिङ metamorphosis of narcissus by Salvador Dali

नार्सिसिस्टिक पर्सनेलिटी डिसअर्डर ११ किसिमको व्यक्तित्व विकार मध्ये एउटा हो जो क्लस्टर बी(नाटकीय र अस्थिर चरीत्र ) पसनालिटी डिसअर्डरभित्र पर्दछ। यो व्यक्तित्व विकार मगजमा आउने गडबडीका कारण हुन्छ। शोधले बताए अनुसार एनपिडी (नार्सिसिस्टिक पर्सनलिटी डिसअर्डर) हुने व्यक्तिको मस्तिष्कको त्यो भाग जुन करुणा र संवेदना संग संबंधित हुन्छ – मा ग्रे म्याटर ( gray matter ) को कमि  हुने गर्दछ । ग्रे अर्थात धुस्रो रंगको यो पदार्थले हाम्रो मस्तिष्कको ४० प्रतिशत भाग बनेको हुन्छ। आत्म निर्देशित र आत्म केन्द्रित सोचाइ संचालन गर्ने यस्तो  व्यक्तिको  मस्तिष्कको यो एरिया शान्त समयमा समेत ज्यादै सक्रिय हुने गर्दछ परिणामस्वरूप यस्तो  मानसिक विकार पैदा हुदछ। यस्तो विकारबाट ग्रसित व्यक्तिलाई आफ्नै इमोसनले दुख दिने गर्दछ । अर्थात आफ्नै इमोशनको उचित  व्यवस्थापन गर्न नसक्दा यो विकृति आउदछ।

यस्तो विकारबाट ग्रसित मानिसको जिवनमा तनावको मात्रा बढ्यो भने अरु मानसिक रोग जस्तै साइकोटिक,डिप्रेसन पनि  हुने संभावना बढदछ। ड्रगिस्ट र अल्कोहोलिक हुने संभावना पनि उत्तिकै हुदछ। यस्तो मानिसमा तपशिल बमोजिमका मानसिक समस्या बेलाबेलामा आइरहन्छ:
.एन्जाइटी
.डिप्रेसन
.बाइपोलर डिसअर्डर
.इटिङ डिसअर्डर (आहार विकार)
.एव्युसिब बिहेबर (घटिया व्यवहार )
.सब्स्टेन्स एब्युज ( लागु पदार्थ सेवन)
.एटेन्सन डेफिसिट डिसअर्डर (ध्यान अभाव विकार)
.सुसाइडल थटस एन्ड बिहेबर (आत्महत्या सम्बन्धि सोच र क्रियाकलाप )

यस्तो व्यक्तित्व विकार भएका मानिसमा आत्मविश्वासको कमि र भित्री मनमा असुरक्षाको भाव लुकेर बसेको हुन्छ भन्ने कुरा स्वयं पीडितलाई थाहा हुन्न। यस किसिमको बिमारले जिवनका अनेकौं पाटा जस्तै आपसी सम्बन्ध , काम , विद्यालय  वा आर्थिक जगत आदिमा प्रभाव पार्ने गर्दछ। नारीको तुलनामा यो रोग बढी मात्रामा पुरुषलाई लाग्ने गर्छ। यो रोगको शुरूवात प्राय टिनएजबाट अन्यथा वयस्कता लाग्नु भन्दा केहि अगाडि हुने गर्दछ। तथापि बालबालिका र युवामा यो रोगसँग मिल्दोजुल्दो स्वाभाव अल्पकालसम्म  देखिन्छ जुन पछि हटेर जाने गर्दछ।

कतिपयले यस्तो व्यक्तित्व विकार भएको मानिसलाई अहंकारी,कुटिल (खुरापाती),स्वार्थी , दम्भपुर्वक कृपा देखाउने र डिमान्डिङको संज्ञा दिने गर्दछ्न।

यस्तो आत्ममोही अर्थात आत्मपुजक व्यक्तित्व विकारबाट पीडित मानिसहरु कुनै पनि हालतमा आफ्नो आनिबानीमा सुधार ल्याउन मान्दैनन चाहे त्यो बानीका कारण उसले जतिसुकै दुख या हानी व्यहोरेका  किन नहोस। दोष जति अरुमा थोपर्ने उनीहरुको प्रवृति हुन्छ ।

आफुमाथी मात्र अत्याधिक ध्यान दिने ,प्रशंसाको भोक अति लाग्ने , चिनेजानेको मानिसको  जिवनमा अती हस्तक्षेप गर्ने , अरुको रहन सहन र रिलेशनसिपमा आवश्यकता भन्दा बढी चियोचर्चा गर्ने  र कमजोरी मात्र  निकाल्न खोज्ने जसले गर्दा अरुलाइ आफूभन्दा तल देखाइ खिल्ली उडाउन सकियोस जस्ता  लक्षणहरु जोकोहीमा देखियो   भने ती लक्षणहरु यो रोगसंग संबंधित हुन सक्छन ।

हामी सबैमा आलोचना गर्ने प्रवृति हुनु अनौठो कुरा होइन तर रातदिन आफ्नै मात्र बढाइ चढाइ गर्ने र अरुको त्रुटी कमजोरीमा समय खर्च गर्न थालियो भने हामीमा यो रोग हाबी हुन सक्दछ।

यस्तो अस्वस्थ नार्सिसिस्टसंग संबन्ध  जोडिएका कतिपय व्यक्तिहरु तिनैका मागअनुसार जीउनु बेहत्तर भनेर जीवन बाँचेका पनि हुन्छ्न। त्यस्तोसंग सिङ जुधाउन थालियो भने बेकारमा सम्बन्ध चिसिने  र झैझगडा हुने हुन्छ भनेर सहेर बाँच्ने गर्छन। यदि तपाईंले नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डरबारे बुझिसक्नु भएकोछ भने र यस्तो मानिस तपाईंको जीवनमा आयो भने थाहा पाइहाल्नु हुन्छ। र यस्तो मानिसको पावर प्ले अर्थात अनेक धातुको खेलबाट बच्नु पर्दछ जसको लागि एउटा स्वस्थ दुरि कायम राखेर बस्नु उत्तम हुन्छ ।
विशेषज्ञका अनुसार करिब ६.२% प्रतिशत जनसंख्यामा यो समस्या हुन्छ ।

नार्सिसिजम शब्दको जन्म

नार्सिसिजम  शब्द ग्रीक मिथोलोजी(मिथक)बाट आएको हो। बास्तबमा  नार्सिसिजम शब्द पहिलो शताब्दी अर्थात  इस्वि संवत ८ मा  रोमन कवि  ओविड (२० मार्च ४३ बिसि – १७/१८ एडि) द्वारा लिखित   मेटामोर्फोसिस भन्ने पुस्तकको तेस्रो खण्डबाट लिइएको हो। उक्त खण्डमा भएका दुई जना मुल पात्र नार्सिसस र इकोको वरिपरि यो कथा घुमेको छ।  
त्यसो त नार्सिसस भन्ने पात्र प्राचीन ग्रीकको पौराणिक कथाहरुमा अनेकौं भुमिका लिएर उपस्थित छ्न – नदिदेवका पुत्र, राजा,  शिकारी आदि ।

ग्रीक मिथोलोजीमा उल्लेख देवताका  राजा अर्थात ज्युसले एक दिन इको नामक अप्सरालाई बोलाएर आफ्नो श्रीमती हेरालाई गीत गाएर ,कथाहरु सुनाएर मनोरञ्जन दिलाउने आदेश दिन्छ्न। आफ्नो श्रीमतीलाई यसरी अल्झाएर अन्य अप्सराहरुसंग मस्ती गर्ने आदत  उनको रहेको हुन्छ। हेरा एकदम ईष्र्यालू र प्रतिशोध साँध्ने स्वाभाव भएकी  देवी थिइन। आफ्नो लोग्नेको परस्त्रीगमन बानी बारे उनी परिचित नै थिइन। इकोलाई पनि ज्युसले उनलाई अलमलमा पार्न नियुक्त गरेको कुरा उनले पत्ता लाउछिन । इकोको  चालामाला थाहा पाएपछि आबेगमा आएर  हेराले उनलाई श्राप दिइन। उक्त श्राप पाएपछि इकोले अब उप्रान्त कसैले भनेको कुराको अन्तिम शब्द मात्र दोहोरयाउन सक्ने भइन। आफ्नो कुरा बोल्ने क्षमता गुमाइन। यसैको आधारमा उनको नाम अंग्रेजीमा इको अर्थात गुन्जन रहन गएको हो।

नार्सिसस फुल

एकदिन बोएसिया निवासी नार्सिसस नामक एक शिकारी आफ्नो साथीहरूका साथमा जंगलमा शिकार खेल्दै थिए । इको पनि श्रापित भएपछि निराश मुद्रा लिएर यहि वनपाखामा घुम्दै थिइन। जंगलमा हिडदै गर्दा नार्सिससलाई देखिन । उनको  मन्त्रमुग्ध तुल्याउने  रुप देखेपछि स्वतस्फूर्त उनी प्रेममा फसिन । नार्सिसस यति रुपवान थिए कि जोकोही नारी उनलाई देख्नासाथ प्रेममा परि हाल्थे। तर नार्सिससको हृदय पगाल्न असंभवप्राय थियो ।  हेराद्वारा श्राप पाएका कारण उनको बोली फुटदैन थियो । त्यसपछि उनले  ती अति सुन्दर युवकलाई पछ्याउछिन र उसले केहि बोल्ला र म पनि बोलुम्ला भनी ।


नार्सिसस शिकार खेल्ने क्रममा साथीहरूसंग छुट्टिएका  थिए । उनले आफ्नो साथीहरूलाई बोलाउन थाल्छ्न। ऐन मौकामा इको बनस्पति घारीबाट  नार्सिससले बोलेको शब्द दोहोर्याउन थाल्छे। दुबै तिरको आवाज जंगलको एकान्तमा गुन्जायमान हुँदा नार्सिसस हैरान हुन्छ्न। अन्तमा चिच्याउदै भन्छ्न “हामी यहाँ संगै आउनु पर्थ्यो।” इकोले यसो भन्दा उनलाई नै निमन्त्रणा दिएको जस्तो लाग्छ । “हामी यहाँ संगै  आउनु पर्थ्यो” भन्ने शब्दावलीलाई दोहोरयाउदै उनी उफ्रीएर नार्सिसस अगाडि उभिन पुग्छिन र अंगालो हाल्न खोज्छिन। यो चाल देखेपछि नार्सिससले यस्तो जंगलकि अप्सराको वसमा पर्नु भन्दा मर्नु जाती भनेर इकोलाई आफ्नो अगाडिबाट हटाएर अगाडि बढछ्न।

टुटेको मुटु बोकि इको रुदै एकलास गुफातिर लाग्छिन। त्यो एकान्तमा रातदिन इको  खान, सुत्न छोडेर नार्सिससको यादमा डुब्छिन। नार्सिससको दुर्व्यवहारका कारण घटनु पर्ने माया झन बढेर पो गयो। अन्ततः विलापपुर्ण चित्कारमा उनको देहान्त हुन्छ।

प्रतिशोधकि देवी  नेमेसिसले यो सबै दृश्य देख्छिन । इकोको एकतर्फी प्रेमको उपहास गरेकोमा  आफ्नै प्रतिबिम्बसंग प्रेममा परोस भनेर नार्सिससलाई सराप दिन्छिन। र नार्सिससलाइ लोभ्याएर इकोको देहावसान भएको गुफा नजिकको तलाउमा लान्छिन जहाँको पानीमा उनले आफ्नै प्रतिबिम्ब देख्छ। नार्सिससलाई त्यो आफ्नै प्रतिबिम्ब हो भनेर थाहा हुदैन र आफ्नै प्रतिबिम्ब उनलाई यति राम्रो लाग्छ कि उनी थाहै नपाई  प्रेममा फँस्छ्न। जति उनले आफ्नो सुन्दर प्रतिबिम्बलाई हेर्छन त्यति गहिरो प्रेममा फस्छ्न।


नार्सिससलाई आफ्नो रुप (अनुहार ) प्रति यति गहिरो प्रेम बस्छ कि ऊनी तलाउको पानीमा देखिएको आफ्नो प्रतिच्छायालाई छोडेर जान असमर्थ हुन्छ्न। त्यसै पनि
आफ्नो समयका  सर्वसुन्दर युवाको रूपमा प्रख्यात थिए नार्सिसस। नभन्दै उसलाई यस्तो महसूस हुन्थ्यो कि ऊनी जत्तीको   सुंदर व्यक्ति सम्पूर्ण संसारमा छैन । आफ्नो  सुंदरताको  अघि उसलाई पुरा दुनियाँ  फिक्का लागेर आउँथ्यो ।
आफू जत्तिको सुन्दर रुप भएकी जोडी खोज्दा नपाएपछि उनले विवाह पनि नगरी बसेका थिए । अब त  उसलाई आफ्नै छविप्रति औधी  प्रेम बसिसकेको थियो तर  आफ्नै प्रतिबिम्बलाई  प्राप्त गर्न असंभव थियो । आफ्नो   छवि प्रतिको आकर्षणलाई  छोडन  असमर्थ पात्रको रूपमा पाउँछ उसले आफुलाइ । अंततः उसलाई महसूस हुन्छ अब उसले आफ्नो प्रेमलाइ  प्राप्त गर्न नसक्ने रहेछ  ।


भोक र तिर्खा मारेर उ एकोहोरो पानीमा देखिएको आफ्नो प्रतिबिम्ब हेर्न अभिशप्त हुन्छ। एकदिन आफ्नो प्रतिविम्वलाई चुम्बन गर्ने क्रममा उसले जल तर्फ आफ्नो ओठ बढाउँछ । उसको ओठले पानीलाई स्पर्श गरेपछि पैदा भएको तरंगले प्रतिविम्बलाइ मेटाइदिन्छ। उक्त प्रतिविम्बलाई खोज्नलाइ उसले तलाउमा हाम फाल्छ र उसको मृत्यु हुन्छ। जुन तलाउको किनारमा उसको मृत शरीर रहेको थियो त्यहाँ एउटा सुन्दर फुल केहि समय पछि उम्रन्छ, जसको नाम पनि नार्सिसस( नर्गिस) राखियो। यो फुललाई डेफोडिल्स पनि भनिन्छ । यसरी नार्सिससको अति आत्मप्रेमबाट नार्सिसिजम भन्ने शब्द मनोविज्ञानमा भित्रीयो।

स्वार्थीपनको पराकाष्ठाको रूपमा आत्मलिनतालाइ इतिहासमा हेरिदै आइएता पनि यसलाई एउटा मनोविकृती वा मानसिक समस्या हो भनेर सन १८९८ मा पहिलो चोटि बेलायती निबन्धकार तथा चिकित्सक ह्यावलक एलिस (Havelock Ellis) ले ठम्याएका थिए ।
विश्व विख्यात मनोवैज्ञानिक सिग्मंड फ्रायड (१९०५-१९५३)का अनुसार बालबालिकाको शारीरिक मानसिक विकास हुने क्रममा  आत्ममुग्धता हुनु सामान्य हो तर यौवन अबस्था पस्चात  यो  स्थिति  आयो भने यसलाई विकार भनिन्छ। त्यसपछि उनले अन नार्सिसिजम (सन १९१४) शीर्षक राखेर  एक लेख लेखे।
न्युरोलोजिस्ट तथा मनोविश्लेषक अर्नेस्ट जोन्स (१८७९-१९५८) ले सर्वप्रथम यो अतिअहंकारवादलाई चरीत्र दोषको रूपमा अर्थ्याएका थिए।

आधुनिक महामारीको संज्ञा पाएको यो विषयलाई अहिले  मनोविज्ञानको  पाठ्यक्रममा मात्र  होइन समाज विज्ञान र साँस्कृतिक विषयमा पनि   शामेल गरिएको छ।

नार्सिसिजमका लक्षणहरु

यो रोग लागेका मानिसलाई आफुलाइ यो रोग लागेको छ भनेर पत्तो नहुन सक्छ। आफ्नो आत्म छबिको विषयलाई लिएर कुनै समस्या उब्जिएपछि मात्र यो समस्या आफुमा पनि छ कि भन्ने हेक्का हुन्छ। 

लक्षणहरु

१. सधैं आफ्नैबारेमा बोल्दछ्न

यो  विमारबाट ग्रस्त मानिसमा  स्वयंलाई  सर्वश्रेष्ठ सम्झिने  प्रवृत्ति यति  प्रबल हुन्छ  कि उसले अरुको अगाडि हरबखत आफ्नै मात्र  प्रशंसा गरिरहेको हुन्छ । अरुबाट पनि हरबखत प्रशंसा खोज्दछ । उ आफ्नो कुनै पनि गल्तीलाई  स्विकार्न  तैयार हुदैन । यस्तो मानिसमा स्वयंप्रतिको आत्ममुग्धताको भाव यतिबिघ्न हुन्छ कि उसले दुनियाँको चारै तिर खराबी नै खराबी मात्रै देख्छ। उसले आफू भित्र भने असलै असल कुरा मात्र पाउँदछ। आजभोलि यस्ता प्रवृतिका मानिस देखा परे भने छेउछाउका सहकर्मीहरु यसलाई अहंकार या एटिट्युड सम्झेर त्यो मानिससंग दुरि राखेर बस्ने गरेको पाइन्छ ।

यस्तो व्यक्तिले आफ्नो उपलब्धि र क्षमताको बारेमा खुब बढाइ चढाइ गरेर बताउने गर्छन। कुराकानी हुँदा प्राय आफू मात्र बोलेर एकाधिकार जमाउन खोज्छ्न। यिनिहरुलाई   इग्नोर अर्थात वेवास्ता गर्‍यो भने यिनिहरुले आफूलाई  उपेक्षित भएको ठान्दछ्न। आफुमाथी दुर्व्यवहार भएमा क्रोध प्रकट गर्छन र भित्र भित्रै आफुलाइ खोक्रो भएको महसुस गर्छन। कहिलेकाहीँ त नभएको उपलब्धि र क्षमता छ भनेर झुठो पनि बोल्छ्न।

अरु कसैले प्रशंसनीय उपलब्धि हासिल गरे भने उसले अझ यो भन्दा नि राम्रो गर्न सक्थ्यो नि भनेर यहाँ यो गल्ती गरयो भनेर औल्याउदछ्न।
यस्तो मान्छे अरुको कमजोरी के छ पत्ता लगाएर त्यो कमजोरीलाई उसैको विरुद्धमा प्रयोग गर्न माहिर हुन्छ्न।

photo: nhdd studio hk model : sapana

२.कल्पनाको दुनियाँमा हराउँछन

यो  बीमारबाट  ग्रस्त मानिस प्रायःजसो कल्पनाको  दुनियाँमा हराइरहेका हुन्छन। उसले आफु स्वयं भन्दा ज्यादा सुंदर, श्रेष्ठ, बुद्धिमान र ज्ञानी अरु कोहि छैन भन्ने सम्झन्छ । दुनियाँको सबै मानिसलाई उसले अदना कोटिको ठान्दछ। यस्तो मानिसले अरुको हरेक कुरालाई काटने गर्दछ। अरुलाइ येन-केन-प्रकारेण गलत साबित गर्न चाहन्छ । आफू भित्र निहित असुरक्षित भावनालाई ढाकछोप गर्न यिनिहरु आफ्नै कल्पनाले अतिरंजितरूपमा श्रेष्ठ तुल्याइएको आफ्नै  छविलाई प्रेम गर्न थाल्छन। उक्त भ्रमपुर्ण शानलाइ मलजल गर्ने सिलसिलामा उसको एटिट्युड र व्यवहारमा गडबडी आउने गर्दछ। यस्तो मानिसले  अलिकति मात्र उसको  आलोचना भयो भने  खप्न सक्दैन ।

३. आफुलाइ वरिष्ठ ठान्नु

यस किसिमको  व्यक्तिको  विचार बहुत  उच्च हुँदछ तर  सिर्फ आफ्नो लागि मात्र । आफुले पाएको पदमा अहंकार गर्दछ्न। यस रोगबाट ग्रसित व्यक्तिले अरुलाई कदर गर्दैन । किनकि उसको नजरमा उ आफू बाहेक कोही पनि कदर गर्नु लायकको हुँदैन । औसत मानिस भन्दा धेरै उच्च र विशिष्ट भएका कारणले बिशेष व्यक्तिले मात्र उसलाई बुझ्ने क्षमता राख्ने कुरामा उ विश्वास गर्दछ।
यस्तो मानिसले कसैलाई साथी बनाउन पनि असफल हुने गर्दछ। परिवारमा पनि सम्मान प्राप्त गर्न सक्दैन । आफू भन्दा सर्वश्रेष्ठ कोहि छैन भन्ने भावनाले उनको मनलाई कब्जा गरेकोले यस्तो मानिसले सबैलाई आफ्नो दास देख्दछ। त्यसकारण यस्तो मानिसको पारिवारिक र सामाजिक जीवन खलबलिएको हुन्छ।

कतिपय विशेषज्ञको विश्वास के छ भने वाल्यकालको अनुभवले  नार्सिसिस्टिक गुण विकास हुन सघाँउदछ । यसको अर्थ हो मातापिताले अपनाएको हुर्काउने तरिकाले चरीत्र निर्माणमा फरक पार्दछ।
कति अभिभावकले आफ्नो छोराछोरीहरु युनिक र स्पेसल छ्न भन्ने बिश्वास पाल्दछ्न। नार्सिसिस्टिक व्यक्तित्व विकास भएको मानिसको  हकमा  माता पिता मध्ये एक जनाले पक्कै पनि  सो बच्चालाई निरन्तर तिमि पर्फेक्ट छौ भन्ने रटान दिएको  हुनु पर्छ, सबै जसो गल्तीलाई क्षमा दिने या त ढाकछोप गरिदिने गरेको  हुनुपर्छ र कमजोरीहरुलाई प्रशस्त छुट दिएको हुनु पर्छ।
बच्चालाई यसरी हुर्काएपछी उक्त बच्चाले ठुलो भएपछि  आफू विशिष्ट भएको कुरामा पुर्णतः कन्भिन्स हुन्छ र आफू भन्दा  तल्लो स्तरको देखिने   मान्छेलाई  नगन्ने हुन्छ। र कसैले उसलाइ गनेन भने यस्ता मानिसले उ कतिको युनिक र  स्पेसल मानिस हो भन्ने नबुझेर त्यसो गरेको हो भन्ठान्दछ।

४.अति ठुलो महत्वकांक्षा राख्छन
सधैं क्लास र स्टाटसको कुरा गर्दछ्न। असंभव गोल सेट गर्दछ्न। यस्तो  व्यक्तिले आफुलाइ असीमित सफलता मिल्दछ भन्ने  कुरामा  विश्वास पालेर बस्दछ। त्यसैले उसलाई सधैं ठुलाबडासंग उठबस गर्न असल लाग्दछ। उनिहरु  ठुला संस्थासंग जोडिन्छ्न। आफ्नो शानलाइ देखाउन उनिहरु यसो गर्छन।

५.आकर्षणको केन्द्र बन्न चाहन्छन

हरेक ठाउँमा आकर्षणको केंद्र बनिने चाहनालाई पुरा गर्न उ आफ्नो निम्ति अनेक हुने नहुने  कुरामा खर्च गर्न थाल्दछ। स्वयंलाई  सबसे सुंदर र अलग देखाउने यो अंतहीन सिलसिलामा उनी कहिल्यै सन्तोषपुर्वक र चयनसाथ बस्न सक्दैनन। 
यो रोगबाट ग्रस्त व्यक्तिमा स्वयंलाई  सर्वश्रेष्ठ ठान्ने भावना रहेको हुँदा आफुलाइ  सर्वश्रेष्ठ साबित गर्ने क्रममा कहिलेकाहीँ उसले केही  हास्यास्पद क्रियाकलाप पनि गर्दछ। जीवनमा उनीहरुले जे चाहन्छ्न त्यो पुरा हुनु पर्छ भन्ने दृढ विश्वास उनीहरुमा हुने गर्दछ। उनीहरुको इच्छा र आकांक्षा उनिहरु वरिपरिका मानिसले स्वतस्फूर्त पुरा गर्नु पर्छ भन्ने अपेक्षा राख्छन। उनीहरुको प्रत्येक खाँचो टार्न तपाई सक्षम हुनु हुन्न भने उनीहरुको नजरमा तपाई बेकामे ठहरिनु हुन्छ।
अरुबाट प्राप्त हुने ध्यानाकर्षण र प्रशंसाले उनीहरुको श्रेष्ठताको भावनालाई मलजल पुग्दछ। उदाहरणको लागि :
.उनीहरुको स्टाइल, रुपडाल वा खुबीलाई अरुले सराहना गरोस भन्ने अपेक्षा राख्छ्न।
.आफुले प्राप्त गरेको उपलब्धिलाई कसैले तारिफ गरेनन भने क्रुद्ध हुन्छ्न।
.अरुले मलाई कसरी हेर्छन होला भन्ने विषयमा सोच्नमा धेरै समय बिताउछ्न।
.उनीहरुले आर्जन गरेको प्रतिष्ठा , जिवन स्तर वा सम्पत्ति देखेर अरुलाइ जलन होस भन्ने चाहन्छ्न।
.इज्जत कमाउनको लागि अरुलाइ दया देखाउने , दान दिने कार्य गर्दछ्न।

६.अति आकर्षक देखिने चाहना हुन्छ

यो रोगबाट  ग्रस्त व्यक्ति सबसे अलग यूनिक र एक्सक्लूसिव देखिने चाहनाले हरपल बेचैन रहने गर्दछ। सुरुमा यिनिहरु अति आकर्षक र आत्मविश्वासी देखिन्छन । तर सम्बन्ध बढदै गएपछि यिनले  आफ्नो तुच्छता र आक्रमकता प्रकट गर्छन। उच्च ओहदा र नेतृत्व हत्याउन यिनले आफ्नो आकर्षक र आत्मविश्वासयुक्त व्यक्तित्वलाई भजाउँछ्न।
आफू भन्दा पपुलर र उच्च आत्मविश्वास भएको जस्तो देखिने  मानिससंग भेट भयो भने यस्तो मानिसले आफू असुरक्षित भएको महसुस गर्दछ। आफ्नो चाकडी नगर्ने वा कुनै पनि कोणबाट आफुलाइ चुनौती दिने कुनै पनि व्यक्ति यीनको लागि खतरा हो। यस्तो मानिसले प्रयोग गर्ने सुरक्षा संयन्त्र भनेको निन्दा या तिरस्कार हो। खतरालाई निष्प्रभावी तुल्याउन र आफ्नै खस्कदो अहंकारलाई टेको दिनलाई यस्ता मानिसले ती खतरापूर्ण मानिसलाई गिराउने काम गर्दछ्न। यस्तो काम कि त उक्त व्यक्ति भन्दा  आफुलाइ ठुलो बनाएर कि त उसलाई उपेक्षापुर्ण व्यवहार गरेर गर्दछ्न। जसरी भए पनि ती व्यक्ति भन्दा उनिहरु चाहिँ ठूलो देखिनु पर्दछ । अथवा डर देखाएर  , धम्क्याएर , चरीत्र हत्या गरेर, अपमान गरेर कसरी हुन्छ त्यस्ता मानिसलाई टाढा राख्ने कोशिश गर्दछ्न।

७. सधैं आफ्नो तारिफ भएको चाहन्छ्न

यस्ता मानिस सधैं आफ्नो  तारीफ भएको सुन्न मन पराउँदछन। तर उनिहरु कसैको तारीफ नगर्ने हुन्छ्न। यदि कतैबाट उनको वास्ता भएन र प्रशंसाको अभाव भयो भने उनिहरुले आफुलाई  खाली भएको जस्तो लाग्छ । बोर लाग्ने , के गरुम कसो गरुम हुने अन्यथा डिप्रेस फिल हुने गर्दछ।

photo by dev man limbu nhadd studio hk

९.विशेषाधिकारको भावना

उनिहरु सधैं अरुबाट  स्पेशल ट्रीटमेंट प्राप्त गर्न चाहन्छ्न । नार्सिसिस्टले महसुस गर्ने बडप्पन भनेको एउटा हावा भरेर फुलाइ रहनु पर्ने बेलुन जस्तो हुन्छ। उनको स्तुति र कदर भएको हावा भरिएन भने त्यो बेलुन सुक्न थाल्छ। बेलाबेलाको अभिनन्दनले हुदैन उनलाई । उनको इगोलाइ निम्म खुराकको आवश्यकता पर्छ । त्यसैले स्तुतिको तलतल मेटाउन उनिहरुले आफ्नो वरिपरि इच्छुक सेवकहरुलाई राख्छन। ती इच्छुक सेवकहरुको सेवामा कमी आएमा त्यसलाई नार्सिसिस्टले धोका भएको ठान्दछ।

१०.अरुको भावनालाई बुझ्ने क्षमता न्यून हुन्छ

यस्तो मानिसले अरुको भावना (फीलिंगस) लाई बुझ्दैनन । यहाँ सम्मकि आफ्नै सबैभन्दा प्यारो मान्छेको पनि भावना बुझ्दैनन। कसैले प्रयोग गरेको शब्द र देखाएको व्यवहारले अरुलाई कतिको पिडा दिन्छ वा चोट पुर्याउछ भन्ने कुरा यिनिहरु बुझ्दैनन।
.आफ्नै समस्या र भावनामा केन्द्रित हुन्छ्न। अरुका नि उसको जस्तै समस्या हुन्छ भन्ने बुझ्दैनन।
.कुनै पनि कुरामा उनीहरुलाई पहिलो स्थानमा राखोस भन्ने अपेक्षा राख्छ्न।
. अरुको कठिनाइप्रती खासै रुचि रख्दैनन।
.आफ्नो भावना पोख्नुलाई कमजोरी ठान्छ्न।
.बिना  फाइदा  अरुको काम गर्दैनन

११. अति प्रतिस्पर्धी हुन्छ्न
यस्ता मानिस कुनै पनि मुल्यमा आफ्नो जित भएको देख्न चाहन्छ्न। नार्सिसिस्टमा विजयी हुने आशक्ती अत्यन्त धेरै हुन्छ। यिनको जित्ने मनोकांक्षा धेरै भएको कारणले अरुको जितलाई राम्रो संग मनाउदैनन। अथवा उनको हार भयो भने त्यसलाई स्विकार्नु निकै गाह्रो पर्दछ उनलाई ।

१२.ईष्र्यालू हुन्छ्न

उसलाई अरुदेखि ईर्ष्या लाग्ने गर्दछ, तर उसलाई   अरुले उसलाई  ईर्ष्या गर्दछ भन्ने लाग्छ।
उसले आफुलाइ जतिसुकै भयंकर ठानेता पनि अक्सर  सानो चुनौतीले उसलाई तर्साउछ। आफ्नो ठालुपनलाई चुनौती दिने स्थिति आयो भने  उसले अस्विकार गर्छ कि त त्यहाँबाट उठेर हिडछ।

१३.आफ्नो स्वार्थको लागि अरुबाट फाइदा उठाउने

यस्तो मानिसले आफ्नो फाइदाको लागि अरुलाई प्रयोग गर्दछ बिना लाज शरम। वास्तवमा नार्सिसिस्ट व्यक्तिमा अरुको भावनालाई बुझ्न सक्ने क्षमता कहिल्यै विकास हुदैन । अर्काको जुत्तामा आफ्नो खुट्टा लाएर त्यो मान्छेको सोचलाई आफुले महसुस गर्न सक्ने मर्मस्पर्शक उ कहिल्यै बन्न सक्दैन । आफुसंगै बसेका वा संसर्गमा रहेका  मानिसलाई खाँचो टार्न काम लाग्ने बस्तुको रूपमा मात्र हेर्ने गर्छन। फलतः केहि नसोची सिधै आफ्नो स्वार्थ पुरा गर्नको निम्ति यिनिहरु मानिसबाट फाइदा उठाउने गर्दछ्न। कहिलेकाहीँ यस्तो अन्तरव्यैक्तिक शोषणले विकराल रुप लिन्छ  भने कहिलेकाहीँ अज्ञात अबस्थामा नै रहन्छ। नार्सिसिस्टहरु आफ्नो व्यवहारले अरुलाई हानी पुर्याउँछ भन्ने कहिल्यै सोच्दैनन। उसको व्यहोराले कसैलाई असर परेको कुरा औल्याउँनु भयो भने पनि उनिहरु यस्तो कुरा बुझ्दैनन। उनीहरु केवल आफ्नो आवश्यकतालाई मात्र बुझ्छ्न।

१४.आलोचना सहन सक्दैनन
यस्तो मानिसले अरुको एक एक कुरालाई मजाकमा उडाइ दिन्छ । तर यस्तो मानीसलाइ कसैले ठट्टामा उडाइ दियो भने रिसले आगो हुँदछ।
यस्तो मानिस अहंकारी हुन्छ। यस्तो मानिसको आत्म छवि सतही अर्थात आडम्बरी हुन्छ। यिनिहरु पुरै हठी स्वाभावका हुन्छन। बाहिरबाट जति दह्रो देखिएता पनि भित्र कमजोर हुन्छ्न। 
आफुले गरेको कुरा सोचे  जस्तो भएन भने यस्तो मान्छे रिसाउने, बेखुसी हुने र व्याकुल हुने गर्दछ्न।

१५. इमोसन व्यवस्थापनमा कमजोर

यस्ता व्यक्तिले न त आफ्नै या अरुको इमोसनलाइ बुझ्न सक्दछ्न। अरु व्यक्ति या आफुले  अनुभव गरेको भय,घृणा र लाज जस्ता इमोसनलाइ बुझ्न गाह्राे हुने गर्दछ।
उसलाई अरुको  पर्सनल लाइफ प्रति  खूब चासो हुने गर्दछ।
यस्तो मानिस माथि भर पर्न गाह्राे हुन्छ। किनकि यस्तो मानिस आफै परिस्थितिले दिएको परिणाममा भर पर्ने खाल्का हुन्छन।
कुनै पनि रिलेसनसिप आफ्नो छविलाई सकारात्मक देखाउन मात्र यस्तो मान्छेले टिकाएको हुन्छ। यस्तो मान्छेले गर्ने अन्तरक्रिया सतही हुन्छ र कसैसँग पनि घनिष्ठ संबन्ध राख्न चाहदैन।
यो व्यक्तित्व विकार हुनेबाट आत्महत्या गर्ने र आत्महत्या गर्ने प्रयास हुने संभावना ज्यादा रहदछ।

नार्सिसिजम भएको कसरी पत्ता लाउने ?

द डाइगनोस्टिक एन्ड स्टाटिस्टिकल म्यानुएल अफ मेन्टल डिसअर्डर (DSM-5) भन्ने मेथोडलाई प्रयोग गरेर यो रोगको जाँच गर्न सकिन्छ। यो मापन पद्धति अमेरिकन साइकाट्रीक एसोसिएसनले स्थापना गरेको हो।यो रोगको पहिचान केवल  मानसिक रोग विशेषज्ञले गरेको मात्र मान्य हुदछ। यो रोग हुनको लागि तल जनाइएको ९ वटा गुण मध्ये ५ वटा गुण अनिवार्य संबंधित व्यक्तिको जिवनका विभिन्न पाटामा लामो समयसम्म भएको हुनु पर्दछ। यो कुरा विशेषज्ञले औपचारिक रूपमा ठम्याएको हुनुपर्छ ।

१. मपाइत्वको भावना अति उच्च हुनु।

२. असीमित सफलता, शक्ति , बुद्धि ,सुन्दरता , आदर्श प्रेम आदि  प्राप्त गरेको परिकल्पनामा हरबखत डुबिरहनु।

३.आफु अति विशिष्ट र अद्वितीय भएकोले विशेष र उच्च वर्गकाले  मात्र मलाई बुझ्न सक्दछ र त्यही उच्च वर्गका मानिस र संस्थासंग मात्र संगत गर्नु पर्दछ भन्ने मान्यता राख्नु ।

४. अति प्रशंसा खोज्नु।

५. विशेषाधिकार प्राप्त हुनुपर्छ भन्ने भावना हुनु।

६.अरुलाइ प्रयोग गरेर निजि लाभ निकाल्ने प्रवृति हुनु।

७. अरुको भावना बुझ्ने खुबी नहुनु।

८.अरुसंग जल्नु तर अरु चाहिँ उसंग जल्छ भनेर सोच्नु ।

९. अहंकारी र हठी व्यवहार र एटिट्युड देखाउनु।

यी माथी उल्लेख भएका लक्षणहरु  लामो समय सिमासम्म निरन्तर जिवनका विभिन्न क्षेत्रमा देखिएको हुनु पर्दछ । यी लक्षणहरुले संबंधित व्यक्तिको सामान्य  व्यवहारलाई असामाजिक बनाइदिदछ। भन्नुको मतलब यसको असर उसको रोमान्टिक सम्बन्धमा मात्र  होइन उसको कार्यस्थल , परिवार र साथी सर्कलमा पर्दछ।

यस्तो व्यक्तित्व विकार  के कारणले हुन्छ?

पर्सनालिटी डिसअर्डर निर्माण हुनमा जेनेटिक र पालनपोषण दुबैको प्रभाव हुने अध्ययनले देखाएको छ। अर्थात जैविक , मनोबैज्ञानिक  र वातावरणीय प्रभावको उत्तिकै हात हुनेछ गर्दछ।
सबै जिउँदो मानिसमा आत्मविश्वास , स्वाभिमान र गर्व  जस्ता असल भावना हुन्छन नै। स्मरणीय के छ भने आत्मविश्वास र अतिआत्मविश्वास , स्वाभिमान र अभिमान, गर्व र घमण्ड बीचमा एउटा पातलो सिमारेखा हुन्छ जसलाई अक्सर मानिसले देख्न सक्दैन । आत्मविश्वासी,स्वाभिमानी र गर्व भावले भरिएको व्यक्ति आफ्नो क्षमता प्रति परिचीत हुन्छ। यस्ता व्यक्ति साहसी र निडर हुन्छन साथै उसले आफू नै संसारको अन्तिम सुन्दर ,ज्ञानी ,धनी र श्रेष्ठ ठान्दैन ।

Photo by devman limbu nhdd studio model: Deewakar

नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डर (NPD) द्वारा  ग्रस्त व्यक्तिभित्र  वास्तवमा आत्मविश्वासको अति कमी हुँदछ । र उनी भित्रको यही कमीलाइ छोप्नको निम्ति  उनमा नकारात्मकताको  भाव बढेर जाँदछ। आफुलाइ आत्मविश्वासी देखाउने सिलसिलामा उनी आफै अन्ततः अति आत्मविश्वासी बनिसक्छ्न । त्यसपछि स्वाभिमान जस्तो उच्च गुणको स्थान अभिमानले लिँदछ। र  गर्वको ठाउँमा  घमंड पलाउँदछ।

यो रोगसंग आउने समस्याहरु

.आपसी सम्बन्धमा संकट आउछ

.काम वा स्कुलमा समस्या आउने गर्दछ

.डिप्रेसन र एन्जाइटी

.शारीरिक स्वास्थसंबंधी समस्या

.लागू पदार्थ वा मध्यपान दुरुपयोग

.आत्महत्या गर्ने सोच आउने गर्दछ

संबंधित व्यक्तिले झेलेको परिस्थिति सिर्जना हुनमा  केवल सोही  व्यक्ति मात्र जिम्मेवार हुदैन । यस्तो स्थिति सिर्जना हुनको पछाडि उनको वाल्यकाल देखि वर्तमान सम्मको  केहि परिस्थितिहरु जिम्मेवार हुन्छन । जस्तै :

गलत पालनपोषण
एक जना व्यक्ति बिग्रन या  सप्रनको पछाडि उसको घरको माहौल र परिवेशमा हुने चाल चलनको धेरै   महत्वपूर्ण योगदान हुने गर्दछ।

सामान्यतया जुन बाल बच्चाले वाल्यकालमा आफ्नो मातापिताको प्रेम, प्रशंसा र एटेन्शन पाएको हुदैन उनिहरुले त्यसैको प्रतिक्रिया स्वरूप ठुलो भएपछि देखावटी गरेर भएपनि अरुको ध्यान आफू तर्फ खिंच्ने कोशिश गर्छन। बच्चाहरुको रुपडाल , प्रतिभा आदिलाई लिएर अति फुर्क्याउने तथा पुल्पुल्याउनाले पनि  कुरा बिग्रने गर्छ।

छोराछोरीको हरेक माग पूरा हुनु

कुनै प्यारेन्टसले आफ्नो बालबच्चाको  जायज,नाजायज हर माँग पूरा गरिदिन्छ्न। यस्तो बच्चामा ठुलो भएपछि पनि कसैले उसको कुरा नसुनिदिएको मन नपराउने आदत बस्छ ।

कुनै पनि खेलमा जित्नै पर्ने आदत

सिङ्गल फादर या मदर भएको परिवारमा बच्चाहरुको साथमा उनका प्यारेन्टसहरु खेल्ने गर्दछ्न। र हर बार जानीजानी आफ्नो बच्चालाई जिताइ दिने गर्दछ्न। यस्ता बच्चाहरु जब साच्चिकै  प्रतियोगितामा भाग लिन्छन, तब उनिहरुलाइ आफ्नो हार स्विकार्न सक्दैनन। हो यस्तै  मानसिक स्थितिमा व्यक्तित्व विकारको   बीजारोपण हुँदछ।

गलत व्यवहार
यस किसिमको बिमारबाट ग्रस्त  व्यक्तिको बचपनकालमा कुनै खराब व्यवहार भएको हुन सक्छ । यस्तो खराब व्यवहार आफन्त या छिमेकीबाट भएको हुनसक्छ ।  जसको नकारात्मक असर उसको भविस्यको व्यक्तित्वमा पर्ने गर्दछ।

यौन उत्पीडन
वाल्यकालमा यौन उत्पीडनको शिकार भएका बच्चाहरुमा पनि नार्सिसिस्टिक व्यक्तित्व विकार संबंधी  समस्या देखिन सक्दछ। यस्तो मानिसले बाल्यकालमा आफ्नो  आत्मविश्वास गुमाउदछ्न। जुन बच्चा ठुलो भएपछि बनावटी आत्मविश्वास देखाउने क्रममा अति आत्मविश्वासी बन्दछ। र हुनसक्छ उसमा बिस्तारै   आपराधिक प्रवृत्तिले घर बनाउन थाल्दछ।

एक्लोपन
आफ्नो माता-पिताद्वारा जबर्जस्ती होस्टेलमा राखिएका कारण एक्लै रहन बाध्य बच्चाहरुमा पनि यो समस्या देखिन सक्दछ । नोकर चाकरको भरोसामा पालिएको बच्चाहरु पनि  यस्तो समस्याबाट पीडित हुनसक्छन।

झुठो तारिफ गर्ने आदत
कोहि मानिस आफ्नो काम बनाउनको लागि यस्तो मानिसको झुठो तारिफ गर्दछ्न जसले गर्दा उनमा सर्वश्रेष्ठ हुने भाव झन बढेर जाँदछ।

कारण जेसुकै भए पनि नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डर संबंधी समस्या दिनहुुँ बढदो अवस्थामा छ। यस किसिमको बिकार तर्फ ध्यान दिन अति आवश्यक भैसकेको छ। यदि शुरुबाट नै बालबच्चाको लालनपालन   संतुलित ढंगले गरियो भने  भविष्यमा उनिहरुलाइ यस्तो समस्या हुनबाट बचाउन सकिन्छ ।

नार्सिसिजमबाट बच्ने उपाय र उपचार

यस्तो  समस्याबाट  पीड़ित व्यक्तिलाई  जब उनको हिसाबले  प्रशंसा र  मान-सम्मान मिल्दैन  तब उनलाई  तनावले घेर्दछ। त्यसपछि उ अवसाद( डिप्रेसन) मा बाँच्न थाल्दछ । र यस्तो  मानसिक स्थितिमा आपराधिक गतिविधि पनि गर्न थाल्दछ । आफ्नो  असफलताको कारण उ अरुलाई  नै मान्न थाल्दछ । यो रोग लाग्ने मुल कारण अहिलेसम्म पत्ता लागेको छैन । तर यो रोग लाग्नुको पछि अनुवांशिक कारण पनि हुन सक्ने  मनोचिकित्सकले बताएका छ्न।

.काउंसलिंग ( साइकोथेरापी ) द्वारा यो  समस्याको समाधान गर्न सकिन्छ । 

.उपचारको दौरानमा रोगीका परिवारका सदस्य र उसको  नजिकमा रहेका मानिसहरुले उनको समस्यालाई बुझेर विनम्र पुर्वक व्यवहार गर्नु पर्दछ ।

.यस्तो मानिसलाई आदेश सुन्न पटक्कै मन पर्दैन । आदेश दिनको सट्टा यदि अनुरोध  गरियो भने उसको  व्यवहारमा  सकारात्मक परिवर्तन आउन थाल्दछ।

.कुनै रचनात्मक कार्यहरूमा यस्तो मानिसलाई अल्झाएर  समस्याबाट छुटकारा पाउन सकिन्छ।

.मेडिटेशनबाट धेरै परिवर्तन ल्याउन सकिन्छ । ध्यान गर्दा आफ्नोबारेमा थाहा हुने गर्दछ फलस्वरूप आत्म मुल्यांकन गर्ने क्षमताको विकास भइ स्थिति खराब हुनबाट बचाउन सकिन्छ ।

.आत्मविश्वासी, स्वाभिमानी र गर्विलो  व्यक्तिलाई आफ्नो  क्षमताबारे हेक्का रहन्छ । उ वास्तवमा निडर र  साहसी हुँदछ। उसमा कुनै बनावटीपन रहेको हुदैन । उसलाई थाहा हुन्छ  कि उ नै  संसारको अंतिम  बुद्धिमान र  ज्ञानी व्यक्ति होईन भनेर । संबंधित पीडितलाई पनि उ जस्तै अरु पनि संसारमा थुप्रै छ्न भन्ने  कुरा महसुस गराउन सक्नु पर्दछ।

तपाईको प्रतिक्रिया